logo
२०८१ जेष्ठ ५ शनिवार



दूरसञ्चार ‘डिजिटल’ रूपान्तरण

विचार/दृष्टिकोण |




सुरेशकुमार पुडासैनी
अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू) को आह्वानमा नेपाललगायत विश्वभरका १९३ सदस्य राष्ट्रमा आज मे १७ मा विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदै छ । विश्वमा दूरसञ्चार सेवा विकास, विस्तार, सञ्चालन र नियमनको प्रभावकारी व्यवस्था होस् भन्ने उद्देश्यले सन् १८६५ मे १७ मा अन्तर्राष्ट्रिय टेलिग्राम युनियन जन्म भएको थियो । उक्त संस्थाका संस्थापक राष्ट्रहरू २० मात्र थिए । सन् १९३२ मा स्पेनको म्याड्रिडमा भएको सम्मेलनले टेलिग्राम, टेलिफोन, आकाशवाणीसमेत समेट्नेगरी विधान पारित गरी यो संस्थाको नाम अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन (आईटीयू)मा परिवर्तन हुन गयो ।
यो दिवस मनाउनुको मुख्य उद्देश्य विश्वमा दूरसञ्चार सेवा (भ्वाइस, डाटा, दृश्य प्रसारण) को विकास र विस्तारमा समाजमा देखापरेका समस्या सुल्झाउने तथा देशको आर्थिक विकास र सामाजिक रूपान्तरणमा सक्दो सहयोग पु¥याउने हो । यस क्षेत्रका नीति निर्माता नियामक संस्था सेवाप्रदायक र उपभोक्ताबीचको जनचेतना जागृत गराउनु र सोहीअनुसार सेवा विस्तार गर्नु हो । यो दिवस मनाउने प्रचलन सन् १९६९ देखि भएको थियो । सुरुमा विश्व दूरसञ्चार दिवसको नामबाट यो दिवस मनाइन्थ्यो भने संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००९ देखि यो दिवसलाई विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको नामबाट मनाइँदै छ । यो वर्षको दिवसको नारा ‘एसिलरेटिङ द डिजिटल ट्रान्सफर्मेसन इन च्यालेन्जिङ टाइम’ अर्थात् चुनौतीपूर्ण अवस्थामा विद्युतीय रूपान्तरणको वृद्धि तय भएको छ ।

प्रचलन तथा सान्दर्भिकता
दूरसञ्चार सेवालाई सन् १९८५ सम्म विलासी सेवाका रूपमा लिने गरिन्थ्यो । त्यसैले यो सेवा विस्तारमा सरकारको प्राथमिकताको क्रममा निकै तल थियो । सन् १९८५ मा आईटीयूले गठन गरेको मैटल्यान्ड आयोगको प्रतिवेदनले यसलाई अति आवश्यक सेवाभित्र पार्न सुझाव दियो । त्यसै सुझावका आधारमा दूरसञ्चार सेवाको विस्तारले पनि गति लियो । आज कोरोना महामारीको सन्दर्भमा यो सेवा कति आवश्यक हुँदोरहेछ र यो सेवाले समाजको सेवा पु¥याउन सक्दोरहेछ भन्ने आम महसुस भएको छ ।
अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको स्थापना भएको ५० वर्षपछि मात्र नेपालमा यस्तो सेवाको विस्तार भएको हो । तर पनि आज नेपालको दूरसञ्चार क्षेत्रको प्रगति विश्वको दाँजोमा त्यति पछि परेको छैन । यसको मुख्य कारण नै आईटीयूजस्ता संस्थाको सल्लाह सुझावअनुसार नयाँ प्रविधि अँगाल्नु हो । प्रविधिको विकासले सुगम र दुर्गम क्षेत्रलाई नजिकमात्र पारेको छैन, सेवाको प्रकार, स्तर र मूल्यमा पनि एकरूपता ल्याउने अवसर उपलब्ध गराएको छ । प्रविधिको अवसरको सदुपयोग गर्न सकेमा हाल विश्व, क्षेत्र र स्थानीय तवरमा देखिने भिन्नताको ठूलो खाडल ‘डिजिटल डिभाइड’ सजिलैसँग पुर्न सकिनेछ ।
कोरोनाको विश्वव्यापी महामारीले अस्तव्यस्त पारेको मानव जातिलाई दैनिक जीवनयापन गर्न केही हदसम्म भए पनि सेवाले सहयोग पु¥यााएको छ । आईटीयू र सदस्य राष्ट्रको प्रयासबाट विभिन्न राष्ट्रमा गरिने डिजिटल रूपान्तरण कार्यक्रमलाई तोकिएको अवधिभन्दा पहिले कार्यान्वयन गर्न सकेमा महामारीको चपेटाबाट केही हदसम्म बच्न सहयोग हुने थियो भनेर नै यसपटकको नारा तय भएको देखिन्छ । प्रविधि विकासको रफ्तार, विकसित र विकासोन्मुख देशबीचको भिन्नता, स्वदेशमा पनि दुर्गम र सुगम क्षेत्रको आर्थिक स्तरले गर्दा समाजमा देखिने भिन्नता कम गर्न नै आईटीयूको कार्यकारी परिषद्ले उपयुक्त नाराको तय गर्ने प्रचलनले निकै योगदान पु¥याएको छ ।

आईटीयू र नेपाल अन्तरसम्बन्ध

नेपालले अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको सदस्यता सन् १९५७ डिसेम्बर १५ का दिन प्राप्त गरेको थियो । त्यसपछि आईटीयूबाट हुने विभिन्न कार्यक्रममा नेपाल सहभागी हुनुका साथै प्राविधिक सहयोग पनि प्राप्त गरिरहेको छ । नेपालमा दूरसञ्चार तालिम केन्द्रको स्थापना, फ्रिक्वेन्सी मनिटरिङ स्टेसनको स्थापना मर्मत–सम्भार केन्द्र, गुणस्तर कायम गर्ने मनिटरिङ उपकरण, सल्लाहकार सेवा, तालिम फेलोसिपजस्ता कार्यक्रममा आईटीयूको निरन्तर सहयोग भएका कारण दूरसञ्चार विकासले गति लिन सकिरहेको छ । विश्व बैङ्कको ऋण सहयोग प्राप्त गर्नेसम्बन्धमा आईटीयूका विशेषज्ञको सहयोगबाट तयार भएको दूरसञ्चार विकास योजना नै विश्व बैङ्कको नेपाललाई दिने पहिलो ऋणको योजना हुन पुग्यो ।
आईटीयूको कार्यक्षेत्रभित्र मुख्य तीन अङ्ग पर्छन्– रेडियो सेक्टर, टेलिकम्युनिकेसन सेक्टर र विकास सेक्टर । यी तीनै अङ्गले एकीकृत रूपमा उपकरण तथा प्रणालीको स्पेसिफिकेसन र सेवाको स्तर तोक्ने व्यवस्था गर्छन् । प्राविधिक सहयोग, रेडियो फ्रिक्वेन्सी व्यवस्थापन, स्याटेलाइट स्थापनार्थ अन्तरीक्षमा स्थानको सुरक्षण, फ्रिक्वेन्सी इन्टरफेरेन्स समस्याजस्ता कार्यको साथसाथै प्रविधिको विकास र स्तर निर्धारण गर्ने प्रमुख दायित्व निर्वाह गर्न आईटीयूले महŒवपूर्ण योगदान दिएको छ । आईटीयूको संरचनाको स्वरूप हाम्रोजस्ता विकासोन्मुख देशका लागि निकै उपयोगी हुने देखिन्छ ।

सिक्नुपर्ने पाठ
हाम्राजस्ता मुलुकले अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घजस्ता संस्थाबाट धेरै कुरा सिक्न सक्छन् । तर, सम्बन्धित पक्षले त्यसबारे उचित ध्यान दिन नसक्दा पाउने प्रतिफलबाट वञ्चित हुन पुगेको छ । अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको स्रोत र साधनबाट लिनुपर्ने सेवाबारे हामो सरकारको समन्वय रामो हुन सकेको छैन ।
नेपालमा डिजिटल प्रणाली लागू गर्न, मोबाइल सेवा विस्तार गर्न र अन्तर्राष्ट्रिय दूरसञ्चार सेवाका लागि सगरमाथा अर्थस्टेस्न स्थापना गर्ने काममा आईटीयूले ठूलो योगदान गरेको छ । नेपालले अन्तरीक्षमा आफ्नो सञ्चार भूउपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्ने योजना बनाएको र चाँडै सो कार्य चालु हुन्छ भनिएको छ तर सोबारे केही आधारभूत कार्यको पनि जग बसाल्न प्रयास गरिएको पाइँदैन । लगानी गर्न सजिलो हुन्छ तर लगानीबाट दिगो स्तरमा सेवा प्राप्त गर्न निकै कठिनाइ हुन्छ । सोबारे आईटीयूजस्ता संस्थाको सहयोग अपरिहार्य हुन जान्छ । तर, जनशक्ति उत्पादन र कर्मचारी परिचालनका सन्दर्भमा पदाधिकारीको निहित स्वार्थ अनि छात्रवृत्तिजस्ता सहयोगको समेत दुरुपयोग छ । विषयवस्तुको राम्रो ज्ञान नभएको कर्मचारीलाई विशेष जिम्मेवारी सुम्पिँदा उनीहरूबाट ज्ञानको अभावमा हुने हेलचेक्र्याइँबाट राष्ट्रले ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय संस्थाबाट भएका परिपत्रको एकीकृत सूचीसमेतको रेकर्ड राखेको पाइँदैन ।
पाँच वर्षभित्र डिजिटल फ्रेमवर्क कार्यान्वयन गर्ने लक्ष्य लिएको छ नेपालले । तर, दूरसञ्चार क्षेत्रको हालिमुहाली गर्ने नीति निर्माता, नियमनकर्ता, सरकारी र निजी सेवाप्रदायक संस्थाले विभिन्न भू–भागमा टेलिफोन, इन्टरनेट, केबल टीभी सेवा उपलब्ध गराउने तानिएका केबल (तार)का गुजुल्टाबाट सहरी क्षेत्रका सडकमा परेको अस्तव्यस्तताले प्रविधि प्रयोगमात्र समस्याको समाधान हुँदैन भन्ने प्रस्ट्याउँछ । एउटा साधारण तार छिनेर, जलेर, लत्रेर दुर्घटना भएका छन्, महŒवपूर्ण सार्वजनिक सेवाका उपभोक्तालाई अविच्छिन्न गुणस्तरयुक्त सेवा पु¥याउन नसकिने अवस्था पटक–पटक दोहोरिएका छन् । प्रविधिको सदुपयोग गर्न र प्रविधिमैत्री जनशक्ति उत्पादन गर्नेक्रममा आईटीयूबाट नेपालले धेरै कुरा सिक्न सक्छ । तर, सो सिक्न र सिकाउन सम्बन्धित जिम्मेवार पक्षमा अठोट आवश्यक हुन्छ ।

दिवसमार्फत प्रयास
दूरसञ्चार विकासको अन्तिम लक्ष्य भनेको ठाउँमा भनेको मान्छेले भनेको मान्छेलाई सम्पर्क गरी आफूले चाहेजस्तो सेवा, आफूले तिर्न सक्ने मूल्यमा प्राप्त गर्न सक्ने बनाउनु हो । डिजिटल रूपान्तरणको सफल कार्यान्वयनबाट साक्षात्कारविना, विनाकागजातको प्रयोग सबैथरिको सेवा उपलब्ध गर्ने वातावरण सिर्जना हुनेछ ।
सन् २०१८ मा दुबईमा भएको आईटीयूको सर्वाधिकार सम्पन्न सम्मेलनबाट पारित एजेन्डा कनेक्ट २०३० प्रस्ताव नम्बर २०० अनुरूप दूरसञ्चार नेटवर्क वृद्धि समावेशिता र समतामूलक विकास, दिगोपन, सबै पक्षको सहभागिता हुनेगरी आफ्नोपनको विकास गर्ने नयाँ पद्धतिको सुरुवात गरी जम्माजम्मी २४ वटा लक्ष्य तोकेर तर्जुमा गरिएको कार्य योजनाबाट संसारमा सन् २०३० सम्म सबैजना जोडिने विश्वव्यापी नेटवर्क स्थापना गर्नु रहेको छ । डिजिटल रूपान्तरणको यो कार्यक्रमलाई गति दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पनि नेपालमा डिजिटल फ्रेमवर्क २०१९ योजना कार्यान्वयन गर्दै छ । नयाँ प्रविधिको सञ्चालनमा उपभोक्ताको बानी–व्यहोरा, चालचलन, देशको संस्कृति र परम्परालाई ध्यान दिन जरुरी छ । सुविधा लिने भन्दैमा विकसित मुलुकको प्रविधि सञ्चालन तरिकालाई अन्धाधुन्द नक्कल गरी लागू गर्न नखोजी नयाँ पद्धति विकास गर्न सक्ने अनुशासित जनशक्ति आवश्यक हुन्छ । आईटीयूले समन्वयकर्ताको भूमिकासमेत निर्वाह गर्ने भएकाले हाम्रोजस्तो मुलुकले आईटीयूको माध्यमबाट विश्वको महŒवपूर्ण स्रोत र सामग्रीबाट उब्जेको अनुभवबाट धेरै कुरा सिक्न सकिन्छ ।

सदुपयोग कसरी
आईटीयूले यस वर्ष मनाउने दूरसञ्चार दिवसको नारामात्र नतोकी दिवस मनाउँदा गर्नुपर्ने गृहकार्यको फेहरिस्त पनि सदस्य राष्ट्रहरूका सम्बन्धित मन्त्रालयमा पठाइएको छ । नीति निर्माता, नियामक संस्था, सेवाप्रदायक, उपभोक्ता हकहित संरक्षण गर्ने संस्था, सेवा उपभोग गर्ने प्रमुख क्षेत्र सबै समेट्नेगरी अध्ययन टोली गठन गरेर डिजिटल रूपान्तरण गर्ने कार्यक्रम कार्यान्वयन गर्नेबारे नियमित समीक्षा र मूल्याङ्कन गर्नु आवश्यक छ । आईटीयूले उल्लेख गरेको स्रोत र साधनसम्बन्धी कागजपत्र एकीकृत रूपमा सङ्कलन गरी विस्तृत रूपमा अध्ययन गर्न जरुरी छ । हाम्रो सन्दर्भमा दूरसञ्चार क्षेत्रमा गर्नुपर्ने कार्ययोजना आफूलाई सुहाउँदो किसिमबाट ठूलो लगानीविना तयार पार्न सकिनेछ । यो दिवसले दिन खोजेको सन्देशको मर्मअनुरूपका सन्दर्भ–सामग्री सूचना आयोगजस्ता संस्थाले पनि जनमानसको पहुँच पु¥याउन वाञ्छनीय हुन्छ । सञ्चार क्षेत्रमा पाइलट योजनाका रूपमा विभिन्न कार्य सुरु गर्न अति आवश्यक देखिन्छ । जस्तो, जमिनमुनि र जमिनमाथि तानिएका तारको व्यवस्थापन, विद्यालयको पाठ्यक्रममा दूरसञ्चार प्रविधिको प्रयोगबाट हुने विविध सेवा सञ्चालन विधि समावेश गर्न सहयोगसम्बन्धी कार्य, सेवा प्रयोग गर्दा हुने दुरुपयोग निरुत्साह गर्न कानुनी प्रावधानको व्यवस्था, साक्षात्कार र जे गर्दा पनि प्रतिलिपि चाहिने संस्कारको अन्त्य गर्ने चाहना र अठोट गर्ने जनशक्तिको तयारी । यी काम गरे नेपालको दूरसञ्चार प्रणालीले निकै ठूलो फड्को मार्नेछ ।
(लेखक तत्कालीन नेपाल दूरसञ्चार संस्थानका महाप्रबन्धक हुनुुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?