logo
२०७८ मंसिर ११ शनिवार



विद्यालयमा मनोपरामर्श

विचार/दृष्टिकोण |




प्रेमनारायण भुसाल

महामारीका कारण दैनिक गतिविधि सञ्चालन हुन नपाउँदा जनजीवन लामो समयसम्म अस्तव्यस्त भयो । शैक्षिक संस्थासमेत बन्द हुन पुग्दा विद्यालय जाने उमेरका बालबालिका नियमित पठनपाठनका क्रियाकलापबाट वञ्चित हुन पुगे । खासगरी बालबालिका आफ्ना उमेरका साथी–सङ्गतिलाई निकै महìव दिने गर्छन् । किशोर–किशोरी साथीसँग खेल्न पाउँदा आफ्ना सम्पूर्ण दुःख र अभावलाई बिर्सन्छन् । एउटै कुरामा लामो समयसम्म स्थिर हुन नसक्ने यी बालबालिकाले लामो समयसम्म घरभित्रै बसिरहँदा उकुसमुकुसको अवस्था अनुभव गरिरहेका छन् ।
विश्व स्वास्थ्य सङ्गठनले महामारीजन्य प्रकोप केही समयपछि नियन्त्रणमा आए पनि यसले पारेको मानसिक समस्याले लामो समयसम्म मानव समुदायलाई आक्रान्त पार्ने अनुमान गरेको छ । युनेस्कोले पनि महामारीको समयमा नियमित खोप र पोषिलो खानाबाट बालबालिका वञ्चित भएका कारण उनीहरूको वृद्धि र विकासमा नकारात्मक असर परेको निष्कर्ष निकालेको छ । महामारीका बेलाको यस प्रकारको नकारात्मक प्रभावले लामै समयसम्म शैक्षिक गुणस्तरमा प्रतिकूल असर देखापर्ने युनेस्कोको आकलन छ ।
नेपाल प्रहरीको आँकडाले पनि बालआत्महत्या, बालहिंसा, बालबिज्याइँ र साइबर क्राइमका अपराध बढेको देखाएको छ । बालबालिकामा एकलकाँटेपन, चिन्ता, बेखुसी, डर र आक्रामक स्वभाव बढ्दै गएको अभिभावकको गुनासो छ । अभिभावकको नियमित आम्दानीमा आएको विचलन र विविध किसिमका पारिवारिक समस्या नजिकैबाट भोगेका बालबालिकालाई पूर्ववत् अवस्थामा फर्कन लामो समय लाग्छ । धेरै बालबालिका यस अवधिमा सन्तुलित भोजनबाट समेत वञ्चित हुन पुगे । राम्रो खानपानको व्यवस्था भएका विद्यार्थी पनि शारीरिक व्यायाम र साथीसँगको अन्तक्र्रियाको अभावले एकलकाँटे बनेका छन् । पढ्ने बानी छुटिसकेकाले बालबालिकालाई स्कुल जाँदा एन्जाइटी बढ्ने र पढाइको स्तर खस्किने आशङ्का गरिएको छ ।
सुविधासम्पन्न परिवारका बालबालिकाले अनलाइन माध्यमबाट पठनपाठनलाई नियमितता दिएका भए पनि उनीहरूमा ग्याजेटप्रतिको निर्भरता र अनलाइन खेलको लत ज्यादा बसेको छ । जसले गर्दा उनीहरूको एकाग्रता र कामप्रतिको लगनशीलतामा अवरोध सिर्जना भएको छ । भर्चुअल कक्षा लिइरहेका बालबालिकामध्ये धेरैजसो विभिन्न किसिमका आक्रामक र हिंस्रक किसिमका अनलाइन खेलमा समेत संलग्न भएका छन् । यसले गर्दा उनीहरूको भर्चुअलजगत् र वास्तविक समाजप्रतिको दृष्टिकोणमा सन्तुलन
नहुन सक्दछ ।
पछिल्लो समय खोपको विस्तार र सङ्क्रमण दरमा देखिएको कमीका कारण दशैँ–तिहारपछि सबै विद्यालय सञ्चालन हुने सम्भावना बढेर गएको छ । लामो समयसम्म भौतिक उपस्थितिको पठनपाठनबाट वञ्चित भएका बालबालिकाको सिकाइ संस्कृति विस्मृतिमा गएकाले उनीहरूलाई विद्यालयमा समायोजन हुन कठिनाइ उत्पन्न हुने सम्भावना बढेको छ । एक किसिमले उनीहरूमा मानसिक तनावले असन्तोष र चिन्ता सिर्जना गरेको अवस्था छ । विद्यालय खुलेपछि साथीभाइसँगको संसर्गले धेरै समस्या समाधान भए पनि केही बालबालिकामा समायोजन तथा उदासीनता र आघातजन्य समस्या देखापर्ने सम्भावना छ । यसैले विद्यालयले बालबालिकासँगको व्यवहारमा सामान्य अवस्थामा भन्दा विशेष ख्याल पु-याउनु आवश्यक छ ।

विद्यालयका चुनौती
लामो समयसम्म पढाइ लेखाइबाट वञ्चित रहेका बालबालिकालाई पाठ्यक्रमका उद्देश्य र स्तरअनुरूप सिकाइ क्रियाकलापमा सक्रिय बनाउनु अहिलेका शिक्षक र विद्यालयको चुनौती हो । नियमित तालिकामा चलेका विद्यार्थी लामो समयसम्म स्वच्छन्द भएकाले उनीहरूको पठन संस्कृतिलाई पुनः विकसित गर्न समय लाग्नसक्छ । शैक्षिक सत्रको बाँकी रहेको समयावधिमा सम्पूर्ण पाठ्यपुस्तक अध्यापन गराउने उद्देश्य राखेर कक्षाकोठामा बालबालिकाको भावनाको बेवास्ता गर्दै गुणस्तरका नाममा घोकाउने र कडा नियन्त्रणमा राख्ने काम गरियो भने बालबालिकाको सन्तुलित र सर्वाङ्गीण विकासमा समस्या सिर्जना गर्नेछ । पढाइका नाममा विद्यालय खुल्नासाथ विद्यार्थीलाई तुरुन्तै अर्थहीन सूचनाहरू घोकाउनुको सट्टा उनीहरूलाई सिर्जनशील र समूह कार्यमा संलग्न गराउनु उपयुक्त हुन्छ ।
बालबालिकाले महामारीका बेला घरपरिवारमा रहँदा अनौपचारिक रूपमा सिकेका र भोगेका कुराको पुनर्संरचना गरी पाठ्यक्रमले राखेका कक्षागत र तहगत उद्देश्य पूरा गर्न शिक्षकले नयाँ र व्यावहारिक किसिमले तयारी गर्नुपर्छ । यसका लागि शिक्षाका क्षेत्रमा विकसित नवीन पद्धतिलाई आत्मसात् गर्नुपर्छ । बालबालिकाका व्यवहार कुशल सीपहरूको प्रवद्र्धनमा उनीहरूलाई फरकफरक विधि र माध्यमबाट सिकाइ क्रियाकलापमा संलग्न गराउने, प्रस्तुतीकरणको अवसर दिने तथा क्रियाकलाप गर्ने वातावरण तयार पार्ने जिम्मेवारी शिक्षकका काँधमा थपिएको छ ।
बालबालिकाका सोचाइगत, वैयक्तिक,
अन्तर्वैयक्तिक, नागरिक एवं प्रविधि तथा बहुसाक्षरता सीपको उन्नयनका लागि शिक्षकलाई तालिम र बालबालिकालाई मानसिक स्वास्थ्य शिक्षा तथा सचेतना आवश्यक पर्छ । बालिका शिक्षाको प्रवद्र्धन तथा स्कुल ड्रपआउट रोक्न विद्यालयमा स्वास्थ्य सेविका कार्यक्रम फलदायी भएझैँ अबका दिनमा हरेक विद्यालयमा बालबालिकाको मानसिक स्वास्थ्यको संवद्र्धनका लागि मनोवैज्ञानिक परामर्शदाताको व्यवस्था गर्नुपर्छ ।

मनोपरामर्श
पारिस्थितिक र संवेदनाजन्य समस्याका कारण सिर्जना भएको असामान्य अवस्थालाई सन्तुलन गर्न मनोपरामर्शको महìवपूर्ण भूमिका रहन्छ । महामारी तथा यस्तै आघातजन्य घटनाबाट व्यक्तिलाई सुरक्षित राख्न विश्व स्वास्थ्य सङ्गठनले प्राथमिक मनोवैज्ञानिक उपचार पद्धतिको प्रयोग गर्दै आएको छ । मनोवैज्ञानिक विधिबाट मानव मस्तिष्कमा परेका नकारात्मक प्रभावलाई निराकरण गर्नु परामर्शको उद्देश्य हुन्छ भने जटिल किसिमका मानसिक समस्या सिर्जना हुनबाट रोक्न प्राथमिक मनोवैज्ञानिक उपचार पद्धति प्रभावकारी देखिएको छ । हरेक पाँचमध्ये एक व्यक्तिमा कुनै न कुनै किसिमको मानसिक समस्या रहने गरेको डब्लूएचओ तथा अन्य विभिन्न संस्थाका अध्ययनले प्रस्ट पारेका छन् । महामारीको विषम परिस्थितिले यो समस्या अझै बढ्ने अनुमान गरिएको छ । अप्ठेरोमा परेका बालबालिकालाई सहयोग पु-याउनका लागि र बालबालिकाका माध्यमबाट मानसिक स्वास्थ्यसम्बन्धी चेतना विस्तार गर्नका लागि तालिम प्राप्त मनोपरामर्शदाताका माध्यमबाट विद्यालयमा मानसिक स्वास्थ्यसम्बन्धी क्रियाकलाप
सञ्चालन गरिनुपर्छ ।
विद्यालयमा बालबालिका मनस्थिति बुझ्ने, उनीहरूका क्रियाकलापको सूक्ष्म अवलोकन गर्ने तथा आवश्यक परेको समयमा मनोसामाजिक परामर्श दिने व्यवस्था मिलाउनु आजको अति आवश्यक कार्य हो । विद्यालयमा स्वास्थ्य सेविकाको आवश्यकता महसुस गरी नेपाल सरकारले सो अनुकूल नीति निर्माण गरे पनि मानसिक स्वास्थ्यका क्षेत्रमा खासै पहल हुन सकेको छैन । महामारीको नकारात्मक असर परिरहेको वर्तमान अवस्थामा सबै स्वास्थ्य संस्था र विद्यालयमा मनोविमर्शको तालिमप्राप्त गरेका परामर्शदाताको व्यवस्था गर्नु आवश्यक छ ।
विद्यालयका सन्दर्भमा स्वास्थ्य सेविकालाई परामर्शसम्बन्धी छोटो समयको आधारभूत तालिमको प्रबन्ध गर्न सकिन्छ । यसो गर्न सकेमा भविष्यका कर्णाधार बालबालिका तनावजन्य मानसिक समस्याका कारण नियमित दैनिक व्यवहार र पठनपाठनका क्रियाकलापबाट विचलित हुने सम्भावनालाई कम गर्न सकिन्छ । सहरी क्षेत्रका केही ठूला विद्यालयले यसपूर्व पनि विद्यालयमा मनोपरामर्शदाताको व्यवस्था गरेको पाइन्छ तर ती विद्यालयमा परामर्शदाताले स्वतन्त्र रूपमा विद्यार्थीलाई सहयोग गर्नुभन्दा अनुशासन इन्चार्जका रूपमा रही विद्यार्थीलाई तर्साउने, धम्क्याउने कार्यमा बढी भूमिका निर्वाह गरेको पनि देखिन्छ ।
मनोविमर्शमा कुनै पनि पूर्वाग्रह नराखी सूचनाको गोपनीयतासमेत निश्चित गरी सेवा लिने व्यक्तिलाई सहयोग गर्नुपर्छ । यसैले विद्यालयमा मनोवैज्ञानिक परामर्शदाताको व्यवस्था मात्र गरेर पुग्दैन, उनीहरूलाई स्वतन्त्र रूपमा काम गर्ने अधिकारसमेत दिइनुपर्छ । विद्यालयमा मनोपरामर्शकोे व्यवस्था गर्न सकेमा आगामी दिनमा बालआत्महत्या, लागूऔषध दुव्र्यसन र अन्य विविध किसिमका स्वास्थ्यविपरीतका लतबाट बालबालिकालाई जोगाउन सहयोग पुग्नेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?