logo
२०८१ बैशाख १५ शनिवार



झुलाघाटमा दुईसय नेपाली अलपत्र, भारतमा कडा लक डाउन हुँदा गेट खुलेन !

प्रदेश |


झुलाघाटमा दुईसय नेपाली अलपत्र, भारतमा कडा लक डाउन हुँदा गेट खुलेन !
झुलाघाटमा जम्मा नेपालीहरुको अलपत्र भीड । तस्बिरः गोकर्ण दयाल



गोकर्ण दयाल
बैतडी, चैत १३ गते । भारतका विभिन्न शहरबाट नेपाल आउन भारतीय सीमा नाका झुलाघाटमा नेपालीको भीड जम्मा भएको छ । दुईसय भन्दा बढी नेपालीहरु झुलाघाटमा दुईदिनदेखि अलपत्र परेका छन् ।

भारतमा काम गर्दै आईरहेको कम्पनी बन्द भएपछि खाने बस्ने व्यवस्था नहुँदा दुईसय भन्दा बढी नेपालीहरु हिँडेरै नेपाल–भारत सीमा नाका झुलाघाट आईपुगेका हुन् । भारतमा कडा लक डाउनका कारण भारततर्फको गेट खुल्न नसक्दा अलपत्र परेका नेपालीहरु बिहीबार साँझसम्म पनि नेपाल आउन सकिरहेका छैनन् ।

भारतका विभिन्न शहरबाट हिँडेरै झुलाघाट पुगेका नेपाली दुईदिनदेखि अलपत्र अवस्थामा सडक र स्थानीय स्कुलको प्राङ्गणमा जम्मा भएर बसेको भारतीय सञ्चारकर्मी जागरण दैनिकका प्रमोद भट्टले जानकारी दिनुभयो ।

भट्टले भन्नुभयो, “दुईसय भन्दा बढी नेपाली दुईदिनदेखि झुलाघाटमा अलपत्र परेका छन् । उनीहरु भारतका विभिन्न सहरबाट हिँडेर झुलाघाट आईपुगेका हुन् ।”

अलपत्र परेका नेपालीलाई नेपाल ल्याउन भारतसँग कुरा भए पनि भारतमा पूर्णरुपमा लक डाउन भएकाले पिथौरागढ जिल्ला प्रमुखको हातमा पनि सीमा गेट खोल्ने अधिकार नभएको जानकारी प्राप्त भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।

प्रजिअ पौडेलले भन्नुभयो, ‘पिथौरागढका जिल्ला प्रमुखसँग सीमामा रहेका नेपालीका विषयमा कुराकानी भएको र उहाँले पनि केन्द्रीय सरकारको अनुमति मागिरहेको जानकारी आएको छ ।’

यसैबीच, बिहीबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले दैनिक उपभोग्य वस्तुको ढुवानीलाई सहज बनाउन गाउँपालिकालाई अनलाईन सेवाबाटै पास उपलब्ध गराउने, मन्दिरमा पूजाआजाका नाममा हुने भीड हुन नदिने र स्थानीय तहमा भएका क्वारेन्टाईनमा स्थानीय सचेत युवाको समूह परिचालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।

बैठकमा बुधबार राति क्वारेन्टाईनमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको कुटपिटका विषयमा समेत कुरा उठेकोले कुटपिटमा सम्लग्न व्यक्तिलाई कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

भारतबाट आएका सातजनालाई क्वारेन्टाइनमा राखेको भन्दै परिवारका सदस्य बैतडीको पुरचौडी नगरपालिका ५ कुवाकोटमा नरेन्द्र जागिरीले क्वारेन्टाईनमै छिरेर स्वास्थ्यकर्मी अहेब करनसिंह धामीमाथि कुटपिट गरेका थिए ।

घटना बैतडीको पुरचौडी नगरपालिका –५ कुवाकोटको हो । चैत १२ गते भारतको ब्याङ्ग्लोरबाट आएका सातजनालाई पुरचौडी नगरपालिका–५ कुवाकोटको भूमिराज माबि काटै गहताडको क्वारेन्टाईनमा राखिएको थियो ।

क्वारेन्टाईनमा राखिएका परिवारका सदस्य नरेन्द्र जागिरीले भारतबाट आएको मेरो छोरा सुनिललाई किन क्वारेन्टाईनमा रोखको भन्दै राति १० बजे ड्यूटीमा खटिएका कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामीमाथि कुटपिट गरेका हुन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?