logo
२०८१ बैशाख १५ शनिवार



अभ्यास, अभ्यस्त र सुरक्षित

विचार/दृष्टिकोण |




नारायणप्रसाद पौडेल

चार दशक अगाडिसम्म अर्वुद रोग लागेको सुन्दाबित्तिकै मान्छे हायल–कायल हुन्थे । क्षय, हैजा, औलो, विफर र कुष्ठरोग लागेको सुन्दा पनि डराउन पथ्र्यो, पसिना छुट्थ्यो र होश–हवास उड्थ्यो । तीन दशक अगाडिसम्म एचआईभी पोजेटिभ भएको भन्दा पनि सिङ्गै गाउँ–सहर सतर्क हुन्थ्यो, थर्कमान बन्थ्यो । दुई दशक अगाडिसम्म मधुमेह, मुटु, मिर्गौला र उच्च रक्तचापजस्ता नसर्ने रोगी फेलापर्दा असहज महसुस हुन्थ्यो । एक दशक अघिसम्म थाइराइडका रोगी भेटिँदैनथे । इन्सेफ्लाइटिस्, मेनेन्जाइटिस, डेङ्गु, प्लेग, बर्डफ्लू, एच् वन, नाइन वन, हेपाटाइटिस बी, सी आदि अनेकथरि रोग छन् अहिले, जुन पहिले महामारी मानिन्थे । ती सबै सहज भए । पहिले जति डराइयो, डराइयो, उति डराउन पर्दैन अहिले । औषधि बने, रोग प्रतिरोधी खोप लगाउन पाइन्छ । उपचार हुन्छ सजिलै त्यसैले ।
जुन रोग पनि पहिलोपटक सुन्दा समाजको सातो जान्छ । तर, जब रोग र मान्छेबीचमा लुकामारी चल्छ र एकले अर्कोलाई छल्न सिपालु हुन्छन्, तब त्यही अभ्यास बन्न जान्छ । अभ्यास नगरुन्जेलसम्मका लागि हो, अप्ठ्यारो र तगारो । बाध्यताले लगातार गर्न परेपछि अभ्यस्त भइन्छ र सबै सहज बन्छ । जारी कोरोना भाइरसको महामारी छिट्टै रोकिने सम्भावना देखिँदैन । स्वरूप परिवर्तन गर्दै सताउने रहेछ त्यसले । त्यसैले पनि ‘दुई मिटरको दूरी, मास्क जरुरी’लाई अभ्यासमा परिणत गर्नुपरेको छ । घरबाट बाहिर गएर फर्केपछि हात–खुट्टा धोएर भित्र पस्ने चलन त पुरानै परम्परा हो हाम्रो । मात्र साबुनको प्रयोग बढाउन परेको छ अहिले । यति सामान्य स्वास्थ्य सतर्कताको विषयलाई असामान्य नबनाउँ र हेल्चेक्य्राइँ नगरौँ । अभ्यस्त भइसकेपछि कोरोनालाई पनि छल्न÷जित्न सकिन्छ । समुचित र समयोचित सावधानी नअपनाएर, लापरबाही गरेर, रोगलाई चुनौती दिएर, जिस्किएर, निषेधाज्ञाका समयमा पनि बाहिर निस्किएर, लुकामारी खेल्दा आफूले नजिते कोरोनाले जित्छ र लैजान्छ । चिउँडामुनि मास्क झुन्ड्याएर, तालुमाथि चस्मा लगाएर, समयमा साबुनपानीले हात नधोएर, जे पायो त्यही खाएर, दूरी कायम नगरेर कोरोनालाई दनक दिन सकिन्न । आफैँले दुःख पाइन्छ ।
सुरक्षित रहन र समयोचित सावधानी अपनाउनका लागि विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारको स्वास्थ्य सेवा विभागद्वारा सुझाइएका सुझाव सहर्ष स्वीकार गरिएको भए यति धेरै सङ्क्रमण फैलिँदैनथ्यो । सङ्क्रमण फैलिनुमा तपाईं–हाम्रै कमजोरी धेरै रह्यो । अभ्यास गरिएन र अभ्यस्त पनि बनिएन । अनियन्त्रित रूपमा फैलियो र नियन्त्रणका लागि निषेधाज्ञा लगाउन प¥यो चार दर्जनभन्दा बढी जिल्लामा । राज्यले भनेको मानेका भए कोरोना सङ्क्रमण बढ्दैनथ्यो र निषेधाज्ञा पनि लाग्दैनथ्यो । देशभरिका विद्यालय बन्द गर्नु पर्दैनथ्यो, खुल्थे, परीक्षा चल्थ्यो, पठनपाठन हुन्थ्यो । यातायात, बजार, कलकारखाना, सबै पूर्ववत् रूपमा चल्थे । वातावरण सहज बन्थ्यो । असहज हुनुमा हाम्रै अभ्यासको कमी रह्यो । सरकारी नीति एवम् संविधान र कानुनले समाधान गर्ने विषय हैन यो । बानी–व्यहोरा आफैँले सुधारेर सुरक्षित हुन सकिने विषय भयो । नसुधार्दा दुर्भाग्य निम्तियो, दुःख र पीडा थपियो ।
अहिलेको संसारमा कोरोना भाइरसको कहर आएको जम्मा डेढ वर्ष भयो । यही डेढ वर्षमा पनि धेरै कुरा सिकियो, सिकायो । चीन, भारत, बेलायत, रूस र अमेरिकाले रोग प्रतिरोधक खोपको खोजी गरे । पाँच मिनेटमै कोभिड सङ्क्रमण परीक्षण गर्ने प्रविधि पत्ता लगायो जापानले । सङ्क्रमितले कुनै पनि वस्तु छुँदैमा तपार्इं–हामीले सोचेजसरी रोग नसर्ने कुरा पत्ता लगाए अमेरिकी शोधकर्ताहरूले । सेन्ट्रल फर डिजिज कन्ट्रोलका निर्देशक रोसेल वालेन्स्कीका अनुसार भिन्न स्थानमा छुँदा सङ्क्रमित हुन सक्ने भए पनि यसको सम्भावना भने ज्यादै कम रहेछ, १० हजारमा एकमात्र । भर्जिनिया टेक युनिभर्सिटीका एअरबार्न डिजिजविज्ञ लिन्सीका अनुसार मानिसले घरभित्र र बाहिरका चिज सेनिटाइज गरिरहे पनि सङ्क्रमित सतह छोएका कारण कोही सङ्क्रमित भएको तथ्य फेलापरेनछ ।
विश्वप्रसिद्ध समाचार संस्था बीबीसीले बितेको एक वर्षमा आठवटा कुरा सिकेछ– ‘कोभिड–१९ रोक्न मास्क अत्यावश्यक रहेछ । कोभिड–१९ ले वृद्धवृद्धालाई मात्र प्रभावित गर्ने रहेनछ । समान्य फ्लू होइन रहेछ यो । कोरोना भाइरसको उत्पत्ति प्रयोगशालाबाट नभई, जनावरबाट भएको रहेछ । क्लोरोक्विन र हाइड्रोक्सी क्लोरोक्विन कोभिडको उपचारमा काम लाग्ने रहेनछ । प्याक गरिएका वस्तुबाट सङ्क्रमण हुने सम्भावना न्यून । कोभिड एकपटकभन्दा धेरैपटक हुन सक्ने रहेछ । अहिलेका खोपले नयाँ भेरिअन्टविरुद्ध पनि काम गर्न सक्ने रहेछन् ।’ यस्तै धेरै किसिमका ज्ञान र अनुभव आर्जन गर्ने अपूर्व अवसर पनि त हो नि यो । तपार्इं हाम्रै देशका योग र आयुर्वेदविज्ञ कतिपय उपचारकले पनि परम्परागत प्रविधिकै प्रयोग गरेर बहुमूल्य जडीबुटीको सदुपयोग गरी रोकथाम गर्न सघाएकै छन् । परम्परागत जडीबुटीद्वारा निर्मित औषधिको उत्पादन बढाएर ‘ब्रान्डेड’ गरेर व्यापार गर्न पछि पर्दैमा कामै नगरेको त भन्न नसकिएला ।
कतिपय देशमा उत्पादित खोप दुईपटकसम्म लगाउनपर्छ, तब बल्ल पूरै काम गर्छ भनिन्छ । अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनले बनाएको खोप त एकैपटक लगाए पुग्छ अरे । विकसित देशले प्रतिस्पर्धा गर्दै छन् खोप र औषधि बनाउनका लागि । डेढ वर्षमै जुन प्रगति भएको छ, अर्को एक÷डेढ वर्षमा त झन् धेरै उपलब्धि हासिल गर्न सक्नेछ विश्वले । त्यसपछि त कुष्ठ, क्षय र अर्वुद रोगजस्तै हुनेछ कोभिड । उपचार सहज बन्दै जानेछ । अनि अरूसंँगजस्तै कोरोनासँग पनि सहयात्रा चल्नेछ मान्छेको । हृदयाघात, मस्तिष्कघात, पक्षघात, मुटु, मिर्गौला, मधुमेहजस्ता रोगबाट हुने मृत्युको दरभन्दा बढी छैन कोरोना भाइरसबाट हुन गएको देहावसान । तर, अभ्यास नगर्नाले र अभ्यस्त नहुनाले भयको मात्रा बढी देखिएकोमात्रै हो । पोहोरभन्दा अहिले मृत्यु र सङ्क्रमणको सङ्ख्यात्मक वृद्धि दर दोब्बर÷तेब्बर छ । तर पनि मान्छेले पचाएको छ । बानी पर्दै र पार्दै गएर त हो नि ! गतसाल निषेधाज्ञा लगाउँदा जुन समस्या थियो, अहिले छैन उति, कम छ । मान्छेले बुझ्दै गएको छ । सचेतना बढ्दै गएको पनि हो । तर, अभ्यस्त नहुनाले समस्या आएको हो । सङ्क्रमणसँगै निषेधाज्ञा पनि दोहोरिएको हो ।
आलो घाउ अलि बढी दुख्छ । हतास हुन्छ मान्छे र अत्याउँछ पनि । कुनै एक व्यक्ति, संस्था, समाज र देशको घाउ हैन यो त । सिङ्गै विश्व आक्रान्त छ । उपचार र उपकारको खोजीमा छ । अरूजस्तै खोजी र उत्पादित खोप पनि शक्तिशाली देशको गोजीमा छ । ‘८२ प्रतिशत खोप धनी देशको कब्जामा’ रहेको कुरा त विश्व स्वास्थ्य सङ्गठनले नै बताइसकेको छ । निर्धन देशका निमुखा जनताले अभ्यास गर्ने र अभ्यस्त हुनुको विकल्प छैन । तुरुन्तै सबैका लागि खोप सहज हुन, गर्न सम्भव पनि नहोला । कम्तीमा पनि आधा दशक त लाग्न सक्छ, सर्वसुलभ बनाउन र सर्वसाधारणको पहुँचमा पु¥याउन । सहज नहुन्जेल सतर्क रहन र सावधानी अपनाउन बिर्सन भएन ।
कोरोना भाइरसमात्रै हैन, अरू धेरै विषयमा पनि समुचित सावधानी अपनाइएन भने पाइलैपिच्छे जोखिममा परिन्छ । उस्तै परे मरिन्छ पनि । आगो, पानी र हावाले तपार्इं हाम्रो ज्यान जोगाउने काममात्रै गर्दैनन्, दुरुपयोग गरे लिन्छन् पनि । सवारीसाधनले सुविधामात्रै दिँदैनन्, दुर्घटना भए ज्यानै जान्छ । बिजुलीको सदुपयोग गर्दा जति सुख हुन्छ, पाइन्छ, विद्युत् प्रवाह भइरहेको नाङ्गो तार छोए तुरुन्तै मरिन्छ पनि । अञ्जानमै अलि कडाखालको कीटनाशक औषधि सेवन हुन पुगे सकिन्छ जीवन । यस्ता यावत् विषयमा अभ्यस्त भएर बँचेको छ मान्छे । विगतका अरू महामारी यथावत् रहेजस्तै अबको दुनियाँमा कोरोना भाइरस पनि रहन्छ भन्ने विषयमा द्विविधा छैन । नियन्त्रण र रोकथामका लागि औषधि बनेपछि पनि निर्मूल हुने छैन । सुरक्षित रहनका लागि नियमित अभ्यास गरेर आफैँ अभ्यस्त
हुनुको विकल्प देखिँदैन ।

(लेखक स्वतन्त्र पत्रकार हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?