logo
२०८१ बैशाख २४ सोमवार



बालबालिकामा कोरोना सङ्क्रमण

विचार/दृष्टिकोण |




डा. नारायणबहादुर बस्नेत

बालबालिका परिवारका अभिन्न अङ्ग भएकाले परिवारका वयस्क तथा वृद्ध सदस्यलाई हुने सङ्क्रमण (सरुवा रोग) उनीहरूलाई हुन सक्छ भन्ने सोच्नु र बुभ्mनु पर्छ । विश्वव्यापी कोभिड–१९ सङ्क्रमणले बालबालिकालाई कम सङ्क्रमण पाइएको भए पनि उनीहरूलाई सेवा तथा हेरचाह गर्ने परिवारका ठूला सदस्यलाई सङ्क्रमण भएमा ती बालबालिकाको सर्वाङ्गीण विकासमा निश्चित रूपमा असर पर्छ ।
यो रोग नयाँ कोरोना भाइरस “सिभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रोम कोरोना भाइरस–२” नामक रुघाखोकी गराउनेखालको भाइरसद्वारा हुने रोग हो । कोभिड–१९ ले धेरै सङ्क्रमण भएका युरोपियन देशबाट प्राप्त तथ्याङ्कअनुसार जनसङ्ख्याको ०.०४५÷एक लाखमा (१९ वर्षभन्दा कम उमेरका) मा मृत्यु भएको पाइएको छ । त्यस्तै फेब्रुअरी १ देखि अगस्ट ८ सम्म संयुक्त राज्य अमेरिकामा मृत्यु भएका एक लाख ४८ हजार ९७२ मृत्युमध्ये ८२ जना (०.०५५ प्रतिशत) १८ वर्षमुनिका बालबालिकाको मृत्यु भएको पाइयो । हालै क्यालिफोर्निया राज्यका छ लाख २८ हजार ३१ सङ्क्रमितमध्ये ९.८ प्रतिशत १७ वर्षभन्दा कम उमेरका बालबालिका भएको तथ्याङ्क छ । विभिन्न तथ्याङ्कले बालिकाभन्दा बालकमा सङ्क्रमण केही मात्रामा बढी पाइएको छ । सङ्ख्यात्मक रूपले सङ्क्रमण कम भए पनि असरको हिसाबले बालबालिकाको सक्रिय, निर्माणाधीन जीवनमा दूरगामी, गहिरो तथा नकारात्मक असर पर्ने हुँदा समयमा नडराई जोगाउन र मृत्युबाट बचाउन ध्यान दिन अत्यन्त जरुरी छ ।

कसरी सर्छ ?
बालबालिकामा पनि सामान्यतः वयस्क तथा वृद्धहरूमा जस्तै सङ्क्रमितको श्वास कणबाट सर्छ । गर्भाधान भएको १३औँ दिनको भ्रुणमा कोरोना भाइरसको सङ्क्रमण भएको पाइएको छ । सङ्क्रमित गर्भवती महिलाबाट गर्भमा रहेका शिशुलाई जोड्ने सालको तन्तु, शिशुको नाभीमा जोडिने रक्तनलीमा भएको रगत र नवजात शिशुको जन्मिएको २४ वा ४८ घण्टाभित्र सङ्क्रमण भएको अनुसन्धानबाट प्रस्टिएको छ । शिशु जन्मनुअघि फुट्ने पानीको फोरामा पनि सङ्क्रमण पाइएको छ । यसरी भ्रुण, गर्भमा रहेको शिशु, बच्चा जन्मिँदा र जन्मेपछि सङ्क्रमणको जोखिम रहन्छ ।

लक्षण तथा चिह्न
सामान्यतः ठूलो मानिसमा देखिने÷हुने लक्षण भए पनि कम गम्भीरताका समस्या हुन्छन् । कतिलाई सामान्य रुघाखोकीजस्तो लक्षण पाइन्छ । बालबालिकामा ज्वरो आउनु, नाक बन्द हुनु वा बग्नु, खोकी लाग्नु, घाँटी दुख्नु, सास फेर्न अप्ठ्यारो हुनु, थाक्नु, मांसपेशी दुख्नु, टाउको दुख्नु, वाकवाकी लाग्नु तथा बान्ता हुनु, पखाला लाग्नु, खाना मन नलाग्नु सामान्य लक्षण हुन् । केही बालबालिकामा शरीरका बहुप्रणाली कडा सङ्क्रमण र सुजन भई कडा लक्षण देखिन्छन्, जसमा मुटु र रक्तनली, फोक्सो, मिर्गाैला, पाचन अङ्ग, मस्तिष्क, छाला तथा आँखामा ‘सुजन’ भई एन्टिबडी परीक्षण गर्दा पोजिटिभ हुन सक्ने कडा अवस्था आउन सक्छ । यो मुख्यतः रोगसँग लड्ने क्षमतामा ह्रास भएर हुने अवस्था हो ।
रोगको निदान माथि लेखिएका लक्षण भएका बालबालिका तथा कोभिड–१९ सङ्क्रमण भएका व्यक्तिको नजिकको सम्पर्कमा रहने र अन्य गम्भीर समस्या भएका बालबालिकाका आरटी पीसीआर परीक्षण, छातीको एक्स–रे परीक्षण, रगतको परीक्षण गरी गरिन्छ । गर्भावस्थाको महिला, सालको तन्तु, सालनालका रक्तनलीमा भएको रक्त तथा शिशु जन्मिएपछि शिशुको नाक तथा घाँटीबाट लिइएको स्वाबबाट परीक्षण गरी सङ्क्रमण पत्ता लाग्न सक्छ ।

कसरी जोगाउने ?
कोभिड–१९ सङ्क्रमण तथा यससँग सम्बन्धित समस्या निवारण, नियन्त्रण प्रतिकार गर्ने विभिन्न उपाय हुन सक्छन् । जसमा सबै ठूला मानिस÷जनसङ्ख्यामा अवलम्बन गरिने उपाय जस्तै दुई वर्षमाथिका उमेरका बालबालिकामा कपडाको मास्कको प्रयोग, ६ फिटको दूरी, साबुनपानीले हात धुने, शौचालय तथा वातावरणीय सफाइको पूर्ण रूपले गर्भावस्था होस् या बच्चा जन्मिँदा होस् वा पूर्ववयस्क अवस्थासम्मका व्यक्तिले पालना गर्नुपर्छ ।
बच्चा जन्मने स्थानको वातावरण र त्यसमा रहने सहयोगी चिकित्सक÷स्वास्थकर्मी÷आमा÷सेवारत सबैले सङ्क्रमण नियन्त्रण गर्न आवश्यक मास्क, पन्जा, आँखा ढाक्ने पारदर्शी कभर तथा पहिरन लगाउने र सङ्क्रमण फैलन नदिन विसङ्क्रमण गर्नुपर्छ । पोजिटिभ व्यक्तिहरू १४ दिनको क्वारेन्टाइनमा बस्ने गर्नुपर्छ । बच्चा जन्मिएपछि आमालाई पोजिटिभ भई कडा लक्षण देखिएमा, पोजिटिभ आमाबाट समयअघि जन्मिएका शिशुहरू तथा अन्य कडा मेडिकल अवस्था भएका शिशुहरूको हकमा शिशुलाई अलग राखी दूधपान गराउनुपर्छ । तर आमामा लक्षण देखिएको १० दिनपछि, औषधि नखाए पनि २४ घण्टा ज्वरो नआएमा वा अन्य लक्षण नभएका आमाबाट बच्चामा सर्ने कम हुने भएकाले आमाले मास्क लगाई स्तनपान र काखमा लिई सेवा गर्नुपर्छ । स्तनपान गराउँदा हरसमय साबुनपानीले हात धुने, स्तनको सफाइ गरी छाला–छाला कन्ट्याक्ट राखी सकेसम्म अलग कोठामा छुट्टै शौचालय प्रयोग गर्नुपर्छ ।
शिशु तथा बालबालिकासँग प्रत्यक्ष सम्पर्कमा आएका सतहजस्तै सुत्ने, बस्ने, खेल्ने, खाने टेबल आदिलाई कीटाणुनाशक औषधिले सफा गर्नुपर्छ । दूध खाने, खाना खाने भाँडावर्तन आदिलाई साबुनपानीले राम्रो सफा गर्नुपर्छ । बालबालिकामा स्यानिटाइजर प्रयोग नगर्न र साबुनपानीले हात धुनु राम्रो । बालबालिका खेल मन पराउने र विभिन्न खेलसामग्री हरदम सफा राख्नुपर्छ । साथै लक्षणविहीन तथा पोजिटिभ बच्चालाई अन्य घरका बालबालिकाको प्रत्यक्ष सम्पर्कबाट जोगाउनुपर्छ । दुई वर्षभन्दा माथिको बच्चालाई मास्क लगाई बाहिर खेल्न मिलाउनुका साथै कोभिडबारे सकारात्मक ज्ञान सिकाइरहनुपर्छ । खेल्दा आँखा, नाक, मुख जोगाउन सिकाउनुपर्छ ।
जन्मजात मुटुरोग, लामो अवधिका श्वासप्रश्वास रोग (जस्तै टीबी, दम, मिर्गाैलाको रोग, जेनेटिक रोग, क्यान्सर रोग र औषधि सेवन गरिरहेका बिरामी, स्नायु प्रणालीसम्बन्धी रोगीमा साथै रोगसँग लड्ने क्षमता कम भएका बालबालिकालाई बढी असर हुने वा गम्भीर हुन सक्ने भएकाले प्रतिकारात्मक उपाय गर्नुका साथै निर्धारित समयमा खोप दिनुपर्छ । पूर्ववयस्क÷समलिङ्गी÷अपाङ्ग बालबालिका प्रत्यक्ष सम्पर्क हुनबाट जोगिन परीक्षण, टेलिफोन वार्ता, भिडियो वार्ता आदिबाट सरसल्लाह गर्न सकिन्छ ।
बिरामी बालबालिकालाई उपयुक्त समयमा अस्पताल भर्ना गरी आवश्यकतानुसार छुट्टै राख्ने, आराम गराउने, ज्वरोका लक्षणअनुसारको उपचार गर्ने, अन्य सङ्क्रमण जोगाउन एन्टिबायोटिक प्रयोग गर्नुपर्छ । साथै, एन्टिभाइरल र अक्सिजन दिने तथा भेन्टिलेटर प्रयोग गरी मृत्युबाट जोगाउनुपर्छ । लामो समय मास्कको प्रयोग, सामाजिक दूरी, आइसोलेसन, क्वारेन्टाइन, विद्यालय बन्द तथा बन्दाबन्दीजस्ता सङ्क्रमण प्रतिकारात्मक उपाय गर्दा बालबालिकामा मानसिक स्वास्थ्यमा असरजस्तै चिन्ता, डर, अस्थिरता, असुरक्षा, बेसहारा, सिर्जनात्मक कल्पनाशक्तिमा ह्रास आदि हुन सक्ने भएकाले आमाबाबु, परिवार, समुदाय र राष्ट्र–अन्तर्राष्ट्रियस्तरबाट द्विपक्षीय उपाय अवलम्बन गर्नुपर्छ । बालबालिकामा शारीरिक÷मानसिक÷सामाजिक वृद्धि विकासमा कमी, कुपोषण तथा पोषणसम्बन्धी समस्या, शिक्षाको समस्या, चोटपटक, पारिवारिक विकृति, लैङ्गिक असमानता तथा स्वास्थ वातावरण अभावमा मृत्युदरमा वृद्धि हुने भएको यसतर्फ सचेत हुन आवश्यक छ ।
बालबालिकाको शारीरिक, मानसिक, सामाजिक, शैक्षिक स्तरमा कोभिड–१९ को सङ्क्रमणले नकारात्मक असर हुनुका साथै मृत्यु हुनबाट बचाउन आमाबुवा, परिवार र समुदायमा सङ्क्रमण नियन्त्रण÷प्रतिकार गरी बाल तथा परिवारको स्वास्थलाई जोगाउन÷बचाउन सकिन्छ । नडराउँदै तर हरदम होसियारी र धैर्यको बाटो लिऔँ ।

(लेखक बाल तथा बाल मुटुरोग विशेषज्ञ हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?