logo
२०८१ जेष्ठ ७ सोमवार



दिगो विकासका लागि अनुसन्धान

विचार/दृष्टिकोण |




दीर्घराज जोशी

कुनै पनि देशको विकासको आधार भनेको त्यस देशको शैक्षिक विकास र त्यससँग जोडिएको देशहित अनुकूलको अनुसन्धान हो । कोरोनाको महामारीको समयमा पनि देखिहाल्यौँ आर्थिक रूपमा सम्पन्न देशहरूले खोपमा लगानी गरे र त आज हामी खोप पाउने तरखरमा छौँ । हाम्रा वैज्ञानिकहरू पनि त्यसमा सहभागी भए होलान् तर अहिले हामी संसद् विघटनको पक्ष र विपक्षमा विभाजित भएर सडकमा छौँ । अनुसन्धानको संस्कृति कहिले बसाल्ने ?
सन् १९८० को दशकमा चीनलाई बदल्न त्यहाँका दूरदर्शी नेता देङ स्याओ पिङले कृषि, उद्योग, सुरक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा आधुनिकीकरणको घोषणासँगै त्यहीअनुरूप कार्य गर्नुभयो । यी सबैका लागि शिक्षामा आमूल परिवर्तन गर्नुपर्छ भन्ने उहाँलाई राम्ररी चेत थियो र त आज चीनले निकै छोटो समयमा दुनियाँले सिक्न सक्ने यत्रो परिवर्तन ग¥यो । मानव संसाधन विकास र औद्योगिक वा आर्थिक विकासलाई सँगसँगै लैजान सक्नु दूरदर्शी नेताको परिचय हो । शिक्षा ज्ञानका लागि मात्र नभएर उत्पादन बढाउन र नवीनतम खोजका लागि बढी प्रयोग गर्न सक्नुपर्छ । हामीभन्दा सानो देश दक्षिण कोरियाले शिक्षामा ल्याएको क्रान्तिले सन् १९८०–९० को दशकमा प्रजातन्त्रीकरण र आर्थिक समृद्धिको ठूलो आधार खडा ग¥यो । दोस्रो विश्वयुद्धमा थला परेको जापानले पनि शिक्षालाई केन्द्रीय भूमिका राखेर नै तीव्र आर्थिक उन्नति गरेको उदाहरणहरू हाम्रा सामु छन् । विश्वविद्यालयमा प्राध्यापकहरूले भोटिङ गरेर कुलपति तथा उपकुलपति चुन्ने व्यवस्था गरी जति सक्यो चाँडो शैक्षिक क्षेत्रमा दलीय राजनीति बन्द गरिनुपर्छ । अनि, जब राष्ट्रपतिमार्फत देशले सम्मानस्वरूप दिने पदकहरू दलीय भागबन्डा, हितैषी, परिवारका सदस्यहरू, गुन्डा र भ्रष्टका हातहरूमा पुग्छ तब त्यागीहरूको मन टुट्छ र देशको शिर निहुरिन्छ ।
भारत वा चीनलाई सरापेर हामी कहाँ पुग्छौँ ? भारत र चीनले आर्जन गरेको विकास र अनुसन्धानको लाभ हामीले लिन सक्नुपर्छ । नेपालमा हामीसँग योग्य, राष्ट्रिय–अन्तर्राष्ट्रिय अनुभव भएका प्राज्ञिक व्यक्तित्वहरूको कमी छैन तर उनीहरूलाई अवसर र दायित्व दिइँदैन । अनुसन्धानमा लाग्न र लगानी गर्न प्रेरित गर्दै बसिराख्नुभएका महावीर पुनलाई सरकार, समाजले के कति सहयोग ग¥यो ? त्यो हामीले देखेका छौँ । उहाँलाई समयमा पर्याप्त पैसा दिइएको भए यो महामारीमा पीपीई लगायतको हाहाकार हुने थिएन ।
अनुसन्धानजस्तो दिगो र त्यागी कार्य राजनीतिक पार्टीहरूको झोला बोकेर झोले जीवनयापन गरिरहेकाहरू, अर्काको बौद्धिक सम्पत्ति चोरी तथा कपी–पेस्ट पद्धतिबाट पीएचडी गरेका, राजनीतिक पहुँचको आधारमा विश्वविद्यालयमा प्रवेश गरेका, झोले प्राध्यापकहरूबाट सम्भव हुँदैन । अनुसन्धानका लागि निरन्तर अध्ययन र चिन्तनमा समर्पित भई अनुसन्धानलाई नै जीवन मूल्य बनाएर अगाडि बढ्न सक्ने आचार्य समान विद्यार्थी एवम् प्राध्यापकहरूबाट मात्रै यो कार्य सम्भव छ । त्यसले दिगो विकासको ढोका खोल्छ ।
देश गरिब भएका कारण अनुसन्धानमा लगानी गर्न सकिँदैन भन्नु सर्वथा गलत कुरो हो । जुन देशमा ४० प्रतिशतकै नजिक नागरिक गरिब छन्, आधा जनसङ्ख्या भोकमरीको त्रासमा गुज्रिरहेको छ, त्यस देशमा नेताहरूको जीवन कसरी राजा–महाराजाको जस्तो हुन सक्यो ? साधारण जीवन बाँचेर त्यो पैसा अनुसन्धानमा लगाउन सकिँदैन ? मन्दिरभन्दा बरु ठोरीमा रामराज्य विश्वविद्यालय बनाएको भए र रामको जीवन, राज्य सञ्चालन र आजको युग अनुकूल आदि कुरा पढाइ तथा अनुसन्धानतिर लाग्नसके विश्वले पनि धेरै पाउँथ्यो ! त्यो कसरी विश्वका लागि सार्थक उपयोगी हुन सक्छ, त्यतातिर लागौँ, त्यहीँ विश्वविघालयको प्रवेश द्वारमा रामको सानो मूर्ति पनि राखे मात्र पनि पुग्दैन र ?
भारतमा नयाँ शिक्षा नीति लागू गरिएसँगै काम अगाडि बढिसक्यो । तर हाम्रोमा झन्डै दुई वर्षदेखि सरकारले रोकेको शिक्षा प्रतिवेदन त्यसका सदस्यहरूले सार्वजनिक गर्दा सरकारले कारबाही गर्ने कुरा हामी सबैले सुन्नुप¥यो । कहाँ जाँदैछौँ हामी ?
कलेजलाई सम्बन्धन दिन बन्द गर्दै, सम्बन्धन लिइसकेकालाई पनि पाँच वर्षभित्र हटाउन वा स्वायत्त हुनेतिर लागौँ । भर्ना प्रक्रियाको एकल द्वार र एक नियन्त्रण बनाउने, एमफिल अध्ययनको नाममा विद्यार्थीको समय खेर नफाल्ने, अङ्ग्रेजीको अनिवार्यता हटाउने र मातृ भाषामा पढ्न पाउने व्यवस्था कार्यान्वयन गर्ने, देशको माटो सुहाउँदो व्यावसायिक शिक्षामा बढी जोड दिने, नैतिक शिक्षा र योग अनिवार्य गर्ने, संस्कृत भाषा ऐच्छिक गरी उच्च आकर्षण हुने वातावरण बनाउनेतिर सबैको प्रयत्न हुन जरुरी छ । पास हुनका लागि गरिने घोकन्ते शिक्षाको सट्टा दैनिक जीवनमा उपयोग गर्न सकिने सीपमूलक शिक्षातिर सबैको ध्यान लगाऔँ । सक्ने जति सबैतिर स्कुल तहदेखि नै विद्यार्थीलाई स–साना आविष्कार र अनुसन्धानसँग जोडौँ । देशको शिक्षाले यदि सिर्जनातर्फ उत्सुक गर्न सक्दैन भने देश कसरी आफ्नो खुट्टीमा उभिएला ? विदेशीहरूले अनुसन्धान गरेका तथ्याङ्कहरू घोक्नुलाई शिक्षामा सफलता ठान्नाको परिणाम देशले भोगिरहेको छ ।
अब देशमा सबैतिर सेमेस्टर प्रणालीमा पढाइ गरी, चार महिनाको पढाइ गर्ने, अनि हरेक सेमेस्टरपछि दुई महिना बिदा हुँदा घुम्नेले घुम्छन्, जागिर गर्नेले गर्छन् । यसले आफ्नो खुट्टामा उभिन सिकाउँछ, आमा बुबालाई सहयोग हुन्छ अनि आन्तरिक पर्यटकको वृद्धिले देशमा आर्थिक कारोबार बढ्छ । जुन देशका युवाले आफ्नो देशमा भविष्य देख्दैनन्, त्यो देशको भविष्य कहिल्यै उज्यालो हुँदैन । त्यसैले सबै देशको शिर उठाउन लागौँ, अनुसन्धानको लगानी र वातावरण बनाऔँ ।
(लेखक दक्षिण कोरियामा औषधीय रसायन विज्ञानमा विद्यावारिधि गर्दै हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?