logo
२०८१ बैशाख १४ शुक्रवार



हेलो सरकारको प्रभावकारिता (सम्पादकीय)

विचार/दृष्टिकोण |




नागरिकलाई सेवा सुविधा प्रदान गर्न आधुनिक सूचना प्रविधिको प्रयोगलाई विश्वभर व्यापक बनाइएको छ । प्रवाहित गरेका सेवा सुविधाको प्रभावकारिताका सम्बन्धमा प्रत्यक्ष तवरमा बारम्बार जानकारी लिइराख्नुपर्ने आवश्यक हुन्छ । यस पृष्ठभूमिमा सरकारी सेवा प्रवाहको गुणस्तरीयताको मापन गर्न सहयोगी हुन्छ । यसै सन्दर्भमा विश्वका विभिन्न मुलुकका जनउत्तरदायी सरकारहरूले यी तथ्यहरूको जानकारी प्राप्त गर्न विविध संयन्त्रको विकास पनि गरेका हुन्छन् । नेपालका सन्दर्भमा पनि यिनै विषयवस्तुलाई ध्यानमा राखेर प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयअन्तर्गत हेलो सरकार कार्यक्रम विगत केही वर्षदेखि प्रचलनमा आइरहेको ज्ञातव्य छ ।

विशेषतः हेलो सरकारजस्ता कार्यक्रम नागरिकलाई सरकारसँग प्रत्यक्ष रूपमा जोड्ने कडी वा माध्यमका रूपमा लिइनुपर्दछ । त्यसको प्रभावकारिताका फलस्वरूप सेवा प्रदान गर्ने सरकार तथा सेवा प्राप्त गर्ने नागरिक समुदाय दुवै पक्ष लाभान्वित हुने गर्दछन् । हेलो सरकार कार्यक्रमलाई जनताको प्रत्यक्ष सहभागीतामा सरकारी कार्यक्रमलाई स्वतन्त्र तवरले निगरानी गर्ने माध्यमका रूपमा पनि औँल्याउन सकिन्छ । यसको मुख्य उद्देश्य नै जनहितको सर्वोपरि संरक्षण हो । नागरिकले टेलिफोन र सामाजिक सञ्जालमार्फत उजुरी दिन पाउने तथा सरकारबाट त्यस्ता समस्या समाधान गर्ने अभिप्रायले सञ्चालित हेलो सरकारजस्ता माध्यममार्फत नै सरकार जनतामाझ प्रवाहित आफ्नो सेवाको गुणस्तरीयता थाहा पाउन सक्षम हुनुका अतिरिक्त प्रवाहित सेवाको गुणस्तरीयतामा देखिएका कमी कमजोरी, कर्मचारी संयन्त्र वा अन्यत्रबाट भए गरेका अनियमितता, विकास निर्माणका गतिविधिका सम्बन्धमा जानकारी लिने स्वतन्त्र तथा सशक्त कडी हो । यसबाट प्राप्त हुने सूचना तथा जानकारी सरकारका लागि मार्गदर्शक पनि हुनेसक्ने विषय पनि त्यत्तिकै मननीय छन् ।

वर्तमानमा पनि हेलो सरकार कार्यक्रमले आम नेपाली जनतासमक्ष सकारात्मक प्रभाव पारिरहेको मान्न सकिने आधारहरू प्रशस्तै छन् । २०७६ साल साउन यता सार्वजनिक सेवासँग सम्बद्ध १६ हजारभन्दा बढी गुनासा दर्ता भएकामा तीमध्ये १० हजारभन्दा बढी गुनासा हेलो सरकार कक्षबाटै फछर्यौट भएका पाइएका छन् । यस आँकडाबाट मासिक रूपमा पाँच सयभन्दा बढी गुनासा हेलो सरकारमा प्राप्त भएका र तीमध्ये झन्डै दुईतिहाइ गुनासाका समाधान भएका देखिन्छन् । यसैगरी बाँकी गुनासाहरू सम्बन्धित निकायबाट क्रमिक रूपमा फछर्यौट हुँदै जाने क्रममा रहेका छन् । प्राप्त गुनासामा आमजनतासँग सम्बन्धित सेवाहरू, प्रहरी सेवा, विद्युत् सेवा, नागरिक एप, नेपाल टेलिकमजस्ता आमनागरिकसँग सम्बद्ध विषयवस्तुका गुनासाहरू बढी दर्ता भएबाट आमजनतामा यसप्रतिको साखमा अभिवृद्धि हुँदै गएको कडीका रूपमा औँल्याउन सकिन्छ । साथै यसबाट हेलो सरकार कार्यक्रमले सरल एवं सहज रूपमा आमजनता समक्ष पहुँच पु¥याइरहेको तथ्य पनि स्पष्ट हुन्छ । जनउत्तरदायीपूर्ण सरकारका लागि यो नै खुसी तथा हौसलाको विषय पनि हो । यसबाट निःसन्देह रूपमा सरकार तथा सरकारी सेवाप्रति आमजनतामा सकारात्मक भावना प्रवाहित थप मद्दत पुग्ने देखिन्छ ।

आगामी दिनमा हेलो सरकार कार्यक्रमलाई थप विश्वसनीय तथा विस्तार गर्न आवश्यक छ किनकि यो कार्यक्रम आमजनताको आवाज सरकारसमक्ष पुग्ने कम झन्झटिलो तथा सहज माध्यमका रूपमा विकसित हुँदै आएको छ । यसबाहेक यसमा गरिएका उजुरीको तत्काल वा शिघ्राशिघ्र समाधानका थप उपाय खोज्न सकिए यसले आम जनतामाझ थप विश्वनीयसता हासिल गर्ने तथ्यमा दुई मत छैन ।

सरकार र नागरिकबीच अन्तरसंवादलाई दोहोरो सञ्चारका रूपमा विकास गर्ने आधुनिक सूचना प्रविधिको अझै विविधीकरण आवश्यक छ । प्रयोगमा भइरहेका संयन्त्रहरूको थप विकास र विस्तारले सरकारको प्रशासनिक क्षमताको अभिवृद्धि हुने छ । सुशासनमा प्रवद्र्धन हुनेछ । आम नागरिकले भोग्नु परेको समस्या भौतिक रूपमै कार्यालयहरूमा पुगेर गुनासा राख्ने अवस्था छैन । सूचना प्रविधिको युगमा यो कठिन काम पनि हो । सरकारले सेवा तथा सुविधालाई आधुनिकीकरण गर्दै विद्युतीय प्रणालीमा अगाडि बढाउनसमेत हेलो सरकारजस्ता लोकप्रिय कार्यक्रमको अझै प्रवद्र्धन गर्नुपर्छ । सम्बद्ध निकायले आ–आफ्नो काम मात्र प्रभावकारी गरेमा सरकारको सुशासन क्षमतामा बढोत्तरी हुनेछ । नागरिकको करबाट चल्ने सरकार र समग्र प्रशासन यन्त्रले नागरिकलाई सेवा र सविधालाई कम खर्च र सययमा पु¥याउन पछाडि पर्नु हुन्न ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?