logo
२०८१ बैशाख १४ शुक्रवार



अक्सिजनको दिगो समाधान (सम्पादकीय)

विचार/दृष्टिकोण |




दोस्रो लहरको कोभिड–१९ (कोरोना) तीव्र गतिले फैलिएपछि मुलुकैभरका अस्पतालमा मेडिकल अक्सिजनको अभाव भएको छ । यस पटक अधिकांश सङ्क्रमितलाई कडाखालको सङ्क्रमण हुने गरेकाले उनीहरूलाई दिनुपर्ने अक्सिजनको अभाव प्रमुख स्वास्थ्य चुनौती भएको छ । मूलतः तीन कारणले अक्सिजन अभाव भएको स्पष्ट हुन्छ । विगतमा मेडिकल प्रयोजनका साथै ठूला परियोजनामा फलाम काट्न वा वेल्डिङ गर्नेजस्ता कार्यका लागि आवश्यक पर्ने अक्सिजनको उत्पादन मागका आधारमा गरिंदै आएको थियो । कोरोनाले एकाएक आम सङ्क्रमितको स्वास्थ्यमा गम्भीर समस्या आएपछि एकातिर अक्सिजनको खपत बढेको छ भने अर्कोतिर सोअनुसारको उत्पादन हुन सकेको छैन । साथै, व्यक्तिगत रूपमा अक्सिजन÷सिलिन्डर सञ्चित गर्ने र निकासी प्रवृत्तिले थप समस्या आएको देखिन्छ । वर्तमान उत्पादन, माग र खपतको विश्लेषण गर्दा अक्सिजनको उत्पादनभन्दा सिलिन्डर र वितरणमा असन्तुलन भएको देखिन्छ । जानकारका अनुसार यो हप्ता काठमाडौँ उपत्यकामा प्रतिदिन करिब चार हजार पाँच सय र देशभरिमा ११ हजार पाँच सय जति सिलिन्डरको माग छ । पूर्ण क्षमतामा अक्सिजन उत्पादन गरिँदा प्रतिदिन मुलुकभित्र १७ हजार पाँच सय जति सिलिन्डर उत्पादन हुनसक्छ । यसरी हेर्दा समस्यालाई मानवीय कारणले विकराल बनाइएको स्पष्टै देखिन्छ । कोरोना महामारी अघि काठमाडौँ उपत्यकामा दैनिक तीन हजार पाँच सय जति र उपत्यकाबाहिर तीन हजार सिलिन्डर अक्सिजन चाहिन्थ्यो । मागअनुसार उत्पादन नभएको पनि होइन तर कहाँ के समन्वय र नियमन मिलेको छैन भनेर मूल्याङ्कन गर्नु जरुरी देखियो । उपत्यकाका विभिन्न स्थानबाट दुई दिनअघि अक्सिजनका छ हजार ७८४ वटा र राजधानीबाहिर केही स्थानमा लुकाइएका सिलिन्डर बरामद गरिएको छ । यस्ता सिलिन्डर अझै ठूलो सङ्ख्यामा अस्पताल बाहिर रहेको अनुमान गर्न सकिनेछ । अर्कोतिर ठूलो मात्रामा सिलिन्डर अस्पतालमै रहने भएकाले पुनः भरेर पठाउने चुनौती छ । यस्ता समस्या समाधान गर्नै नसकिने होइनन् ।
अक्सिजनको अभाव हटाउन स्थानीय तह आफैँ प्लान्ट सञ्चालन गरी अक्सिजन उत्पादनमा सक्रिय हुन थालेका छन् । सङ्कटका बेला उनीहरूले निर्वाह गर्ने उत्तरदायित्वले सङ्क्रमितले नयाँ जीवन पाउन सक्छन् । काठमाडौँ महानगरपालिकाबाट शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा दुई करोड ७५ लाख रुपियाँ लागतमा प्लान्ट स्थापना गरी अक्सिजन उत्पादन गरिएको छ । उक्त अक्सिजन प्लान्टबाट दैनिक ४७ लिटरका १३५ सिलिन्डर अक्सिजन उत्पादन गर्न सकिनेछ । यसमध्ये गङ्गालालमा दैनिक करिब ९० सिलिन्डर अक्सिजन खपत हुन्छ । बाँकी अक्सिजन भरेर अन्यत्र पठाउन सकिनेछ । ललितपुर महानगरपालिका र मध्यपुर थिमी नगरपालिकाले पनि अक्सिजन प्लान्ट सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएका छन् । ललितपुर महानगरपालिकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरी अक्सिजन प्लान्ट स्थापनाका प्रक्रिया अगाडि बढाएको छ । महानगरपालिकाले पाटन अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न एक करोड रुपियाँ प्रदान गरेको छ । उपत्यका बाहिर पनि बुटवलमा अक्सिजन बैङ्कको स्थापना गरिएको छ भने अन्य स्थानीय तहले पनि सक्रियता देखाएका छन् । लागतका दृष्टिले धेरै खर्चिलो नहुने अक्सिजन उत्पादनमा स्थानीय तहको सहभागिता प्रशंसनीय छ तर महामारीपछिको अवस्थामा पनि यसको निरन्तरताबारे दृष्टिकोण बनाउनु पर्नेछ । प्लान्टको स्वामित्व र दायित्वजस्ता विषयमा विवाद हुनसक्ने भएकाले यस्ता प्राविधिक पक्षमा पनि स्थानीय तह स्पष्ट हुनुपर्छ । सम्भावित अड्चनका बारेमा अहिले नै स्पष्ट भएर दीर्घकालीन कार्ययोजनाका साथ स्थानीय तह र स्वास्थ्य प्रतिष्ठानबीच सहकार्य हुन सकेन भने महामारीपछि यस्ता प्लान्ट निष्क्रिय रहने र पुनः समस्या आएमा अहिलेकै अवस्था भोग्नुपर्नेछ ।
कुल शøयामध्ये कति प्रतिशतलाई अक्सिजन उपलब्ध गराउनु पर्ने हुनसक्छ भन्नेमा ठूला अस्पताल सञ्चालनकै क्रममा तयारी हुनुपर्छ । विगतमा जस्तो सिलिन्डरमा भरेरभन्दा पनि ठूला अस्पतालहरूले प्लान्टमार्फत बिरामीका शøयामा अक्सिजन पु¥याउन आवश्यक क्षमता प्रदर्शन गर्नसके बिरामीलाई सस्तो लागतमा आवश्यक परिणाममा अक्सिजन उपलब्ध गराउन सकिनेछ । यस्तो कार्यलाई स्वास्थ्य सेवा प्रणालीकै अभिन्न प्रक्रिया बनाउनुपर्नेछ । स्थानीय तहले प्लान्ट स्थापना गरी उत्पादन गरेका अक्सिजनको निरन्तरताबारे स्पष्ट हुँदै महामारीका बेलामा गरिएका पहल, लगानी तथा उत्पादनलाई दीर्घकालीन बनाउन सकिए मुलुकमा भविष्यमा आउन सक्ने यस्ताखाले समस्याको दिगो समाधान गर्न सकिनेछ । अहिले हर कुनै अस्पताललाई अक्सिजनजस्तो हरपल नभई नहुने प्राणवायु निरन्तर उपलब्ध हुनसक्ने बनाउने अवसरका रूपमा पनि यो समस्यालाई सम्बोधन गरिनुपर्छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?