logo
२०८१ बैशाख १५ शनिवार



अर्थतन्त्रको आशलाग्दो दिशा ( सम्पादकीय)

विचार/दृष्टिकोण |




चालू आर्थिक वर्ष सुरु हुँदा मुलुकी अर्थतन्त्रको अवस्था राम्रो थिएन । कोरोना भाइरस (कोभिड –१९) ले अर्थतन्त्रका सबै जसो आयामलाई थिलथिलो बनाएको थियो । गत वर्षको चैत ११ देखिको बन्दाबन्दीले देशभरका उद्योग, व्यवसाय, कलकारखाना सबैतिर प्रतिकूल प्रभाव परेको थियो । असारदेखि कडा बन्दाबन्दी केही मन्थर भए पनि कोरोना प्रभावले आर्थिक वर्ष आरम्भ हुँदा अर्थतन्त्र झनै जटिल अवस्थामा पु¥याएको अहिल्यै बिर्सन मिल्दैन ।कोरोनाको प्रभाव केही कम भए पनि अहिले पनि जोखिम शून्य भएको छैन । तर अर्थतन्त्रका आयामहरू विस्तारै चलायमान हुन थालेका तथ्याङ्कहरू बाहिर आउन थालेका छन् ।
नेपाल राष्ट्र बैङ्कले चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको अर्थतन्त्रको समीक्षा भर्खरै सार्वजनिक गरेपछि उत्साह थपिएको छ । सार्वजनिक तथ्याङ्कअनुसार केही खाद्य वस्तुमा मूल्य वृद्धि भए पनि आमरूपमा महँगी न्यून बिन्दुमा पुगेको छ । वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २. ९३ प्रतिशत मात्र छ । विगतमा उच्च मूल्य वृद्धि भोगेका सर्वसाधारणका लागि यो राहतको महसुस हो । यो अवधिमा आयात घटेको छ भने निर्यात बढेको छ । गत साउनदेखि मङ्सिरसम्म नौ दशमलव छ प्रतिशतले आयात घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात चार दशमलव दुई प्रतिशतले मात्र घटेको थियो । निर्यात भने पाँच दशमलव एक प्रतिशतले बढेको छ । यो वृद्धिले ५० अर्ब छ करोड रुपियाँ बाह्य पुँजी देशलाई प्राप्त भएको छ । वस्तुगत आधारमा अलैँची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, पस्मिना लगायतका वस्तुको निर्यात बढेको छ ।
सबैभन्दा महìवपूर्ण पक्ष भनेको यो अवधिमा विदेशमा काम गर्न गएका नेपालीले घर पठाएको रकममा राम्रो वृद्धि भएको छ । विप्रेषण आप्रवाह नेपाली रुपियाँमा १०.९ प्रतिशतले र अमेरिकी डलरमा ६.४ प्रतिशतले बढेको छ । यो वृद्धिसँगै विप्रेषण चार खर्ब १६ अर्ब ८१ करोड पुगेको छ । विप्रेषण गत आर्थिक वर्षमा शून्य दशमलव चार प्रतिशतले मात्र बढेको थियो । विदेशमा काम गर्न जाने नेपालीको सङ््ख्या घटिरहे पनि विप्रेषण बढ्नु सुखद् पक्ष हो । यसैगरी आन्तरिक कर्जामा छ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष तीन दशमलव पाँच प्रतिशतले मात्र बढेको आन्तरिक कर्जा कोरोना प्रभावकै बीच छ प्रतिशत पुग्नु अर्थतन्त्र चलायमान हुँदै जाने स्पष्ट सङ्केत पनि हो । त्यस्तै निक्षेप परिचालन पनि गतआर्थिक वर्षको सोही अवधिभन्दा बढेको छ । गत आर्थिक वर्षमा चार प्रतिशतले बढेको निक्षेप परिचालन यो पाँच महिनामा छ दशमलव पाँच प्रतिशतले बढेको छ । निक्षेपसँगै कुल कर्जा प्रवाहसमेत सात दशमलव एक प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो पाँच महिनामा यस्तो वृद्धि छ दशमलव दुई प्रतिशतमात्र थियो । अर्थतन्त्रलाई चलायमान बनाउने औद्योगिक कच्चा पदार्थ, इन्धन, पुँजीगत वस्तुलगायतको आयात बढ्दै गएको केन्द्रीय बैङ्कले देखाएको छ । यसले अर्थतन्त्रका अवयवलाई थप ऊर्जा दिनेछ ।
कोरोनाको त्रास न्यूनीकरण तथा कतिपय नीतिगत सुधारका कारण पनि अर्थतन्त्रमा सुधार आउन थालेको हो । सरकारले स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गर्नु तथा जनचेतनामा सकारात्मक प्रभावसमेतले यताका महिनामा कोरोना सङ्क्रमणको दर क्रमशः घट्दै गएको हो । यसले निश्चयनै आर्थिक गतिविधिमा सहभागी हुन जनसाधारणलाई आत्मविश्वास बढेको छ । तर मुलुकी राजनीति एकाएक प्रतिनिधि सभा विघटनतिर अग्रसर भएपछि यसले आगामी दिनमा अर्थतन्त्रमा कस्तो प्रभाव पर्ने हो भन्ने कुरा भने अहिल्यै एकीन हुन सकेको छैन । केन्द्रीय बैंकको समीक्षा गत मङ्सिर मसान्तसम्मको मात्र तथ्याङ्क भएकाले सार्वजनिक ताजा समीक्षामा मुलुकी राजनीतिको प्रभाव देखिन नसक्नु स्वाभाविक नै हो । विकास खर्च अहिले पनि न्यून छ । पुँजीगत खर्च बढाउँदै आय, उत्पादन, रोजगारी र लगानीलाई अग्रता दिने चुनौती अझै छँदैछ । विश्व बैंकले यो वर्षको आर्थिक वृद्धिदर शून्य दशमलव छ प्रतिशतमात्र सीमित हुने प्रक्षेपण गरेको सन्दर्भमा अर्थतन्त्रलाई थप चलायमान बनाउन सरकार र निजी क्षेत्रको एकीकृत प्रयास भने अझै वान्छनीय छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?