logo
२०८१ बैशाख १४ शुक्रवार



जर्मनीमा चान्सलर मर्केलका १६ वर्ष

विचार/दृष्टिकोण |




रामप्रसाद आचार्य
युरोपेली मुलुक जर्मनीमा फेरि पनि संयुक्त सरकार बन्ने भएको छ । सेप्टेम्बर २६ मा सम्पन्न संसदीय आम निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि फेरि पनि संयुक्त सरकार बन्न लागेको हो । दोस्रो विश्वयुद्धयता जर्मनीमा कुनै पनि दलले एकल बहुमत ल्याउन सकेका छैनन् । त्यहाँ संयुक्त सरकारको संस्कृति मौलाएको छ ।
यस पटकको निर्वाचनमा सत्तारुढ क्रिश्चियन डेमोक्रेटिक पार्टीभन्दा विपक्षी सोसल डेमोक्रेटिक पार्टीले बढी सिट जितेसँगै सो पार्टीका नेता ओलफ स्कोल्जाले अन्य साना दुई दल ग्रिन पार्टी र लिबरल पार्टीसँग मिलेर संयुक्त सरकार बनाउने बताउनुभएको छ । सत्तारुढ क्रिश्चियन डेमोक्रेटिक पार्टी भने आफ्नो नेतृत्वमा संयुक्त सरकार गठनका लागि पहल नगरी विपक्षमा बस्ने सम्भावना बढेको छ । धेरै सिट जितेर ठूलो पार्टी बनेको सोसल डेमोक्रेटिक पार्टीले यस पटकको निर्वाचनमा जलवायु परिवर्तनलाई मुख्य मुद्दा बनाएको थियो । विश्वकै लागि प्रमुख समस्या परेको जलवायु परिवर्तनलाई सन्तुलित बनाउन प्रमुख भूमिका खेल्ने सो पार्टीले प्रतिबद्धता व्यक्त गरेको छ । जर्मनी युरोपमा सबैभन्दा बढी हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुक हो । निर्वाचनका बेला जलवायु परिवर्तनको मुद्दामा सत्तारुढ दल भने मौन रह्यो ।
जर्मनीका पहिलो महिला चान्सलर एन्गेला मर्केल १६ वर्ष शासन गरेर अब राजनीतिबाट बिदा लिँदै हुनुहुन्छ । सेप्टेम्बर २६ मा त्यहाँ भएको संसदीय निर्वाचनमा उहाँले उम्मेदवारी दिनु भएन । सन् २००५ पछि लगातार १६ वर्षसम्म चान्सलरले निर्वाचनअघि नै राजनीतिबाट बिदा लिने घोषणा गर्नुभएको थियो ।

मर्केलको उत्तराधिकारी छान्ने भएको यो निर्वाचनले युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको जर्मनीका लागि अर्को युगको थालनी गर्दैछ । ६७ वर्षीया मर्केलले यसअघि नै यो निर्वाचनमा आफू नलड्ने बताएसँगै चान्सलरका लागि अरू दलका नेताहरूले चासो देखाएका हुन् । यस पटक पनि कुनै पनि दलले संसद्को तल्लो सदन बुन्डेस्ट्यागमा एकल बहुमत ल्याउन सकेनन् । कुनै पनि दलले बहुमत नल्याएकाले पुनः संयुक्त सरकार बनाउनुपर्ने अवस्था आएको हो । त्यसका लागि केही समय लाग्ने भएकाले मर्केलले नै जर्मनीको काम चलाउ चान्सलर भएर काम गर्नुपर्ने भएको छ ।
आठ करोड ३० लाख जनसङ्ख्या भएको जर्मनीमा छ करोडभन्दा बढी मतदाता छन् । जर्मनीमा प्रत्यक्ष र समानुपातिक गरी मिश्रित निर्वाचन प्रणाली छ । जर्मनीको प्रधानमन्त्रीलाई चान्सलर भनिन्छ । त्यहाँ चान्सलर नै कार्यकारी हुने र राष्ट्रपति मानार्थ हुने व्यवस्था छ । युरोपको शक्तिशाली औद्योगिक मुलुक जर्मनीमा मर्केलले गठबन्धन संस्कृतिको विकास गरी तीन कार्यकाल शासन गर्नुभयो । उहाँको कार्यकालमा मुलुकलाई थप शाक्तिशाली बनाउने काम भयो । जर्मनीको प्रभाव विश्वमै बढ्यो ।

तत्कालीन कम्युनिस्ट शासन रहेको पूर्वी जर्मनीको ह्यामवर्गमा सन् १९५४ जुलाई १७ मा मर्केलको जन्म भएको थियो । उहाँ त्यहीँ हुर्कनुभयो । उहाँका पिता पास्टर हुनुहुन्थ्यो । सन् १९७७ अलरिच मर्केलसँग एन्गेलाको बिहे भयो । विवाहपछि उहाँले पनि आफ्नो थर फेरेर मर्केल राख्नुभयो । सन् १९८२ मा अलरिच र एन्गेलाको सम्बन्ध विच्छेद भयो तर उहाँले मर्केल थर फेर्नु भएन । सन् १९८६ मा एन्गेलाले क्वान्टम फिजिक्समा पीएचडी गर्नुभयो । सन् १९९१ मा उहाँ हेल्मट कोलको सरकारमा मन्त्री बन्नुभयो । सन् १९९८ सम्म उहाँले मन्त्रीको भूमिकामा काम गर्नुभयो । उहाँ सन् २००० मा क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) को अध्यक्ष हुनुभयो ।
मर्केल सन् २००५ मा जर्मनीको चान्सलर निर्वाचित हुनुभयो । चान्सलर बन्दा उहाँ ५१ वर्षकी हुनुहुन्थ्यो । जर्मनीको पहिलो महिला चान्सलर र सबैभन्दा कम उमेरमा चान्सलर बन्ने पनि उहाँ नै हुनुभयो । सन् २००९, २०१३ र २०१८ मा उहाँ लगातार चान्सलरमा पुनः निर्वाचित हुनुभयो । सन् २००८ को आर्थिक मन्दी, २०१५ को शरणार्थी समस्या र २०२० को कोरोना महामारीका बेला मर्केलले देखाएको नेतृत्वले उहाँलाई विश्वस्तरीय नेता बनायो । सन् २०१८ मा सीडीयूको नेतृत्वबाट विदा लिनुभएकी मर्केलले अब सरकारको नेतृत्व पनि छाडेर अवकाशको जीवन बिताउनले बताउनुभएको छ । पहिलो विवाह सम्बन्ध विच्छेदमा टुङ्गिएपछि मर्केलले सन् १९९८ जोआकिम सउरसँग विवाह गर्नुभयो । मर्केलका आफ्ना सन्तान छैनन् तर जर्मनीमा उहाँलाई धेरैले मुत्ती उपनामले चिन्छन् । जर्मन भाषामा आमालाई मुत्ती भनिन्छ । मर्केलले २०१५ को सिरिया सङ्कटपछि जर्मनीमा झन्डै १२ लाख आप्रवासीलाई शरण दिनुभयो । कतिपय युरोपेली देशले आप्रवासीप्रति कडा नीति लिएका बेला मर्केलले नै त्यति ठूलो सङ्ख्यामा आप्रवासीलाई शरण दिने निर्णय गर्नुभयो । क्षमतावान प्रखर महिला नेत्री मर्केलले सहकार्यको राजनीतिलाई जोड दिनुभयो । जसका कारण १६ वर्षसम्म जर्मनीमा उहाँको शासन सम्भव भयोे ।

जर्मनी विभिन्न उतारचढाव पार गरी आजको सम्पन्न अवस्थामा आएको मुलुक हो । सन् १८७१ मा जर्मनी पहिलो पटक एकीकरण भएको थियो । मध्य युरोपका प्रसा, बबेरिया, स्याक्सोनीलगायत ३९ वटा स्वतन्त्र राज्यहरू एकीकरण गरी जर्मनी निर्माण गरिएको हो । तत्कालीन चान्सलर विस्मार्क र सम्राट विलियम प्रथमको नेतृत्वमा यो चुनौतीपूर्ण कार्य सम्पन्न गरिएको थियो । एकीकरणपछि क्रमशः शक्तिशाली बनेको जर्मनीले प्रथम र दोस्रो विश्वयुद्ध लड्यो । दुवै युद्धमा पराजित भयो । युद्धमा अकल्पनीय क्षति भोग्नु प¥यो । पहिलो विश्वयुद्ध सन् १९१४ देखि १९१९ सम्म भयो । यो युद्ध हारसँगै जर्मनीमा राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापना भयो । सन् १९३३ मा एडोल्फ हिटलर नाजी पार्टीका तर्फबाट जर्मनीका चान्सलर बने । उनले तानाशाही शासन चलाए । हत्या, हिंसा र आतङ्कले मुलुक जर्जर बन्यो । उनको कार्यकालमा ६० लाख यहुदी मारिए । उनको लहडले दोस्रो विश्वयुद्ध झन् घातक बन्यो । यो युद्धमा जर्मनी पराजित भएसँगै हिटलरले आत्महत्या गरे । मुलुक विभाजित भयो । पूर्वी जर्मनीमा कम्युनिस्ट शासन र पश्चिम जर्मनीमा प्रजातान्त्रिक शासन स्थापना भयो । सन् १९५५ मा पूर्वी जर्मनी वार्सामा र पश्चिम जर्मनी नेटोमा आबद्ध भए । सन् १९५७ मा पश्चिम जर्मनी युरोपेली आर्थिक सङ्घको संस्थापक सदस्य बन्यो । दुई जर्मनीबीच तनाव बढ्दै गएपछि सन् १९६१ मा बर्लिन पर्खाल निर्माण गरियो । यो पर्खालले पूर्वी जर्मनीका नागरिक पश्चिम जर्मनीमा जान रोक लगायो । सन् १९७० मा पश्चिम जर्मनीका चान्सलर बिली ब्रान्टले पूर्वी जर्मनीसँगको तनाव कम गर्ने प्रयास स्वरूप वार्ता आरम्भ गर्नुभयो । विभिन्न चरणमा वार्ता भए । तनाव कम हुँदै गयो । सन् १९८९ मा सोभियत सङ्घ विघटन भयो । त्यसलगत्तै बर्लिन पर्खाल पनि ढल्यो । त्यसको एक वर्षपछि सन् १९९० मा हेल्मुट कोलको नेतृत्वमा जर्मनीको पुनः एकीकरण भयो । जर्मनीको पुनः एकीकरणले युरोपलाई बलियो बनायो । कोल एकीकृत जर्मनीको चान्सलर बन्नुभयो । उहाँले सन् २००५ सम्म जर्मनीको नेतृत्व गर्नुभयो ।

जर्मनी तीन लाख ५७ हजार २७ वर्ग किमी क्षेत्रफलमा फैलिएको युरोपको ठूलो औद्योगिक मुलुक हो । यहाँको जनसङ्ख्या आठ करोड ३० लाख छ । मुख्य भाषा जर्मन र मुख्य धर्म ईसाई रहेको यो मुलुकको औसत आयु पुरुषको ७८ वर्ष र महिलाको ८३ वर्ष छ । जर्मनीको लामो संस्कृति, परम्परा, भाषा र इतिहास छ । जर्मनहरू आफूलाई विश्वमै अब्बल ठान्छन् । महिला नेतृत्व झन् अब्बल हुन्छ भनेर मर्केलले प्रमाणित गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?