logo
२०८१ बैशाख १४ शुक्रवार



भूकम्प मापनको सुरुवात र जनचेतना

विचार/दृष्टिकोण |




भरतप्रसाद कोइराला

करिब ८६ वर्ष (वि.सं. १९९०) अघि नेपालमा गएको महाभूकम्पको चर्चा अहिलेसम्म पनि उत्तिकै छ । नेपालमा त्यतिबेला भूकम्प रेकर्ड गर्ने प्रविधि भित्रिएको थिएन । त्यसको करिब ३४ वर्ष (वि.संं २०३४–सन् १९७८) पछि फ्रान्स सरकारको सहयोगमा ललितपुरको फुलचोकी डाँडामा एउटा भूकम्प मापन गर्ने यन्त्रको स्थापना गरी नेपालमा भूकम्पको निगरानी सुरु गरिएको थियो । त्यसपछि विभिन्न चरणमा सन् १९८० सम्ममा दुई, सन् १९८५ सम्ममा दुई गरी जम्मा पाँच वटा स्टेसन (मापनकेन्द्र)को सञ्जालमार्फत भूकम्पको निगरानी गर्न सुरु गरिएको थियो । त्यसलगत्तै सन् १९८८ मा उदयपुरको भूकम्प गएपश्चात् भूकम्प मापन स्टेसनको सञ्जाल विस्तार गर्नुपर्ने आवश्यकता महसुस भई सन् १९९४ मा फ्रान्स सरकारकै सहयोगमा १२ र १९९८ मा चार गरी जम्मा २१ वटा र पछि सुर्खेत दैलेखको सिमानामा थप एक गरी जम्मा २२ वटा भूकम्प मापन स्टेसनको सञ्जाल स्थापना गरियो ।
यसै क्रममा २०७२ मा गएको गोरखा भूकम्पपश्चात् थप विभिन्न देशको सहयोगमार्फत २० वटा भूकम्प मापन स्टेसन थप गरी नेपालभर ४२ वटा भूकम्प मापन स्टेसनको आँकडाबाट भूकम्पको सूक्ष्म निगरानी गर्ने तथा चार रेक्टर स्केलभन्दा ठूला भूकम्प नेपालभित्र गएमा त्यसको मापन र केन्द्रबिन्दु सम्बन्धित निकायलाई यथाशीघ्र उपलब्ध गराई खोज तथा उद्दार कार्यमा खानी तथा भूगर्भ विभागअन्तर्गतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले सहयोग पु¥याउँदै आएको छ । यसका साथै नेपालका विभिन्न स्थानमा भू–विस्थापनको अध्ययनका लागि ४२ वटा जी.पी.एस. स्टेसन तथा जमिनको तीव्र कम्पनको मापन गर्न ३६ वटा एक्सलेरो मिटर स्थापना गरिएका छन् ।
वि.सं १९९० माघ २ गते महाभूकम्प गएको दिनको सम्झनामा करिब २२ वर्ष अघिदेखि भूकम्पसम्बन्धी जनचेतना फैलाउने उद्देश्यका साथ भूकम्प सुरक्षा दिवस मनाउन थालिएको थियो र अद्यपि जारी छ । यस वर्ष २३ औँ भूकम्प सुरक्षा दिवस ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने नाराका साथ मनाइँदैछ । २२ वर्ष अघिदेखि सुरु गरिएको यस भूकम्प सुरक्षा दिवस, जनचेतना फैलाउने कार्यमा कति सफल र प्रभावकारी भयो भन्ने कुराको अव्यावहारिक लेखाजोखा गर्ने समय पनि भएको छ । पहिले केन्द्र खासगरी काठमाडौँ उपत्यकामा मात्र सञ्चालन गर्ने गरिएको यो दिवस पछिल्लो समय जिल्लाजिल्लामा पनि मनाउन थालिएको छ, जुन अत्यन्त सकारात्मक कुरा हो । सम्भव भए स्थानीय स्तरमा समेत सञ्चालन गर्न सके अझ प्रभावकारी हुने देखिन्छ । अब अहिलेसम्म गरिएको यस वmार्यक्रमबाट उद्देश्यानुसारको प्रतिफल वा प्रभाव परे नपरेको वा जनताले भूकम्प, यसबाट हुने विनास र हताहती कम गर्नेबारेमा ज्ञान वा चेतना प्राप्त गरे नगरेको पनि अध्ययन वा लेखाजोखा गर्नु उत्तिकै जरुरी किन पनि छ भने उद्देश्यानुसारको लक्ष्य हासिल नभएको भए यस दिवसको मोडालिटी परिवर्तन गर्नुपर्ने हुन सक्छ ।
यो किन पनि आवश्यक छ भने हामीले भूकम्प सुरक्षा दिवस मनाउँदै जनचेतना फैलाउने कार्य सुरु गरेपछि करिब डेढ दशकपछि गएको २०७२ को गोरखा भूकम्पबाट भएको क्षति हेर्दा कतै दिवसको प्रभाव नपरेको हो वा दिवसको प्रभावका कारण क्षति कम भएको हो अन्यथा अझ धेरै धनजनको क्षति पो हुने थियो कि ? भन्ने आँकलन गर्नुपर्छ । नेपाल बाढी, पहिरो, भूकम्पजस्ता बहुप्रकोपको जोखिमयुक्त मुलुक हो । सामान्यतया वर्षायाममा बाढी तथा पहिरो आउने, हिउँदमा हिमपात तथा शीतलहर र गर्मी याममा लु तथा आगजनीको जोखिम हुने कुराको आँकलन गर्न सकिन्छ । तर भूकम्प पूर्वानुमान वा आँकलन गर्न नसकिने हुन्छ । यो कुनै सीमा (भौगोलिक वा राजनीतिक) नभएको एउटा यस्तो प्राकृतिक प्रकोप हो, जसको कारण अपूरणीय मानवीय क्षतिलगायत आर्थिक क्षतिसमेत हुने गर्छ । यसका सामाजिक असरहरू पनि हुने रहेछन् भन्ने देखियो ।
भूकम्पको केही सेकेण्ड वा मिनेटको धक्का वा कम्पनका कारण अन्य प्रकोपको तुलनामा बढी धनजनको क्षति हुन्छ । २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट नेपालका १४ जिल्ला अति प्रभावित भएको र ३१ जिल्लामा यसले असर वा प्रभाव पारेको नेपाल सरकार, गृह मन्त्रालय विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना २०१८–३० मा उल्लेख गरिएको छ । त्यसैले भूकम्पलाई अन्य प्राकृतिक प्रकोपहरूको तुलनामा बढी जोखिमयुक्त प्राकृतिक प्रकोप मानिन्छ तथापि अझै पनि हामी सचेत भएका छैनौँ । हामीले त्यस भूकम्पको त्रासदी र क्षति बिर्संदै गएको महसुस अहिले पनि अव्यवस्थित र भवन निर्माण संहिताको प्रयोग नगरी निर्माण गरिएका अग्ला भवनको निर्माणबाट भइरहेको छ, जुन अत्यन्त दुःखद कुरा हो । समयमै सचेत भएनौँ भने यसले भविष्यमा निकै ठूलो दुर्घटना निम्त्याउन सक्छ । नेपालको सङ्घीय राजधानी काठमाडौँको कमजोर भौगर्भिक बनोटका कारण भूकम्पको र यहाँको घना बस्ती नजिक रहेका इन्धन भण्डारण तथा बिक्री केन्द्रहरूले समेत जोखिम बढाइरहेका छन् ।
विगतमा गएका भूकम्पहरूले गरेको विनास वा धनजनको क्षतिका कारण यसको पूर्वानुमान गर्न सकिए धनजनको क्षति कम गर्न सकिन्छ भनी यसको पूर्वानुमान गर्ने उपायको खोजीमा यस क्षेत्रमा कार्यरत सङ्घसंस्थाका वैज्ञानिकहरू लामो समयदेखि प्रयासरत रहे पनि हालसम्म भूकम्पको पूर्वानुमान गर्न सकिने विश्वसनीय पूर्वसङ्केतहरू प्राप्त गर्न सकिएको छैन । यस क्षेत्रमा कार्यरत सङ्घ सस्था तथा भूवैज्ञानिकहरूको सबैभन्दा ठूलो चुनौती नै भूकम्पको पूर्वानुमान हो । पूर्वानुमान भन्नासाथ तीन कुरा – भूकम्पको मान, भूकम्प जाने समय र भूकम्पको केन्द्रबिन्दु वा जाने स्थानको किटानीलाई बुझिन्छ । विश्वमा कहीँकतै पनि अहिलेसम्म भूकम्पको विश्वसनीय पूर्वानुमान सम्भव भएको छैन । तर पनि लामो समयसम्मको भूकम्पीय आँकडाका आधारमा भविष्यमा भूकम्प जाने वा जान सक्ने सम्भावित क्षेत्रको पहिचान गर्न भने सकिन्छ वा सकिएको छ ।
नेपालको सन्दर्भमा हेर्ने हो भने पश्चिम नेपालमा (गोरखादेखि पश्चिम देहरादुनसम्म) विगत करिब ५१५ वर्षदेखि ठूलो भूकम्प गएको छैन अथवा दुई प्लेटको टकरावबाट सञ्चित शक्ति ५१५ वर्षदेखि क्षीण भएको छैन र अब ठूलो भूकम्प जाने सम्भावित क्षेत्रको रूपमा सो क्षेत्रलाई भूवैज्ञानिकहरूले औँल्याएका छन् । तथापि त्यो भूकम्प कहिले, कहाँ केन्द्रबिन्दु भएर र कत्रो (कति मानको) जान्छ भन्न सकिँदैन ।
भूकम्प जहाँसुकै जाँदैन, खासगरी भूकम्प सक्रिय भौगर्भिक प्लेटहरू भएको क्षेत्रमा जाने गर्छ । ठूला र महाभूकम्पहरू सक्रिय भौगर्भिक चट्टानहरूको ‘बाउन्ड्री’ मा जाने गर्छ । नेपाल पनि दुई ठूला सक्रिय भौगर्भिक प्लेट (दक्षिणको भारतीय र उत्तरमा रहेको तिवटेन) को जुधाइको ठीक माथि अवस्थित रहेकोले यहाँ दैनिक नै स–साना भूकम्प जाने गर्छन् भने बेलाबेलामा मझौला, ठूला तथा महाभूकम्पहरू गई ठूलो धनजनको क्षति भएको पाइन्छ । करिब पाँच करोड वर्ष पहिलेदेखि सुरु भएको मानिएको यी दुई भौगर्भिक प्लेटको टकरावबाट समयसमयमा गएका यिनै भूकम्पका कारण भएको जमिनको विस्थापनबाट हाम्रा उत्तरमा रहेका गगनचुम्बी हिमालहरू ठडिन पुगेका मानिन्छ ।
भूकम्पबाट हुने जोखिममा सबैभन्दा पहिलो र मुख्य जोखिम भनेको जमिनको कम्पन हो भने भूकम्पबाट उत्पन्न हुन सक्ने अन्य जोखिममा मानव निर्मित संरचनामा पर्ने असर, लिक्विफ्याक्सन (जमिनको तरलीकरण), सुख्खा पहिरो, हिमपहिरो तथा चट्टान तथा ढुङ्गा खस्ने, अस्पताल वा स्वास्थ्य सेवाको पहँुचमा हुने अवरोध, ठूलाठूला बन्दरगाह, बाटाघाटा तथा रेलवेहरू भत्किन गई अवरोध हुने जोखिम, आगलागीको जोखिम तथा सुनामी आदि हुन् । नेपालमा सुनामीको प्रकोप वा जोखिम भने छैन ।
यथार्थमा भूकम्पले भन्दा पनि मानिस (हामी) आफैँले निर्माण गरेको कमजोर संरचनाका कारण धेरै धनजनको क्षति वा हताहती हुने गर्छ । त्यसैले रोक्न र पूर्वानुमान गर्न नसकिने भूकम्पबाट हुने धनजनको क्षति कम गर्न हामीले गर्न सक्ने भनेको राष्ट्रिय तथा स्थानीय स्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी जनचेतना अभिवृद्धि गर्ने कार्य नै हो । यसअन्तर्गत विशेषगरी भूकम्प प्रतिरोधी भवन निर्माणमा जोड दिने, भइरहेका पुराना भवनहरूको प्रवलीकरण गर्ने गराउनेदेखि लिएर विभिन्न सञ्चार माध्यमबाट ठूला तथा विनासकारी भूकम्प आउनुअघि, आइरहेको वा गइरहेको बेला र भूकम्प गइसकेपछि वा भूकम्प रोकिएपछि के गर्ने भन्नेजस्ता जनचेतनामूलक कार्यक्रमहरू निरन्तर प्रचार प्रसार गर्नुरगराउनु पर्छ । यसका अलावा यस्तो विपद्को बेला खोज तथा उद्दार कार्यका लागि तालिम तथा प्रशिक्षण दिई तालिम प्राप्त खोज तथा उद्दार दस्ता तम्तयार गरी राख्नुपर्छ ।
(लेखक खानी तथा भूगर्भ विभागमा सिनियर डिभिजनल सिस्मोलोजिष्ट हुनुहुन्छ । )

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?