logo
२०८१ बैशाख १४ शुक्रवार



दुम्जादेखि सर्लाहीको लालबन्दी जोड्ने वैकल्पिक सडक निर्माण हुने

प्रदेश |


दुम्जादेखि सर्लाहीको लालबन्दी जोड्ने वैकल्पिक सडक निर्माण हुने


दीपक श्रेष्ठ

काठमाडौँ, जेठ २० गते । बीपी राजमार्गको दुम्जाबाट घ्याङ्लेख हुँदै मरिणको धमिले भएर सर्लाहीको लालबन्दी जोड्ने करिब ६० किलोमिटर सडकलाई सरकारले वैकल्पिक सहायक राजमार्गको रुपमा निर्माण अगाडि बढाउने भएको छ । सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फत् याे मार्गलाई वैकल्पिक सहायक राजमार्गको रुपमा अगाडि बढाउन लागेको हो । सडक विभागका इन्जिनियर अर्जुन पौडेलका अनुसार, आर्थिक वर्ष २०७२/२०७३ मै दुम्जादेखि मरिणको धमिलेसम्मको खण्ड सर्भे भई घ्याङ्लेकको रामपुरसम्म ट्रयाक खोल्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

मरिणदेखि लालबन्दीसम्मको खण्डको विस्तृत अध्ययन प्रतिवेदन निर्माण प्रक्रियामा रहेको छ । बीपी राजमार्गको वैकल्पिक सडकको रुपमा लिइएको ११ मिटर फराकिलो सडक तराईलाई काठमाडौँसँग जोड्ने मुख्य वैकल्पिक मार्गको रुपमा समेत लिइन्छ । बीपी राजमार्गलाई दुम्जासम्म डबल लेनको रुपमा स्तरोन्नति गरेर यो सडकलाई वैकल्पिक मार्गको रुपमा लैजाने सकिन्छ । त्यस्तै, कमलामाईको पीपलभञ्ज्याङबाट घ्याङ्लेखको हायुटार हुँदै सातदोबाटोसम्म सडक स्तरोन्नति गर्नसके बीपी राजमार्गको चापलाई समेत कम गर्न सकिनेछ ।

घ्याङ्लेक गाउँपालिका उपाध्यक्ष दुर्गा सुनुवारका अनुसार, पीपलभञ्ज्याङबाट घ्याङ्लेखको टुनी भञ्ज्याङसम्मको २२ किलोमिटर सडक ग्राभेल गरिएको छ । घ्याङ्लेखको चन्दनपुरबाट दुम्जा हुँदै लालबन्दी जोड्ने सडकको सात दोबाटो जोड्ने सडक सुधार गर्नसके बीपी राजमार्गको चापलाई कम गर्न सकिने उपाध्यक्ष सुनुवार बताउनुहुन्छ । उहाँले यस वर्ष चन्दनपुर–सात दोबाटो सडकको डिपीआर निर्माण गरिने जानकारी दिनुभयो । सरकारले राष्ट्रिय गौरवको योजनाको रुपमा सुनकोशी–मरिण डाइभर्सन यसै वर्षबाट सुरु गर्ने योजना रहेकाले बीपी राजमार्गहुँदै पूर्व जाने यातायातको लागि बाइपासको रुपमा सो सडक प्रयोग गर्न सकिने सम्भावना रहेको छ । सांसद हरिबोल गजुरेलले काठमाडौँबाट तराई मधेश जोड्ने छोटो मार्गको रुपमा दुम्जा–मरिण–लालबन्दी सडकलाई प्राथमिकतामा पारिएको जानकारी दिनुभयो । यो मार्ग तराईबाट हिमाली जिल्ला जोड्ने छोटो सडक मार्गसमेत हो । दुम्जाको खैरेनीघाटहुँदै रामेछापको बेथान भएर दोलखाको चरिकोट छोटो दुरीमा पुग्न सकिन्छ ।

सडक विभागका महानिर्देशक केशवराज शर्माका अनुसार, तराईबाट काठमाडौँ जोड्ने मजबुद वैकल्पिक मार्गको रुपमा दुम्जा–लालबन्दी सडक निर्माण भइरहेको छ । सांसद गजुरेलले यो बाटो बनेपछि रामेछाप, काभ्रे, दोलखा र सिन्धुपाल्चोकलाई छोटो दुरीबाट मधेससँग जोड्ने बताउनुभयो । सिन्धुलीको मरिण, घ्याङ्लेख, दुम्जाको माथिल्लो क्षेत्र र हरिहरपुरगढीका कृषि उत्पादनलाई तराईका बजार वा काठमाडौँ पुर्याउन यो सडकले महत्वपूर्ण सहयोग पुर्याउने ठम्याई सांसद गजुरेलको छ ।

यसैगरी, सिन्धुली जिल्लाको सुलिभञ्ज्याङ–धापचौकी पाथीपरान हुँदै महोत्तरीको खयरमारा निस्कने बाटो पनि वैकल्पिक सहायक राजमार्गको रुपमा काम भइरहेको छ । विगत तीन वर्षदेखि निर्माणमा रहेको यो सडक वैकल्पिक सहायक राजमार्गका रुपमा बन्ने भएपछि ओखलढुङ्गा, खोटाङलगायत सिन्धुलीको तीनपाटन, फिक्कल, गोलञ्जोर, दुधौली र कमलामाई तराई–मधेशसँग सहज यातायातले जोड्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?