logo
२०८१ बैशाख २३ आईतवार



बैतडी आएका डाक्टर २२ दिनमै फर्किए, क्वारेन्टाइनमा १३ सय, परीक्षण गर्ने किट छैन

प्रदेश |


बैतडी आएका डाक्टर २२ दिनमै फर्किए,  क्वारेन्टाइनमा १३ सय, परीक्षण गर्ने किट छैन
बाइस दिन बसेर फर्किनुभएका डाक्टर र १८ वर्षदेखि डाक्टरविहीन बैतडीको केशरपुर प्राथमिक स्वास्थ्य चौकी । तस्बिरः गोकर्ण दयाल,बैतडी


गोकर्ण दयाल
बैतडी,जेठ १ गते । सरकारले बैतडी पठाएका तीन जना डाक्टर २२ दिन बसेर काठमाडौँ फर्किनुभएको छ । बैतडीमा दरबन्दीअनुसार एक जना पनि डाक्टर छैनन् ।

सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा भारतबाट आएका २ हजार ६६८ जना क्वारेन्टाइनमा हुनुुहुन्छ । यसको आधा जनसंख्या बैतडीमा मात्र १३ सय ४५ जना क्वारेन्टाईनमा छन् तर, उहाँहरूको स्वास्थ्य परीक्षण गर्न अस्पतालमा किट छैन ।

सुदूरपश्चिम प्रदेश प्रदेशका नौ जिल्लाअन्तर्गत क्वारेन्टाइनमा बसेकाहरू बैतडीमा १३ सय ४५, अछाममा १०२, बझाङमा ५३२, बाजुरामा १०९, डडेल्धुरामा ८८, दार्चुलामा १००, डोटीमा ९, कैलालीमा २९८ र कञ्चनपुरमा ८५ जना क्वारेन्टाइनमा रहेका छन् ।

बैतडी अस्पतालमा दुई वर्षदेखि दरबन्दीका डाक्टर छैनन् । ८० हजार जनसङ्ख्या रहेको बैतडीको तल्लोस्वराड क्षेत्रको एक मात्र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १८ वर्षदेखि डाक्टर आएका छैनन् ।

स्वास्थ्य संस्थामा जनरल सेवा दिने गरी सरकारले बैतडी पठाएका डाक्टरसमेत २२ दिन बसेर फर्केपछि बैतडीको स्वास्थ्य अवस्था दयनीय बन्नपुगेको छ ।

सङ्घीय सरकारले गत वैशाख पहिलो हप्ता सुरदूरपश्चिममा ३४ जना डाक्टरमध्ये बैतडी अस्पतालमा तीन जना डाक्टर पठाएको थियो ।

बैतडी खटाइएका डाक्टर विकास शहनी, डाक्टर विहन्त शाह र डाक्टर प्रकाश दर्जी बैतडी आईपुग्नु भएको थियो । डाक्टर विकास शहनी र विहन्त शाह दम रोग, मधुमेह, उच्च रक्तचापलगायत जनरल सेवातर्फ र डाक्टर प्रकाश दर्जी हड्डी रोगसम्बन्धी विशेषज्ञ हुनुहुन्थ्यो ।

लामो समयदेखि डाक्टरविहीन जिल्ला अस्पतालमा डाक्टर आईपुगेपछि बैतडीबासी खुसी बनेका थिए । बाइस दिनमै मै डाक्टर फर्केर गएपछि बैतडीबासी निराश बनेका छन् ।

याे पनि हेर्नुहाेस्...

‘बिन्ती छ सरकार, हामीलाई स्वदेश फर्काइदेऊ’

उहाँहरू तीनै जना २२ दिन बसेर असारमा परीक्षा भएकोले काठमाडौँ फर्किएको जिल्ला अस्पताल बैतडीका छात्रवृत्ति करारमा रहनुभएका निमित्त अस्पताल प्रमुख डाक्टर बसन्तराज जोशीले बताउनुभयो ।

यता भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरूको द्रुत परीक्षण गर्न किट सकिएपछि प्रदेश सरकारसँग किट माग गरिएको स्वास्थ्य कार्यालय, बैतडीका स्वास्थ्य प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।

प्रदेश सरकारले बैतडीमा ल्याब स्थापना र जिल्ला अस्पताल बैतडीमा भेन्टिलेटर जडान गर्ने निर्णय गरे पनि प्रक्रिया अघि बढ्नसकेको छैन ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?