logo
२०८१ बैशाख १४ शुक्रवार



प्राणी विज्ञानको मूलधारमा आउने प्रयास

विचार/दृष्टिकोण |




 

रामचन्द्र अधिकारी

प्राणीविज्ञान सोझै मानव जगत् र देशको विकाससँग जोडिएको हुन्छ । यो विज्ञानलाई चिकित्सा विज्ञानको आधारशिला मानिन्छ भने आधुनिक जैविक प्रविधि तथा कृषिविज्ञानको सारथि पनि । जैविक विविधताको आधा तर धेरै नै जिज्ञासा भरिएको, महŒवपूर्ण र आकर्षक भाग जनावरहरूको साङ्गोपाङ्गो अध्ययन गर्ने र अरूलाई बताउने विज्ञान हो यो । वास्तवमा प्राणीविज्ञान अरू सम्पूर्ण विज्ञानको प्रतीक वा सूचकसमेत हो । कसरी भने नेपाली समाजमा चल्दै आएको कुरा छ– उच्च शिक्षामा ‘साइन्स (विज्ञान) पढ्नेले भ्यागुता चिर्नुपर्छ’ । भ्यागुता चिर्नुपर्ने साइन्सचाहिँ खासमा यही प्राणीविज्ञान हो ।
मानव जातिको सर्वाङ्गीण उन्नति, सम्पूर्ण जीवजन्तुको पहिचान, उनीहरूको उपयोगिता, संरक्षण र लाभ लिन पथ प्रदर्शन गर्ने विज्ञान प्राणीविज्ञान हो । नयाँ खानेकुरा, शृङ्गार सामग्री, औषधि, खोप आदिको परीक्षण गर्ने गराउने कार्यमा सघाउ पु¥याउने काममा प्राणीविज्ञानको अहम् भूमिका छ । कृषिविज्ञानमा सुधार, उन्नत पशुधन, बालीनालीको विकास, बीउ छरेदेखि फेरि अर्को साल बीउ छर्ने बेलासम्म अन्य कीटपतङ्गहरूबाट बाली जोगाउने काममा प्राणीविज्ञानको ठूलो योगदान हुन्छ । पर्यापर्यटनको मेरुदण्ड, राष्ट्रको प्रतीक जनावरको छनोट र अन्य जनावरको प्रयोग मानिसले केका लागि र कसरी गर्ने भन्नेमा वैज्ञानिक राय दिने प्राणीविज्ञान हो ।
सम्पूर्ण जीवहरूको उत्पत्ति र क्रमविकासको व्याख्या गर्ने, प्रकृति र विकाससँग निकटता राख्ने, यी चीजलाई जोड्ने प्राणीविज्ञान तर यसलाई नेपालमा पिछडिएको विज्ञानका रूपमा लिने गरिएको छ । स्वयम् यस विज्ञानका अनुयायी र यसैका काखमा बाँचेका र गरी खानेहरू पनि यस्तो महसुस गर्दै आएका छन् । किन यस्तो मानेका भन्नेबारेमा अलि गहिरो कुरा छ कि प्राणीविज्ञानमा स्नातकोत्तरसम्म शिक्षा हासिल गरेकाहरूले सोही विशेषज्ञताको आधारभूत योग्यता मानेर सरकारी सेवामा प्रवेश गर्ने बाटो छैन । खालि विश्वविद्यालयमा शिक्षण सेवामा छ, अन्यत्र अवसर छैन ! जब कि विज्ञानका अन्य डेढ दर्जन विषयहरूका उत्पादनले कहीँ, कतै मौका पाउने मापदण्डभित्र परेका छन् ।
नेपालमा प्राणीविज्ञानको नाइके संस्था त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभागले यसपटक भने यो विषयको आवश्यकतालाई सतहमा ल्याउने प्रयास गरेको छ । यसै निकायको अगुवाइमा भूतपूर्व विद्यार्थी सङ्घ, प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष, विश्व संरक्षण सङ्घ र जेडएसएलले संयुक्त रूपमा नेपालमा पहिलोपटक प्राणीविज्ञानका वैज्ञानिकहरूको सम्मेलन आयोजना गरेको छ । प्राणीशास्त्र केन्द्रीय विभाग स्थापना भएको ५५ वर्ष पूरा भइसक्दा यस किसिमको गतिविधि भएको रहेनछ । नीति निर्माण तहदेखि उच्च शिक्षाका विज्ञानका विद्यार्थीमाझ यस विषयको आवश्यकता र महŒव अनि विकासमा हुने योगदानको सन्देश पुग्ने आशा आयोजकहरूले लिएका छन् ।
नेपालमा हालसम्म करिब दुई हजार पाँच सयजना प्राणीविज्ञानाचार्यहरू उत्पादन भइसकेका छन् । यही विभागबाट दुई दर्जनजतिले विद्यावारिधि गरिसकेका छन् । विदेशबाट पढेर आउनेहरूको सङ्ख्या निकै न्यून छ । बरु विदेश जानेको लर्को लामो छ । यस्तै विशेषज्ञता हासिल गरेका १५० जनाले आफ्नो अनुसन्धान प्रतिवेदन मङ्सिर १३ गतेदेखि हुने दुई दिवसीय सम्मेलनमा प्रस्तुत गर्ने केन्द्रीय विभागका प्रमुख प्रा.डा. तेजबहादुर थापाले जानकारी दिनुभएको छ । उहाँका अनुसार प्राणीशास्त्रलाई देशको मूलधारमा ल्याई यस क्षेत्रमा भएका अनुसन्धानले देशको समृद्धिमा सहयोग पु¥याओस् भन्ने चाहना आयोजकको छ । मङ्सिर १३ लाई जुलोजी डे(प्राणीविज्ञान दिवस) रूपमा नेपालमा मनाइने गरिएको छ ।
मानव जनसङ्ख्या वृद्धि, प्राकृतिक स्रोतको दोहन र भौतिक पूर्वाधार निर्माणजस्ता गतिविधिले जीवजन्तुको वासस्थान क्षयीकरण हुँदा उपयोगी जनावरहरू लोप हुने अवस्थामा पुगेका छन् । कतिपय दुर्लभ जनावरहरूको पहिचान नखुलीकन विलोप भइसकेका छन् । आयोजकहरूका अनुसार यस सम्मेलनले नेपालमा जनावरका विभिन्न जातिको विचरण र विविधताको अवस्थाको चित्रण गर्नेछ । साथै, संरक्षणको वर्तमान अवस्था, चुनौती र गर्नुपर्ने प्रयास के हुने भन्नेबारेमा पनि सम्मेलनमा चर्चा हुनेछ । जलवायु परिवर्तनले जनावरको जीवनमा कस्ता प्रभावहरू पारिरहेका छन्, सोसम्बन्धीका अध्ययन प्रतिवेदनहरू पनि सार्वजनिक हुनेछन् ।
प्राणीविज्ञान मानव जीवनयापनको आधार र उन्नतिको माध्यम पनि हो । पर्यापर्यटन, मस्त्यपालन, पखेरुपालन, माहुरीपालनलगायत सबै जन्तुको पालन, जनजाति र जनावर, दिगो विकासलगायतका क्षेत्रमा नेपालमा धेरै अनुसन्धानहरू भएका छन् । यस्ता विषयवस्तु सम्मेलनमा समाविष्ट हुनेछन् । तसर्थ, यस्ता सम्मेलनहरूमा सरकारको उपस्थितिलाई अनिवार्य ठानिन्छ किनकि सरकारले करोडौँ खर्च गरेर मात्र पाउन सक्ने कुरा सम्बन्धित वैज्ञानिकहरूबाट निःशुल्क प्राप्न गर्न सक्छ । ती प्रतिवेदनहरू र धारणाहरूबाट नीति निर्माण गर्न र देशलाई समृद्ध बनाउनमा सहयोग मिल्छ ।
अहिले हुने प्राणीशास्त्रको सम्मेलनमा विश्वमा ख्याति कमाएका पाँचजना वैज्ञानिकहरूले समेत प्रवचन दिनेछन् । त्यस्ता वैज्ञानिक प्रवचनले नेपाली युवा वैज्ञानिकहरूलाई उत्पे्ररणा प्रदान गर्नेछ ।
वास्तवमा हाम्रो देशमा प्राणीविज्ञानले मूलधारमा स्थान पाउन सकिरहेको छैन । यस विषयमा उच्च शिक्षा लिएका र योग्यतावान उम्मेदवारहरूलाई वन मन्त्रालय, कृषि मन्त्रालय र विभाग, स्वास्थ्य मन्त्रालय र विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, प्रकृति संंरक्षण कोष, विद्युत् प्राधिकरण, खाद्य पोषण, नेपाल टेलिकम, खानेपानी संस्थानजस्ता निकायहरूमा लोकसेवामार्फत स्थान दिइनुपर्छ । प्राणीविज्ञानको हालको स्नातक र स्नातकोत्तर तहको कोर्स (पाठ्यक्रम) ले यी निकायहरूमा काम गर्न सक्ने जनशक्ति दिन सक्छ । यदि त्यसमा पूर्णता हुन्न भने विश्वविद्यालयको सम्बन्धित अध्ययन संस्थान र विभागले कोर्सका विषयवस्तुमा परिमार्जन गर्न पनि जरुरी हुन्छ । स्वदेशमा काम गर्ने चाहना बोकेका प्राणीशास्त्रीहरूले बाध्यतावश विदेश पलायन हुनुपरेको आजको स्थिति हो ।
नेपाली प्राणीशास्त्रीहरूको भूमिका देश विकासमा अति महŒवपूर्ण छ किनभने यिनीहरूले नै देशलाई पहिचान दिने जीवजन्तुहरूको पहिचान गर्ने हुन् । जनावरको कुनै एउटामात्र नयाँ प्रजाति पत्ता लाग्नु भनेको त्यो देशका लागि ठूलो सम्पत्ति हुनेछ । नेपालमा भौगोलिक विविधता, हावापानीको विविधता राम्रो भएका कारण भन्न सकिन्छ कि यहाँ धेरै र अनौठा जीवहरूको अस्तित्व रहेको हुन सक्छ । फरक–फरक स्थानमा फरक एवम् उल्लेख्य प्रजातिहरू पत्ता लगाइयो भने त्यसैमा आधारित पर्यापर्यटन विकास भएर आउँछ । नयाँ प्रजाति पत्ता लगाएर त्यसमा हाम्रो देशको अधिकार स्थापित पनि गराउनुपर्छ । यी यावत् तथ्यहरूको विश्लेषण प्राणीशास्त्रीहरूको १३ गतेको सम्मेलनले पनि गर्नेछ । अनि, आफूले देशको समृद्धिमा काँधमा काँध मिलाउनका लागि प्राणीशास्त्रीहरूले एउटा छुट्टै संयन्त्र राज्यको अङ्गका रूपमा स्थापना हुने आशा राखेका छन् । होइन भने पनि वनस्पति विभागजस्तै विभाग मन्त्रालयअन्तर्गत स्थापना गरी देशमा भएका सम्पूर्ण जनावरहरूको पहिचान, पञ्जीकरण र प्रचार गरी देशभित्र मात्र होइन, विश्वस्तरमा चिनारी गराउनुपर्ने स्थिति आएको छ । जनावरहरूमा भएका विशेष विशेषताहरूको खोजी, दुर्लभ जनावरको पहिचान र संरक्षण, प्राणी उद्यानहरूको विस्तारीकरण र वैज्ञानिक व्यवस्थापन आदिमा पनि प्राणीशास्त्रीहरू परिचालन हुन सक्छन् ।
आफ्नो विषयलाई सरकार र जनता दुवैका आँखामा ल्याउने अनि देशको दिगो विकास र समृद्धिमा आफ्नो भूमिका खोज्न ५५ वर्र्षे इतिहासमा प्राणीशास्त्र केन्द्रीय विभागले पहिलोपटक यसप्रकारको प्रयास गर्नु यो विषयभित्रकालाई मात्र होइन, देशलाई नै
उपयोगी मानिन्छ ।
(लेखक स्वतन्त्र वातावरण पत्रकार हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?