logo
२०८० चैत्र ६ मंगलवार



राजधानीमा पाकिस्तानी मेला शुरु

अर्थ |


राजधानीमा पाकिस्तानी मेला शुरु


गोरखापत्र समाचारदाता

काठमाडौं, भदौ ३१ गते । पाकिस्तानमा उत्पादित विविध वस्तु तथा सामग्रीको प्रदर्शनी सोमबारदेखि राजधानीमा शुरु भएको भएको छ ।

राजधानीको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड सेन्टरको चौंथो तल्ला डिइसीसीमा शुरु भएको मेलाको नेपालका लागि पाकिस्तानका राजदुत डा. मजहर जाभेदले उद्घाटन गर्दै मेला पाकिस्तान र नेपालको व्यापारीक सम्बन्धको उत्कृट नमुना भएको बताउनुभयो ।

दुबै देशका आफ्नै मौलिक उत्पादन एकै थलोमा प्रदर्शन हुँदा दुबै देशका उपभोक्ता लाभान्वित हुने उहाँले बताउनुभयो ।

पाकिस्तान र नेपालको सम्बन्ध व्यवसायिकसँगै सांस्कृतिक र सामाजिक पनि भएको भन्दै राजदूत जाभेदले मेलामार्फत दुबै देशको रहनसहनदेखि सांस्कृतिक कुरामा समेत परिचित हुने अवसर प्रदान गर्ने बताउनुभयो ।

आगामी असोज ५ गतेसम्म चल्ने ‘पाकिस्तान एण्ड नेपाल फ्रेण्डसिप ट्रेड फेयर २०१९’ नामक मेलामा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता/चप्पल, नक्कली गरगहना लगायतका सामग्री उपलब्ध रहेको आयोजक तथा इभेन्ट म्यानेजर इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालिले जनाएको छ ।

काठमाडौंस्थित पाकिस्तानी र पाकिस्तानस्थित नेपाली दूतावासको सहकार्यमा काठमाडौंमा विगत एक दशकयता हरेक वर्ष यस्तो प्रदर्शनी हुँदै आएको छ ।

एक हप्तासम्म चल्ने मेलामा पाकिस्तानका ६० भन्दा बढि प्रतिष्ठित व्यापारीहरुको स्टल रहने छन् । ललितपुर उद्योग वाणिज्य संघको प्रवद्र्घनमा आयोजना शुरु भएको मेलामा पाकिस्तानबाट ३० वटा स्टल रहेका छन् । मेलामा यसपालीदेखि नेपाल, भारत र बंगलादेशबाट पनि प्रतिष्ठित उद्योगका उत्पादनहरु समेटिएका स्टलहरु राखिएको आयोजक पक्षले जनाएको छ ।

मेलाले आर्थिक गतिविधिलाई बढवा दिएर दुबै मुलुकलाई समृद्धिको दिशामा अघि बढन पनि यस्ता मेलाहरु फलदायी हुने अपेक्षा रहेको आयोजक इन्ट्रोडक्सन ट्रेड शोका कार्यकारी निर्देशक सुमन महर्जनले बताउनुभयो ।

पाकिस्तानमा निर्मित छालाका सामग्रीहरुले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीहरूले पाकिस्तानमा प्रभाव जमाएको भन्दै उहाँले मेलामार्फत दुबै देशहरुको उत्पादनको प्रवद्र्घनमा सघाउ पुग्ने अपेक्षा व्यक्त गर्नुभयो ।

यस्तो मेलाले दुबै मुलुकका व्यवसायीलाई नजिक्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने भन्दै उहाँले विगत छ दशकयताको द्धिपक्षीय सम्बन्ध बलियो बनाउन प्रदर्शनी उपलब्धीमूलक हुने बताउनुभयो ।
मेला दुबै मुलुकबीचको जनतासँगको सम्बन्ध विस्तार गर्न उपयोगी हुने विश्वास व्यक्त गर्दै महर्जनले आर्थिक गतिविधिलाई बढवा दिएर दुबै मुलुकलाई समृद्धिको दिशामा अघि बढन पनि मेला फलदायी हुने धारणा राख्नुभयो ।

यसपटक मेलाको आकर्षणको रुपमा खानाको लागि विभिन्न देशका स्वादमा फुड स्टल, साना केटाकेटीहरुका लागि गेमिङजोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रमलगायत रहेको आयोजक पक्षले जानकारी दिएको छ ।

उद्घाटन समारोहमा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जन, डिइसीसीका सीइओ सरस्वति गुरुङलगायतले पाकिस्तान र नेपालबीचको आर्थिक सामाजिक र सांस्कृतिक सम्बन्ध बारेमा आफ्ना भनाई राख्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?