logo
२०८१ जेष्ठ १४ सोमवार



आस्था र निष्ठाका सतिसाल

विचार/दृष्टिकोण |




कमल सुवेदी

आँधीहुरीको सामना गर्नु पर्दा मकैको ढोड, नर्कट तथा कमसल खालका वनस्पति र वृक्षहरू ढल्छन् तर इस्पातजस्तो सतिसाल जस्तोसुकै विनाशकारी हावाहुरी आए पनि अविचल भई ठिङ्ग उभिन्छ । अनगिन्ती वनस्पति तथा वृक्षहरूको अवस्थिति रहेको संसारमा एउटा नमुना वनस्पतिका रूपमा सतिसाल देखिएझैँ करोडाँै मान्छेहरूको यो नेपाली भूमिमा केही मान्छे मात्र कठिनतम घडीमा पनि अविचलित रहे । यस्तै सत्ताको क्रूर दमन र उत्पीडनका विरुद्ध आफ्नो लेखनी र व्यवहारमा सतिससालझैँ निर्विघ्न उभिने एउटा आस्थारूपी मानव सतिससालको नाम हो – युद्धप्रसाद मिश्र ।
वि.सं. १९६४ पुस शुक्ल अष्टमीका दिनमा भक्तपुर जिल्लाको सोम्लिङ्टारमा जन्मेका युद्धप्रसाद मिश्र जीवन पर्यन्त यो देश र देशवासीहरूमाथि हुने अन्याय, अत्याचार र थिचोमिचोका विरुद्ध सशरीर र कलमका माध्यमबाट लडिरहनुभयो । डेढ वर्षकोे नाबालक छँदै पिता रुद्रप्रसाद मिश्रको असामयिक अवसानले उहाँको बाल्यजीवनमा नै ठूलो सङ्कटको बज्रपात सुरु भयो । पितृवियोग सहनु परेका मिश्रले आफ्नी आमा तथा मावलीहरूको सहयोग र भरथेगमा जीवनका अप्ठ्यारा घुम्तीहरू पार गर्दै काठमाडौँको दरबार हाइस्कुलबाट प्राथमिक शिक्षा ग्रहण गर्नुभयो । उहाँको औपचारिक अध्ययन भने यति मात्र हो तर त्यसपछि स्वतन्त्र रूपमा संस्कृत, हिन्दी तथा अङ्ग्रेजी भाषाको स्वअध्ययन गर्नुभयो ।
भारतको वाराणसीमा अध्ययनका क्रममा पुगे पनि औपचारिक अध्ययनभन्दा स्वअध्ययनमा नै रमाउने मिश्रले वि.सं. १९८६ मा दाम्पत्य जीवन सुरु गर्नुभयो । सन्तान प्राप्तिपछि उहाँको घरायसी आर्थिक अवस्था अझ बिग्रेर गयो । बाबुको निधनको शोकमा खाटा बस्न पाएकै थिएन, पुनः आमाको निधनले उहाँलाई मर्मान्त बनायो । समय पनि कस्तो क्रूर हुँदोरहेछ, त्यसपछि पनि क्रमशः आफ्नी जीवनसाथी र छोरीको दुःखद अवसान भयो । सुन्नेलाई त यस्तो खबरले कहाली लाग्छ भने भोग्नेलाई कस्तो हुँदो हो ? यस्ता एकपछि अर्का बज्रपात परे पनि मिश्र सतिसालझैँ अटल
र दृढ रहनुभयो ।
राणाविरोधी गतिविधिमा सामेल भएबापत कहिले उहाँले जेलमा बस्नुप¥यो, कहिले उहाँको सर्वस्वहरण भयो तर यस्ता विपत्तिहरूले उहाँलाई गलाउन पटक्कै सकेनन् । विभिन्न सरकारी अड्डामा जागिर खाने क्रममा वीरगञ्जमा रहँदा केही बचेको पैसा उहाँले स्थानीय सिनेमा हलमा लगानी गर्नुभएको थियो तर राणाशासकहरूले आफूविरुद्ध लागेको भनी सो सेयर नै जफत गरिदिए । यस्तो भए पनि उहाँमा कुनै विचलनको अंश देखिएन ।
माक्र्सवादी वामपन्थी विचारधारामा प्रतिबद्ध मिश्रको साहित्यिक रचना वि.सं. १९९८ मा गोरखापत्रमा प्रकाशित भएपछि उहाँको औपचारिक रूपमा साहित्यिक जीवन सुरु भयो । लेखनका क्रममा उहाँले चरा (१९९४), बाढी (२०२९), युद्धप्रसाद मिश्रका कविताहरू (२०४८) जस्ता कविता सङ्ग्रहका अतिरिक्त मुक्तिरामायण (२०२७) तथा मुक्तसुदामा (२०२९) जस्ता खण्डकाव्यहरू सार्वजनिक गर्नुभयो । कथाका रूपमा उहाँको अमरकथा नामक कथासङ्ग्रह पनि प्रकाशित भएको पाइन्छ । क्रान्तिकारिता, प्रगतिवाद, अनिश्वरवाद, मानवतावाद, राष्ट्रवाद, समतावाद तथा समाजवादी यथार्थवादका पर्याय मिश्र जीवनभर गलत नियत र मनसायले स्थापित मानसम्मान, पुरस्कार तथा दोसल्ला ओढ्ने आदि कार्यबाट पूर्णत पृथक रहनुभयो । कर्म गर तर फलको आशा नगर भन्ने गीताको उक्तिझैँ उहाँ सदा सत्कर्ममा मात्र लीन हुनुभयो ।
वि.सं. १९९४ मा नेपाली भाषा प्रकाशिनी समितिले उहाँको रचना चरा शीर्षकको कवितालाई पुरस्कृत गरेपश्चात् उहाँलाई पद, पैसा र पुरस्कारले भन्दा नेपाल र नेपालीले भोग्नु परिरहेको नियतिले बढी सताउन थाल्यो । छेपाराहरूले झैँ छिनछिनमा रङ फेर्ने स्वभाव भएका मान्छेहरूको आजको युगमा जीवनको अन्तिम खुड्किलोसम्म स्वाभिमानलाई पूर्णत उँचो बनाइराख्न सफल मिश्र वि.सं. २०१७ को प्रतिगामी कदमपछि पूर्ण वामपन्थी विचारधारातर्फ ओतप्रोत भएर साहित्य साधना गर्न थाल्नुभयो । सत्र साले प्रगिगमनकारी कदमपछि आफ्नो सुब्बा स्तरको जागिरलाई लात मार्दै प्रवासतिर लाग्नुभयो । ‘आजको युगमा निम्न वर्गका जनतालाई राजनीतिक र आर्थिक पीडाको दलदलबाट मुक्त गराउने उद्देश्यमा लाग्नु नै जनपक्षीय साहित्यको प्रमुख उद्देश्य हो ।’ माक्र्सवादी तथा प्रगतिशील साहित्यप्रति यस्तो दृष्टिकोण राख्ने मिश्र नेपाली काव्य परम्पराका अझ खण्डकाव्य परम्पराका एउटा विशेष धारा र प्रवृत्तिका कमाण्डर नै रहनुभयोे । वि.सं. २०४६ को ऐतिहासिक जनआन्दोलनका सन्दर्भमा लेखक तथा कलाकारहरूले कालो पट्टी बाँधेर स्थानीय त्रिचन्द्र क्याम्पसको सरस्वती सदनमा विरोध प्रदर्शन गरिरहेका बेला पनि उहाँले एउटा कमाण्डरकै हैसियतमा सामूहिक गिरफ्तारी दिनुभएको थियो । वयोवृद्ध एउटा क्रान्तिकारी स्रष्टाको जनआन्दोलनमा भएको सशरीर उपस्थिति र गिरफ्तारीपश्चात् केही दिनमा नै निरङ्कुश पञ्चायती
व्यवस्था ढलेर गयो ।
बैंसालु उमेरमा क्रान्तिकारिताको चर्काे बखान गर्ने तर उमेर ढल्किँदै जाँदा अनेकथरिका अस्वस्थ पक्षलगायत सत्तासित आत्मसमर्पण गर्ने आफूलाई प्रगतिवादी भन्नेहरूको झुण्डभन्दा बिल्कुल आफूलाई पृथक् राख्दै मिश्र स्वच्छन्दतावादी प्रवृत्तिबाट लेखनको सुरुवात गरे पनि जीवनको उत्तराद्र्धमा झनै परिवर्तनमुखी र विद्रोही लेखनतिर उन्मुख हुन पुग्नुभयो । यस्तो अवस्थामा रहँदारहँदै मुलुकमा शदियौँदेखि चलिरहेको शोषण, दमन, उत्पीडन र अव्यवस्थाका विरुद्ध नामले मात्र होइन, कामले पनि युद्धकै प्रतीक बनेर रहनुभयो उहाँ । यस्तै अवस्थामा रहँदारहँदै धर्तीमा विलीन हुन पुगे । त्यो विलीन भएको क्रूर दिन थियो वि.सं.२०४७ फागुन ६ गते । जीवनको अन्तिम दशकमा धेरै प्रगतिवादी लेखकहरूको अनुरोध र स्वच्छ करकापमा यथार्थवादी साहित्यका स्रष्टाहरूलाई मात्र प्रदान गरिने भन्ने कुरा संस्थाको विधानमै उल्लिखित स्रष्टा प्रकाशनले सञ्चालन गरेको कृष्णमणि अर्याल पुरस्कार भने उहाँले स्वीकार गर्नुभएको थियो ।
योभन्दा अगाडिका अनेकौँ पुरस्कारका आग्रहहरूलाई अस्वीकार गर्नुभएका मिश्रले सेतो धन र पसिनाको कमाइबाट प्राप्त रकमको अक्षयकोष रहेको संस्थाबाट प्रदान गरिने पुरस्कारलाई मात्र वास्तविक अर्थमा पुरस्कार ठान्ने गर्नुभएको थियो । वि.सं. २०४१ मा प्रगतिशील लेखक कलाकार सङ्घबाट अभिनन्दित उहाँको निधनपश्चात् उहाँकै नाममा स्थापित युद्धप्रसाद मिश्र पुरस्कार तथा प्रकाशन गुठी स्थापना भई हरेक वर्षको फागुन ६ गते उहाँको विचारप्रति आस्थावान् स्रष्टाहरूलाई पुरस्कार प्रदान गरिंदै आएको छ । निधनपश्चात् नै उहाँको अन्तिम कृति युद्धप्रसाद मिश्रका कविताहरू प्रकाशन गरेको सो गुठीले हालसम्म झण्डै दुई दर्जन प्रगतिवादी स्रष्टा तथा संस्थाहरूलाई पुरस्कृत गरिसकेको छ ।
जीवनपर्यन्त शोषित पीडित जनताका पक्षमा लेख्ने र परिआएमा सशरीर त्यसका पक्षमा उभिने मिश्रको आँट र अग्रगमनप्रतिको निष्ठाको चर्चा गर्दा यहाँ एउटा महìवपूर्ण प्रसङ्ग उल्लेख गर्नु सान्दर्भिक हुन आउँछ । २०४६ सालको जनआन्दोलन उत्कर्षतिर पुग्न लाग्दा प्रजातन्त्रका पक्षधर लेखक कलाकारहरूले सरकारको दमन र मानव अधिकार उल्लङ्घनको अन्त गरी प्रजातन्त्रको पुनर्वहाली गर्न माग गर्दै जारी गर्न तयार पारेको प्रेस वक्तव्यमा हस्ताक्षर गर्न अनुरोध गर्दा मिश्रले ठाडो शिर पारी गर्वका साथ यसो भन्नुभएको थियो–“हेर्नुहोस् साथीहरू !
मलाई यस्तो रुञ्चे वक्तव्यमा सहीछाप गर्न नलगाउनु होस् । देश यस्तो जर्जर अवस्थामा पुगेका बेला एउटा कडा खालको म आफू पनि सशरीर सङ्घर्षको मैदानमा उपस्थित भई आन्दोलनमा सहभागी हुने खालको कार्यक्रम तय गरी आउनुहोस् । म आफैँ त्यसको नेतृत्व गर्न तयार हुनेछु ।” यसैबाट प्रष्ट हुन्छ, उहाँको स्वतन्त्रता र समर्पणप्रतिको आस्था । एकातिर मिश्रले यसो गर्नुभयो भने अर्कातिर त्यो वक्तव्यमा सही गर्ने केही स्वनामधारी (?) लेखकहरूले तत्कालीन निरङ्कुश पञ्चायती व्यवस्थाले आफ्ना अन्तिम दिन गन्न लागेका बेलामा पनि त्यसका टाउकेहरूको निर्देशनमा आफूले गरेको हस्ताक्षर फिर्ता गरेका थिए । अझ अनौठो कुरा त के छ भने तिनै स्वनामधन्य (?) लेखकहरू प्रजातन्त्रको पुनर्वहालीपश्चात् एक नम्बरका प्रजातन्त्रवादी बने । सरकारी प्रतिष्ठानको मलिलो स्थानको नेतृत्व तिनैले गरे । छेपारालेझैँ रङ फेर्ने हाम्रो औसत यथार्थको प्रतिफल नै हो यो । आजभन्दा तीन दशक अगाडिको यस्तो घटना धेरैको सम्झनाबाट विस्मृत पनि भइसकेको छ ।
यसरी वयोवृद्ध क्रान्तिकारी कवि युद्धप्रसाद मिश्रले एउटा सङ्घर्षको मैदानमा भएका कार्यक्रममा सहभागिता जनाउनुभयो । चैत ३ को कालोपट्टि पर्वको सगर्व सेनापति बन्नुभयो । उहाँसँगसँगै कुँजो र अस्वस्थ शरीरलाई पनि ख्याल नराखी नवजवानझैँ पारिजात पनि उपस्थित हुनभएको थियो । धन्य जनताका पक्षधर एउटा स्वाभिमान र स्वतन्त्रताका सतिसाल मिश्र । धन्य स्वतन्त्रताका अनुयायी
वयोवृद्ध सर्जक ।
(लेखक साहित्यकार हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?