logo
२०७८ कार्तिक ४ बिहीवार



कोरोनाको कहरमा नेताको रमिता

विचार/दृष्टिकोण |




बेनीबहादुर कार्की

दक्षिणतर्फको खुला सीमा भएको छिमेकी देश भारतमा दैनिक चार लाख हाराहारी मानिस कोरोना सङ्क्रमित भई हरेक दिन तीन हजारभन्दा धेरै जनाको निधन हुँदा यसको असर नेपालमा पर्नु स्वाभाविक हो । अहिले नेपालमा दैनिक सङ्क्रमितहरू बढिरहेका छन् । यी पङ्क्ति लेख्दा एकैदिनमा ५८ जनाको निधन भएको छ । यस्तो स्थिति अझ भयावह बन्ने सम्भावना दृष्टिगत गरी सरकारले अन्य प्रयाससँगै नियन्त्रणका लागि झन् कडाइकासाथ लकडाउन गर्न बाध्य हुनेछ । यतिबेला नेपालभरि कहीँ निषेधाज्ञा त कहीँ लकडाउन नै लगाएर कोरोना नियन्त्रण गर्ने प्रयास भइरहेको छ र यसको असरले जनजीवनलाई नराम्रोसँग गाँजेको छ । यद्यपि यो प्रयास मानिस बचाउनकै लागि गरिएको जनताले बुझेको भए पनि श्रमजीवीहरूको बाँच्ने आधारको कमीले चिन्ताग्रस्त हुनु श्रमिकहरूको बाध्यता हो ।
कोरोनाको पहिलो भेरियन्ट गतवर्ष नै हामीले भोगेकै हो । त्यो भोगाइपछि अब यो सकियो भन्ने ठान्यौँ । गतवर्षको अनुभवबाट हामीले यसको मारबाट बच्ने केही कुरा सिकेका पनि हौँ । तर यो दोस्रो भेरियन्ट झन् शक्तिशाली भएर आयो, जसले गर्दा गतवर्षको अनुभवले थेग्नै नसक्ने भएको छ । अझ भारतमा तेस्रो भेरियन्ट आउने चर्चा चलेकाले नेपालमा पनि थप चिन्ता भएको छ । यसले गर्दा गतवर्ष नै जर्जर भएको हाम्रो अर्थतन्त्र दोस्रोपटक थप मारमा परेको छ । यसको असर आम मानिसको जनजीवनमा परेको छ । कोरोना भने दश गुना शक्तिशाली भएर आएको छ । तर राज्यले कोरोनाको दोस्रो लहर आउने विज्ञहरूको पूर्व चेतावनीप्रति गम्भीरता नदेखाएकोमात्र होइन, भारतमा सडकमा शवको लहर लाग्दा समेत सीमाको तगारो खुलै राख्यो । राज्य संयन्त्रहरूले गतवर्षको जति पनि तयारी गर्न जाँगर देखाएनन् । फलतः अहिले ज्यान बचाउन अस्पतालको सेवा समेत पाउन नसकी सबैले घरभित्रै भगवान् भरोसे भई बस्नुपर्ने भएको छ । नेपालमा हुँदा खानेको जमातको ठूलै छ । उनीहरूले काम गर्न नपाएपछि हातमुख जोड्ने उपाय नहुने नै भयो । यस्तो भएपछि जसरी पनि मर्नु छ भने किन सडकमा गएर काम माम नखोज्ने भनी सर्वसाधारणबाट निषेधाज्ञाको अवज्ञा हुनसक्छ नै । अहिलेसम्म कुनै पनि तहका सरकार वा संस्थाहरूले गत वर्षझैँ सडकमा लाइनमा बसेर भात खाएर ज्यान बचाउने व्यवस्था पनि गरेको देखिन्न । यस्तो अवस्थामा श्रम गरेर छाक टार्ने

वर्ग कसरी बाँच्ने ?
पहिलो कहरले बूढाबूढीहरूलाई धेरै असर गरेको थियो भने यस पटकको लहरले जवान, बच्चासमेतलाई ढालिरहेको पाइएको छ । कोरोनाको खोप दिएपछि युरोपमा कम असर परे पनि भारत र नेपालमा भने किन यति धेरै क्षति ? फेरि नेपालमा खोप उपलब्धतामा कठिनाइ देखिएको छ । यो सङ्क्रमण सितिमिती हट्ने देखिन्न । तेस्रो लहरको पनि सम्भावना देखाइँदैछ । त्यसैले यो शक्तिशाली कोरोनाबाट बच्न त्रिकोणात्मक लडाइँको जरुरी छ । पहिलो हरेक मानिस आफैँले, दोस्रो सरकार र तेस्रो स्थानीय निकायहरू । यसरी तीनतिरबाट सङ्घर्ष गरेर हामीले कोरोनामाथि विजय हासिल
गर्न सक्नुपर्छ । यस्तो अवस्थामा हर क्षेत्रको अगुवाइ गर्दै जनता जोगाउने र बलिययो बनाउने जिम्मेवारी पूरा गर्नुपर्ने राजनीति दलहरूको नेतृत्व भीरको लहराझैँ हावामा लहराएको छ ।
अहिले कोरोना कि राजनीति भन्ने सबाल खडा भएको छ । कोरोनाको दोस्रो लहरको वेगले विश्वलाई नै उछिनेको यो समयमा पनि नेपालका राजनेताहरू (?) ले लुब्ध राजनीतिको रहर नग्न रूपमा प्रदर्शन गरिरहेका देखिन्छ । हुन त राजनीति कहिल्यै नअघाउने खेल हुँदो रहेछ । राणाहरूले १०४ वर्ष शासन गर्दा पनि नअघाएकाले २००७ सालमा नेपाली काँग्रेसको नेतृत्वको सङ्घर्षले राणालाई विस्थापित गरेर नेपालमा प्रजातन्त्र स्थापना गरेको थियो । यसपछि राजा, पञ्च, अघाएनन् । तिनलाई हटाएका काँग्रेस, कम्युनिस्टहरूको ल्याएको अहिलेको राज्य व्यवस्था हो । यो व्यवस्था, संविधानप्रतिको प्रतिबद्धता जनाउनेहरू नै अहिले राजनीतिको अगुवाइ गर्दैछन् । अहिले पदीय राजनीति गरिरहेका नेताहरू पनि सधैँका लागि नहुने ध्रुवसत्य छ ।
तैपनि राजनीतिक नेतृत्व पङ्क्तिलाई पदीय शक्तितृष्णा भने कहिल्यै मेटिदो रहेनछ । अहिले त्यही तृष्णतृप्तिका लागि नेताहरू राजनीतिक रमिता देखाइरहेका छन् । केन्द्रमा त पहिलेदेखि नै यस्तो राजनीति हुँदै आएकाले हुने नै भयो । अहिले त अपवादलाई छाडेर सबै प्रदेशमा नैतिकतालाई खोपामा राखेर राजनीति भइरहेको छ । यो खेलमा सांसद खरिद, बिक्रीदेखि दलबाटै निष्काशनसमेतका काम भइरहेका छन् । आज एउटा सांसद एउटा दलमा हुन्छ, भोलि अर्को दलमा । एक दलबाट निर्वाचित सांसद संविधान विपरीत अर्को दलको पक्षमा लागेर मताधिकार दाबी गर्छ । मुख्यमन्त्री पनि आजको भोलि फेरिने अवस्था भएको छ । संविधानले गरेको व्यवस्था विपरीत केन्द्रदेखि प्रदेशसम्म अहिले यही भइरहेको छ । संसद् चलिरहेको छैन, हालैमात्र आधा दर्जनभन्दा धेरै आध्यादेश जारी भएका छन् तर यीमध्ये कोरोनासम्बन्धी एउटा पनि छैन । यसरी बेमौसमको बाजाझैँ संसद् बोलाउने र बन्द गर्ने काम भइरहेका छन् । यी कामबाट नेपाली जनताले सजिलै अनुभव गरेको कुरा भनेको हाम्रा राजनेताहरूको ध्यान कोरोना नियन्त्रणमा नभै सत्ताको खेलमा मात्र केन्द्रित छ ।
यही जनउत्तरदायीहीन राजनीतिक खेलक्रममा सिर्जित संवैधानिक सङ्कटको समाधान अदालतबाट भएपछि पनि अझै राजनीतिक समाधान निस्केको छैन । दुई महिना पहिले गर्नुपर्ने काम बल्ल सत्तापक्ष र प्रतिपक्षी दलहरूले अहिले गर्न थालेका छन् । यसको छिनोफानो गर्ने भनी यही वैशाख २७ गते सरकारले विश्वासको मत लिने भन्यो, छिनोफानो होला नै । यसरी समग्र राजनीतिको ध्यान कोरोना महामारी नियन्त्रण, जनताको रक्षाभन्दा आफ्नै वृत्तको राजनीतिक पेटारो भर्नतिर गएको स्पष्टै छ ।
नेपाली राजनीतिक वृत्तले कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर उखान चरितार्थ गरिरहेको छ । यसको परिणाम राजनीतिक वृत्त नै घृणा र विरोधको विषय भएको छ । पदमा नहुँदा त कुरै छाडौँ पदमै हुँदासमेत सम्मान र आस्थाको साटो घृणापात्र शिवाय केही नहुने अवस्था सिर्जना भएको छ । यस्तो रोक्न अहिलेको महामारीमा राजनीतिलाई केही समय थाती राखेर सबै एकजुट भएर नेपाली जनताको जिउधनको रक्षार्थ लागिपर्नु पर्छ । विश्वका ठूला, साना मुलुकमा अहिले यही भइरहेको छ । सबै, सबै अरू सब काम त्यागेर कोरोना कहरको विरुद्ध सङ्घर्ष गरिरहेका छन् । हाम्रो राजनीतिक नेतृत्वले पनि विश्वले के गरिरहेको छ हेरोस्, बुझोस् ।
कोरोना झन् शक्तिशाली भएर सबै उमेरका नेपालीको ज्यान लिँदासमेत नेपाली राजनेताहरू आफ्नो स्वार्थको राजनीतिमै केन्द्रित रहिरहनु विडम्बना हो । त्यसमाथि भ्रष्टाचार थपिएको छ । विचौलियाको कमिसनको कारण समयमा कोरोना विरुद्धको खोप आउन नसकेको सार्वजनिक भएको छ । नेताहरूले अहिले आफू बसेको कुर्सीमा पु¥याउने यिनै जनता नै हुन् भन्ने यथार्थ बिर्सेर आफ्नै स्वार्थको राजनीतिमा रमाउनु कदाचित नैतिक होइन ।

(लेखक वरिष्ठ अधिवक्ता हुनुहुन्छ) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?