logo
२०८१ बैशाख १४ शुक्रवार



धर्म परिवर्तनको त्रिदेशीय प्रभाव

विचार/दृष्टिकोण |




निराजन ढुङ्गाना

 

केही वर्षअघि आफ्नै जन्मथलो गाउँ तेह्रथुम जाँदा छाँगाबाट खसेझैँ भइयो । पुरानो संरचनाअनुसार अहिले चार वडामध्ये वडा नं. ६ र वडा नं. ९ मा पूरै राई जातिको बसोवास छ । वडा नं. ७ र ८ मा बढी सङ्ख्यामा लिम्बू जातिसँगै दुई÷चार घर दलित र बाहुन जातिका परिवारहरूको बसोवास छ । किरात धर्म मान्ने वडा नं. ६ का राईहरू पूरै क्रिश्चियन बनेछन् । पल्लो वडा नं. ९ सँग धार्मिक र सांस्कृतिक कार्यमा आउजाउ बन्द भएछ । साकेला नाच देखाउने सांस्कृतिक घरहरूमा क्रिश्चियन बन्न प्रेरित गर्ने मण्डली प्रवचन हुँदोरहेछ । राईहरूको सांस्कृतिक पहिचानको साकेला नाच पूरा लोप भएछ ।
अहिले क्रिश्चियन भए एड्स, कोरोना र क्यान्सर निको हुने भ्रमपूर्ण कुरा फिँजाएर धर्म परिवर्तन गराइएका भिडियोहरू फेसबुक र युटुबजस्ता सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
मिडिया रिपोर्टअनुसार नेपालको मकवानपुर जिल्लामा १० वर्षअघि एक सयभन्दा कम चर्चहरू थिए । आज एक हजार पाँच सयभन्दा बढी सङ्ख्यामा चर्च छन् । सन् २०११ को नेपालको जनगणनाअनुसार नेपालमा तीन लाख ७५ हजार क्रिश्चियनहरू थिए । तर, २०७६ मा यो सङ्ख्या बढेर करिब ३० लाख पुगेको अनुमान छ । वल्र्ड क्रिश्चियन डाटा बेसको दाबीअनुसार नेपाल अहिले विश्वमा तीव्रत्तर क्रिश्चियन धर्म मान्ने मान्छे वृद्धि भइरहेको देश हो । यसले के देखाउँछ भने हाल विश्वमै नेपाल धर्म परिवर्तनमा अग्रस्थानमा छ । जसरी विश्वभर धर्म परिवर्तनले धेरैवटा सभ्यता नष्ट गरेको छ, त्यसैगरी नेपालका आदिवासी, जनजाति, अल्पसङ्ख्यकको मौलिक धर्म, संस्कृतिहरू, सभ्यताहरू नियोजित रूपमा तीव्रत्तर गतिमा नष्ट गर्दै छ । कम्बोडिया, मङ्गोलिया, नेपाल र चीनमा औसत जनसङ्ख्या वृद्धिदरभन्दा आठ गुणा बढी क्रिश्चियन जनसङ्ख्या वृद्धि भएको छ । विश्व क्रिश्चियन अध्ययन केन्द्रको सन् २०१३ को प्रतिवेदन हेर्दा एसियामा क्रिश्चियन जनसङ्ख्या वृद्धिको मुख्य कारण धर्म परिवर्तन नै देखिन्छ ।
नेपालको संविधान २०७२ को धारा ४ को उपधारा १ अनुसार नेपाल धर्मनिरपेक्ष राज्य हो । धारा २६ (१) ‘ख’ ले आस्थाअनुसार धर्म मान्ने, संरक्षण गर्ने स्वतन्त्रता प्रत्याभूत गरेको छ । धारा ४ को उपधारा (१) को स्पष्टीकरणमा धर्मनिरपेक्ष भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक र साँस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ भन्ने उल्लेख छ । यस स्पष्टीकरणअनुसार नेपालको संविधानले धर्मनिरपेक्षता अँगाले पनि धर्म परिवर्तन गर्ने गराउने कुनै बाटो खुला गरेको छैन । यसको अर्थ आफ्नो धर्मलाई विकसित र समृद्ध गर्दै, सभ्य, सुसंस्कृत बनाउँदै संरक्षण गर्न सकिनेछ तर परिवर्तन गर्न र गराउन सकिने छैन किनकि धारा २६ (१) ले धर्म परिवर्तनलाई दण्डनीय भनेको छ । संवैधानिक त्रुटिका कारण हाल नेपाल विश्वमै क्रिश्चियन धर्म मान्ने मान्छे वृद्धि भइरहेको अग्रस्थानमा पुगेको छ ।
पश्चिमा देशहरूको जोडबलमा नेपालमा भइरहेको तीव्र धर्म परिवर्तनको दूरगामी रणनीतिक योजना र त्यसले नेपाल, चीन र भारतमाथि पर्ने असरबारे यी तीनवटै देश बेखबर देखिन्छन् । तीनै देशका विश्लेषक, डिप्लोम्याट, विधायक र राजनीतिककर्मीहरू र उच्च नेतृत्व पूर्वक्रियात्मक बन्न जरुरी देखिन्छ ।
प्रमुख पार्टी तथा नागरिक समाजमा धार्मिक व्यवस्था र धर्म परिवर्तनका सुदूरपरिणामबारे गहन बहस र स्पष्टता नहुनुले भविष्यमा फिलिपिन्समा जस्तै सबै आदिवासी, जनजाति र जातजातिका धर्म, संस्कृतिहरू र सभ्यताहरू धर्म परिवर्तनसँगै नष्ट हुने सम्भावना देखिन्छ । नेपालमा हुने धर्म परिर्वतन कालान्तरमा भारत र चीनका लागि समेत विषवृक्ष हुनेछ ।
नेपाल भौगोलिक रूपमा अत्यन्तै महŒवपूर्ण स्थानमा रहेको देश हो । इतिहासमा पश्चिमा व्यवस्थापनमा तिब्बतमा गृहयुद्ध विजारोपण गर्न गराउन नेपालको उत्तरी सीमा क्षेत्रमा गराइएको खम्पा विद्रोह, २०४६ सालको संविधानमा धर्मनिरपेक्षता कायम गर्न बेलायती प्रतिनिधिमण्डलको लबिइङ, धर्मनिरपेक्ष संविधान जारी गरेपश्चात् भारतले गरेको अघोषित नाकाबन्दी र नेपाल चीनको उच्च प्राथमिकतामा रहनाले पनि यसलाई थप पुष्टि गर्छ । नेपालमा धर्म परिवर्तनको त्रिदेशीय दीर्घकालीन असरहरू निम्न हुनेछन् ः

पहिचानको समाप्ति
चितवनका राउटेहरूको धर्म परिवर्तनसँगै उनीहरूको मौलिक धर्म, संस्कृति र सभ्यताको समुल नष्ट भएको छ । चिनियाँ लेखक द्मि यु जीको पुस्तक जर्नी टु दी वेस्टअनुसार सन् १५२१ पछि फिलिपिन्सका आदिवासी जनजातिका सबै धर्म, संस्कृति र सभ्यता धर्म परिवर्तन गराएर नष्ट गराइयो । यद्यपि, तेह्रौँ शताब्दीसम्म फिलिपिन्समा पनि नेपालमा जस्तै आदिवासी, जनजाति र बौद्धमार्गीहरू थिए । नेपालमा जनसङ्ख्या प्रतिवेदन सन् २०१७ अनुसार १२५ जातजाति रहेका छन् । सबैका आफ्नै सनातनकालदेखिका धर्म, संस्कृति र सभ्यताहरू छन् । धर्म परिवर्तनबाट फिलिपिन्समा जस्तै नेपालमा
रहेका सबै जातजाति र भाषाभाषिका धार्मिक, साँस्कृतिक पहिचान र सभ्यताहरू समयक्रममा
समाप्त हुनेछन् । उही प्रभाव छिमेकी देशका विभिन्न राज्यमा समेत पर्नेछ ।

द्वन्द्व सिर्जना
मध्यपूर्वका देशहरू लिबिया, सिरिया, यमन, इराक द्वन्द्वग्रस्त छन् । अनेक कारण रहे पनि ती देशहरूमा द्वन्द्वको प्रमुख कारण धर्म पनि हो । सन् १९८४ मा शिख लक्षित हिंसामा छिमेकी देश भारतमा करिब आठ हजार शिख मारिए । सन् १९९२ मा बाबरी मस्जिद विवादपछि भएको हिन्दु मुस्लिम दङ्गामा करिब नौ सय भारतीय नागरिकले ज्यान गुमाएका थिए । विश्वभर फैलिएको ब्रिटिस साम्राज्यलाई बलियो बनाउन सन् १८३८ तिर थोमस ब्याबिन्टन मकालेले तत्कालीन ब्रिटिस सरकारलाई प्रतिवेदन बुझाए ।
उक्त प्रतिवेदनअनुरूप ब्रिटिस साम्र्राज्यलाई बलियो बनाउन अन्य देशमा क्षेत्रीयता, जातीयताका मुद्दाहरू उठान गरेर द्वन्द्वमा फसाउनुपर्छ, जातजातिका
मौलिक धर्म, संस्कृति र सभ्यतामाथि प्रहार गर्नुपर्छ तथा नष्ट गर्नुपर्छ र त्यहाँ पश्चिमा धर्म संस्कृति र सभ्यता लाद्नुपर्छ । उक्त प्रतिवेदनअनुरूप नै धार्मिक सहिष्णुता भएको नेपाली समाजमा बेमेल हुने धर्म र संस्कृतिको प्रवेशको सुनियोजित उद्देश्य अहिलेसम्म मिलेर बसेका विविध धर्म समुदायबीचमा धार्मिक द्वन्द्वको विजारोपण नै हो ।

फरक राज्य अवधारणाको विकास
धर्म राज्यभन्दा जेठो हो । धार्मिक बलले कतिपय देशहरू विभाजित बनेका छन् । धार्मिक बाहुल्यका बलमा भारतबाट टुक्रिएर नयाँ देशहरू पाकिस्तान र बङ्गलादेश बनेका हुन् । धर्म परिवर्तनको दूरगामी रणनीतिक लक्ष्य अन्य मुलुकमा धार्मिक द्वन्द्वको विजारोपण गर्नु र बहुसङ्ख्यक धार्मिक समुदायबाट फरक राज्य अवधारणाको विकास गर्नु र गराउनु पनि हो । जुन पाकिस्तान र बङ्गलादेशमा प्रयोग भएको थियो । आज अमेरिकाले यही अवधारणा तिब्बतमा प्रयोग गर्ने बलियो प्रयास दलाई लामामार्फत गरिरहेको छ ।

उपनिवेशको निर्माण
डीभी, पीआर पाएर नागरिकता परित्याग गरेका लाखौँ नेपालीले राष्ट्रियता परिवर्तन गरे पनि धर्म, संस्कृति र सभ्यता परित्याग गर्न सकेका छैनन् । तर, सनातनकालदेखि चलिआएको धर्म र संस्कृति परिवर्तन गर्न सक्नेले जुनसुकै बेला उनै विदेशीको उक्साहटमा परिचालित हुन नसक्ने कुरै हुँदैन । अतः यसले नेपाल र सीमा जोडिएका छिमेकी देशका राज्यहरूमा धार्मिक उपनिवेशको निर्माण गर्ने छ । धर्म र संस्कृतिले उत्तरी र दक्षिणी क्षेत्रका वारि र पारिका समुदायलाई भावनात्मक रूपमा जोडेको छ । वारि धर्म र संस्कृतिमा परिवर्तन भयो भने त्यसलाई नजानिँदो रूपमा पारि दुवै छिमेकी देशमा प्रवेश गर्न सजिलो हुनेछ र बिस्तारै चीन र भारतका सबै राज्यमा विस्तार हुँदै जानेछ ।
(लेखक बैङ्कर्स हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?