logo
२०८१ बैशाख १५ शनिवार



अफगानिस्तानलाई पवित्र सहयोग (सम्पादकीय)

विचार/दृष्टिकोण |




लामो द्वन्द्वमा रुमलिएको अफगानिस्तानले यताका दिनमा भयानक मानवीय सङ्कट भोगिरहेको छ । खास गरी अफगान सत्तामा तालिबानले केही महिना अघिदेखि कब्जा जमाएपछि अफगानिस्तानले प्राप्त गर्दै आएको अन्तर्राष्ट्रिय सहयोगमा बिराम लागेको छ । आफूलाई अतिवादी समूह भन्न रुचाउने तालिबानीले मानव अधिकारका अन्तर्राष्ट्रिय कानुनहरू मान्दैन । महिलालाई अध्ययन र घरबाहिर गएर सार्वजनिक काम गर्न बर्जित गरेको छ । प्रजातान्त्रिक शासन पद्धतिमा उसको विश्वास छैन तर पनि अफगानसत्ता तालिबानी समूहले हत्याएपछि परम्परागत शक्ति र सामथ्र्र्य भएकाहरू देश छोडेर गएका छन् । लामो समय अमेरिकी सेनाका सहयोग अफगानिस्तानका पुरानो सत्ताका लागि काम लागेन । अफगान नागरिकका लागि त तालिबानीविरुद्धको अन्तर्राष्ट्रिय सहयोग बालुवामा पानी नै भयो । नेपालको पहाडी र हिमाली भूभागजस्तै जाडो हिउँले यतिबेला अफगानिस्तान कठ्याङ्ग्रिएको छ । औषधि, खाद्यान्न, न्यानो कपडा आदिको चरम अभावले यतिबेला अफगान नागरिकले अन्तर्राष्ट्रिय सहयोग मागिरहेका थिए । यसै मेसोमा आइतबार नेपालले विमान चार्टर गरी अफगानिस्तानमा मानवीय सहयोग पु-याएर आफूलाई अन्तर्राष्ट्रिय मानवीय दायित्वको उत्कृष्ट श्रेणीमा उभ्याएको छ ।

सन् २००७ देखि अफगानिस्तान दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को सदस्य छ । सार्क सदस्य भए पनि तालिबानले सत्ता लिएपछि नेपालले त्यो सत्तालाई मान्यता दिएको छैन । नेपाललगायत अधिकांश अन्तर्राष्ट्रिय जगत्को तालिबान सत्तालाई समर्थन छैन । मान्यता छैन । त्यसैले पनि सम्पूर्ण अन्तर्राष्ट्रिय समुदाय अफगानिस्तानलाई सहयोग गर्न हच्किरहेका छन् । यसै परिवेशमा परराष्ट्रमन्त्री डा.नारायण खड्काको विशेष पहलमा नेपालमा सङ्कलित १४ टन बराबरको मानवीय सहायता सामग्री आइतबारै अफगानिस्तानका नागरिकका लागि पु¥यायो । त्यो सामग्री अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घका महासचिवका उपविशेष प्रतिनिधि डा. रामिज अलकबारोभलाई हस्तान्तरण गरियो । काबुल विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिले नेपाली टोलीलाई सङ्घको अफगानिस्तानस्थित कार्यालयमा लगिएको थियो । त्यही सामग्री हस्तान्तरण गरी टोली आइतबारै स्वदेश फर्किएको छ । तालिबानी सत्तासँग टोलीको सम्पर्क रहेन । नेपालको तालिबान सत्तासित सम्पर्क र सम्बन्ध नभएकोले नै त्यसो गर्नुपरेको हो ।

नेपालले पठाएको सहायता सामग्रीमा संयुक्त राष्ट्रसङ्घले दिएको आवश्यकताको सूचीलाई प्राथमिकता दिइएको छ । त्यसअनुसार औषधि सामग्री, घरायसी प्रयोजनका सामग्री र जाडोमा लगाउने न्यानो लत्ताकपडा रहेका छन् । त्यो सहायता सामग्री तयार गर्न मन्त्री खड्काले सरकारलाई कुनै व्ययभार थप्नुभएको छैन । नेपालका उद्योगी व्यवसायी, उद्योग वाणिज्य सङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घ, अवैतनिक महावाणिज्य दूतावास, नेपाल, अग्रवाल सेवा केन्द्र, निजी क्षेत्रका शीर्ष निकाय एवं विभिन्न सङ्घ संस्था र व्यक्तित्वमार्फत सहायता सामग्री सङ्कलन गरिएको हो । हिमालयन एयरलायन्स र नेपाल आयल निगमको समेत त्यसमा विशेष सहयोग रहेको छ ।

गत भदौ–असोजताका तालिबानले अफगानिस्तानको सत्ता आफ्नो हातमा लिएपछि अफगानिस्तानलाई सहयोग गरिरहेका परम्परागत शक्ति राष्ट्रहरूले चटक्कै हात छोडे । द्वन्द्वको लामो शृङ्खला भएको अफगानिस्तानमा चार करोड ७० लाख मानिस बस्छन् । यतिबेला देशको उत्तरी भूमागमा बस्ने झन्डै दुई करोड ७० लाख मानिस अति आवश्यकीय वस्तु तथा सेवाबाट वञ्चित छन् । कोरोनाको महामारीसमेत अफगानिस्तानमा तीव्र रूपमा फैलिएको छ । कोरोनाविरुद्ध खोपमा तालिबानी सत्ताको विश्वास कमजोर छ । लगातार तेस्रो वर्ष खडेरी भएको अफगानिस्तानको परम्परागत खाद्यान्न उत्पादन अति न्यून भएको छ भने द्वन्द्वका कारण मानिसहरूले खेतीपाती राम्ररी लगाउन पाएका छैनन् । सीमित अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहयोग पनि भर्खर भर्खर मात्र अफगानिस्तान पुग्दैछ तर मानवीय सङ्कट भने झनै बढेर गएको छ ।

कहिलेकाँही सानो सहयोगको समेत ठूलो महìव हुन्छ । आँखाको नानी सानो हुन्छ तर संसार त त्यसैले हेर्ने हो । नेपालले निजी क्षेत्रलाई विश्वासमा लिएर सङ्कटमा परेका अफगान नागरिकका लागि गरेको सहयोग आफैँमा महìवपूर्ण छ र पवित्र पनि । विमान चार्टरै गरेर बाह्य मुलुकमा नेपालले गरेको यस खालको सहयोग नेपालकै इतिहासमा पहिलो पटक हो । यसले नेपालको अन्तर्राष्ट्रिय छवि उज्वल बनाउन ठूलो सहयोग पु-याएको छ । असल र सही नेतृत्व सही ठाउँमा पुग्न सक्दा के कस्तो सिर्जनात्मक काम गर्न सक्छ भन्ने अनुपम नमुनासमेत हो यो । राष्ट्रको छवि उज्यालो पार्ने यस्ता कामले निरन्तरता पाउनु जरुरी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?