logo
२०७८ कार्तिक ६ शनिवार



कक्षाकोठामा प्रश्नोत्तर

विचार/दृष्टिकोण |




प्रेमनारायण भुसाल
पूर्वीय शिक्षण विधि गुरुको सेवा गर्दै आश्रममा बसेर विद्यार्थीले ज्ञान आर्जन गर्ने प्रकृतिको थियो । गुरुकुल पद्धतिले लामो समयसम्म ज्ञान हस्तान्तरणको क्रमलाई निरन्तरता दियो । गुरुको इच्छामा भर पर्ने तथा गुरुको विश्वास जितेरमात्र शिक्षा आर्र्जन सम्भव हुने भएकाले धेरै शिष्यले एकल गुरुको उत्तराधिकारीका रूपमा आफ्नो प्रसिद्धि बढाएकोसमेत देखिन्छ । समयान्तरमा गुरुकुल विद्यालय वा शिक्षालयमा रूपान्तरण हुन पुग्यो भने गुरुकेन्द्रित शिक्षण पद्धति विद्यार्थी केन्द्रित पद्धतिमा परिणत भयो ।
यो परिवर्तनसँगै गुरुको सेवा र इच्छाभन्दा विद्यार्थीको मनोविज्ञानलाई जोड दिन थालियो । यतिमात्र होइन, ज्ञानका अनन्य स्रोतका रूपमा रहेका गुरु आधुनिक सञ्चारपद्धतिको विकाससँगै विद्यार्थीको सिकाइको सहजीकरण गर्ने भूमिकामा मात्र सीमित हुन पुगे । सामाजिक संरचनाको जटिलता र प्रविधिको विस्फोटसँगै ज्ञानका स्रोत असीमित बन्दा विद्यालय पढाउने ठाउँमात्र नभएर, पछिल्लो समयमा सिक्ने र सिकाउने ठाउँका रूपमा परिभाषित हुन थालेका छन् । नबोलीकन गुरुआज्ञा पालना गर्ने विद्यार्थी आज्ञाकारी र असल मानिएको सन्दर्भमा आज यस्ता विद्यार्थीलाई ज्ञानी नभनेर आन्तरिक समस्यामा परेका वा अन्तर्मुखी स्वभावका विद्यार्थीका रूपमा हेर्न थालिएको छ ।
वादे वादे जायते तŒवबोध भन्ने संस्कृत उक्तिले विषयवस्तुको सारबोधका लागि छलफल र प्रश्नोत्तर विधि निकै महत्त्वपूर्ण हुने सन्देश दिएको बुझिन्छ । विद्वत्व परीक्षणको प्रमुख आधारका रूपमा शास्त्रार्थ वा तर्कपूर्ण वादविवादलाई लिइनुबाट पनि पूर्वीय चिन्तनको शिक्षण प्रणाली घोकन्तेमात्र नभएर, तार्किक क्षमता र बौद्धिक पूर्णताको सूचक थियो भन्न सकिन्छ । चाहे शास्त्रार्थ गर्नेक्रममा होस् वा अन्य कुनै पनि विषयमा वादविवाद गर्ने सन्दर्भमा किन नहोस्, विद्यार्थीले फरक दृष्टिकोणबाट विषयवस्तुको प्रस्तुति गर्न पाउने छुट पूर्वमा रहेको देखिन्छ । आधुनिक शिक्षण प्रणालीमा सिद्धान्ततः व्याख्यान विधिलाई भन्दा प्रश्नोत्तर, छलफललगायतका विद्यार्थीलाई सक्रिय पार्ने पद्धतिलाई महत्त्व दिइन्छ । यसैले शिक्षक निगमनात्मक विधिभन्दा आगमनात्मक विधिबाट अर्थात् परिभाषाबाट नभएर उदाहरणबाट निष्कर्षमा पुग्ने प्रयास गर्छन् । यसले विद्यालय ज्ञान लिन जाने ठाउँ नभएर ज्ञान निस्पादन गर्ने स्थलका रूपमा परिणत हुन खोज्दै छन् तर उपयुक्त र प्रभावकारी विधिलाई समेत सही रूपमा प्रयोग गर्न नसक्दा हाम्रोजस्तो मुलुकमा नतिजा भने नितान्त भिन्नकिसिमको समेत देखिने गरेको छ ।
शिक्षण सिकाइ क्रियाकलापका सन्दर्भमा प्रश्नोत्तर, व्याख्यान, छलफल र प्रदर्शन विधि मुख्य रूपमा अस्तित्वमा रहेको वर्तमान परिप्रेक्ष्यमा नेपालका विद्यालयमा भने विद्यार्थीलाई केन्द्रमा राख्न र विद्यालयलाई सिक्ने सिकाउने ठाउँका रूपमा परिणत गर्न पनि नसकिएको अवस्था छ । पश्चिमा अभ्यासको अनुशरण गर्ने तर सम्बन्धित पद्धतिको मनसाय पूरा गर्नेतिर ध्यान नदिँदा उपयुक्त किसिमका पद्धति पनि हाम्रा विद्यालयका कक्षाकोठामा अपेक्षित रूपमा उपलब्धिपूर्ण हुन सकेका छैनन् ।

शिक्षकले भन्दा विद्यार्थीले प्रश्न सोध्नुपर्छ
पठनपाठन क्रियाकलापलाई प्रभावकारी बनाउन शिक्षक र विद्यार्थीका बीचमा निरन्तर अन्तक्र्रिया हुनुपर्छ । अन्तक्र्रियाले शिक्षकले दिन खोजेको कुरा वा ल्याउन खोजेको परिवर्तनमा सबै विद्यार्थी शारीरिक र मानसिक दुवै रूपमा सहभागी छन् भन्ने कुरालाई सुनिश्चित गर्छ । पढाइमा रुचि जगाउने तथा विद्यार्थीको विचार, दृष्टिकोण र क्रियाकलापलाई पृष्ठपोषण दिँदै सकारात्मक परिवर्तनका लागि अग्रसर बनाउन प्रश्नोत्तर विधि निकै राम्रो मानिन्छ । तर, शिक्षकले कमजोर विद्यार्थीलाई बारम्बार प्रश्न सोधेर उसको कमजोरीलाई सबैका अगाडि छताछुल्ल पार्न थाल्यो भने कक्षाकोठामा सोधिने प्रश्न र प्रश्नोत्तर विधि सिकाइका लागि साधक नभएर बाधक बन्न जाने सम्भावना रहन्छ । असावधानीपूर्वक विद्यार्थीलाई त्रस्त र भयपूर्वक तथाकथित अनुशासित र शान्त राख्न शिक्षकबाट सोधिने प्रश्नले शिक्षण सिकाइमा सकारात्मक प्रभाव राख्न सक्दैन । आफूले पढाइरहेका विषयमा विद्यार्थीले ध्यान दिइरहेका छन् वा छैनन् अथवा आफूले दिएको निर्देशनकै मनसायअनुरूप बुझेका छन् छैनन् भन्ने कुरा परीक्षण गरी सिकाइ विधिलाई परिमार्जन गर्न पृष्ठपोषण लिने मनसायले सोधिएका प्रश्न सर्वथा ग्रहणीय हुन्छन् । यसले शिक्षकलाई आफ्नो शिक्षण विधि तथा शिक्षण सामग्रीको चयन, शिक्षण र मूल्याङ्कनमा सहयोग पु-याउँछ ।
अन्तर्मुखी व्यक्तित्व भएका विद्यार्थी अरूसामु खुल्न सक्दैनन्, यसको तात्पर्य उनीहरूले केही पनि सिकेका छैनन् भन्ने होइन । कक्षाकोठामा शिक्षण गर्दा विद्यार्थीको सामान्य वैयक्तिक भिन्नताका बारेमा शिक्षकलाई ज्ञान हुनुपर्छ । विद्यार्थीको व्यक्तिगत भिन्नतालाई सम्मान गर्दै उसको प्रकृतिअनुरूप सिकाइमा सहभागी गराउने भूमिका शिक्षकको भए पनि अन्तक्र्रियात्मक कक्षाका नाममा विद्यार्थीलाई नै हतोत्साहित बनाउने एवम् बहिर्मुखी स्वभावका विद्यार्थीसँग तुलना गरेर हीनताबोध गराउने काम भने कहीँ कतैबाट गरिनुहुँदैन । यसका लागि शिक्षकले भन्दा विद्यार्थीले प्रश्न सोध्ने वातावरण सिर्जना गर्नुपर्छ । स–सानो समूहमा छलफल गराउने र छलफलबाट प्राप्त निष्कर्ष प्रस्तुत गर्ने अवसर प्रत्येकलाई दिएर समूह कार्यका साथसाथै प्रस्तुतीकरण र प्रश्नोत्तरमा विद्यार्थीलाई अभ्यस्त गराउँदा उनीहरूको धक क्रमशः हट्दै गई कुशल प्रस्तोता बनेका तथ्यहरू अनुसन्धानले देखाएका छन् ।
विद्यार्थीलाई प्रश्न सोध्नका लागि उत्प्रेरित गरेर शिक्षकले आफ्नो कक्षालाई अन्तक्र्रियात्मकमात्र होइन, शिक्षण विधिलाई समेत अझ बढी प्रभावकारी, समसामयिक र सान्दर्भिक बनाउन सक्छ ।

कस्ता प्रश्न सोध्ने ?
कक्षाकोठा विचार मन्थन गर्ने पवित्र स्थल हो । यसैले शिक्षकले निःसर्त रूपमा विद्यार्थीको सिकाइलाई सहजीकरण गर्नुपर्छ । विद्यार्थीलाई प्रश्न गर्न प्रोत्साहित गर्नुका साथै शिक्षकले समेत समय–समयमा प्रश्न सोधेर प्रश्नोत्तर कार्यक्रमलाई प्रवद्र्धन गर्ने हो भने कक्षाकोठा वास्तवमै सीप सिक्ने स्थलमा परिणत हुन्छ । यसका लागि मिति, नाम, ठाउँ र अन्य ठीक वा बेठीक उत्तर हुने तथ्यपरक बन्द प्रश्न नसोधेर सधैँ खुला उत्तर आउने प्रश्नलाई प्रश्रय दिनुपर्छ । विद्यार्थीले दिएको उत्तर निरपेक्ष रूपमा सही वा गलत हुने किसिमका प्रश्नभन्दा विद्यार्थीको तार्किक एवम् विश्लेषणात्मक क्षमता विस्तार गर्ने किसिमका प्रश्न सोध्नुपर्छ । विद्यार्थीले नमिल्दो किसिमको उत्तर दिए पनि शिक्षकले उसका उत्तर र तर्कहरूलाई अन्य विद्यार्थीका बीचमा छलफल गराएर र स्वाभाविक रूपमा परिमार्जन गरेर विद्यार्थीलाई पथप्रदर्शन गर्नुपर्छ ।
प्रश्नोत्तरकै सन्दर्भमा विद्यार्थीबाट असामाजिक र अराजक किसिमका प्रश्न वा उत्तर आए पनि उसलार्ई गिज्याउने र होच्याउने काम कदापि गर्नुहुँदैन । विद्यार्थीले ल्याएका सबै प्रश्नको उत्तर हुन्छ र उत्तर दिनैपर्छ भन्ने पनि नहुन सक्छ । विद्यार्थीको समूह निर्माण गरी छलफल गराउने र एउटा निष्कर्षमा पु¥याउने वा सम्बन्धित कुराको खोजीमा अग्रसर हुन सहयोग गर्नु शिक्षकको कर्तव्य हो । त्यसैले विद्यार्थीलाई सोधिने प्रश्नले कुनै पनि सन्दर्भमा विद्यार्थीलाई चुनौती दिएको छैन भन्ने कुरामा शिक्षक सचेत हुनुपर्छ । विद्यार्थीको सीप सिकाइ र उसको क्षमतालाई चुनौती दिने किसिमका प्रश्नको वर्षाले विद्यार्थीलाई कत्ति पनि फाइदा हुँदैन । यसले कक्षाकोठाको सिकाइ वातावरण नै खल्बलिने डर बढ्छ ।
ज्ञानका स्रोतमा पहुँच विस्तार भएसँगै विभिन्न स्रोत र सन्दर्भबाट विद्यार्थीले समेत शिक्षकले भन्दा बढी सूचना प्राप्त गर्न सक्ने वर्तमान अवस्थामा शिक्षकले कक्षाकोठामा विद्यार्थीका प्रश्नको अघाउन्जेल उत्तर दिएर जिज्ञासा शान्त पार्नेभन्दा विद्यार्थीलाई खोज्न र प्रश्न गर्न प्रेरित गरी ज्ञानको भोक जगाइदिने काममा जोड दिनुपर्छ ।

निष्कर्ष
कक्षामा विद्यार्थीको सहभागितालाई प्रवद्र्धन गर्ने नाममा शिक्षकले कमजोर विद्यार्थीलाई पटक–पटक प्रश्न सोध्दा विद्यार्थीले सिक्नुको सट्टा आफूलाई असुरक्षित महसुस गरी विद्यालय छोड्ने सम्भावनालाई बढाउँछ । विद्यार्थीलाई नजान्ने, नबुझ्ने र पढाइमा ध्यान नदिने प्रमाणित गर्नका लागि प्रश्न सोधिएमा विद्यार्थी मानसिक रूपमा सिकाइका लागि तयार हुन सक्दैन बरु हीनता ग्रन्थी र आफ्नै समूहका बीचमा अपमानित हुनुपरेका कारणले मनोसामाजिक समस्याको सिकारसमेत बन्छन् । कक्षाकोठामा प्रश्न सोध्ने र छलफल गर्ने वातावरण बनाउनु अवश्य पनि राम्रो काम हो तर यी विधिको सही प्रयोग भएन भने सिकाइ समस्या सिर्जना गर्ने माध्यमसमेत बन्न सक्ने जोखिम बढ्छ ।
वर्तमान समयमा शिक्षकमात्र ज्ञानको स्रोत नभएकाले ऊ सहजकर्ताका रूपमा उपस्थित भई विद्यार्थीले प्राप्त गरेका ज्ञान र सीपलाई सन्तुलित र व्यवस्थित गर्ने भूमिकामा पुगेको छ । परम्परागत घोकन्ते शिक्षकले जस्तै आफूलाई सर्वज्ञ ठानी अनुशासन कायम गर्न अप्ठ्यारा प्रश्नको वर्षा गराएर कक्षाकोठालाई अरूचिकर बनाउने छुट कसैलाई हुनुहुँदैन । 
(लेखक मनोवैज्ञानिक परामर्शदाता हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?