logo
२०८१ बैशाख २१ शुक्रवार



बन्दीपुरमा बन्दै ‘ग्रेटवाल’

प्रदेश |


बन्दीपुरमा बन्दै ‘ग्रेटवाल’


शेषकान्त पण्डित

बन्दीपुर, फागुन २८ गते । पहाडी रानी उपमाले परिचित तनहुँको पुरानो सदरमुकाम बन्दीपुर पर्यटकीय तथा व्यावसायिक हिसाबले छिट्टै नै छलाङ मार्ने तयारीमा जुटेको छ ।
चीनको ग्रेटवालको झल्को दिने गरी निर्माण आरम्भ गरिएको बन्दीपुर ग्रेटवाल, निर्माणाधीन केबलकार, प्याराग्लाइडिङका कारण यो सम्भावना देखिन्छ । मुकुन्देश्वरको डाँडामा बनाइने साइकल लेन तथा विस्तारित फराकिलो सडकले बन्दीपुरले स्वरूप नै फेरिने
भएको छ ।
२०२५ सालमा तनहुँको सदरमुकाम दमौलीमा सरेपछि उजाड बनेको बन्दीपुरमा यतिबेला जिल्लाको मात्रै होइन मुलुककै एक मुख्य आकर्षणको केन्द्र बन्ने गरी काम भइरहेको छ । पोखरा, सौराहा, लुम्बिनी, मनाङ लगायतका स्थानबाट हिँडेका पर्यटक यात्राका क्रममा एक पटक बन्दीपुर पुग्ने नै गरेको
पाइएको छ ।

बन्दैछ बन्दीपुर ग्रेटवाल
चीनको ग्रेटवालकै झल्को दिने गरी बन्दीपुरको माथिल्लो डाँडामा ग्रेटवाल निर्माण कार्य चलिरहेको छ । यसका लागि हालसम्म ७० लाख रुपियाँ खर्च गरिएको छ । सल्लाघारीदेखि थानीमाई मन्दिर पुग्नका लागि ११ सय मिटरको ग्रेटवाल निर्माण कार्य जारी रहेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिनुभयो ।
ग्रेटवाल निर्माण कार्य सकिएपछि त्यसमा रेलिङ र बत्ती जडान गरेर यसको निर्माणलाई पूर्णता दिइने छ । वाल निर्माण कार्य छिट्टै सक्ने तयारी छ । ग्रेटवाल निर्माणपछि पर्यटकलाई घोडा चढाएर यात्रा गराइने तयारी रहेको गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो । व्यवसायीहरूका अनुसार ग्रेटवाल नेपालमा नयाँ अवधारणा हो ।

पोखरापछि राम्रो प्याराग्लाइडिङ
ग्रेटवालबाट मात्रै होइन प्याराग्याइडिङबाट पनि नयाँ परिचय बनाउने अभियानमा जुटेको छ बन्दीपुर । स्थानीय पर्यटन व्यवसायीका अनुसार पोखरापछि प्याराग्लाइडिङका लागि धेरै पर्यटकले बन्दीपुर रुचाएका छन् । मुकुन्देश्वर डाँडाबाट सुरु भएको प्याराग्लाइडिङबाट माछापुच्छ«े, अन्नपूर्ण, धौलागिरी, गणेश, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले पर्यटक प्याराग्लाइडिङमा बन्दीपुरलाई रोज्ने गरेका छन् । बिहान, दिउँसो र साँझ जतिखेर पनि प्याराग्लाइडिङ गर्न सकिने र हावाको सन्तुलनसमेत मिल्ने भएकाले बन्दीपुरलाई धेरैले रुचाएको पाइएको स्थानीय व्यवसायी कमल पण्डित बताउनुहुन्छ ।

गर्मी मुख्य सिजन
पाँच वर्षदेखि बन्दीपुरमा होटल व्यवसाय गर्दै आउनुभएकी स्थानीय मोनिका गुरुङ पहाडका मात्रै नभएर वीरगञ्ज, बुटवल, हटौँडालगायत तराई क्षेत्रका धेरै मानिसले बन्दीपुरलाई रुचाउने गरेको बताउनुहुन्छ । गर्मी समय बन्दीपुरको मुख्य सिजनका रूपमा लिइन्छ । वरपरका जिल्लाका आन्तरिक पर्यटन पनि गर्मी छल्न यहाँ आउने गर्दछन् । यहाँ सञ्चालनमा रहेका मोहरिया होमस्टे, सामुदायिक होमस्टे, विन्द्यवासिनी होमस्टे र तीनधारा होमस्टेले आन्तरिक पर्यटकलाई बन्दीपुरमा लोभ्याउने गरेको छ । व्यवसायीका अनुसार दुई हजार पर्यटक धान्न सक्ने आन्तरिक क्षमता बन्दीपुरमा छ ।

फराकिलो भयो सडक
यतिबेला बन्दीपुर पुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई फराकिलो सडकले न्यानो स्वागत गर्दछ । डुम्रेबाट झण्डै आठ किमिको एक लेनको बाटोलाई विस्तार गरी दुई लेनको बनाएपछि सडकको मुहार नै फेरिएको छ । सडक विस्तारको काम सकिएको र अब पक्की सडक बनाउने योजनामा आफूहरू जुटेको गाउँपालिकाका अध्यक्ष थापा बताउनुहुन्छ । गाउँपालिकाको आन्तरिक स्रोतले मात्र सडक पक्की गर्न नसकिने भएकाले थप स्रोत जुटाउन लबिङ भइरहेको उहाँले जानकारी दिनुभयो ।

केबलकार निर्माणपछि नयाँ आयाम
पृथ्वी राजमार्गको डुम्रे र विमलनगरको बीचबाट बन्दीपुर जोड्न लागिएको केबलकारले यस क्षेत्रले फड्को मार्ने अपेक्षा गरिएको छ । गाउँपालिकाका अनुसार अबको दुई वर्षभित्र केबलकारमा चढेर बन्दीपुरमा पुग्न सकिनेछ । जम्मा १.६ किमिको यो केबलकार बन्दीपुरमा निर्माण प्रारम्भ गरिएको चार तारे होटलको परिसरमा अवतरण गर्नेछ । होटलमा निजी क्षेत्रका साथै गाउँपालिकाको पनि लगानी हुनेछ । पालिकाले यसका लागि ५० लाखको सेयर खरिद गर्ने निर्णय गरिसकेको छ । बन्दीपुरमा चारतारे होटल चल्छ भनेर स्थानीयलाई आश्वस्त बनाउन गाउँपालिकाले सेयर लगानी गरेको पालिका अध्यक्ष थापा बताउनुहुन्छ ।

साइकल लेन र टे«किङ रुट
बन्दीपुरको मुकुन्दसेन डाँडालाई केन्द्रबिन्दुमा राखेर सात किमिको साइकल लेन बनाउने योजना गाउँपालिको छ । साइकल लेनको चौडाइ एकदेखि दुई मिटरसम्मको हुनेछ । बन्दीपुरबाट सुरु हुने साइकल लेन रामकोटसम्म पुग्नेछ । उत्तरतर्फ हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले यस क्षेत्रको आकर्षणमा वृद्धि हुने बन्दीपुर राहनासडाँडाका स्थानीय व्यवसायी विपिन कपाली बताउनुहुन्छ । राजा मुकुन्द सेनले शासन गर्दाको अवस्थाका अवशेष अझै बाँकी रहेकाले त्यसको संरक्षणका लागि पुरातìव विभागसित कुराकानी भइरहेको गाउँपालिकाले जनाएको छ ।
यति मात्रै होइन बन्दीपुरले जिल्लाका विभिन्न धार्मिक तथा सहरी क्षेत्रलाई जोडेर आफ्नो प्रभावलाई विस्तारसमेत गरेको छ । यहाँबाट रामकोट, केशवटार हुँदै जिल्ला सदरमुकाम दमौली पुग्न निकै सहज बनाइएको छ ।
साथै ऐतिहासिक छाब्दी बाराही मन्दिर पुग्ने सडक ट्र्याकसमेत खोलिएको छ । बन्दीपुरबाट रामकोट हँुदै छिर्कने निस्कने टे«किङ रुटले पर्यटकको आकर्षणमा वृद्धि हुने अपेक्षा गरिएको छ । बन्दीपुरलाई साँच्चीकै पहाडकी रानी बनाउने अभियानमा पालिका जुटेको अध्यक्ष थापा बताउनुहुन्छ । धार्मिक तथा पर्यटकीय क्षेत्रसितको सम्बन्धपछि बन्दीपुरमा नयाँ आयाम थप भएको स्थानीय दिलबहादुर
नेपालीले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?