logo
२०७८ असोज १० आईतवार

दैनिक अध्यावधिक

image
790

सङ्क्रमित

image
1371

निको भएका

image
6

मृत्यु भएका

मिति:आश्विन ९, २०७८ (१५:५६)
स्राेत:https://covid19.mohp.gov.np/



न्यायमा ज्येष्ठ नागरिकको पहुँच

विचार/दृष्टिकोण |




पवित्रा अधिकारी

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को परिभाषाअनुसार ज्येष्ठ नागरिक (६० वर्षमाथिको उमेर) माथि हुने दुव्र्यवहार भन्नाले ‘आपसी विश्वास र निर्भरताको सम्बन्ध सीमाभित्र रहेर गरिने कुनै पनि त्यस्तो काम, कामको सिलसिला वा कामको अभाव, जसका कारणले ज्येष्ठ नागरिकलाई शारीरिक वा मनोवैज्ञानिक क्षति पुग्छ’लाई जनाउँछ । ज्येष्ठ नागरिकमाथिको दुव्र्यवहार पारिवारिक हिंसा चक्रको एक हिस्सा पनि हुन सक्छ । सारांशमा ६० वर्षमाथिका व्यक्तिका लागि उनीहरूको जीवनस्तरअनुरूप अमिल्दो व्यवहार वा बूढापाकाको आदर गर्ने सामान्य सिद्घान्तविपरीत हुने व्यवहार नै ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहार हो ।
विश्वमा ज्येष्ठ नागरिकको जनसङ्ख्या बढ्दै जाँदा दुव्र्यवहारबाट पीडित हुने पनि बढ्दै गइरहेको छ । यो अवस्थालाई मनन गरी यसलाई कम गर्ने र जनचेतना जगाउने उद्देश्यले सन् २००६ देखि अमेरिकास्थित इन्टरनेसनल नेटवर्क फर प्रिभेन्सन अफ एल्डर एब्युज (इन्पिया) नामक संस्थाले हरेक वर्ष जुन १५ लाई ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारविरुद्ध विश्व जनचेतना दिवस मनाउन सुरु गरेको थियो । त्यसको विश्वव्यापी महŒव र आवश्यकतालाई मनन गरी संयुक्त राष्ट्रसङ्घले पनि सन् २०१२ देखि यो दिवसलाई मान्यता दिएको हो । त्यसैले संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रले जुन १५ लाई ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारविरुद्ध विश्व जनचेतना दिवसका रूपमा मनाउँदै आइरहेका छन् ।
यस वर्ष यो दिवसका लागि संयुक्त राट्रसङ्घको नारा ‘न्यायमा ज्येष्ठ नागरिकको पहुँच’ रहेको छ । यसै नारामा केन्द्रित रहेर यो वर्ष विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।
सामान्यतयः ज्येष्ठ नागरिकमाथि गरिने दुव्र्यवहार निम्नलिखित प्रकारका हुन्छन् ।
१) आर्थिक दुव्र्यवहार ः आयआर्जन वा धन–सम्पत्तिको विषयलाई लिएर गरिने
नराम्रा व्यवहार ।
२) शारीरिक दुव्र्यवहार ः कुनै पनि विषयलाई लिएर ज्येष्ठ नागरिकमाथि कुटपिट गर्ने अथवा शरीरलाई असर गर्नेखालका व्यवहार ।
३) हेला ः ज्येष्ठ नागरिकको गाँस, बास र कपासको साथै अन्य आवश्यकता पूरा नगरिदिने घरबाट निकालिदिनेखालको व्यवहार ।
४) भावनात्मक वा मानसिक दुव्र्यवहार ः यस किसिमको दुव्र्यवहारभित्र गालीगलौज, अपमानजनक शब्द प्रयोग, आँखा तर्ने आदि जस्ता व्यवहार पर्छन् ।
५) यौन दुव्र्यवहार ः ज्येष्ठ नागरिकको इच्छाविपरीत जबर्जस्ती यौन सम्बन्धित कार्यमा लगाउनु ।
नेपाली समाजमा ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारका घटना एकदमै कममात्र बाहिर आउँछन् । पारिवारिक इज्जतको डर, उजुरी गर्ने उपयुक्त निकायको अभाव र आफ्नो हक–अधिकारबारे अज्ञानताको कारणले गर्दा आफू दुव्र्यवहारमा परेको घटना बाहिर ल्याउन र स्वीकार्न ज्येष्ठ नागरिक हिच्किचाउने गर्छन् ।
नेपालमा ज्येष्ठ नागरिकमाथिको दुव्र्यवहारसँग सम्बन्धी तथ्याङ्कको कमीलाई पूर्ति गर्ने उद्देश्यले एजिङ नेपाल नामक संस्थाले काम गर्दै आइरहेको छ । यस संस्थामा प्राप्त तथ्याङ्कअनुसार विगत आठ वर्षयता एक हजार ६९४ जना ज्येष्ठ नागरिक विभिन्नप्रकारका दुव्र्यवहारबाट पीडित भएका थिए भने दुव्र्यवहारबाट एक हजार ३४७ जनाले ज्यान गुमाएका थिए ।
उपलब्ध तथ्याङ्कलाई विश्लेषण गर्दा महिलाको तुलनामा पुरुषमा बढी दुव्र्यवहार हुने गरेको छ । दुव्र्यवहारबाट मृत्यु हुनेमा पनि महिलाभन्दा पुरुष बढी देखिन्छन् । भावनात्मक तथा मानसिक दुव्र्यवहारमा तथ्याङ्क थोरै छन् । किनकि यस्ता दुव्र्यवहारको रिपोर्टिङ नै एकदम कम हुन्छ । मद्यपान सेवन गरेका परिवारका सदस्यले, ज्येष्ठ नागरिकमाथि धेरै दुव्र्यवहार गर्ने गरेको पाइयो । परिवारमा बसेको ज्येष्ठ नागरिकमाथि धेरै दुव्र्यवहार गर्ने गरेको पाइयो ।
नजिकैको नातागोता (छोरा, श्रीमान्, बुहारी र ज्वाईं)बाट बढी दुव्र्यवहारमा पर्ने गरेको देखियो । गाउँघरको तुलनामा सहरी क्षेत्रमा भएका दुव्र्यवहारका घटना बढी छन् । ६०÷६५ वर्षका ज्येष्ठ नागरिक बढी प्रभावित भएको पाइयो । दुव्र्यवहारका कुल तथ्याङ्कमध्ये ७५ प्रतिशत तथ्याङ्क पुलिस रिपोर्टबाट प्राप्त भएको थियो । दुव्र्यवहार गर्नेमा अधिकांस पुरुषहरू र त्यसमा पनि २०–३० वर्षको रहेको पाइयो ।
माथि प्रस्तुत गरिएको तथ्याङ्क तथा त्यसको विश्लेषण नेपाली समाजमा हुने दुव्र्यवहारको वास्तविक तथ्याङ्क हो भनेर यकिन गर्न गाह्रो छ । किनकि दुव्र्यवहारका सबै घटनाको रिर्पोटिङ हुँदैनन् । डब्लुएचओका अनुसार ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहारसम्बन्धी विश्वको तथ्याङ्क हेर्दा प्रत्येक २४ घटनामा एक घटनामात्र बाहिर आउँछ ।
नेपालको सन्दर्भमा ज्येष्ठ नागरिकको कानुनी पहँुच गाउँपालिका र नगरपालिकामा मात्र सीमित छ । आफ्नो सम्पत्ति आफ्नै लागि प्रयोग गर्न सक्ने अवस्था छैन । अर्थात् बेचविखन वा खरिद गर्नुपरेमा परिवारको अन्य सदस्यलाई साक्षी राख्नुपर्ने हुन्छ । आफ्नो आवश्यकता र इच्छाअनुसारको काम गर्न नपाउने अवस्था छ । ज्येष्ठ नागरिकको विषय सेवाप्रदायक सङ्घ संस्थाको प्राथमिकतामा एकदमै कम मात्रामा पर्छन् ।
ज्येष्ठ नागरिकमैत्री शिक्षा तथा तालिमका लागि कार्यक्रम र सङ्घ संस्थाको अभाव रहेको छ । बैङ्कले उमेरहदका कारण ऋण दिन मान्दैनन् । ज्येष्ठ नागरिकका पिरमर्का, अन्याय र अत्याचारलाई न्यायिक दृष्टिले भन्दा कल्याणकारी दृष्टिले हेर्ने गरिन्छ । उमेर बढ्दै जाँदा भएका अधिकारबाट पनि वञ्चित हँुदै जाने परिस्थिति बढ्दै गइरहेको छ । समग्रमा नेपालको कानुन र व्यवस्था हेर्दा ज्येष्ठ नागरिकको न्यायमा पहुँच एकदमै न्यून छ ।
ज्येष्ठ नागरिकमाथि हुने दुव्र्यवहार रोक्न सरकारी तहदेखि व्यक्तिगत तहसम्मका नीति नियम निर्माण साथै शिक्षा र तालिमको आवश्यकता पर्छ । उजुरी लिने र समस्या समाधान गर्ने निकायको माथिल्लो तहसम्म व्यवस्था हुनुपर्छ । ज्येष्ठ नागरिकको सीप, दक्षता र अनुभवको उपयोग हुनेखालका नीति तथा कार्यक्रम निर्माण गर्नुपर्छ । यदि कहीँ कतै दुव्र्यवहार भएमा त्यस्ता घटनालाई बाहिर ल्याउनुपर्छ ताकि दोषीले सजाय र पीडितले न्याय पाउन सकून् ।
(लेखक एजिङ नेपाल संस्थामा कार्यरत हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?