logo
२०८१ बैशाख १५ शनिवार



खानेपानीको प्रतीक्षा( सम्पादकीय)

विचार/दृष्टिकोण |




मेलम्चीखोलाको पानी काठमाडौँ ल्याउन सोमबारदेखि सुरुङ परीक्षण गरिएकाले उपत्यकावासीको पानी–प्रतीक्षा अब धेरै लामो हुने छैन भन्ने देखिएको छ । मेलम्चीखोलादेखि सुन्दरीजलसम्मको सुरुङखण्डमा पानी पठाएर (पथान्तरण गरी) परीक्षण गरिँदै छ । तीन चरणमा पथान्तरण गरी परीक्षण सफल भएपछि मेलम्चीको पानी नियमित रूपमा काठमाडौँमा वितरण गरिनेछ । परीक्षण गर्न न्यूनतम दुुई महिना लाग्ने भएकाले परीक्षण सफल भएमा आगामी नयाँ वर्ष २०७८ सम्ममा उपत्यकावासीका लागि मेलम्चीको पानी उपलब्ध हुनेछ । मेलम्ची परियोजनाको सुरुङ प्रवेशद्वार (गेट) को जडान र फिनिसिङ (पूर्णता) सम्पन्न भएपछि पानी पथान्तरण गर्नुअघि प्राविधिक टोलीमार्फत अनुगमन गरिएको र यसबाट पथान्तरण गर्न सकिने देखिएकाले पानीको पथान्तरणको निर्णय गरिएको हो ।
गत असारमा यस्तै परीक्षण गर्दा पानी नियन्त्रण गर्न बनाइएको ढोका(गेट) खुलेर दुर्घटना भएपछि पुनः गेटको फ्रेम जडान गरी पथान्तरण गर्न लागिएको हो । आयोजनाको प्रमुख दाता एसियाली विकास बैङ्क (एडीबी) ले पानी पथान्तरणअघि विज्ञहरूबाट अनुगमन गराएर थप काम गर्नुपर्ने राय दिएपछि पथान्तरणको कार्य अघि बढेको छ । यस कार्यले गर्दा उपत्यकामा पानी ल्याउन केही समय ढिला हुने भए पनि परीक्षणले सुरुङमा हुन सक्ने कमीकमजोरीको समीक्षा र सुधारको अवसर दिनेछ । पुनः परीक्षणका रूपमा गरिएको पथान्तरणले विगतमा भएको दुर्घटनाबारे पनि प्राविधिक समीक्षा गर्नेछ । कमीकमजोरी देखिए परीक्षण अवधिमा सुधार मर्मत गरेर सुरुङ तथा अन्य संरचनालाई सुरक्षित गर्न सकिने भएकाले पनि केही समयको ढिलाइलाई ठूलो समस्या बनाउन हुँदैन । तीन चरणमा गरिने पथान्तरणअन्तर्गत पहिलो चरणमा सुरुङमा पानी थुनेर पानीको चाप र सुरुङको भित्ता तथा भुँइको क्षमताको परीक्षण गरिनेछ । यस अवधिमा सुरुङ फुट्ने, धसिने वा भासिनेजस्ता प्राविधिक समस्या आएनन् भने तीन चरणको पथान्तरणपछि सुन्दरीजलको मुल भण्डारणमा ल्याइएको पानी उपभोक्ताको धारामा आउन ढिलो हुने छैन ।
उपत्यकामा मेलम्चीको पानी ल्याउन अनपेक्षित ढिला भएकै हो । राष्ट्रिय गौरवको योजना सम्पन्न गर्न विभिन्न व्यवधान पार गर्नुपरेको छ । विक्रम संवत् २०३० देखि काठमाडौँमा उपत्यकामा खानेपानीको भरपर्दो विकल्प खोज्नुपर्ने बहस थालिएको थियो । त्यसैबेलादेखि मेलम्चीखोलाको पानी उपत्यकामा ल्याउन सकिने तर्क आएका भए पनि सन्तनेता, पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले यो परियोजनालाई साकार रूप दिने प्रतिबद्धता व्यक्त गर्दा कतिपयका लागि हाँसीमजाकको विषय भएको थियो । हुन पनि झन्डै २७ किलोमिटर लामो सुरुङ निर्माण गरी सिन्धुपाल्चोकको मेलम्चीखोलाबाट काठमाडौँसम्म ल्याउने योजना नेपालको सन्दर्भमा प्राविधिक तथा आर्थिक सम्भाव्यताका दृष्टिले त्यति सहज थिएन ।
पछिल्ला केही समय पनि उपत्यकामा मेलम्चीको पानी आउने–नआउनेबारेमा जनस्तरबाट विभिन्न व्यङ्ग्य तथा घोचपेच हुने गरेका छन् । यसलाई स्वाभाविक रूपमा लिँदै यति ठूलो परियोजना सफल हुनुमै नेपालले गौरव गर्नुपर्छ । यो परियोजना नेपाली प्राविधिकका लागि पनि नयाँ अभ्यास थियो । विदेशी ठेकेदार कम्पनीले पटक–पटक काम छाडेकाले परियोजना अलपत्र पारेपछि यसको अवधि लम्बियो । यसको अन्तर्य खोजेर आगामी योजनाको रणनीति बनाउनुपर्छ । जेहोस्, ढिलै भए पनि एउटा सपना साकार हुँदै छ । काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानी माग हुने गरे पनि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले दैनिक आठ करोड र निजी क्षेत्रबाट करिब चार लाख लिटर पानी आपूर्ति गर्ने गरेकाले दैनिक ३१ करोड लिटर खानेपानी अभाव टार्न मेलम्चीको तीव्र प्रतीक्षा गरिएको छ तर अब पनि यसलाई मात्र उपत्यकाको माग धान्ने एउटैमात्र विकल्पको भार दिनुहुँदैन । मेलम्चीको पानी ल्याइएपछि सहरी क्षेत्रमा पानीको वर्तमान समस्या रहने छैन तर उपत्यकानजिकका काँठमा रहेका पानीका स्रोत दिनहुँ सुक्दै छन् । काँठ क्षेत्रको स्थानीय पानीका स्रोत संरक्षण र न्यायोचित वितरणलाई पनि मेलम्चीजत्तिकै समानान्तर महŒव दिनुपर्ने देखिन्छ । काठमाडौँ उपत्यकाभित्र रहेका जलस्रोतको व्यवस्थापन, माथिल्लो बागमती जलाधार क्षेत्रजस्ता आसपासका जलस्रोत संरक्षण गर्नुपर्ने र ती स्रोतलाई निजी क्षेत्रको आम्दानीमात्र बनाइयो भने यसले उपत्यकामा पानीको मात्र होइन, वातावरणीय समस्या अनि जनतामा असन्तुष्टि पनि ल्याउनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?