logo
२०८१ बैशाख १५ शनिवार



अयोध्यापुरी यता कि उता !

विचार/दृष्टिकोण |




डा. रामसागर पण्डित

हाम्रा प्रधानमन्त्री केपी. शर्मा ओलीले अयोध्यापुरी नेपालकै वीरगञ्जभन्दा पश्चिम ठोरी भन्ने ठाउँमा अवस्थित छ भनेको दिनदेखि अयोध्यापुरीको चर्चा नसुनिएको कुनै दिन छैन । प्रधानमन्त्रीले बोलेका कुरालाई सामान्य रूपमा लिनुहुँदैन । उहाँले केही सोचविचार गरेर नै बोल्नुभएको हुनुपर्दछ । नेपालीले प्रधानमन्त्रीको अभिव्यक्तिबारे आ–आफ्ना दृष्टिकोण प्रकट गरिरहेका छन् । भारतीय मिडियासमेत अनावश्यक ढङ्गले तिलको पहाड बनाउने काममा पछि हटेको देखिँदैन । वास्तविकता के हो ? पत्ता नलगाई आफ्नै धुनमा मनगढन्ते आवाज निकाल्नु कसैका लागि पनि हितकर हुँदैन । ।
अयोध्यापुरी होस् वा जनकपुरी, यी धार्मिक ठाउँहरू पौराणिक कथाका आधारमा मात्र चर्चित छन् । यी ठाउँको कुनै वैज्ञानिक आधार÷प्रमाण देखिँदैन । पौराणिक कथाकै आधारमा हाम्रा प्रधानमन्त्रीले अयोध्यापुरी नेपालमै हो भनेको हुनुपर्दछ । प्रश्न उठ्छ, यस कुरालाई पत्याउने के आधार छ ? एकथरी साधुसन्त, विद्वान्, संस्कृति तथा राजनीतिकर्मीहरू नेपालमै अयोध्यापुरी छ र यहीँ रामको जन्म भएको सम्बन्धमा पुरातŒव विभागबाट गहिरो खोज अनुसन्धान हुनुपर्छ, भन्छन् । अर्काथरी साधुसन्त तथा विद्वान्हरू भनिरहेका छन्– भारतको उत्तरप्रदेशमा भएको अयोध्यापुरी नै वास्तविक अयोध्यापुरी हो । कसैले भन्दैमा अयोध्यापुरी उताबाट यता आउन सक्दैन ।
यसबारे प्रधानमन्त्रीको मन्तव्यले नेपाल र भारतको जनस्तरमा एउटा ठूलो तरङ्ग उत्पन्न गरेको देखिन्छ । भारतीयहरू भनिरहेका छन्– भारतलाई हेर्ने दृष्टिकोण ठीक नरहेको हुनाले नेपाली प्रधानमन्त्री ओलीबाट यस्ता नकारात्मक कुराहरू निकाली दुवै देशको जनसम्बन्ध बिगार्न खोजिएको छ ।
यता नेपाली बुद्धिजीवी, राजनीतिकर्मी, साधुसन्त आदि दुई खेमामा विभक्त भई आवाज उठाएको देखियो । अधिकांश नेपाली जनताचाहिँ प्रधानमन्त्रीबाट अभिव्यक्त विचारसँग सहमत देखिन्छन् । अयोध्यापुरीको विवादले नेपालको राष्ट्रियता कति बलियो हुँदै आएको छ, छर्लङ्ग हेर्न पाइयो । भारतीय अयोध्यापुरीको समर्थन गर्ने साधुसन्त तथा राजनीतिक समूहको आवाज मत्थर हुँदै गएको छ । नेपालमा राष्ट्रियताको भावना इतिहासको पानामा भए पनि यसलाई मूर्तरूपले जगाउने जस प्रधानमन्त्रीलगायत पूरै सांसदलाई जान्छ । नेपालको जग्गा भारतले आफ्नो क्षेत्रभित्र राख्न खोज्दा नेपालीहरू औपचारिक रूपले एकजुट भएको पहिलो उदाहरण देखिएको छ । कुनै पनि दल यसको विपक्षमा आएन । लोकतन्त्रमा मानिसहरू आ–आफ्ना विचार राख्न पाउने स्वतन्त्र हुन्छन् । एउटा दलको विचार अर्को दलसँग फरक हुनसक्छ तर विचार फरक हुँदैमा राष्ट्रिय मुद्दामा एक हुनु ऐतिहासिक उदाहरण हो । अब हामीले हाम्रो जग्गा कसरी फिर्ता लिने हो ? रणनीति तयार गर्न बाँकी नै छ ।
नेपालको पुरातŒव विभागले नेपालको अयोध्यापुरीबारे खोज, अनुसन्धान सुरु गरिसकेको छ । विस्तारै प्रमाण आउने नै छ तर जनताबाट प्राप्त अभूतपूर्व समर्थनले ठूलो उत्साह थपिएको छ । केही वर्ष पहिले जनकपुरमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमण हुँदा तराई मधेसको मात्र होइन, संसद्का सम्पूर्ण सांसदले बजाएको तालीको आवाज नहराउँदै हाम्रो भूमि तथा सांस्कृतिक सम्पदाबारे यस्तो विवाद खडा हुन्छ भन्ने कसैले सोचेको थिएन । कुनै देशले अर्को देशलाई गरेको सहयोगमा उसकै स्वार्थ लुकाएको हुन्छ । रङको व्यापार गर्न आएका अङ्ग्रेजहरूले पूरै हिन्दुस्तानलाई आफ्नो कब्जामा लिएको सम्झे हुन्छ । अहिले पनि भारतीय पक्ष भन्दैछ– नेपाललाई हामीले सहयोग गरेका छौँ, किन जमिनको कुरा उठाउँछ ?
नेपाल आफ्नो सार्वभौमसत्ता जोगाउन चाहन्छ । यसपालिको संसद् समर्थनबाट भारतीय सत्तालाई मात्र होइन, पूरै संसारलाई नेपालले सन्देश दियो– आफ्नो सार्वभौमसत्तामाथि कुनै किसिमको आँच आयो भने नेपाली एकजुट भएर त्यसको जवाफ दिन तयार छन्
तर यसका लागि नेपालीले पनि आफ्नो आर्थिक अवस्थालाई उठाउनुपर्छ । आर्थिक अवस्था कमजोर भएको देशलाई बलियो देशले आफ्नो पक्षमा लिन खोज्छ र विस्तारै उसले सार्वभौमिकतामाथि आक्रमण गर्न हौसिन्छ ।
भारतीय आयोध्यापुरीको दाबी पनि उनीहरूको राष्ट्रियतासँग जोडिएको देखिन्छ ।
धर्म मान्छेको सांस्कृतिक पक्ष हो । मान्छे आफ्नो संस्कृति बचाउन जे पनि गर्न पछि पर्दैन । संस्कृति नै मानिसको परिचय हो । संस्कृतिबाट मान्छेको सभ्यता प्रदर्शित हुन्छ । नेपाल र भारतको संस्कृति धेरै अंशमा मिल्ने हुनाले धार्मिक, सांस्कृतिक रूपले पनि हामी एक अर्कासँग बाँधिएका छौँ । यसको अर्थ यो होइन कि आफ्नो सांस्कृतिक सम्पदाहरूबारे सही कुरा बोल्नैहुँदैन । हाम्रा सांस्कृतिक सम्पदाहरूलाई बचाउन प्रधानमन्त्रीले प्रकट गरेको मन्तव्य निकै साहसपूर्ण कदम हो ।
नेपालकै अयोध्यापुरी वास्तविक अयोध्यापुरी हो भने यसको खोजबिन गरी प्रमाणित गर्नु कुनै अपराध होइन बरु साहसिक काम हो । ठोरीका अन्य प्रमाणहरू देख्दा वास्तविक अयोध्यापुरी नेपालमै रहेको देखिन्छ । कतिपय मान्छे आजसम्म किन चुप लागियो त ? भन्दैछन्  । समय आएपछि प्रमाणसाथ बोल्दा त्यसको महŒव हुन्छ, नत्र कुनै अर्थ हुँदैन । धार्मिक स्थलहरूको खोज गरी प्रमाण जुटाउनु सामान्य कुरा होइन ।
जहाँसम्म जन्मको कुरो छ, जन्म जहाँ भए पनि ठेगाना आफ्नै बसोवास गरेको ठाउँलाई लेख्ने गरिन्छ । जगज्जननी सीताको जन्म सीतामढीमा भए पनि वास्तविक ठेगाना जनकपुरधाम भएको हुनाले उहाँ जनकपुरकी मानिनुहुन्छ । गौतम बुद्धको जन्म लुम्बिनीको जङ्गलमा भए पनि उहाँ कपिलवस्तुकै कहलाउनु हुन्छ ।
हालको अयोध्यापुरी होस् वा नेपालको जनकपुरी चाहे काठमाडौँको पशुपतिनाथ होस् वा भारतीय केदारनाथ आदि मन्दिरहरू पौराणिक कथाकै आधारमा मानिसहरूले विश्वास गरेर आ–आफ्ना आस्था राख्दै आएका हुन् ।
जनकपुरमा अयोध्यापुरीबाट जन्ती आएको सन्दर्भमा बहस देखिन्छ । जन्ती जहाँबाट पनि आउन सक्छ नि त । भोलि नेपालकै अयोध्यापुरीलाई पुराताŒिवक प्रमाणबाट सदर गरियो भने के यसै अयोध्यापुरीबाट जन्ती आउन सक्दैन र ? भारतको उत्तरप्रदेशकै अयोध्यापुरी वास्तविक अयोध्यापुरी हो भने त्यो पनि त विवादरहित हुनुप¥यो नि । भारतीय सर्वोच्च अदालतले फैसला सुनाए पनि जनस्तरबाट यसबारे विवाद कायमै छ ।
भारतले नेपालको जुन पनि देवस्थलबारे बोल्न पाउने तर नेपालले बोल्न नपाउने कहाँ उल्लेख छ र ? लोकतन्त्रमा जुनसुकै मान्छेले पनि आफ्नो मनका कुरा राख्न पाउने स्वतन्त्र हुन्छ । अहिले पनि भारतमा राम मन्दिर बनाउन शिलान्यासको दिन किटान गर्दा शङ्कराचार्यले सो दिनलाई ठीक मानेनन् ।
नेपाल–भारतको सांस्कृतिक सम्बन्ध अद्वितीय प्रकृतिको देखिन्छ । अहिले पनि नेपालका मठमन्दिरमा पशुपतिनाथ मन्दिरलगायतमा धेरै मठाधीश, महन्थ, पुजारी भारतीयहरू छन् भने केही नेपाली पनि भारतमा त्यो भूमिकामा छन् । यस्तो सम्बन्धले पनि आफ्नो सांस्कृतिक पहिचानका कुरा खोज्न कहाँ बन्द गरेको छ ? अहिलेको नेपालमा भएको अयोध्यापुरी पनि त्रेतायुगको अवध राज्यभित्र पर्ने ठाउँ नै हो  । जनकपुर प्राचीन मिथिलाकै नगर हो । यसमा कुनै विवाद छैन तर यो धेरै फेरिएको छ । त्रेतायुगमा भएको न अवधपुरी छ न मिथिलापुरी । यी दुवै देश दुई भिन्न देशमा गाभिएका छन् । भारतीय अयोध्यापुरी भारतको उत्तरप्रदेशमा तथा नेपालको अयोध्यापुरी पर्सा जिल्लाको ठोरी भन्ने ठाउँमा । यस्तै जनकपुर नेपालको प्रदेश नं. २ को धनुषा जिल्लाअन्तर्गत छ ।
भौगोलिक कारणले यी ठाउँहरू प्राचीनकालीन देशहरूमा नभए पनि अहिले पनि नेपाल–भारतमा त्यस बेलाका सांस्कृतिक कुरालाई निरन्तरता दिएको देखिन्छ । सांस्कृतिक रूपले यी दुवै ठाउँ इतिहासको पानामा छन्, सांस्कृतिक पक्ष जीवितै छ । यस्ता सांस्कृतिक पक्षले दुवै देशको सम्बन्ध बलियो बनाउन सहयोग गरेका कैयौँ प्रमाण छन् । त्रेतायुगबाट जोडिएको सम्बन्धलाई यस्तो कुराले खलल पार्दैन किनभने विचारको कुनै विवाद छैन, विवाद त ठाउँबारे हो । ठाउँ जहाँ प्रमाणित भए पनि त्यही ठाउँबाट राम–सीता विवाह पञ्चमीमा जनकपुरसम्म जन्ती आउनेछ ।
यस्ता ठाउँको खोजतलास गर्दा पुराताŒिवक प्रमाणहरू नै सबैभन्दा उत्तम प्रमाण हु्न् भन्ने सम्पूर्ण हिन्दुहरूले बुझिदिनुपर्दछ । अहिले प्रमाण जुटाई प्रमाणित गर्ने समय हो । धैर्यसाथ नेपाल–भारतका हिन्दुहरूले प्रतीक्षा गर्नु नै उत्तम उपाय हो । विवाद त आउँछ, त्यसको समाधान पनि खोजिन्छ । नेपाल–भारतबीचमा रहेको सांस्कृतिक तथा सामाजिक सम्बन्धमा कुनै किसिमको खलल पर्ने कार्यक्रमहरू गर्नुहुँदैन ।

(लेखक त्रिविका सेवानिवृत्त सहप्राध्यापक हुनुहुन्छ ।)  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?