logo
२०७७ श्रावण ३० शुक्रवार

पूर्वमा नयाँ मिचाहा वनस्पति

विचार/दृष्टिकोण |




डा. भरतबाबु श्रेष्ठ / डा. लीलानाथ शर्मा


झापा भ्रमणको क्रममा लज्जावती झारजस्तै देखिने एउटा वनस्पति देखिएको भन्ने वरिष्ठ पक्षीविद् डा. हेमसागर बरालबाट प्राप्त सूचनाको आधारमा लेखकद्वय समेतको टोलीले पूर्वी नेपालमा अध्ययन गर्दा उक्त वनस्पति मिमोसा डिप्लोट्राइका भनी पहिचान गरिएको छ । नेपालका वनस्पतिहरूको अद्यावधिक सूचीमा सूचीकृत नभएको उक्त वनस्पति नेपालको लागी मिचाहा वनस्पतिको एउटा नयाँ प्रजाति हो । अरेली काँडाजस्तै देखिने लज्जावती झारको जस्तै पात हुने काण्डमा काँडा साथै झुस हुने यो वनस्पति कोसेबाली परिवारअन्तर्गत पर्दछ । योसमेत गरी नेपालमा बाह्य मिचाहा भनी वर्र्गीकरण गरिएका वनस्पति प्रजातिको सङ्ख्या २७ पुगेको छ भने हाल यो वनस्पति पूर्वी नेपालको झापा र मोरङ जिल्लामा मात्र फैलिएको छ । प्रचलित नेपाली नाम नभए पनि यो वनस्पतिलाई झापा र मोरङतिर घोप्टेकाँडा, आराकाँडे र ठूलोे लज्जावती भनेर चिनिन्छ । भर्खरै गरिएको सर्वेक्षण अनुसार नदी र खोला किनार अनि ग्राभेल गरिएको सडक वरिपरि यसको घनत्व बढी देखिएको छ ।
मिमोसा डिप्लोट्राइका बहुवर्षीय झाडीदार वनस्पति हो । खोला, नदी किनार, छत्र घनत्व कम भएको जङ्गल, सडक छेउछाउ, खेती नगरिएको बाँझो जमिन र वृक्षरोपण गरिएको क्षेत्रमा यस वनस्पतिको अतिक्रमणको जोखिम बढी हुन्छ । भूमध्य क्षेत्र वरिपरि समुद्री सतहबाट दुई हजार मिटर उचाइसम्म हुर्किन सक्ने यो वनस्पति लहराजस्तै गरी जमिनमा फैलिने गर्छ र अन्य बुट्यान र रुखबिरुवाको टेको पाएमा पाँच मिटरभन्दा लामो पनि हुन्छ । वर्षाको सुरुवातसँगै यसको वृद्धि सुरु हुन्छ र चैतसम्ममा यसको झाडी सुक्छ । असोज, कात्तिकमा यसको पूmल फुल्ने तथा कात्तिक, मङ्सिरमा फल लाग्ने र माघ, फागुनसम्ममा फल पाक्छ  ।
अन्य मिचाहा वनस्पतिजस्तै यो पनि छिटो वृद्धि हुन्छ र धेरै बीउ उत्पादन गर्न सक्छ । एउटै बिरुवाले हजारौंको संख्यामा बीउ उत्पादन गर्न सक्छ । एक अध्ययनअनुसार यसले एक वर्गमिटर क्षेत्रफलमा १२ हजारसम्म बीउ उत्पादन गर्न सक्छ । यसका बीउ पानीको बहावसँगै, नदीको बालुवा ओसारपसार गर्दा र चरा वा अन्य जनावरको माध्यमवाट सहजै एक ठाउँबाट अर्को ठाउँमा प्रसारण हुन्छन् । यस वनस्पतिका बीउ जमिनमा लामो समय (अधिकतम ५० वर्ष) सम्म सुरक्षित रहन सक्छन् भने माटोमा रहेका बीउहरू उपयुक्त तापक्रम पाउनासाथ अङ्कुरण हुनसक्छन् । यस वनस्पतिको झाडीमा आगलागी भयो भने बीउ नष्ट हुनुको साटो आगोले यसको बीउ अङ्कुरणमा झन् सहयोगी भूमिका खेल्दछ ।
यो वनस्पति अमेरिकाको उष्णप्रदेशीय क्षेत्र (विशेष गरी मध्य र दक्षिण अमेरिका) र क्यारेबियन क्षेत्रको रैथाने हो । अन्तर्राष्ट्रिय कृषि र जीवविज्ञान केन्द्रले प्रकाशित गरेको मिचाहा प्रजाति सङ्ग्रहका अनुसार यो वनस्पति हाल अफ्रिका, अस्ट्रेलिया, दक्षिण एसिया र दक्षिण पूर्वी एसिया एवं प्रशान्त महासागर क्षेत्रका ३० भन्दा बढी देशमा मिचाहा प्रजातिका रूपमा फैलिसकेको छ । यो वनस्पति आफ्नो रैथाने भौगोलिक क्षेत्रबाहिर सबैभन्दा पहिले इन्डोनेसियामा आजभन्दा १२० वर्ष अगाडि भेट्टाइएको थियो ! भारतमा यो वनस्पतिलाई माटोमा नाइट्रोजनको मात्रा वृद्धि गराउन भनी भिœयाइएको अनुमान गरिए तापनि दक्षिण एसियामा यो कहिले भित्रियो भन्ने यकिन तथ्याङ्क छैन तर यो वनस्पति दक्षिण एसियामा भुटान, श्रीलङ्का र भारतको आसाम, उत्तर प्रदेश, कर्नाटक र केरला राज्यहरूमा फैलिएर त्यहाँको जैविक विविधता र मानव क्रियाकलापलाई नकारात्मक असर पारिसकेको छ । साथै चीनका दक्षिण पूर्वी प्रान्तहरू युनान, गुह्वाङजी, फुजियान क्षेत्रमा यो वनस्पति फैलिसकेको छ । नेपालमा यो कहिले भित्रियो भन्ने यकिन नभए पनि झापा जिल्लाका स्थानीयहरूका अनुसार यो वनस्पति देखिन थालेको १५ देखि २० वर्ष भइसकेको छ । स्थानीयहरूसँग बुझ्दा भुटानी शरणार्थी शिविर खुदुनाबारीमा मानवीय सहायतासम्बन्धी काम गर्ने एउटा अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्थाले त्यस क्षेत्रमा भू–क्षय र नदी कटान रोक्नका लागि स्थानीय समुदायलाई बीउ वितरण गरेको भन्ने बुझिन्छ ।

असर
मिमोसा डिप्लोट्राइकाले अतिक्रमण गरेका ठाउँमा खेतीबाली, चरन र वनक्षेत्रमा नकारात्मक असर पार्दछ । राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनका अनुसार यो वनस्पतिले उखु, नरिवल, चिया, कफी, केरा र रबर खेतीमा समेत क्षति पु¥याएको उल्लेख छ । घना झाडी र बाक्लो काँडा हुने हुँदा यसले अतिक्रमण गरेको जमिनमा र यसको झ्याङ्मुनि चराचुरुङ्गी, मुसा, भ्यागुता, सर्प र अन्य वनस्पति केही पनि बाँच्ने सम्भावना हुँदैन । तसर्थ यसले रैथाने जैविक विविधतामा नकारात्मक असर पु¥याउँछ । भारतको काजिरङ्गा निकुञ्जमा बाघ र हात्तीको वासस्थान र आवागमनमा समेत प्रतिकूल असर पु¥याएको देखिन्छ । राष्ट्र सङ्घीय खाद्य तथा कृषि संस्थाअन्तर्गतको एसिया प्रशान्त क्षेत्रका वनको मिचाहा प्रजातिको सञ्जालले प्रकाशित गरेको प्रतिवेदनअनुसार यो वनस्पतिमा मिमोसिन नामक एक विषालु रसायन हुने र उक्त रसायन चौपायाका लागि घातक हुने उल्लेख छ ।
झापा जिल्लाका विभिन्न स्थानमा यो वनस्पतिको अतिक्रमणले पु¥याएको क्षति प्रष्टै देख्न सकिन्छ । खुदुनाबारी क्षेत्रका स्थानीयहरूले दिएको जानकारीअनुसार यो वनस्पतिमा चरेको कारणले हालसम्म ५० वटा जति ठूला चौपाया (गाई, गोरु र राँगा) र एक सयभन्दा बढी बाख्राको मृत्यु भइसकेको छ । क्षतिको एकिन तथ्याङ्कका लागि अतिक्रमित क्षेत्रको विस्तृत अध्ययन आवश्यक देखिन्छ । खेतीबालीको नजिकमा यसको वृद्धिले खेती स्याहार्न समस्या भएको कुरा स्थानीयवासी बताँउछन् । यसलाई फाँड्ने क्रममा काँडाले घोचेर घाउ हुने र मसिनो झुस बिझेर छालाको एलर्जी भएका घटना पनि छन् भने यो फैलिएको ठाउँमा मानिस र जनावरको आवगमनमा समेत समस्या भएको सहजै देख्न सकिन्छ  ।

नियन्त्रण
मिमोसा डिप्लोट्राइका नियन्त्रणका लागि विभिन्न उपाय अवलम्बन गरिए पनि यसको नियन्त्रण निकै चुनौतीपूर्ण रहेको छ । परम्परागत रूपमा मानिसले झाडी काट्ने, जरै समेत उखेलेर फाँड्ने, अतिक्रमित ठाउँमा ट्रयाक्टर प्रयोग गरी जोत्ने र जलाउने गरिन्छ । झाडी काट्नेभन्दा जरैदेखि उखेल्ने तरिका बढी प्रभावकारी हुन्छ । त्यसैगरी झाडी जलाउने कार्य पनि केही हदसम्म सफल देखिन्छ । जलाउने, झाडी फाँड़ने र जरैसमेत उखेल्ने विधिको सफलता कुन समयमा त्यस्तो कार्य गरियो भन्ने कुरामा धेरै हदसम्म निर्भर हुन्छ । प्रभावकारी नियन्त्रणका लागि बिरुवा फूल फुल्नु अगावै यी कार्य गर्नुपर्छ ।
यसको नियन्त्रणका लागि झार मार्ने विषादीको प्रयोग गरिन्छ । यस्तो विषादीको प्रयोग एकपटकभन्दा बढी वा एक वर्षभन्दा बढी गर्नुपर्ने हुन सक्छ । अस्ट्रेलिया, न्युजिल्यान्ड लगायत देशमा कीरा तथा ढुसीको प्रयोग गरेर जैविक नियन्त्रण परीक्षण गरिएको छ तर यस्तो विधिले यो प्रजातिको पूर्ण नियन्त्रण गर्न सम्भव देखिँदैन । विषादीको प्रयोगले पर्यावरणमा नकारात्मक असर पर्ने र कीरा तथा ढुसीको परीक्षणका लागि प्राविधिक कठिनाइ हुने र लामो समय लाग्ने हुँदा हालको लागि नेपालमा परम्परागत विधिको उचित प्रयोग यसको नियन्त्रणमा तुलनात्मक रूपमा फाइदाजनक हुनसक्छ । दीर्घकालीन नियन्त्रणका लागि अतिक्रमित ठाउँमा नियन्त्रण गर्नुको साथै नयाँ ठाउँमा बीउ फैलिनबाट रोक्नु महŒवपूर्ण हुन्छ । यसका लागि अन्न तथा तरकारीको बीउ एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्दा उचित क्वारेन्टाइन हुन जरुरी छ । कृषक तथा वन उपभोक्ता समूहहरूलाई यसको बारेमा सुसूचित गराई नयाँ ठाउँमा देखिनासाथ नियन्त्रण गरिएमा थप क्षेत्रमा फैलिनबाट रोक्न सकिन्छ ।
मिचाहा प्रजातिलाई समयमै नियन्त्रण गर्न र फैलनबाट रोक्न सकिएन भने भविष्यमा हामीले ठूलो आर्थिक र पर्यावारणीय क्षति बेहोर्नुपर्ने निश्चित छ । सानो क्षेत्रमा मात्र फैलिएको अवस्थामा प्रदेश एवं स्थानीय सरकारहरूको पहलबाट यसको नियन्त्रण सम्भव छ । केन्द्रीयस्तरमा वन तथा वातावरण मन्त्रालय, विश्वविद्यालय र वन तथा जैविक विविधताको क्षेत्रमा समुदायसँग मिलेर कार्य गरिरहेका गैरसरकारी संस्थाहरूको संयुक्त पहल हुनसकेमा मिचाहा वनस्पतिलाई नेपालबाट निर्मूल पार्न सकिन्छ । यसका लागि वन तथा वातावरण मन्त्रालय एवं त्यस अन्तर्गतको वन अनुसन्धान एवं तालिम केन्द्रले अग्रणी भूमिका खेल्नुपर्ने देखिन्छ । पूर्वमा यसको नियन्त्रण एवं उन्मूलन गरेमा पश्चिम क्षेत्रमा फैलनबाट रोक्न सकिन्छ  ।

(शर्मा फरेस्ट एक्सन नेपाल र श्रेष्ठ त्रिभुवन विश्वविद्यालय वनस्पतिशास्त्र केन्द्रीय विभागमा कार्यरत हुनुहुन्छ ।)  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?