logo
२०८१ बैशाख १४ शुक्रवार

   काँग्रेस महाधिवेशन  



मुलुकको अपेक्षा र देउवाको आवश्यकता

देउवाले हरेक कठिन घडीमा नेतृत्वदायी भूूमिका निर्वाह गर्नुभएको छ

विचार/दृष्टिकोण |


मुलुकको अपेक्षा र देउवाको आवश्यकता


विष्णु सुवेदी

मुलुकको राजनीति यतिबेला काँग्रेसको १४औँ महाधिवेशनको माहोलले तरङ्गित छ । केन्द्रीय नेतृत्वका लागि नेताहरू आआफ्नो तयारीमा जुटेका छन् । वडा, गाउँ, नगर, क्षेत्र, जिल्ला हुँदै प्रदेश तहको अधिवेशन लगभग सकिएको छ । नेतृत्वका लागि वडादेखि केन्द्रसम्म नै प्रतिस्पर्धाको चित्र र चुनौती रोचक देखियो । झण्डै साढे चार हजारको हाराहारीमा केन्द्रीय महाधिवेशन प्रतिनिधिहरू नेतृत्व चयनका लागि काठमाडौँ आउँदैछन् ।

काँग्रेसको आन्तरिक जीवनका लागि यो महाधिवेशन जति महत्त्वपूर्ण छ, मुलुकको राजनीतिक कोर्स निर्धारणमा पनि यो त्यति नै अर्थपूर्ण हुनेछ । काँग्रेस महाधिवेशनको प्रभाव र परिणामबारे मुलुकभित्र मात्र चासो र चर्चा छैन, अन्तर्राष्ट्रिय समुदायले पनि निकै नजिकबाट नियालेका छन् । पाँच राजनीतिक दलको गठबन्धनको अगुवाका रूपमा रहेको काँग्रेसको यो महाधिवेशनले चयन गर्ने नेतृत्व र नीतिले मुलुकको राजनीतिलाई पनि डो-याउनेछ ।

२०७२ सालको फागुनमा भएको काँग्रेसको १३औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वको चार वर्षे अवधि २०७६ सालको फागुनमा सकिएको थियो । विधान अनि संविधानले दिएको सुविधा उपयोग गर्दै म्याद थपिएको र पटक पटक सर्दै पनि आएको काँग्रेसको यो महाधिवेशनलाई निकै महत्वका साथ प्रतीक्षा गरिएको छ ।

मुलुकसामु उपस्थित विशिष्ट परिस्थिति र पाँच गठबन्धनले विश्वासका साथ सुम्पेको ऐतिहासिक अभिभारालाई समेत ध्यानमा राख्दै देउवाले एक पटक फेरि सभापतिमा उठ्ने घोषणा गरिसक्नुभएको छ । प्रधानमन्त्री तथा काँग्रेसका सभापति शेरबहादुर देउवा सबैभन्दा बढी शासकीय अनुभव बटुलेको, प्रजातन्‍त्रका लागि निरन्तर लडेको मुलुकको पाको राजनीतिज्ञ हुनुहुन्छ । उहाँ काँग्रेसको नेता वा सभापति मात्र होइन । सिङ्गो मुलुकको अभिभावक हो । सबै दलहरूले मानेको र विश्‍वास गरेको साझा व्यक्तित्व हो उहाँ ।

यतिबेला काँग्रेसको अगुवाइ अनि सभापति शेरबहादुर देउवाको नेतृत्वलाई पाँच दलले मात्र होइन, सिङ्गो मुलुकले स्वीकार गरेको छ । कांँग्रेसका लागि यो विशिष्ट अवसर हो । पाँच दलले स्वीकारेको र सिङ्गो मुलुकले मञ्जुर गरेको नेतृत्वको विकल्प खोज्नुपर्ने आवश्यकता यतिबेला त्यति सहज र सान्दर्भिक देखिँदैन । यो विशिष्ट जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गरेर मुलुकलाई राजनीतिक स्थिरता र आर्थिक उन्नतितिर डोर्याउने र काँग्रेसलाई पुरानै बलियो अवस्थामा फर्काउने लक्ष्य हासिल गर्न देउवाले फेरि एक पटक मौका माग्नु भएको छ ।

शेरबहादुर देउवाको यसपालिको सत्ता यात्रालाई उहाँको व्यक्तिगत जीवनको उतारचढावको रूपमा मात्र हेर्नु गलत हुनेछ । लोकतन्त्र र संविधानको भविष्यको सुरक्षा देउवाको भूमिका र सफलतासँग पनि जोडिएको छ । यतिबेला देउवा फेल हुनु भनेको काँग्रेस पनि असफल हुनु हो । यो विशिष्ट अवसरलाई काँग्रेस आफू एकजुट भएर सुझबुझ र सतर्कताका साथ उपयोग गर्न सकेन भने देउवा मात्र असफल हुने छैनन्, काँग्रेस पनि फेल हुनेछ र काँग्रेसको भूमिका राष्ट्रिय राजनीतिमा लामो समय फेरि खुम्चिनेछ । किनभने यो मुलुकले सुम्पेको खास अभिभारा हो । काँग्रेसले मागेर वा चाहेर मात्र प्राप्त गरेको भूमिका होइन । त्यसैले लोकतन्त्र र संविधानको यात्रालाई सुरक्षित तुल्याउन देउवा नेतृत्वको यो गठबन्धनलाई सफल बनाउनुको विकल्प छैन ।

इतिहासलाई फर्केर हे-यौँ भने जतिबेला लोकतन्त्र खतरातिर उन्मुख हुन्छ अर्थात् मुलुक सङ्कटमा पर्छ, त्यतिबेला मुलुकले नै काँग्रेसको भूमिका माग्छ अनि जनताले पनि काँग्रेसकै अग्रसरता खोज्छन् । २००७ सालदेखि पछिल्लो पटकको संसद् पुनस्र्थापनाको राजनीतिक घटनाक्रमसम्म हेर्ने हो भने हरेक परिवर्तनमा काँग्रेसकै अगुवाइ देखिन्छ ।

यस पटक मात्र होइन, हरेक पटक देउवाले चुनौतीपूर्ण घडीमा सरकारको नेतृत्व लिनुभएको छ । पहिलो पटक २०५२ मा सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गरेपछि उहाँ प्रधानमन्त्री बन्नुभयो । त्यतिबेला पनि राजनीतिक धु्रवीकरण गम्भीर मोडमा थियो । २०५८ मा देउवा दोस्रो पटक प्रधानमन्त्री हुँदा मुलुक आन्तरिक द्वन्द्वमा फसिसकेको थियो । त्यसपछि दुई पटक सरकारको नेतृत्व लिँदा पनि मुलुकको अवस्था सहज थिएन । सबै तहको चुनावलाई सफलतापूर्वक सम्पन्न गरेर संविधानको सफल कार्यान्वयन गर्ने ऐतिहासिक अभिभारा उहाँले नै पूरा गर्नुभएको थियो । जस्तोसुकै कठिन र असहज परिस्थितिमा नेतृत्वदायी भूमिका निर्वाह गरेर राजनीतिलाई लिकमा ल्याउन देउवाको अगुवाइपूर्ण भूमिका छ ।

सरकारको सहयात्री वा साझेदार घटक विपक्षीसँग मिलेर चुनावी मोर्चामा सामेल हुँदा पनि देउवा अलिकति विचलित नभइकन संविधानको कार्यान्वयनमा डटेर लाग्नुभयो । पार्टीको जित हारभन्दा पनि लोकतन्त्र र संविधानको सुरक्षालाई नै उहाँले प्राथमिकतामा राख्नुभयो ।लामो समय कोइराला परिवारको प्रभावमा रहेको काँग्रेसलाई पारिवारिक विरासतबाट मुक्त गरेर १३औँ महाधिवेशनमा देउवा सभापतिमा निर्वाचित हुनुभएको हो । देउवा विरासत वा कसैको टीका, कृपा पाएर होइन, सङ्घर्ष र प्रतिस्पर्धाले स्थापित भएका नेता हुनुहुन्छ । र त्यसका लागि देउवाले दुई दशकभन्दा लामो समय पार्टीभित्रै आन्तरिक सङ्घर्ष गर्नुभएको छ ।

डडेल्धुराको सामान्य किसान परिवारमा जन्मिएका देउवा विद्यार्थी कालदेखि नै राजनीतिमा होमिएर प्रजातान्त्रिक सङ्घर्षमा निरन्तर क्रियाशील रहनुभयो । निजी जीवन र व्यक्तिगत रहरलाई पर सारेर अनवरत सङ्घर्षरत देउवा यतिबेला राष्ट्रिय राजनीतिको मियोको रूपमा स्थापित हुनुभएको छ । सामाजिक रूपान्तरण, आर्थिक विकास, लोकतन्त्रको सुदृढीकरण, शासकीय सुधार, नागरिक हक अधिकारको प्रत्याभूति गर्ने दिशामा देउवाको नेतृत्वमा थुप्रै महत्वपूर्ण काम र कदम भएका छन् ।

विकल्प खोज्नेहरू आफैँ छिन्नभिन्न

काँग्रेसको १३ औँ महाधिवेशनमा देउवासँग प्रतिस्पर्धाको जुन खालको चित्र र चुनौती थियो, यस पटक त्यस्तो प्रतिस्पर्धाको सम्भावना कमजोर देखिएको छ । महाधिवेशनको औपचारिक उद्घाटन हुन दुई दिन मात्रै बाँकी रहदा पनि संस्थापन इतर समूह निकै अलमलमा देखिन्छ । त्यो समूहभित्र आन्तरिक कलह एवं विभाजन चर्किएको छ र साझा उम्मेदवार चयन गर्ने प्रयास असम्भव जस्तै देखिएको छ । विकल्प खोज्नेहरू झन् छिन्नभिन्न अवस्थामा देखिन्छन् । त्यहाँ गौँडागौँडामा गुटबन्दी छ ।

रामचन्द्र पौडेल, डा.शशाङ्क कोइराला, प्रकाशमान सिंह, डा.शेखर कोइराला, अर्जुननरसिंह केसी, डा.रामशरण महत सबैले आफूलाई सभापतिको आकाङ्क्षीका रूपमा प्रस्तुत र दाबी गर्नुभएको छ । तर कसैले पनि अहिलेसम्म औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेको अवस्था भने छैन । यो अवस्थाले पनि संस्थापन इतरबाट साझा उम्मेदवार बन्ने सम्भावना निकै कमजोर देखिन्छ ।

पौडेललाई अघि बढाउन अरू नेताहरू तयार छैनन् भने अरूलाई स्वीकार्ने मुडमा पौडेल देखिनुभएको छैन । हालै पौडेललाई सत्ता गठबन्धनमा सहभागी पाँच दलीय संयन्‍त्रको संयोजक बनाउने निर्णयपछि खासगरी संस्थापन इतर समूहमा एक प्रकारको भुइँचालो नै गएको छ । पौडेलले देउवासँग घाँटी जोडेको भन्दै पौडेलका सहयात्रीका रूपमा रहेका प्रकाशमान सिंह, डा.शशाङ्क कोइराला र डा.शेखर कोइरालाहरू नै पौडेलप्रति सशङ्कित देखिनुभएको छ । यो अवस्थामा पौडेल शेरबहादुर देउवाको प्रतिस्पर्धी वा प्रतिद्वन्द्वी भन्दा पनि एउटा राजानीतिक सहयात्री वा सहयोगीकै भूमिकामा प्रस्तुत भएको आरोप संस्थापन इतरका नेता कार्यकर्ताले लगाउन थालेका छन् ।

पछिल्ला दिनमा प्रकाशमानले पनि पौडेलको खुलेआम विरोध गर्नुभएको छ । प्रकाशमानले आफू निकटका सहयोगीहरूसँग डा. शेखरलाई मानेर अघि बढ्न नसकिने र रामचन्द्रको भरोसा नभएकोले बरु देउवासँग डिल गरेर अघि बढ्नु उपयुक्त हुने बताउन थाल्नुभएको छ । सभापतिका अर्का आकाङ्क्षी डा.शशाङ्क कोइराला पनि देउवासँग पहिलेदेखि नै नरम देखिनु हुन्छ । आफू सभापति नहुने अवस्थामा शशाङ्कले पनि देउवासँगै रणनीतिक साझेदारी गरेमा अचम्म नमान्दा हुन्छ ।

सुजाता कोइरालाले रामचन्द्र र डा. शशाङ्कभन्दा बरु देउवा ठिक भनिसकेको अवस्था छ । उता विमलेन्द्र निधिले हतारहतारमा तामझामका साथ सभापतिको उम्मेदवारी घोषणा गरे पनि अहिलेसम्म महाधिवेशका लागि आफ्नो समूहसमेत बनाउन सक्नुभएको छैन । नेता निधि यतिबेला न त उहाँ पुरानै टिममा फर्किन मिल्ने न त संस्थापन इतरसमूहसँग सहकार्य गरेर अघि बढ्ने अवस्थामा पुग्नुभएको छ । हतारको नेतृत्वको महत्त्वकाङ्क्षाले अप्ठ्यारोमा परेको अनुभव निधि स्वयंलाई हुन थालेको छ ।

सभापतिका अर्का आकाङ्क्षी कृष्णप्रसाद सिटौला मौन हुनुहुन्छ । पौडेल समूहभित्रको झगडालाई ‘क्यास’ गर्दै संस्थापनसँग डिल गरेर बढी भागबन्डा लिने दाउमा सिटौला हुनुहुन्छ । त्यसैले संस्थापन इतर पक्षमा कसैले पनि कसैलाई मान्‍ने वा विश्‍वास गर्ने अवस्था देखिएन । यो अवस्थालाई संस्थापन पक्षले रणनीतिक रूपमा उपयोग गर्दै मुभ गर्ने हो भने संस्थापन पक्षको पोजिसन सुरक्षित र बलियो देखिन्छ ।

पौडेल समूह सुरुदेखि नै कुनै कार्यक्रम, योजना तथा अभियानभन्दा पनि भागबन्डाको राजनीतिमा बढी अल्झिएको कार्यकर्ताको आरोप छ । महाधिवेशनमा चुनाव हारेपछि पनि निर्वाचित नेतृत्वलाई सहज रूपमा काम गर्न नदिने र संस्थापन पक्षसँग सधैँ बार्गेनिङ गर्दै सङ्गठन निर्माण र कार्यकर्ता परिचालनको स्वाभाविक गतिलाई बिथोलेको आरोप पौडेल समूहमाथि छ । गुटबन्दीको संस्कृतिलाई मलजल गर्ने काम यही समूहबाट बढी भएको छ । कांँग्रेसको आन्तरिक जीवनमा समेत यसले नकारात्मक असर परेको छ ।

संस्थापन इतर पक्षका वरिष्ठ नेताहरूबीच नै नेतृत्वका लागि हानथाप भएपछि त्यहाँ रहेका युवा नेताहरू पनि निरास देखिन्छन् । सभापतिको उम्मेदवार टुङ्गो नलाग्दा उपसभापति, महामन्त्री तथा अन्य पदाधिकारीका लागि आकाङ्क्षी युवा नेताहरू अन्योलमा परेका छन् । अब प्यानल वा गुटको टिकट पर्खिनुभन्दा बरु आफ्नै तयारी र योजनाअनुसार अगाडि बढाउने मुडमा देखिन्छन् । कतिपय नेताले समूहभन्दा पनि आफ्नो व्यक्तिगत तर्फबाट समेत उम्मेदवारी घोषणासमेत गरेका छन् ।

गठबन्धनको सन्देश र साथ

विशेष परिस्थितिमा विशिष्ट उद्देश्यका साथ तयार भएको पाँच दलीय गठबन्धनलाई जोगाउन पनि पार्टीमा देउवाको नेतृत्वको निरन्तरता आवश्यक देखिन्छ । देउवा पुनः सभापति चयन हुँदा गठबन्धन थप बलियो हुनेछ र मुलुक उहाँकै नेतृत्वमा सहज ढङ्गले चुनावमा जाने अवस्था छ । यसबाट सबैभन्दा बढी लाभान्वित काँग्रेसलाई हुनेछ । किनभने देउवाको अगुवाइमा चुनावसम्म सहकार्य गर्न पाँच दल तयार भएका छन् । कथमकदाचित् अन्यथा परिणाम आएर गठबन्धन भत्किने अवस्था बन्यो भने मुलुक फेरि अर्को अप्ठ्यारो दिशातिर मोडिने खतरा छ । यो यथार्थलाई पनि मनन् गर्दै काँग्रेसका प्रतिनिधिहरूले विवेक प्रयोग गर्नुपर्ने अवस्था छ ।

वर्तमान सरकार गठनसँगै अस्थिरता र सङ्क्रमणको डरलाग्दो शृङ्खला अन्त्य भएको छ । गठबन्धन निर्माणसँगै राजनीतिक रिक्तता समाप्त भएर भरोसाको बिहानी सुरु भएको छ । गुमेको नवनिर्वाचित संसद् मुलुकले प्राप्त गरेको र पाँच दलीय गठबन्धनमा बलियो सरकार गठनसँगै मुलुक स्थिरतालाई उन्मुख भएको छ । झण्डै दुर्घटनाको डिलमा पुगेको राजनीतिक कोर्ष लिकमा फर्केको छ । भताभुङ्ग भएको राज्य संयन्त्र र भत्किएको राज्य पद्धतिलाई लिकमा ल्याउने महत्वपूर्ण कोसिस भएको छ ।

काँग्रेसले सरकारको नेतृत्व लिदाँ मुलुक कोरोना भाइरसबाट आक्रान्त थियो । कोरोना रोकथामलाई पहिलो प्राथमिकतामा राखेर खोप अभियानलाई युद्धस्तरमा अघि बढाइयो । त्यसको परिणाम लकडाउनको लामो शृङ्खला अन्त्य भएर आज मुलुक सहज अवस्थामा फर्केको छ । थलिएको अर्थतन्त्रले राहत महसुस गरेको छ । आम जनताको दैनिकीमा पनि सहजता आएको छ ।

विश्व मञ्चमा देउवाको छवि र विश्वास

हामी अत्यन्त संवेदनशील र जटिल भूराजनीतिक परिवेशबाट घेरिएका छौँ । बीचमा हाम्रो विदेश सम्बन्धमा केही अलमल र असन्तुलन पनि देखियो । खल्बलिने खतरामा रहेको विदेश सम्बन्धलाई सन्तुुलनमा ल्याउने र अन्तर्राष्ट्रिय समुदायको विश्वास एवं सद्भाव हासिल गर्ने दिशामा देउवा गठबन्धनबाट ठोस पहल भएको छ ।

ग्लास्गोमा हालै भएको विश्‍वस्तरीय नेताहरूसँग नेपालका प्रधानमन्त्रीको महत्वपूर्ण भेटवार्ताले राम्रो सन्देश गएको छ । नेपालका प्रधानमन्त्रीलाई विश्‍वका नेताहरूले दिएको सम्मान र देखाएको सद्भावले अन्तर्राष्ट्रिय जगत्मा नेपालको शिर थप उच्च भएको छ । यो स्तरको सम्मान र अवसर यसअघि कुनै पनि प्रधानमन्‍त्रीले पाएका थिएनन् । विश्‍व मञ्चमा नेपालको यति सानदार उपस्थिति र प्रस्तुति यसअघि कहिल्यै भएको थिएन । यसबाट के प्रस्ट हुन्छ भने पहिले अलमलिएको नेपालप्रति अन्तर्राष्ट्रिय समुदायको विश्‍वास र सद्‍भाव अब फेरि पुनस्र्थापित भएको छ । विदेश सम्बन्धमा वर्तमान सरकारले देखाएको परिपक्कता र कूटनीतिक कौशलको परिणामको रूपमा यसलाई लिनुपर्छ ।

यसले स्वदेश र विदेश दुवैतर्फ राम्रो सन्देश गएको छ भने देउवाको व्यक्तिगत छविले थप उचाइ हासिल गरेको छ । अन्तर्राष्ट्रिय समुदाय र मित्र राष्ट्रहरूको नेपालप्रति सद्भाव र सहयोगको जुन स्वाभाविक प्रवाह थियो, त्यो बीचमा केही अलमलिएको जस्तो देखियो, त्यसलाई पुनस्र्थापित गर्ने प्रयास यो सरकारबाट भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?