logo
२०८१ बैशाख १४ शुक्रवार



अत्यासमा सामाजिक दायित्व

विचार/दृष्टिकोण |




हेटनारायण रम्तेल

कोरोना भाइरस विश्वव्यापी महामारीले विश्वलाई पीडा दिँदै वर्षगाँठ मनाउँदै छ । यसले लाखौँ मानिसको ज्यान लिएको छ भने करोडौँ मानिस प्रभावित बनाएको छ । विश्वव्यापी महामारीको चपेटाबाट नेपाल पनि बहुआयामिक रूपमा नै ग्रसित बनेको छ ।
आज सारा समाज कोरानासँग लडिरहेको छ । यसमा पनि विश्वमा नै स्वास्थ्यकर्मीको पीडा खपिसाध्य छैन । नेपाली समाजका प्रायः आमाबुवाले प्रतिष्ठाको विषयका रूपमा रोजेर स्वास्थ्य क्षेत्रमा होमेका सन्तान अब सग्लो फर्केलान् कि नाइँ भन्ने त्रासमा छन् । स्वास्थ्यकर्मी अस्पताल, समाज हुँदै घरसम्म पटक–पटक सङ्कटमा परेका छन् । सङ्क्रमित तथा नियमित बिरामीसँगको सामिप्यताका कारण चिकित्सक तथा स्वास्थ्यकर्मी जोखिममा छन् । कोठाबाट खेदिएका छन् । तिनले आमाबुवा, श्रीमान्, श्रीमती, छोराछोरी भन्न नपाएको अवस्था छ ।
कोरोना रोकथाम र नियन्त्रणका लागि २०७६ सालको चैतदेखि २०७७ असारसम्म एकप्रकारले नमुना अभ्यास गरिएको थियो । किनकि त्यो बेला मुलुकभित्र सीमित क्षेत्रबाहेक खासै समुदायमा कोरोना थिएन । कन्ट्र्याक ट्रेसिङ सजिलो थियो । मुलुकभर लकडाउन थियो । हजाराँै स्वयम्सेवक थिए । सबै ठाउँमा क्वारेन्टाइन, अस्पतालमा आधारित आइसोलेसन निर्माण र सञ्चालनका कार्य दु्रत गतिमा भएका थिए । सहयोगी हात पनि उत्तिकै क्रियाशील थिए ।
नेपालमा वास्तविक रूपमा कोरानाको पारो ०७७ को असार÷साउन महिनाबाट सुरु भयो । सहयोगी हातहरू त अभ्यासमा नै गलिसकेका थिए । दानवीरका खल्ती पनि क्रमशः खाली हुँदै गए । क्वारेन्टाइनहरू भत्किए । कोरोना नियन्त्रणको रङ्गमञ्चका असली पात्रहरू पर्दा नखुल्दै एकप्रकारले गलिसकेका थिए । राजनीतिक बेमेलका कारण विभाजित नागरिक समाजले सुरुमा एउटा स्वर निर्माण गरे पनि पछि त्यसो हुन सकेन र आज पनि छैन ।
सबै हातहरूले हार माने तापनि कोराना नियन्त्रणमा सीमित सरकारी संरचना, चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीलगायतका सीमित संयन्त्रमात्र पृष्ठभागमा खट्ने अवस्था भयो र आज पनि त्यही अवस्था छ । यसले वास्तविक रङ्गमञ्च सन्तुलित हुन सकेन । फलतः कोरोना समुदायमा द्रुत गतिमा फैलियो ।
हप्ता दिन अस्पतालको आइसोलेसनमा उपचार गरेर फर्केका नागरिक स्वयम्ले उपचार गर्ने स्वास्थ्यकर्मीलाई डेरा सार्न बाध्य बनाउने वातावरण बन्यो । यो नेपाली संस्कृति थिएन र होइन पनि ।
सामाजिक अभियन्ता र युवाले यावत् समस्याको समाधानको खाका बनाएको देखिएन बरु भावना र विचार मिसाएर दन्तबझान भएको नाटकमात्र देख्न प¥यो । यो निकै दुःखद पक्ष हो ।
राष्ट्रिय अन्तर्राष्ट्रिय गतिविधिको जनतासामु अभिमुखीकरण गर्ने तथा सबलीकरण गर्ने राजनीतिक संयन्त्र प्रायः निष्क्रिय हुँदा नागरिक अत्यासमा परेका छन् । तथापि, राष्ट्रिय राजनीतिक अन्तरकलह बढेको छ । यसले जनअपेक्षा ख्याल नगरेको आरोप राजनीतिमा लागेको छ । राजनीतिक अस्थिरताले कोरोना नियन्त्रणभन्दा विस्तारमा सघाउ पु¥याउँछ ।
सामाजिक सेवा प्रचारबाजीका रूपमा विस्तार भयो । अभावमा रहेका मानिसलाई दुई केजी चामल चारजनाले दिएको तस्बिर सामाजिक सञ्जालमा राख्न तँछाडमछाड भयो । यसले विपन्न नागरिकको सामाजिक प्रतिष्ठा र सम्मानमा आँच आउने कुरा ख्यालै भएन । एकातिरको न्यानोले कालान्तरमा दुःखी बनाउने अवस्था रह्यो । कोही पनि मानिस गरिबको पहिचान दिन चाहँदैन, त्यो त केवल क्षणिक
विवशतामात्र हो ।
चिसो बढेसँगै कोरानाको पारो बढ्ने चिकित्सकीय अनुमान छ । चिसोका कारण मुलुकभर विगतमा पनि अन्य स्वास्थ्य समस्याले समेत मानिस ग्रसित पारेको पीडा छ । यसमा कोराना पनि थपिए कस्तो अवस्था होला ?
अब मुलुकभरका टोल सुधार समूह, युवा समूह, आमा समूह, बाल क्लब, धार्मिक तथा साँस्कृतिक समूह, गुठी, उपभोक्ता समूह, सहकारी संस्था, सामाजिक अभियन्ता, सामाजिक सङ्घ संस्था वास्तविक अन्तरमनबाट फेरि एकपटक कोराना नियन्त्रणमा सक्रिय हुनुपर्छ । कोरोना नियन्त्रणका लागि विश्व स्वास्थ्य सङ्गठन तथा नेपाल सरकारले निर्धारण गरेका नियम कार्यान्वयनका लागि सबै सरोकारवाला निकाय क्रियाशील हुनुपर्छ । राजनीतिक समस्या थाती राखेर भए पनि कोरानाविरुद्धको अन्तिम लडाइँ लड्नुपर्छ । आमयुवा विद्यार्थीहरू एकपटक जुरुक्कै भएर सेवामा केन्द्रित हुनुपर्छ । निजामती क्षेत्र तथा स्वास्थ्य, विश्वविद्यालय, संस्थान, प्रतिष्ठानलगायतका क्षेत्रका क्रियाशील ट्रेड युनियनले मुलुकभरका सदस्यलाई कोरोनाविरुद्धको महालडाइँमा एकपटक तनमन लगाएर क्रियाशील हुन अपिल गर्नु आवश्यक छ ।
अबको समय नेपालीका सामाजिक साँस्कृतिक तथा माङ्गलिक अन्य कार्य सम्पन्न गर्ने समय हो । विवाह, व्रतबन्ध, मेला महोत्सव, हाटबजार यो समयमा बढी हुने गर्दछन् । कोरोना सार्ने प्रमुख कारण नै मानिसको आवतजावत हुने भएकाले त्यस्ता कार्यहरू सकेसम्म नगर्न र गर्नु नै पर्ने भए न्यूनतम मानिसको उपस्थितिमा गर्नु आवश्यक छ ।
चिकित्सक तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई निश्चित समय अवधिसम्म आवासीय क्षेत्र तोकेर परिवार सम्पर्कमा रहनुपर्ने भन्दा बाहेकलाई समुदायबाट झिकेर सेवा प्रवाह गर्नु राम्रो होला । उद्योगधन्दा, डिपार्टमेन्ट स्टोरहरू सञ्चालन गर्नुपर्ने भए सञ्चालक तथा कर्मचारीलाई आवासीय बनाउन आवश्यक छ । यसले सार्वजनिक कार्यालय सञ्चालन क्षेत्र र मानिसका आवासीय क्षेत्रबीचको आवतजावत रोक्ने भएकाले कोरोना सर्ने कार्य नियन्त्रणमा सघाउ पु¥याउनेछ ।
हाम्रा प्रत्येक काममा भौतिक दूरी त कायम गर्नु नै छ । सामाजिक, साँस्कृतिक कार्य केही समयपछि सार्न सकिन्छ । कोरोना उपचार तथा रोकथामको खोप नेपालमा नआउँदासम्म विशेष सावधानी अपनाउनु नै सबैका लागि भलो हुनेछ । सामाजिक योगदान, सेवाभाव, समन्वय, आपसी भाइचारा सम्बन्ध, सरकारका स्वास्थ्य नीति, चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाह, सुरक्षा निकायको अनुरोधको पालना, आधिकारिक सूचनाको अध्ययन र कार्यान्वयन नै आजको हाम्रो सामाजिक दायित्व हो ।
(लेखक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा कार्यरत हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?