logo
२०८१ बैशाख १४ शुक्रवार



सुन्दर भविष्यका लागि बालबालिका

विचार/दृष्टिकोण |





केपी शर्मा ओली

हामी हाम्रा बालबालिकाको स्वास्थ्य, अधिकार र भविष्यको चिन्ता गर्छौं र यसै हिसावले मानव जातिको भविष्यको चिन्ता गर्छौं । ती बालबालिकाका अधिकार पूरा गर्ने प्रतिबद्धताका कुरा गर्छौं । हामीले गरेका कामको चर्चा गर्छौं र आगामी दिनमा गर्नुपर्ने काम र चाल्नुपर्ने कदमका बारेमा पनि चर्चा गर्छौं– बाल दिवसको अवसरमा !
हामी यस धर्तीको भविष्य र यस धर्तीमा सृष्टिको सबैभन्दा सुन्दर उत्पत्ति जीव मानव जाति र त्यसको सुन्दर भविष्यको सुनिश्चितता गर्ने सन्दर्भमा पनि विचार विमर्श गर्छाैं ।
बाल दिवसमा, म देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली बालबालिका र दुनियाँभरिका बालबालिका, सबैमा धेरैधेरै शुभकामना भन्न चाहन्छु ।
अहिलेको दुनियाँ हामी सबैलाई थाहा छ– अभाव, गरिबी, पछौटेपन, भोकमरी, अशिक्षा र रोगबाट ग्रसित छ । अहिले पनि दुनियाँ विभेद र असमानताको सिकार भइरहेको छ । त्यस्ता भावना र व्यवहारबाट आक्रान्त भइरहेको छ । आज पनि दुनियाँ निर्दोष बालबालिकाप्रति, जोे हाम्रो वास्तवमा भविष्य हुन्, तिनीहरूप्रति समाज र राज्यबाट समेत जिम्मेवारी बोधभन्दा गैरजिम्मेवार तरिकाका व्यवहार भइरहेको छ ।
जुनसुकै कारणले, जुनसुकै देश, समुदाय वा आस्थावीचका अन्तरविरोध होऊन्, बालबालिकाको शान्ति पाउने र शान्तिसँग बस्न पाउने अधिकार खलबलिनु हुँदैन । राजनीतिक प्रणालीका सम्बन्धमा होस् अथवा अरू कुनै कारणले अभिव्यक्त हुने सन्तुष्टि, असन्तुष्टि – ती जुनसुकै कुराले पनि बालबालिकालाई दुष्प्रभावित गर्न पाउनु हुँदैन । त्यसैकारण हामी बालबालिकालाई शान्ति क्षेत्र भन्छौं । विद्यालयलाई शान्ति क्षेत्र भन्छौं । ती कुरालाई हामीले व्यवहारमा अवलम्बन गर्नुपर्दछ, कार्यान्वयन गर्नुपर्दछ ।
संसारभरि जुनसुकै कुनाका बालबालिकाले स्वस्थ र सन्तुलित आहार, उनीहरूको शारीरिक, मानसिक, भौतिक र बौद्धिक सबै प्रकारका विकासका लागि स्वच्छ, भय र त्रासरहित वातावरणमा शान्तिपूर्ण ढङ्गले बाँच्न र विकास गर्न पाउने हक हो । त्यस हकलाई हामीले सुनिश्चित गर्नुपर्छ ।
संयुक्त राष्ट्रसङ्घले सन् १९४८ मा आफ्नो बडापत्रमार्फत बालअधिकारको सुनिश्चिताको प्रत्याभूत गर्ने कुरालाई दृढता र गम्भीरताका साथ अगाडि ल्यायो । त्यसपछि १९८९ को विश्वव्यापी सहमतिमा बालबालिकाका अधिकारलाई अझ विस्तृत रूपमा परिभाषित गर्ने, तिनको सुनिश्चित गर्ने र त्यसका निम्ति प्रभावकारी कदम चाल्ने काम भयो । सन् २००० मा नेपालसमेत पक्ष भएर गरिएको अनुबन्धले यसलाई अझ विस्तृत र व्यापक बनाएको छ, जसबाट हामीले १८ वर्ष उमेर समूहसम्म बालबालिका भनेर मानेका छौं र त्यसअनुसारको व्यवहार गरेका छौं ।
हाम्रो संविधानले बालअधिकारका सम्पूर्ण पक्ष समेटेर एउटा सभ्य लोकतान्त्रिक मुलुकको प्रतिबद्धता जाहेर गरेको छ । मौलिक हकका महलमा यी कुरा छन् ।
त्यसै गरेर दिगो विकास लक्ष्यका मुख्य रूपमा २, ४, ५, ६ बुँदा र अरू बुँदामा पनि गरिबी निवारण, खानेपानी, शिक्षा, स्वास्थ्य र वातावरणीय पक्षका कुरा पनि बालबालिकासँग सम्बन्धित छन् । तसर्थ आज बालबालिकासम्बन्धी अन्तर्राष्ट्रिय मूल्य–मान्यता, संयुक्त राष्ट्रसङ्घको बडापत्रदेखि लिएर विभिन्न अन्तर्राष्ट्रिय अनुबन्ध, प्रतिबद्धता र प्रयासहरू जोसँग हामी सहकार्य गरिरहेका छौं र हामी तद्अनुसारका कदमहरू पनि चालिरहेका छौं ।
नयाँ संविधान बनेपछि देश सातवटा प्रदेशमा प्रशासनिक ढङ्गले र ७५३ वटा स्थानीय तहमा अधिकारको प्रत्यायोजन भएपछि सङ्घीय संरचनाअन्तर्गत यी सबै तहमा बालअधिकारको क्षेत्रमा विभिन्न समिति बनेका छन् । मन्त्रालय छन् । मन्त्रालयले आफ्नो कार्यविभाजनमा तिनलाई समेटेका छन् । त्यसका निम्ति विभिन्न समिति छन् र यस क्षेत्रमा काम गर्नका लागि कार्ययोजना छन् ।
हामीले दुईवटा हिसाबले यसलाई लिएका छौं । तत्कालको परिस्थितिमा सम्भव हुनेसम्म, म किन यो सम्भव हुनेसम्म भनिरहेको छु भने हाम्रो देश गरिब छ, पछाडि परेको छ । खुदै अभिभावक पछाडि परेका छन् । गरिबीको चपेटामा छन् । त्यसकारण तिनले आफ्ना सन्तानलाई माया गर्दागर्दै पनि त्यसअनुसारको माया व्यवहारमा प्रकट गर्न, प्रयोग गर्न पाउँदैनन्, सक्दैनन् । यस स्थितिलाई बदल्नु छ । यो स्थितिभित्र हामीले बालअधिकारको सुलभ शिक्षा, बालबालिकाले कुनै प्रकारले यातना नपाउन्, गाली, हप्कीदप्की नपाउन्, त्रासको वातावरण नहोस्, उनीहरूले आवास राम्रो पाउन्, जो बस्नलायक, स्वस्थ र सफासुग्घर होस् । उनीहरूले त्यसैअनुसारका वस्त्रहरू पाऊन् । शारीरिक, मानसिक विकास गर्ने, शैक्षिक अवसर र आधुनिक प्रविधिको समेत प्रयोग गरेर अगाडि बढ्न सक्ने स्थिति प्राप्त गर्न सकून् ।
त्यसका निम्ति हामीले आज ‘इन्टरनेट’लाई गाउँगाउँमा पु¥याउने, ‘अप्टिकल फाइबर’ बिछ्याउने कामलाई गति दिएका छौँ । यो कुरा सहज रूपमा हेर्दा बा(लबालिकाको अधिकारसँग सम्बन्धित नदेखिएला तर बालबालिकाको शिक्षा र मानसिक विकासका लागि परोक्ष ढङ्गले महत्व छ । खाली कोभिड–१९ ले जसरी विश्वलाई गाँजेको छ, हाम्रो देशलाई पनि गम्भीर रूपमा आक्रान्त बनाएकाले हामीले स्कुल, कलेज सञ्चालन गर्न सकिराखेका छैनौं ।
यस सन्दर्भमा शिक्षाको क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग, बालबालिकाको पढाइमा रुचि नघटोस्, पढ्ने–लेख्ने आदतमा कमी नआओस् भन्ने कुरामा ध्यान दिनका लागि पनि यी कुरा जरुरी छन् । यस अवसरमा सबै अभिभावक, दाजुभाइ दिदीबहिनीहरूलाई पनि भन्न चाहन्छु – आफ्ना बालबालिकाका पढाइतर्फको रुचि र पढ्ने–लेख्ने आदतमा कुनै कमी आउन नपाओस् भन्ने कुरामा सजग हुन जरुरी छ । बालबालिकालाई शिक्षाप्रतिको रुचि र पढ्ने–लेख्ने बानी घट्न नदिऊँ, बढाएर लैजाऊँं ।
नेपाल सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको माध्यमबाट विभिन्न सङ्घसंस्थामार्फत र बालमन्दिर, बाल सङ्गठन वा अरू यस प्रकारका संयन्त्रमार्फत बालअधिकारको सुरक्षा र अधिकारको व्यावहारिक प्रयोग बालबालिकाले गर्न पाऊन् भन्नेमा काम अगाडि बढाएको छ । बालबालिकाको क्षेत्रमा सरकारसँग मिलेर काम गर्ने संस्थाहरूले असाधारण काम गर्नुभएको छ, म उहाँहरू सबैलाई धन्यवाद भन्न चाहन्छु । उहाँहरूको प्रशंसा गर्न चाहन्छु ।
बालबालिकाले स्वस्थ रहन पाउनु पर्छ । उनीहरूको स्वस्थ रहने हक र कथंकदाचित बिरामी परे उपचार पाउने हक सुनिश्चित गरिनु पर्दछ । उनीहरूको उमेरअनुसारको मनोरञ्जन, खेलकुद, शारीरिक, मानसिक विकास, आनन्द जीवन बिताउन अथवा उनीहरूको प्रगतिमा अनुशासन सिक्न, नियमहरू सिक्न र सामूहिक भावनाको विकास गर्नका लागि । यी चिजहरू अत्यन्तै महत्वपूर्ण छन् ।
हामी कुटुम्ब, कुम्बमा विश्वास गर्दछौँ । विश्व नै एउटा कुटुम्ब हो, नातागोता हो, आफन्त हो । विश्वको जुनसुकै ठाउँमा रहेका जुनसुकै मानव पनि हाम्रो आफन्त हो । देशका सबै बासिन्दा दाजुभाइ – दिदीबहिनी हुन् र सबै दाजुभाइ –दिदीबहिनीका छोराछोरी देशका भविष्य हुन्, देशका सन्तति हुन् । यसर्थ हामी हिजोका सामाजिक कुप्रबन्ध, वर्गीय, जातजातिका नाममा गरिने विभेदबाट बालबालिका अपमानित, अपहेलित, प्रताडित हुने स्थिति आउन नपाओस् भन्ने कुरामा सजग हुनुपर्छ । यसका निम्ति सरकार सजग छ, सरकारले गम्भीर प्रयास अगाडि बढाइरहेको छ र सिङ्गै समाज पनि यस दिशामा सजगताका साथ अगाडि बढिरहेको छ र बढ्नु पर्दछ । म सबैलाई यसमा आह्वान पनि गर्न चाहन्छु ।
भेदभावरहित, अपमानरहित जिन्दगी, समानता र सम्मानयुक्त जिन्दगी, समान अवसर र समान अधिकारको जिन्दगी बाल्यकालदेखि नै बालबालिकाले अनुभूत गर्न पाउनु पर्दछ । त्यस वातावरणमा हुर्किन पाउनु पर्दछ । यस्ता बालअधिकारका थुप्रै पक्षमा वा सम्पूर्ण पक्षमा सरकारले ध्यान दिएको छ । अहिले त्यसैकारण हामीले आठवटा जिल्लामा बालसुधार गृह स्थापना गरेका छौं । ७७ वटै जिल्लामा संरचनाहरू बनेका छन् । काम भएका छन् ।
यस्तो अवस्थामा बालबालिकाको क्षमता र उनीहरूमा रहेको सम्भाव्यताका आधारमा बालप्रतिभाको विकास, प्रोत्साहन गर्नुपर्दछ ।
मानिसका क्षमता र रुचि विभिन्न प्रकारका हुन्छन् र विभिन्न प्रकारले अगाडि बढ्न सक्छ । कसैको विज्ञानमा, कसैको कृषिमा त कसैको खेलकुद वा सङ्गीतमा । बालमनोविज्ञानको सन्दर्भमा हामीले खासगरी बालबालिकाको रुचिका विषयमा, उनीहरूको छनोटको विषय के हुन सक्दछ ? उसले सबैभन्दा राम्रो कुन विधामा गर्न सक्दछ ? सङ्गीत, खेलकुद, विज्ञान, प्रविधिमा..., ऊ पाइलट हुन खोज्छ वा डाक्टर, इन्जिनियर हुन खोज्छ ? के गर्न खोज्छ उसले ? अथवा ऊ शिक्षक हुन खोज्छ कि रुचि केमा छ ? त्यो पत्ता लगाएर अवसर दियौं भने उसले असाधारण प्रतिभाका रूपमा विकास गर्न सक्दछ । उसको रुचि एउटा तर हामीले अर्कै विधामा लग्यौं भने त्यसले उसको विकासमा व्यवधान हुन सक्दछ । त्यसकारण हामीले उसको रुचिको विषय र उभित्रको ट्यालेन्ट (क्षमता), पोटेन्सियल (सम्भावना) पत्ता लगाएर तदनुसारका अवसर उपलब्ध गराउने ढङ्गको अध्ययन अध्यापन विधि अपनाउनु पर्दछ । त्यसमा अलिकति खर्च लाग्न सक्नेछ तर बा(लबालिकामाथि भएको खर्च हाम्रो भविष्यमाथि गरिएको खर्च हो । मानव जातिको उत्थानका लागि भएको खर्च हो ।
फेरि भन्छु– हामीले समग्र बालबालिकाको कुरा गरिराख्या छौं, यसमा हिमाल, पहाड, तराई, पूर्व–पश्चिम जहाँसुकै बस्ने, जुनसुकै आस्था, जुनसुकै जाति र भाषा बोल्ने तथा जुनसुकै पृष्ठभूमि र उत्पत्तिका, शारीरिक वा मानसिक रूपमा सक्षम वा असक्षम जे भए पनि कुनै प्रकारको विभेद गरिनु हुँदैन । उनीहरूको बाँच्न पाउने हक, अभिभावकत्व पाउने हक, संरक्षकत्व पाउने हकलाई हामीले सुनिश्चित गर्न सक्नु पर्दछ ।
यस अवसरमा म विश्वलाई आग्रह गर्न चाहन्छु– बालबालिकाको भविष्यका लागि, मानव जातिको भविष्यका लागि कमसेकम विनाशकारी हतियारको उत्पादन, सङ्कलन, विस्तार रोकौं । हतियार निर्माण र विनाशका काममा भइरहेको विशाल खर्च बालबालिकाको हेरविचारतर्फ फर्काऔं । हाम्रो सुन्दर भविष्यको सुनिश्चिततातर्फ फर्काऔं न कि एउटा असुरक्षित, संदिग्ध भविष्य, मानव जातिप्रतिको एक आपसी विश्वासको कमी र त्रासमय वातावरण सिर्जनाका लागि ।
यहीकारण हामीले समृद्ध नेपाल र सुखी नेपाली राष्ट्रिय आकाङ्क्षा तय गरेका छौं । यहाँ हिंसाका लागि ठाउँ छैन । यसर्थ हिंसातर्फ प्रवृत्त कुनै पनि समूह, व्यक्ति वा पक्ष सबैलाई म यस अवसरमा आग्रह गर्न चाहन्छु– हिंसाको बाटो आजको आधुनिक सभ्य दुनियाँमा उपयुक्त छैन । अधिकार प्राप्ति, शान्तिपूर्ण र सहज ढङ्गले हुन सक्दछ । त्यसकारण हामी यस बाटोमा लाग्न सबैलाई आग्रह गर्न पनि चाहन्छौं ।
फेरि एकपटक म सम्पूर्ण बालबालिकामा यस दिवसका अवसरमा बधाई भन्न चाहन्छु र अनेक असुरक्षाका पक्ष, शरणार्थी हुनुपर्ने पक्ष, असुरक्षित ढङ्गले शरणार्थी भएर देशका सीमाहरू पार गरेर जानुपर्ने अथवा भाग्नुपर्ने पक्ष अथवा अन्जानमै बेकसुर जिन्दगी गुमाउनुपर्ने, अपाङ्गता हुनपर्ने जस्ता पक्ष आगामी दिनमा बालबालिकाले भोग्न नपरोस् । एउटा सुखमय जिन्दगी बाल्यकालदेखि नै भोग्न पाऊन् – शुभकामना । यसको प्रबन्ध आफ्नो ठाउँबाट सरकारले मिलाउँछ ।

(प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ भदौ २९ गते बाल दिवसका अवसरमा व्यक्त गर्नुभएको विचारको सम्पादित अंश)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?