logo
२०८१ पुष ७ आईतवार



खोप बढाऔँ, सचेत बनौँ (सम्पादकीय)

विचार/दृष्टिकोण |




कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै कोरोना विरुद्धको खोप, औषधि, उपकरण र अक्सिजनको अभावको अवस्था क्रमशः सहज हुँदै गएको छ । कुनै बेला ५० प्रतिशत हाराहारीसम्म पुगेको सङ्क्रमण दर अहिले २० प्रतिशतमा झरेको छ । वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा अहिले केही खुकुलो भएको छ तर पनि महामारी नियन्त्रणमा आइसकेको छैन । कोरोनाविरुद्धको खोपको उपलब्धता बढेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा सरकारको प्राथमिकतामा कोरोनाविरुद्धको ‘खोप, खोप र खोप’ रहेको बताएर नयाँ सरकारको प्रतिबद्धता जाहेर गर्नुभएको थियो । कोभ्यास सुविधाअन्तर्गत अमेरिकी सरकारले उपलब्ध गराएको जोनसन एन्ड जोनसनको खोप लगाउने कार्यको सोमबार थालनी र विभिन्न खोप केन्द्रको निरीक्षण गर्दै प्रधानमन्त्री देउवाले छिटोछरितो र चुस्त बनाई सहज र सुरक्षित ढङ्गले खोप लगाउने वातावरण मिलाउन निर्देशनसमेत दिनुभएको छ । सरकारले आगामी चैतभित्रमा सबै जनतालाई निःशुल्क रूपमा कोरोना विरुद्धको खोप लगाइसक्ने प्रतिबद्धता जनाइसकेको छ । आइतबारसम्ममा २९ लाख ९९ हजार २१९ जनाले पहिलो मात्रा र ११ लाख २९ हजार ९०८ जनाले दोस्रो मात्रा लगाइसकेको र खोपको उपलब्धता बढेको अवस्थामा भएकाले आगामी दिन केही सहज हुने आशा गर्न सकिन्छ । अनुदान र खरिदबाट ६५ लाख ८२ हजार ८५० मात्रा खोप नेपाल आइसकेको छ । कोभ्याक्सअन्तर्गत अमेरिकी सरकारले उपलब्ध गराएको जोनसन एन्ड जोनसनको १५ लाख ३४ हजार ८५० मात्रा खोप पनि नेपाल आइसकेको छ र एक मात्रा लगाए पुग्ने यो खोप सोमबारदेखि लगाउन सुरु भइसकेको छ । खरिद गरिएको मध्ये चीनबाट ३२ लाख र भारतबाट १० लाख मात्रा आउन बाँकी छ । १८ लाख मात्रा अनुदानमा दिइसकेको चीनले भर्खरै थप १६ लाख मात्रा खोप अनुदानमा दिने जनाएको छ । जापान सरकारले थप १६ लाख मात्रा खोप दिने भएको छ ।
कोरोना सङ्क्रमणको अवस्था घट्न थालेपछि निषेधाज्ञा खुकुलो बनाउँदै लगिएको छ । लामो समयसम्म आर्थिक सामाजिक गतिविधि ठप्प भएको अवस्थामा निषेधाज्ञा खुकुलो बनाउनुपर्ने आवश्यकता पनि थियो । तर यसले सङ्क्रमण बढ्ने चिन्ता थपिएको छ । विज्ञहरूले तेस्रो लहरको सङ्क्रमणको चेतावनी दिँदै सचेत रहन र स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्र्याइ नगर्न आग्रह गरिरहनुभएको छ । नेपालमा अहिले सङ्क्रमण दर २० प्रतिशत र सक्रिय सङ्क्रमितको दर चार प्रतिशत रहेको अवस्थालाई पनि बिर्सनुहुँदैन । यो भारतको भन्दा बढी हो । कोरोनाविरुद्धको खोप उत्पादन र प्रयोग बढेको भए पनि विश्वमा सङ्क्रमणको त्रास हटिसकेको छैन । पछिल्लो समयमा इण्डोनेसिया, थाइल्याण्ड, अस्टे«लिया, बेलायतसहित केही युरोपेली मुलुकमा सङ्क्रमण बढ्दो क्रममा देखिएको छ । भारतमै पनि केही प्रान्तमा सङ्क्रमण बढिरहेको छ । कोरोनाको डेल्टा भेरियन्टले विश्वभर नयाँ चुनौती थपेको छ ।
नेपालमा कोरोना सङ्क्रमण दर केही घटेको भए पनि ढुक्क हुने स्थिति अझै आइसकेको छैन । अन्य मुलुकमा यो महामारी घट्ने र बढ्ने क्रम चलिरहेको छ । सङ्क्रमण बढेका बेला स्वास्थ्य मापदण्ड र मानिसको आवतजावतलाई कडाइ गर्ने र सङ्क्रमण दर घटेमा खुकुलो बनाउने अभ्यास भइरहेको छ । त्यसैले नेपालमा पनि निषेधाज्ञा खुकुलो हुँदै गएको र आर्थिक सामाजिक गतिविधि बढ्न थालेकाले फेरि सङ्क्रमण बढ्नसक्ने सम्भावना कायमै छ । यो अवस्थामा सम्पूर्ण जनतालाई कोरोनाविरुद्धको खोप लगाउनुको विकल्प छैन । अहिले कोरोनाविरुद्धको खोपको उपलब्धता बढेको र आगामी दिनमा थप खोप आउने सुनिश्चित भएकाले जतिसक्दो चाँडो खोप लगाउनुपर्छ । यसका लागि मुलुकभर खोप अभियान सञ्चालन गर्नु आवश्यक छ र खोप व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ । तोकिएका समूहलाई सहज रूपमा खोप लगाउने व्यवस्था हुनुपर्छ । खोपले मात्रै पनि ढुक्क हुने स्थिति नरहेकाले प्रत्येक व्यक्तिले स्वास्थ्य मापदण्ड पालनामा ध्यान दिनुपर्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?