logo
२०८१ बैशाख १४ शुक्रवार



वन्यजन्तुको तथ्याङ्क संकलनः दश चितुवा भेटिए

प्रदेश |


वन्यजन्तुको तथ्याङ्क संकलनः दश चितुवा भेटिए


पाल्पा, माघ १४ गते । पाल्पाको माथागढी गाउँपालिकाले पशुपक्षीसँगै वन्यजन्तुको तथ्याङ्क संकलन गर्न थालेको छ ।

गाउँपालिका क्षेत्रभित्र पाइने पशुपक्षी तथा वन्यजन्तुको अवस्था पत्ता लगाई संरक्षणमा सहयोग गर्न गाउँपालिकाले तथ्याङ्क संकलन गर्न थालेको हो । प्राप्त प्रारम्भिक तथ्याङ्कमा चितुवा, बाँदर, वनकुखुरा, ढुकुर, मृगलगायतका वन्यजन्तु ठूलो मात्रा रहेको देखिन्छ । गाउँपालिकाको अधिकांश वन क्षेत्रमा बाँदर, मृग र स्याललगायतका वन्यजन्तु सबैभन्दा बढी रहेको देखिएको हो ।

गाउँपालिका क्षेत्रभित्रका कुन–कुन वन्यजन्तु, कहाँ कति मात्रामा रहेका छन् भन्ने विवरण गाउँपालिकाको वस्तुगत विवरण २०७६ मा ल्याउन लागेको हो । गाउँपालिकाले वडागतरूपमै वन्यजन्तुको तथ्याङ्क समावेश गरिएको छ । गाउँपालिका अध्यक्ष सन्तोष थापामगरका अनुसार यो तथ्याङ्क प्रारम्भिक रहेकाले यसलाई अझै पूर्णता प्रदान गरिने बताउनुभयो ।

स्थानीय बासिन्दा, वन समूह, वन कार्यालय तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा वन्यजन्तुको तथ्याङ्क सङ्कलन गरिएको गाउँपालिका अध्यक्ष थापामगरको भनाइ छ ।

माथागढी गाउँपालिका–१ चिदीपानीको वन क्षेत्रमा चितुवा रहेको छ । यस वन क्षेत्रमा १० सानो चितुवा, ५० मृग, ५०० कालिज, २०० ढुकुर रहेका छन् । सामुदायिक वन क्षेत्रमा तित्रा, जुरेला, खोलेहाँस, दुम्सीलगायतका वन्यजन्तु रहेका छन् ।

माथागढी गाउँपालिका–३ को सरापकोट, सिलाङ्दी वनमा तित्रा ३००, बाथ ६ मा वनबाख्रा २०, ढुकुर ६० रहेका छन् । वडा नं ५ मा बाँदर ४००, कालिज लुइँचे १००, स्याल ५० रहेका छन् । माथागढी गाउँपालिका–७ रहबासको वन क्षेत्रमा बाँदर र स्याल गरी नौ हजार, मृग वन बिरालो दुई हजार, कालिज लुइँचे दुई हजार, ढुकुर कोइली आठ हजार रहेको प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ ।

माथागढी गाउँपालिकाकै ८ नं वडा बहादुरपुरको वन क्षेत्रमा प्रशस्त मात्रामा वन्यजन्तु रहेको उल्लेख छ । यहाँको राहुलखोलामा २०० स्याल, पिपलडाँडा वन क्षेत्रमा मृग ५०, थपना पहाडमा बादर ५००, दुम्सी ७५, खरायो १५०, कालिज १७५, लुइँचे १००, तित्रा १९०, सुगा २०० समेत रहेका छन् । माथागढीको वडा नं २, ४, ६ मा वन्यजन्तुको तथ्याङ्कले पूर्णता पाउन सकेको छैन । यस क्षेत्रमा साना चितुवा हिँडिरहेको स्थानीय बासिन्दाले देखे पनि तथ्याङ्कमा ल्याउन सकिएको छैन । सामुदायिक वन संरक्षण हुन थालेपछि यहाँका वनमा वन्यजन्तु पनि संरक्षण हुँदै आएका छन् । स्थानीय बासिन्दाले वन क्षेत्र संरक्षण र चोरी शिकारीमा निगरानी बढाए पनि लोपोन्मुख वन्यजन्तुसमेत संरक्षण हुन थालेको हो ।

डिभिजन वन कार्यालय पाल्पाका प्रमुख डा मोहन पौडेलले वन्यजन्तु संरक्षणका लागि स्थानीय बासिन्दालाई सचेत बनाउन अन्तक्र्रिया कार्यक्रम, होर्डिङबोर्डका कार्यक्रम रहेको बताउनुभयो । उहाँले वनजङ्गल क्षेत्रमा घाइते अवस्था रहेका वन्यजन्तुको उद्वार गरी वन क्षेत्रमै छाड्ने काम हुन्छ । वन्यजन्तुको चोरी शिकारी हुँदा ऐनअनुसार कारवाही हुन्छ । समुदायले वन रेखदेख गर्न थालेपछि वन्यजन्तु बाक्लो मात्रामा देखिन थालेका छन् ।

वन क्षेत्रबाट चोरी शिकारी कडाइले वन्यजन्तु बस्ती नजिकै देखिएका हुन् । सामुदायिक वन उपभोक्ता समितिले वन क्षेत्रको अगुवाइ गर्न थालेपछि नाङ्गाडाँडा हराभरा हुँदै त्यस क्षेत्रमा वन्यजन्तु देखिन थालेको हो । बस्ती नजिक वन्यजन्तु आउँदा स्थानीय बासिन्दा भने त्रसित छन् । जिल्लामा सामुदायिक वनका रुपमा समितिलाई व्यवस्थित गर्न थालेपछि लोपोन्मुख वन्यजन्तुसमेत देखिन थालेको स्थानीय बासिन्दाको भनाइ छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?