logo
२०८१ बैशाख १५ शनिवार



नेपाली हिउँका आङरिता

विचार/दृष्टिकोण |




अर्जुनकुमार खड्का

सोलुखुम्बु जिल्लाको थामेमा विक्रम संवत् २००५ मा जन्मेका आङरिता शेर्पासँग मेरो भेट सन् १९६६ को वसन्त ऋतुमा भएको थियो । करिब तीन महिनासम्म मेरो र उहाँको बसाइ सँगै रह्यो । त्यसको मुख्य कारण थियो– उहाँ स्वीडेन एभरेष्ट सोलो एक्सपिडिसन, १९९६ दलको सरदार र म सोही दलको सम्पर्क अधिकृत । हुन त, सोही ऋतुमा सगरमाथा आधार शिविरमा सगरमाथा आरोहणका लागि अन्य दलहरू पनि थिए । तर, म सम्पर्क अधिकृत रहेको दलको विशेष महŒव थियो किनकि दलको सदस्य सोलो अर्थात् स्वीडेनका एकजना २६ वर्षीय गिरण क्रोप वेइडनमात्र रहनु र दलमा विश्वप्रसिद्ध सरदार रहनु । त्यसमा पनि दलको सदस्य स्वीडेनदेखि साइकलको यात्राद्वारा काठमाडौँसम्म आएका र काठमाडौँदेखि पुनः सगरमाथाको आधार शिविरसम्म साइकलकै प्रयोग गरेर पुगेका !
हुन त सोही ऋतुमा सगरमाथा क्षेत्रमा ठूलो विपत्ति आइलाग्यो, जसकारण न्युजिल्यान्डका रब हल, बेलायतका स्कट फिसरजस्ता विश्वप्रसिद्ध पर्वतारोहीसहित ११ जना पर्वतारोहीको दुःखद मृत्यु भयो । तर, म सामेल रहेको दलको सदस्य तथा आङरिता शेर्पाले दोस्रो प्रयासमा सफलतासाथ सकुशल आरोहण गरेका कारणबाट हाम्रो दलमा सुखद अवस्था आयो ।

आङरिता शेर्पा, जसले सगरमाथा दसौँ पटकसम्म सिलिन्डर अक्सिजनको प्रयोग नगरी आरोहण गर्न सफलता प्राप्त गर्नुभयो । उहाँको पहिलो सफलता सन् १९८३ बाट सुरु भएको थियो । सन् १९९६ मा सिलिन्डर अक्सिजनको प्रयोगविना नै उहाँको सगरमाथा आरोहणमा निरन्तरता रह्यो । न्यून आय भएका परिवारको सदस्यका रूपमा जन्मेका भए पनि उहाँको अपार सफलताले गर्दा “गिनिज वल्र्ड रेकर्ड”मा नाम अङ्कित गर्न सफलता प्राप्त गर्नुको साथै “हिमचितुवा”जस्ता उपनामबाट चिनिनुभयो । उहाँको उपमा पर्वतारोहणको क्षेत्रमा संसारभर रहेको छ ।
आङरिता नाम राख्नका लागि नभई, आफ्नो दैनिकी चलाउनका लागि पर्वतारोहण पेशामा लाग्नुभएको थियो । कार्य लगावले संसारकै महान् पर्वतारोही बनायो । यसैले युरोप, अमेरिका तथा न्युजिल्यान्डजस्ता देशका पर्वतारोहीहरूले उहाँलाई ठूलो सम्मानसाथ व्यवहार गर्थे । साथै, ती देशबाट बारम्बार उहाँलाई विशेष आमन्त्रण गरेको कुरा उहाँ स्वयम्ले मलाई बताउनुभएको थियो । अमेरिकामा उहाँलाई ‘माउन्टेरिङ’ (पर्वतारोहण) शिक्षा गुरुका रूपमा प्रशिक्षण दिनका लागि धेरैपटक बोलाएको र त्यहाँ गएको भन्ने कुरा उहाँले बताउनुभयो । तर, त्यसरी विदेश गए पनि नेपाल फर्कन आफू आतुर रहने पनि बताउनुभएको थियो । बाह्य रहन–सहन, खानपानलगायत अन्य कारणहरू के मन पथ्र्यो र यी हिम खानेलाई ? हिमचितुवामा ठूलो देश प्रेम झल्किन्थ्यो ।

उहाँले नियमित विद्यालय शिक्षा पाउनुभएन तथापि विदेशीसँग अङ्ग्रेजी भाषामा कुरा गर्न उहाँलाई कुनै समस्या थिएन । विदेशीसँग सजिलै विचार राख्न र आफ्नो दलको सदस्यलाई कसरी पर्वतारोहणसँग सम्बन्धित सीप, कौशल प्रदान गर्ने भन्ने विषय सहजै अङ्गेजी भाषामा नै भन्न सक्नुहुन्थ्यो । यी सबै गुण उहाँले अभ्यासबाटै प्राप्त गरेको हो । सामान्य कामदार अर्थात् भरियाको स्तरबाट पर्वतारोहणको यात्रा सुरुवात गर्नुभएका उहाँको आर्थिक अवस्था खासै उल्लेखनीय भएन । घरपरिवारको दैनिकी सञ्चालन गर्नसमेत सङ्घर्ष गर्नुपर्ने अवस्था रहिरह्यो ।
भेटिँदा भन्नुहुन्थ्यो– घरायसी व्यवहारका कारणले गर्दा पनि पर्वतारोहणजस्तो जोखिम कार्यलाई निरन्तरता दिनुपर्ने अवस्था आइपर्छ । एक ऋतुमा कमाइएको रकम अर्काे ऋतुसम्म पु¥याउनलाई हम्मेहम्मे ! यसैले ऋतुको सुरुवात हुनेबित्तिकै कामको खोजीमा लाग्नुपर्छ । काम जस्तोसुकै जोखिम रहोस्, कुनै पर्वाह छैन । तर, मलाई थुप्रै पर्वतारोही तथा नेपालका टे«किङ एजेन्सीहरूले अफर (माग) गर्छन् । घरपरिवारले सकभर पर्वतारोहणमा नगए हुन्थ्यो भन्ने चाहना राख्छन् ।

नेपाल सरकारले सबै ऋतुमा पर्वतारोहणका लागि खुला गरेको छ । तथापि नेपालमा पर्वतारोहण मुख्य गरेर सगरमाथा आरोहणका लागि मुख्य ऋतु वसन्त अर्थात् फागुनको अन्तिमदेखि जेठको माध्यमसम्म नै उपयुक्त र राम्रो ऋतुका रूपमा लिने गरिन्छ । यसै ऋतुमा नै नेपालका प्रथम आरोही तेन्जिङनोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारीले सन् १९५३ मे २९ मा सफलतापूर्वक प्रथम आरोहण गरेका थिए । सन् १९२२ मा ब्रिटिस माउन्टेन एभरेष्ट एक्सपिडिसन दलले पहिलोपटक प्रयास गरेको भए पनि सफलता प्राप्त गर्न सकेन । सगरमाथा आरोहणको सिलसिलामा करिब आठ हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्वतारोहीहरूले आरोहण गरिसकेका छन् । त्यसमा पनि नेपाली पर्वतारोहीको सङ्ख्या अधिक छ । तर, दुःखद पक्ष– यहीक्रममा नेपाली र विदेशी पर्वतारोहीसमेत गरी तीन सयभन्दा बढीको मृत्यु भइसकेको छ । कतिपय मृत पर्वतारोहीको शव अझै पनि सगरमाथा क्षेत्रको आइसफल (खर्पास) तथा विभिन्न क्याम्प (शिविर) बाट ल्याउन सकिएको छैन ।
बुझ्न सकिन्छ, पर्वतारोहण एक जोखिमपूर्ण कार्य हो । यसका लागि पर्वतारोहीले ज्यानको बाजी थाप्नुपर्ने र मृत्युपछि पनि आफ्नो धर्म तथा संस्कृतिअनुरूप संस्कार गर्न पाउन नसक्ने अवस्था छ । यसर्थ, यस क्षेत्रमा राज्यको तर्फबाट ख्यातिप्राप्त पर्वतारोहीलाई केही न केही व्यवस्था गर्नुपर्छ ।
राज्यले ध्यान पु¥याउनुपर्ने क्षेत्र धेरै छन् तर पर्यटन क्षेत्र नेपाली अर्थतन्त्र विकासका लागि उच्च सम्भावनायुक्त छ । ‘माउन्टेन’ पर्यटनीय गन्तव्यका रूपमा नेपाललाई स्थापित गर्न आङरिताहरूले नै काम गरेका छन् । ख्यातिप्राप्त पर्वतारोहीलाई उक्त पेशाबाट अलग हुने अवस्थामा पुगेपछि राज्यको तर्फबाट विशेष सेवा सुविधा प्रदान गर्नुपर्ने आवश्यकता छ । किनकि नेपालमा नयाँ पर्वतारोही खासगरी शेर्पा समुदायबाट पर्वतारोहणमा सहभागी हुनेक्रम घट्दो छ । धेरै गर्न नसकिए पनि तत्काल पर्वतारोहणबापत प्राप्त भएको रोयल्टीबाट केही प्रतिशत कट्टा गरी एक पर्वतारोहण कोषको स्थापना गर्न आवश्यक छ । सोही कोषबाट मासिक पेन्सन, सामाजिक सुरक्षाजस्तै स्वास्थोपचार तथा अन्य सुविधा ख्यातिप्राप्त पर्वतारोही नेपालीलाई दिन राज्यले ढिलो गर्नुहुँदैन । तब शेर्पा समुदाय तथा नेपालीप्रति सम्मान हुने र २०७७ असोज ५ गते अस्ताएका आङरिता शेर्पाप्रति पनि राज्यको सच्चा श्रद्धाञ्जली भएको भावी पुस्ताले ठान्नेछन् । á
(लेखक सङ्घीय संसद् सचिवालयमा कार्यरत हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?