logo
२०८१ जेष्ठ १ मंगलवार



प्रदेश २ मा १२० जना नयाँ सङ्क्रमित थपिए, कुल सङ्क्रमित ८१५

प्रदेश |


प्रदेश २ मा १२० जना नयाँ सङ्क्रमित थपिए, कुल सङ्क्रमित ८१५


गोरखापत्र अनलाइन
जनकपुरधाम, जेठ २० गते । प्रदेश २ मा पछिल्लो चौबिस घण्टामा १२० जना नयाँ सङ्क्रमित थपिएका छन् । थपिएका नयाँ सङ्क्रमितमध्ये सबैभन्दा बढी रौतहटमा ७४ जना छन् ।
प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले पीसीआर परीक्षणबाट हालसम्म प्रदेश २ मा ८१५ जनामा कोरोनाभाइरसको सङ्क्रमण फेला परेको जनाएको छ । पछिल्लो चाबिस घण्टामा १२० जना नयाँ सङ्क्रमित थपिएकोमा रौतहटमा सबैभन्दा बढी छन् । प्रदेश २ मा हालसम्म १६ हजार ४४४ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको छ । जसमध्ये ८१५ जनामा सङ्क्रमणको पुष्टि भएको छ । पाँच हजार २०६ जनाको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताउनुभयो ।
सबैभन्दा बढी सङ्क्रमित फेला परेको रौतहटका अधिकांश सङ्क्रमित पछिल्लो समय भारतबाट आएको मन्त्रालयले जनाएको छ । रौतहटको दुर्गाभगवती नगरपालिकाको क्वारेन्टाइनमा १४ जना, राजपुर नगरपालिकास्थित मदरसाको क्वारेन्टाइनमा २१ जना, गढीमाई नगरपालिकामा एक, परवा नगरपालिकास्थित लौकाहा क्वारेन्टाइनमा चार जना, राजदेवी नगरपालिकाको क्वारेन्टाइनमा १८ जना, गौर नगरपालिकाको क्वारेन्टाइनमा १३ र यमुनामाई गाउँपालिकाको क्वारेन्टाइनमा बसेका तीन जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
पछिल्लो चौबिस घण्टामा सप्तरीमा एक, सिरहामा १७, धनुषामा चार, महोत्तरीमा दुई, सर्लाहीमा २१ र पर्सामा एकजनामा सङ्क्रमणको पुष्टि भएको छ । सप्तरीमा ५४ जना सङ्क्रमित विभिन्न आइसोलेसन वार्डमा छन् । सिरहामा ३४, धनुषामा ९५ , महोत्तरीमा २९, सर्लाहीमा ४५, रौतहटमा १५९, बारामा ५० र पर्सामा २० जना सङ्क्रमित उपचारार्थ रहेको सचिव घिमिरेले जानकारी दिनुभयो ।
प्रदेश २ मा हालसम्म १०४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । नारायण उपक्षेत्रीय अस्पताल, वीरगञ्जबाट ९६ जना र जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा तीन जना र सप्तरीको राजविराजका एक जना सङ्क्रमित निको भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?