logo
२०७८ कार्तिक ४ बिहीवार



काँग्रेसको अबको गन्तव्य

विचार/दृष्टिकोण |




बेनीबहादुर कार्की

नेपाली काँग्रेस नेपालकै जेठो दल हो । यसले नेपालमा १०४ वर्ष शासन गरेका जहानियाँ राणा शासनविरुद्ध सङ्घर्ष गरेर प्रजातन्त्र ल्याउन सफल नेतृत्व गरेको थियो । यसैगरी, निरङ्कुश राजाहरूको शासनविरुद्ध लामो सङ्घर्ष गरेर २०४६ सालमा नेपालमा बहुदलीय व्यवस्था ल्याउन पनि काँग्रेसले नै नेतृत्व गरेको हो । ०६२–०६३ को संयुतm जनआन्दोलनको अग्रपङ्तिमा पनि नेपाली काँग्रेस नै थियो । नेपालमा २५० वर्षको शाहवंशीय राजाको शासन समाप्त गरेर नेपालमा गणतन्त्र स्थापनादेखि वर्तमान संविधानको कार्यान्वयनको अग्रभागमा रहेर नेपाली काँग्रेसले आजको राजनीतिक प्रणालीको जग बसायो ।
अहिले पुनः नेपाल अन्योलग्रस्त भएको छ । धेरैलाई लागेको छ– गत पुस ५ गते अस्वाभाविक रूपमा संसद् (प्रतिनिधिसभा) विघटन गरियो । संसद् विघटन गरिएकै दिनदेखि नेपालमा अन्योल सिर्जना भएको छ । सोपछि अहिले दैनिक थरीथरीका आन्दोलनको प्रतिस्पर्धा भइरहेका छन् । आन्दोलन र विरोधका कार्यक्रम काँग्रेससमेत विभिन्न दलमात्र नभई, स्वयम् नेपाल कम्युनिस्ट पार्टीकै एक समूहबाट चर्को प्रतिस्पर्धासाथ विरोधका कार्यक्रम चलिरहेका छन् । यसरी असामान्य रूपमा मुलुक अँध्यारो सुरुङतर्फ अघि बढिरहेको अवस्थामा पुगेको छ । संसद् विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले सबैको ध्यान अदालततर्फ गएको छ । उता नेकपाको विभाजनको विवाद निर्वाचन आयोगमा पनि चलिरहेको छ । हो, मुलुक यतिबेला मुलुक विवादै विवादले घेरिएको छ ।
नेपालमा भएको अहिलेको राजनीतिक प्रणाली ०६२–०६३ को संयुक्त जनआन्दोलनबाट आएको हो । यसको रक्षा गर्नु सबैको साझा दायित्व हुन्छ । त्यसमा पनि परिवर्तनका लागि भएका आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेको नाताले काँग्रेसको झन् अहम् भूमिका हुने नै भयो । संयुक्त जनआन्दोलनबाट ल्याइएको अहिलेको राजनीतिक प्रणालीको रक्षा गर्नु प्रथमतः साझा काम हो । दोस्रो संविधानसभापछिको निर्वाचनमा तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाले बहुमत ल्याएकाले सरकारमा थियो । दोस्रो ठूलो दल भएको नाताले नेपाली काँग्रेस प्रतिपक्षमा छ । पाँच वर्ष नेपालको शासन प्रणाली चलाउन नेपाली जनताले गत निर्वाचनमा मत दिएका हुन् । नेपालको संविधान ०७२ ले गरेको व्यवस्था पनि यही हो । लामो समयको अन्तरालमा नेपालले एकमना बहुमतको सरकार पाएको थियो । यो बेला पाँच वर्षकै स्थिर सरकार हुन्छ, नेपाल समृद्ध हुन्छ अनि नेपाली जनता सुखी हुन्छन् भन्ने नेपालीको अपेक्षा थियो । यो अपेक्षामा अचानक तुषारापात लाग्यो । पहिलो कुरो, नेकपामा फुट नआएको भए राम्रो हुने थियो । जुन कारणले यसमा फुट आएको भए पनि यो त्यो दलको फुट थियो । यो फुटले संसद्लाई असर पर्नुपर्ने होइन । किनभने संसद् भनेको धेरै दलको साझा थलो हो । सरकारका तीन अङ्गमध्ये विधायिका एक स्वतन्त्र निकाय हो । कार्यपालिकाले संसद् विघटन गर्ने प्रक्रिया नेपालको संविधानको धारा ७६ को १ देखि ७ सम्ममा उल्लेख गरिएको छ । प्रतिनिधिसभा विघटनबारे मुद्दा परेपछि संविधानबमोजिम स्वतन्त्र अदालतबाट न्याय निरूपण हुनेछ भनेर जनताले अपेक्षा गर्नु स्वाभाविक हो ।
अहिलेको दृश्य हेर्दा नेपाली राजनीतिको रूप बालहठजस्तै देखिएको छ । तर, यो वास्तवमा वृद्ध हठ हो । किनभने बालहठ र वृद्धहठ उस्तै–उस्तै हुन्छ भनिन्छ । कोही आफ्नो दोष देख्दैनन्, आफ्नो गल्ती महसुस पनि गर्दैनन् । सबै मै ठीक हुँ भनिरहेका छन् । दूधले धोएको कोही हुँदैनन् र छैनन् पनि । वास्तवमा को ठीक भनेर नाप्न त फेरि पनि चुनावकै माध्यमबाट जनतामाझ नै जानुपर्ने हुन्छ । यो दिन आउने अवश्यम्भावी छ । फरक यतिमात्र हो कि बीचैमा जनताबीच जाने कि पाँच वर्षपछि मात्र जाने भन्ने हो । यसरी बीचैमा चुनावमा जाँदा मेलो दुई वर्षकै लाग्ने भयो ।
सर्वसाधारण नेपाली जनताको मनमा बल्ल–बल्ल मिलेका एमाले र माओवादी केन्द्र बीचैमा किन यसरी उफ्रनु ? पहिलेझैँ मिलेकै राम्रो । बरु पाँच वर्षपछि फुटे पनि फुट्नु । जनतालाई राष्ट्रपति, प्रधानमन्त्री र मन्त्री खानु छैन । यी पद खान बानी परेकालाई पो पद छोड्न मुस्किल परेर यस्तो अनावश्यक काम गरेका होलान् । जनतालाई त सहज रूपले आफ्नो जनजीविका चले भइहाल्यो । अहिलेको विघटनले त जीविका चल्नै कठिन भयो । मूल्यवृद्धि आकासिएर बाँच्नै मुस्किल भएको छ । बन्द र हडतालले पहिलेकै रूप लिन थालेको छ । त्यसैले अहिले नै फुट्दा जनतालाई धोका दिएको भएन र ?
अहिले अदालत, निर्वाचन आयोग र सबै नेपालीलाई दुःख भएको छ । वकिलले पनि तीन सयभन्दा धेरै बहस गर्न वकालतनामा पेस गरेका छन् । सम्भवतः यो अहिलेसम्मकै धेरै सङ्ख्या हो । यसरी अहिले कसैलाई पनि सुख भएको छैन । समग्रमा राष्ट्र नै जटिल मोडमा पुगेको छ । यसरी नै स्वार्थवश अन्धो भएर अगाडि बढिरहने हो भने नेपालको भविष्य नै अन्धकारमय हुन सक्छ । त्यसैले बेलैमा सबैले गम्भीरतापूर्वक सोच्न आवश्यक भइसकेको छ ।
यो सङ्कट ल्याउन नेकपा त कारक भइहाल्यो । अरू दलहरूले पनि उसैको एउटा गुटसँग मिलेर आफ्नो फाइदा लिने काम गर्नुहुँदैन । बरु अहिले फुट्न उद्यत भएका दुवै समूहलाई सम्झाइ–बुझाइ गरेर सच्याउने प्रयास गर्नु राम्रो हुनेछ । यस विषयमा अरूभन्दा नेपाली काँग्रेसले विशेष सोच्न जरुरी छ । किनभने बजारमा काँग्रेसले नै नेकपाको यो वा त्यो समूहसँग मिलेर पदीय भागबन्डा र सत्ता साझेदारी गर्ने चर्चा चलेको छ । यदि यसै हो भने योभन्दा नराम्रो केही हुँदैन । इतिहास त मेटियामेट हुन्छ, हुन्छ, आफ्नो नाकमा कालो लागेर राजनीतिक भविष्य पनि अन्धकारमय हुनेछ । त्यसैले यसबेला काँग्रेसले फुकेर पाइला चाल्नुपर्ने भएको छ । पात र हाँगो बनेर कसैसँग मिसिन जाने होइन कि सबैलाई शीतल दिने रूखको जरो बनेर सबैलाई राष्ट्रहितको बाटोमा डो¥याएर नेतृत्व गर्न सक्नुपर्छ काँग्रेसले । जसले गर्दा उनीहरू गलत बाटो त्यागेर सही बाटोमा आउन र राष्ट्रले पनि छिट्टै सही निकास पाउन सकोस् ।
नेपालको वर्तमान अवस्था गम्भीर भएकोमा दुईमत हुन सक्तैन । यो अवस्थामा मुलुककै जेठो दलको नाताले नेपाली काँग्रेसको विशेष दायित्व हुन आएको छ । विगतमा हरेक ठूला राजनीतिक मोडमा यसैले नेतृत्व गरेको नाताले आफ्नो इतिहास कायम राख्नमात्र नभई, नेपाल र नेपालीको रक्षाका लागि समेत काँग्रेसले अहम् भूमिका निर्वाह गर्नैपर्छ । यसका लागि सभापति शेरबहादुर देउवाको नेतृत्वमा नेपाली काँग्रेसका सबै नेता कार्यकर्ताको काँधमा विशेष दायित्व आएको छ । यतिबेला उहाँले हरेक कौशल कला प्रयोग गरेर अहिलेको सङ्घीय गणतन्त्रको रक्षा गर्न जरुरी भएको छ ।
अहिले संसद् भङ्ग भएकै अवस्थामा निर्वाचन भए पनि त्यो बाटो सहज देखिँदैन । यसपछि पनि नेपालमा शान्ति हुने सम्भावना कम देखिन्छ । त्यसैले पहिलो त सहिदको रगतसँग साटिएको यो राजनीतिक प्रणालीको रक्षा गर्ने कर्तव्य काँग्रेसको काँधमा आएको छ । दोस्रोमा, ऐतिहासिक दलको सभापतिको नाताले र बीपीको अनुयायीको हैसियतमा पनि अहिलेको सङ्कटबाट मुलुकलाई बचाउनु काँग्रेस सभापति देउवाको काम भएको छ । अहिले जसरी पनि यो सङ्कटबाट नेपाललाई बचाउनु काँग्रेस नेतृत्वको पहिलो कर्तव्य हो । त्यसो गरिएमा नै काँग्रेसको उज्ज्वल भविष्य देखिन्छ ।

(लेखक वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।) 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?