logo
२०७७ माघ ३ शनिवार

सम्बन्ध जोड्ने चाड

विचार/दृष्टिकोण |




लक्की चौधरी

नेपालका पश्चिमी थारूहरूले मनाउने विशेष चाड हो– ‘माघ’ । उच्चारण गर्दा यसलाई ‘माघ, माघी, खिचरा, तिला सङ्क्राइत, माघेसङ्क्रान्ति’ पनि भनिन्छ । पूर्वका थारूले ‘तिला सङ्क्राइत’ भन्छन् भने बीच (कपिलवस्तु–चितवन)का थारूले ‘खिचरा’ भन्छन् । आमनेपालीले यस चाडलाई ‘मकर सङ्क्रान्ति’का रूपमा मान्छन् । पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्म तराईका जिल्लामा थारूहरूको सघन बसोवास छ । ठाउँअनुसार यो चाडको नाम फरक भए पनि मनाउने परम्परा समान छ । ‘माघेसङ्क्रान्ति’को नामले सबै नेपालीले यस चाड मनाउँछन् ।

माघ महिनाको नामबाटै यो चाडको नाम
‘माघ’ अर्थात् ‘माघी’ रहन गयो । थारू समुदायको छाता सड्ढठन थारू कल्याणकारिणी सभा (थाकस)ले २०५९ सालदेखि काठमाडौँमा महोत्सवका रूपमा यस चाडलाई मनाउन सुरु गरेपछि ‘माघ’लाई
‘माघी’ भन्न थालियो । पश्चिम नेपालका थारूको जनजिब्रोले ‘माघ’ उच्चारण गर्न रुचाउने भए पनि पूर्वी नेपालका थारूको जनजिब्रोले यसलाई ‘माघी’ उच्चारण गर्न सहज मान्यो । काठमाडौँ उपत्यकामा काम विशेषले
सबै जिल्लाका थारूको मिश्रित बसोवास भएकाले ‘माघ’ लाई ‘माघी’ का रूपमा स्वीकार गरियो । उच्चारण जे गरे पनि मनाउने ‘माघ’ चाड नै हो । पश्चिमा थारूले यसलाई विशेष चाड (नयाँ वर्ष)का रूपमा मनाउँछन् ।
स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाले ‘माघी’ उल्लेख गरेको छ । त्यसमा लेखिएको छ, “माघी नेपालमा बसोवास गर्ने थारू समुदायले मनाउने प्रमुख चाड हो । माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो चाडका रूपमा लिइन्छ ।” तत्कालीन लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारले २०५९ साल माघमा थारू कर्मचारीलाई एक दिन बिदा दिने प्रचलन चलायो । वर्तमान सरकारले त सार्वजनिक बिदा नै दियो ।

जिता मार्ने चलन
माघेसङ्क्रान्तिको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन थारू गाउँमा ‘सुँगुर’ काट्ने प्रचलन छ । जसलाई थारूमा ‘जिता मर्ना’ भनिन्छ । सङ्क्रान्तिको दिन पापकर्म नगर्ने हुनाले पुसको अन्तिम दिनमा जिता ‘मार हान्ने’ गरिन्छ । ‘माघ’मा मासु, माछा अनिवार्य हुन्छ । सुँगुर, बङ्गुर, कुखुरा, हाँसको मासुसँग थारू परिकार ढिक्री, माछा, घोङ्घी, सिपी, गड्ढटा, अनदीको भात, मुरही, तिलको लड्डु, सखरखण्ड, तरुल, केराको तरुवा, सठौरा, मुरही, खिचडी भात, घरपाला रक्सी आदि परिकार खाने प्रचलन छ ।
पुसको अन्तिम दिन रातभरि थारूहरू जाग्राम बस्छन् । त्यसरात दफुको साथमा ‘धमार, धुमरु’ गीत गाउँछन् । भाले नबास्दासम्म गाइने सो गीतमा थारू इतिहास, रहनसहन, खेतबारी गर्ने चेतनामूलक गीत सिर्जाइएको हुन्छ । गीत सबै मौखिक हुन्छ । अहिलेसम्म मौखिक साहित्यका रूपमा रहेको धमार गीतलाई अहिलेका युवाले दस्तावेजीकरणको काम गर्न थालेका छन् । थारू पुर्खाहरूले गीतलाई कण्ठस्थ पारेका हुन्छन् । रातभरि जाग्राम बसी गीत गाउने गायकहरूको सत्कारका लागि जाँड, रक्सी र खानपानसहितको विशेष व्यवस्था गरिएको हुन्छ ।

माघ लहान
माघ १ गतेलाई पवित्र दिनका रूपमा लिइन्छ । माघ १ गते परम्परागत बाजागाजासहित सामूहिक रूपमा नदी दोभान, पोखरी, जलाशयमा गई स्नान गरिन्छ । जसलाई थारूहरूले ‘माघ लहान’ भन्छन् । नुहाउने कर्मलाई थारू भाषामा ‘लहैना’ भनिन्छ । त्यसैबाट ‘माघ लहान’ भएको हो । अन्य बेला स्नान गरे–नगरे पनि त्यस दिन घरका सबै सदस्यले अनिवार्य रूपमा स्नान गर्ने हुनाले यसलाई ‘माघ लहान’ भनिएको हो । यो दिन जलदेवतासँग पानी खरिद गरेर नगदमा मात्र स्नान गरिन्छ । एक हातले नाक समातेर जलाशयमा डुबुल्की मार्ने, अर्को हातमा रहेको सिक्का पैसा जलदेवतालाई भित्रै छाड्ने गरिन्छ । जलदेवतासँग पानी खरिद गरेर नुहाउँदा वर्षभरि जानअञ्जानमा गरिएका गल्ती
(पापकर्म) पखालिन्छ भन्ने विश्वास छ । नुहाउन जाँदा बाटोभरि धमार गीत गाउने, मघौटा नाच नाचिन्छ । यसले सामूहिकता, सहयोगको भावना जागृत हुन्छ । माघ लहान गरेर देवीदेवताको पूजापाठ गर्दा सन्तान नहुने दम्पतीको कोख भरिने, पापकर्महरू नष्ट हुने धार्मिक विश्वास छ ।

सेवा–ढोग
घरका ज्येष्ठ सदस्य वा अभिभावकलाई सम्मानस्वरूप सेवा–ढोग गर्ने र आशिर्वाद लिने प्रचलन पुरानै हो । तर, थारू समुदायको माघी चाडमा गरिने सेवा–ढोग र लिइने आशिर्वादको विशेष महŒव छ । गाउँघरका सदस्यहरूले काम विशेषले देशबाहिर, जिल्ला र गाउँबाहिर रहँदा वर्ष दिनपछि माघमा एकैठाउँमा जम्मा हुन्छन् । माघ १ गते चोखो पानीले स्नान गरी ठूलाबाट आशिर्वाद लिनुमा छुट्टै मजा छ । यसले ठूलाको सम्मान र सानालाई माया गर्ने भावना जागृत हुन्छ । यसले व्यक्तिलाई जोड्नेमात्र होइन, समाज र देशलाई नै जोड्छ । सेवा आदरभाव सँगसँगै पुस्तान्तरण पनि हुन्छ ।
ढोग, आशिर्वाद पछिमात्र सामूहिक रूपमा आगो ताप्दै खानपिन गरिन्छ । त्यहीबेला प्रगति, नयाँ योजना, सुख दुःखका कुरा पनि साटासाट गरिन्छ । एक–अर्कालाई बुझ्न त्यसले फाइदा गर्छ । यो चाडलाई मेलमिलाप चाडका रूपमा लिइन्छ ।

निसराउ–उपहार
थारूहरूले माघ १ गते स्नान गरेपछि ठूलाको आशिर्वादका लागि चामल, नुन, दाललाई साक्षी राख्छन् । घरको देवता कोठा (दिहुरार) मा गुन्द्रीमा अलग–अलग राखिएका ती सामान छोएरमात्र सेवाढोग लिने गरिन्छ । स्नान गरेर घरमा आएपछि चामल, नुन र दाललाई पाँच–पाँच अम्खोराले अलग भाँडामा राखिन्छ । सगुनका रूपमा ती सामग्रीलाई छोएपछि अभिभावकको आशिर्वाद लिन्छन् । नजिकमा मठमन्दिर वा देवालयमा गएर पूजापाठ गरी भगवान्को आशिर्वाद थाप्छन् । माघमा विवाहित चेलीबेटीलाई विशेष उपहार दिइन्छ । यसलाई थारूहरूले ‘निसराउ’ दिने भन्छन् ।
नुहाएर घर आएपछि घरमा सगुनका रूपमा छोएको चामल, नुन, दाल र केही नगद उपहार नै निसराउ हो । त्यसमा थपेर उपहारस्वरूप माघ २ गते चेलीबेटीलाई पु¥याउने गरिन्छ । हिजोआज नगदसहित निसराउ दिने चलन बढेको छ । माघी चाडमा विवाहित चेलीलाई अनिवार्य रूपमा माइत बोलाइएको हुन्छ । माइत आएका चेलीहरू घर फर्किने बेला निसराउ लिएर फर्किन्छन् । माइती आउन नपाएका चेलीलाई घरमै गएर पु¥याइन्छ । निसराउ दिने प्रचलनले घरका सदस्य र विवाहित चेलीबीचको सम्बन्धलाई प्रगाढ बनाउँछ । नाता–कुटुम्बलाई जोड्ने काम गर्छ । त्यसैले निसराउ (उपहार) दिने चलनलाई महŒवका साथ हेरिन्छ ।
किन नयाँ वर्षथारू संवत्अनुसार यो ‘माघ’ २६४४औँ हो । माघ चाडलाई थारूहरूले नयाँ वर्षका रूपमा मनाउँछन् । पुस मसान्तसम्म आफ्नो लेनदेन, हरहिसाब गर्छन् । माघ १ गतेदेखि नयाँ खाता र योजना बनाउँछन् । वर्ष दिन गरेको कामको लेखाजोखा, हिसाब मिलान तथा गाउँको काम गर्न नयाँ नियुक्त प्रक्रिया थाल्छन् । गाउँ सञ्चालन गर्न बरघर, वैद्य वा संरक्षकका रूपमा गुरुवा, सन्देशवाहक चिरक्या, घर सञ्चालनकर्ता घरमुली, गाउँमा हाकदाक लगाउने अघारी, चौकीदार, कुलापानी गर्ने व्यक्ति, फलामको काम गर्ने व्यक्ति, गोठालो आदिको नयाँ नियुक्त गरिन्छ । तिनीहरूको ‘तिहाई’ तोकिन्छ । जिम्मेवारी दिएबापत पारिश्रमिक तोक्नुलाई थारूमा ‘तिहाई तोक्ने’ भनिन्छ । छोराछोरीको विवाह गर्ने प्रचलन पनि माघबाटै सुरु हुन्छ । वर्ष दिनका लागि नयाँ योजना बनाउने, जिम्मेवारी तोक्ने, कार्यान्वयनको बाँडफाँट गरिन्छ । कामको सुरुवात यही चाडबाट हुने हुनाले नयाँ वर्षका रूपमा स्वीकार गरिएको हो ।

उन्मुक्ति चाड
उहिले थारू गाउँमा कमैया, कम्लहरी बस्ने प्रचलन थियो । २०५७ साउन २ गतेदेखि तत्कालीन सरकारले कमैया मुक्त घोषणा गरेपछि त्यो प्रचलन हट्यो । कमैया, कम्लहरी, कामदारहरू एक मालिकबाट अर्को मालिककहाँ छारा (एक ठाउँबाट अर्को
ठाउँ सर्ने) गर्थे ।
अहिले पनि धेरै किसानले अधिया खेत गर्छन् । अरूको खेतबारी ‘अधिया गर्ने कि छाड्ने’ निर्णय माघमा हुन्छ । अरूकहाँ रोजगारीको काम गर्नेले नयाँ रोजगार सुरु गर्ने या यथावत् रहने निर्णय गर्छन् । गाउँमा जिम्मेवारी हेरफेर हुनेदेखि नयाँ तिहाई तोक्ने काम पनि सुरु हुन्छ । त्यसैले ‘माघ’लाई उन्मुक्ति चाडका रूपमा लिइन्छ ।
(लेखक गोरखापत्र दैनिकका उपसम्पादक हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?