logo
२०८१ बैशाख २९ शनिवार



कम्युनिस्ट पार्टी विभाजनको अन्तर्य

विचार/दृष्टिकोण |




हरि ज्ञवाली

यतिखेर नेपालका कम्युनिस्ट पार्टीहरू विभिन्न समूहमा विभाजन भएर कुनै सत्तापक्ष भएका छन्, त कुनै प्रतिपक्षमा छन् । कोही भूमिगत छन् त कोही अर्धभूमिगत रूपमा अस्तित्वमा छन् । नेपाल कम्युनिस्ट पार्टी अहिलेसम्म जुटेको भन्दा फुटेको इतिहास धेरै छ । २००६ सालमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी आफ्नो ७२ वर्षे इतिहासमा लगभग त्यति नै पटक फुटेको देखिन्छ । टुटफुट र विभाजनको यो विरासतीय शृङ्खला यतिखेर नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट फुटेर नेकपा (एकीकृत समाजवादी)सम्म आइपुगेको छ । यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आफ्नै आन्तरिक विवादका कारण अदालतको फैसलाबाट नेकपा एमाले र माओवादी केन्द्रका रूपमा विभाजित भएको थियो ।

एक–अर्कालाई अनेकौँ आरोप–प्रत्यारोप र सत्तोसराप गरी आफूलाई मात्र सच्चा कम्युनिस्ट ठान्दै आएका कम्युनिस्ट पार्टीहरू सैद्धान्तिक र नीतिगत आधारबिना नै पटक–पटक फुट्ने गरेका छन् । गरिब, सर्वहारा, किसान, मजदुर र महिला हकहितको नाममा गठन भएका सबैजसो कम्युनिस्ट पार्टीका नेताहरू कुनै सैद्धान्तिक र नीतिगत विवादभन्दा पनि व्यक्तिगत इगो र पद–प्रतिष्ठाका लागि नै फुटेको देखिन्छ । ‘विश्वका मजदुर एक हाँैं’ भन्ने नारा लगाउने कम्युनिस्टहरू आफैँमा चिराचिरा पर्नुले उनीहरूको भनाइ, आदर्श, नीति, सिद्धान्त र व्यावहारिक धरातलको अन्तरलाई प्रष्ट पार्छ । यसले कम्युनिस्टको दर्शन, सिद्धान्त र स्कुलिङमै खोट छ कि भन्ने आशङ्का बढाएको छ ।

पुष्पलालको अगुवाइमा नेपालमा २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना भएथ्यो । सुरुदेखि नै नेपाल कम्युनिस्ट पार्टीको नाममा पहिलो पर्चा छरेको दिन १० वैशाख २००६ (२२ अप्रिल, १९४९) लाई नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस मान्ने कि पार्टीको केन्द्रीय समिति, विधान र घोषणा–पत्र जारी गरेको ३० भदौ २००६ (१५ सेप्टेम्बर, १९४९) लाई पार्टीको स्थापना दिवस मान्ने भन्ने विषयको विवादमा लामो समय कम्युनिस्ट राजनीति केन्द्रित भइरह्यो ।
त्यसलगत्तै २००७ सालमै ‘गणतन्त्र कि राजतन्त्र ?’, ‘शान्तिपूर्ण आन्दोलन कि हतियारबद्ध आन्दोलन’ भन्ने बहसबाट सुरु भएको नीतिगत विवाद नेता पुष्पलाल र तुलसीलाल अमात्यको अन्तरविरोधसम्म आइपुग्दा ‘कुन बाटो ?’ र ‘अबको बाटो’ को पार्टीगत अन्तरविरोध र विवादमा तानियो । तत्पश्चात् कम्युनिस्ट पार्टी समयानुकूल परिस्थितिको व्याख्या–विश्लेषणको बहानामा एक–अर्काबीच फगत आरोप–प्रत्यारोप गर्दै पटक–पटक विभाजित भइरहेका छन् । स्थापनाको चार वर्षपछि २०१० सालमा पार्टीको पहिलो महाधिवेशन भयो । महासचिवमा मनमोहन अधिकारी निर्वाचित भए । १४ सालको दोस्रो महाधिवेशनबाट केशरजङ्ग रायमाझी महासचिव बने । रायमाझीकै कारण २०१७ सालपछि कम्युनिस्ट पार्टी पहिलो पटक विभाजित भयो । २०१७ साल पुस १ मा राजा महेन्द्रले शासनसत्ता हातमा लिएपछि रायमाझीले कालान्तरमा दरबारलाई सहयोग पु¥याए । पुष्पलाल, तुलसीलाल अमात्य, मोहनविक्रम सिंह र मनमोहन अधिकारीजस्ता नेताहरू पनि क्रमशः त्यतिखेरका शक्तिशाली कम्युनिस्ट राष्ट्रलाई हेर्ने दृष्टिकोणका कारण विभाजित भए ।

२०१९ सालमा तेस्रो महाधिवेशनले तुल्सीलाल अमात्यलाई महासचिव निर्वाचित गरी राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम पास ग¥यो । पार्टीको तेस्रो महाधिवेशनपछि पार्टीमा विभिन्न गुट–उपगुटहरू देखिए । रायमाझी समूह, तुल्सीलाल समूह र पुष्पलाल तीन समूहमा पार्टी विभाजन भयो । उता रायमाझीले छुट्टै तेस्रो महाधिवेशन गरेर आफू महासचिव भएको घोषणा गरे । पछि फेरि यो समूह बर्मा र मानन्धर समूहमा विभाजित भयो । २०२३ सालसम्म कम्युनिस्ट पार्टी लगभग अवसानको सँघारमा थियो । एकातिर पूर्व मेची–कोसी प्रान्तीय कमिटी गठन भयो भने अर्कोतिर केशरजङ्गको समूह छुट्टियो । त्यसको एक वर्षपछि पुष्पलालले नेपाल कम्युनिस्ट पार्टीको तेस्रो महाधिवेशन गराए ।
२०२५ सालमा तेस्रो सम्मेलन गरी पुष्पलालको नेतृत्वमा पार्टी गठन भयो । तेस्रो महाधिवेशनबाट फुट भएको कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाउन भन्दै जेलबाट छुटेर आएका नेताहरू मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठहरूको नेतृत्वमा २०२८ सालमा केन्द्रीय न्युक्लियसको गठन भयो ।

२०२८ सालमा नेपाल कम्युनिस्ट आन्दोलनका अर्का दुई वटा प्रष्ट लाइन देखापरे । झापा जिल्ला कमिटी र केन्द्रीय न्युक्लियस । पुष्पलाल समूहमा रहेको पूर्व कोसी प्रान्तीय कमिटीसँग सम्बद्ध झापा जिल्ला कमिटीले २०२७ सालको अन्त्यतिर झापामा सशस्त्र आन्दोलन सुरु ग¥यो । फलस्वरूप २०३२ सालमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेसन कमिटी (माले) को गठन भयो । यसमा २०३४ मा मुक्ति मोर्चा र पूर्वको रातो झण्डा समूहलगायत धेरै कम्युनिस्टका झुण्डहरू एकताबद्ध भए र अन्त्यमा २०३५ सालमा नेकपा (माले) को स्थापना भयो । यता मोहनविक्रम सिंहले २०३१ साल भदौमा चौथो महाधिवेशन गरी अर्को पार्टी बनाए । २०३६ मा एकता सम्मेलन गरी मनमोहनलगायतले नेकपाको घोषणा गरे । मोहनविक्रम सिंहको चौथो महाधिवेशनले २०३६ सालको जनमत सङ्ग्रहलाई बहिष्कार ग¥यो । जनमत सङ्ग्रहलाई लिएर पार्टीभित्र पुनः मतभेद सुरु भयो । २०४० सालमा निर्मल लामा समूहले पार्टी फुटायो र नेकपा (चौम) भन्ने नयाँ दल बनायो । मोहनविक्रमको समूहले आफ्नो पार्टीको नाम नेकपा मसाल राख्यो । प्रचण्डले मोहनविक्रममा सैद्धान्तिक विचलन रहेको प्रतिवेदन प्रस्तुत गरेपछि फुटको शृङ्खला पुनः सुरु भयो ।

चौथो महाधिवेशन पक्षधरले विरोधको तारो बनाएको को–अर्डिनेसन केन्द्र अर्थात् झापा विद्रोह र पुष्पलाल समर्थकहरूको एकीकरणबाट नै पहिले (२०३५ मा) नेकपा (माले) र पछि (२०४७ मा) नेकपा (एमाले)का रूपमा परिणत भयो । २०४० सालपछि नेकपा संयुक्त चौम, नेकपा (मशाल), नेकपा (मसाल), नेकपा (चौम) तीन समूहमा विभाजन हुन पुग्यो । २०४२ सालमा मोहनविक्रमले चित्रबहादुर केसीसहित चार जना केन्द्रीय सदस्य लिएर नयाँ पार्टी नेकपा मसाल बनाए । वैद्य नेतृत्वको पार्टीको नाम नेकपा मशाल राखियो । २०४५ सालमा नेकपा (मशाल) को सम्मेलन गरी प्रचण्ड महामन्त्री बने । एकताको दुई वर्षमै नयाँ पार्टीमा सशस्त्र युद्धको विषयलाई लिएर निर्मल लामाहरूले एकता केन्द्र छोडे । २०५१ मा निर्मल लामा, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लीलामणि पोखरेलहरू मिलेर छुट्टै नेकपा (एकताकेन्द्र) गठन गरे । यता प्रचण्ड नेतृत्वले नेकपा माओवादी राख्यो र उसले १० वर्षसम्म माओवादी जनयुद्ध सञ्चालन ग¥यो । यसबीचमा मोहनविक्रम सिंह नेतृत्वको मसाल र नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्रभित्र माओवादीलाई हेर्ने दृष्टिकोणमा फेरि मतभेद सुरु भयो । अनि २०६३ सालमा उनीहरू पनि फेरि फुटे । १० वर्ष सशस्त्र सङ्घर्ष गरेर २०६२/६३ पछि खुला राजनीतिमा आएको नेकपा माओवादीमा पनि तीव्र रूपमा फुट भई मोहन वैद्य, बाबुराम भट्टराई र नेत्रविक्रम चन्द हुँदै पाँच वटा पार्टी बने ।

बाबुराम भट्टराईले त कम्युनिस्ट आन्दोलन नै छोडे । २०३१ सालमा गठन भई २०४७ सालमा प्रथम सम्मेलनमार्फत सक्रिय भएको नेपाल मजदुर किसान पार्टी पनि अलग्गै पार्टीको रूपमा छ । यसै सन्दर्भमा २०४६ सालको जनआन्दोलन सम्पन्न भएपछि २०४७ साल चैत महिनामा नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच एकता भएर नेकपा (एमाले) बन्यो । २०५० जेठमा मदन भण्डारीको रहस्यमय दुर्घटनामा मृत्यु भएपछि माधवकुमार नेपाल महासचिव बने । २०५४ सालमा छैटौँ महाधिवेशनमा वामदेव गौतमको फरक मतको लाइन र महाकाली सन्धि सम्बन्धमा विवाद भयो । अन्ततः २०५४ सालमै त्यस पार्टीमा पनि फुट भएर पुनः नेकपा (माले) को जन्म भयो ।

नेकपा (एमाले) को नवौंँ महाधिवेशन २०७१ सालमा माधव नेपाललाई पराजित गरी केपी शर्मा ओली निर्वाचित भए । २०७५ साल जेठमा एकीकृत भएका एमाले र माओवादी करिब तीन वर्षपछि २०७७ फागुनमा अलग–अलग पार्टी भए । यतिखेर एमालेबाट पुनः फुटेर माधव नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) नामको नयाँ पार्टी दर्ता भएको छ । नेपाली कम्युनिस्ट पार्टीका यी टुटफुट, गुट र विभाजनका शृङ्खलाहरू नेपाली जनजीविकाका तमाम समस्या हल गर्नेतर्फ नभई फगत सत्ता–स्वार्थ र पद–प्रतिष्ठाकै लागि हुन् भन्ने तथ्यले स्पष्ट पारेका छन् ।

नेपाली कम्युनिस्टहरूको दर्शन, सिद्धान्त र स्कुलिङमै गम्भीर त्रुटि वा खोट छ कि भन्ने आशङ्का पनि बढाएको छ । पार्टीमा गल्ती र कमजोरीको जिम्मेवारी लिने संस्कृति छैन । यिनीहरूका नाउँ, ठाउँ, शैली र भाषा बेलाबेलामा परिवर्तन भइरहन्छन् । नेतृत्व तहको जीवनशैली, आचरण र बोलीमा देखापरेका अन्तर नै नेपाली कम्युनिस्ट पार्टीका सबैभन्दा ठूला समस्या भएका छन् । पार्टीका दर्शन, नीति र सिद्धान्तमा समयानुकूल परिमार्जन गर्दै आचरण र जीवनशैलीमा पूर्णतः परिवर्तन नभई अब कम्युनिस्ट आन्दोलन अगाडि
बढ्न गाह्रो देखिन्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?