logo
२०८१ जेष्ठ २ बुधवार



प्रसारणमा अग्रणी रेडियो नेपाल

विचार/दृष्टिकोण |




भुवनप्रसाद आचार्य

नेपालमा विद्युतीय प्रसारण अर्थात् रेडियो प्रसारणको जननी रेडियो नेपाल ७० औँ वर्षमा प्रवेश गरेको छ । वि.सं. १९९० को भूकम्पले हल्लाएर जीर्ण बनेको सिंहदरबारस्थित पुरानो भवनको एउटा कोठाबाट २००७ चैत २० गते रेडियो प्रसारण सुरु भएको थियो । हाल त्यो भवनलाई भत्काएर पुरानै स्वरूपमा निर्माण गरिँदैछ । स्थापनासँगै मुलुकमा प्रजातन्त्रको सन्देश प्रवाह गर्न कस्सिएको रेडियो नेपालले आज फेरि त्यस्तैगरी गणतनत्रको पक्षमा जनतालाई सचेत गराउने नेतृत्वदायी जिम्मेवारी पाएको छ । मुलुकमा नयाँ संविधानमार्फत जनताको अधिकार स्थापित भएको, मुलुक सङ्घीयतामा प्रवेश गरेको, जनताले सेवा सुविधा स्थानीय सरकारमार्फत घरदैलोमा नै पाउने अवस्था सिर्जना भएको सन्देश र शिक्षा प्रसारण गर्ने जिम्मेवारी रेडियो नेपालको काँधमा छ ।
२००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएपछिको एक दशक मुलुकको राजनीति सङ्क्रमणकै अवस्थाबाट गुज्रियो । वि.सं. २०१७ पुस १ गते राजाबाट प्रजातान्त्रिक व्यवस्था खोसेर पञ्चायतको सुरुवात भयो । त्यसपछि रेडियो नेपालले स्वतन्त्रतापूर्वक जनताका भावना र अपेक्षा अनुसारका सामग्री प्रसारण गर्न सक्ने वा पाउने स्थिति नै रहेन । प्रजातन्त्र खोसिएपछि रेडियो नेपालको प्रयोग बारेको सरकारी सोचमा पनि व्यापक परिवर्तन भयो । त्यसक्रममा प्रजातन्त्रविरोधी तथा पञ्चायतको समर्थनका सामग्री प्रसारणमा रेडियो नेपाललाई प्रयोग गर्न थालियो । पञ्चायतको २३ वर्षसम्म रेडियो नेपाललाई विकास गर्ने दृष्टिले कुनै पनि योजना अघि बढाइएन । वि.सं.२०२८ मा विकासका लागि सञ्चार भन्ने योजना अघि सारेर रेडियो नेपालमार्फत समाजका विभिन्न वर्ग र समुदायलाई लक्षित गरी कार्यक्रम निर्माण गर्न थालियो तर त्यो पनि आम जनसमुदायको जागरणभन्दा उही निर्दलीय सत्ताभक्त बनाउने उद्देश्यप्रेरित भयो । वि.सं २०४१ मा रेडियो नेपाललाई स्वतन्त्र रूपमा विकास समितिमार्फत सञ्चालन गर्ने गरी रेडियो प्रसार सेवा विकास समितिमा रूपान्तरण गरियो । यसअघि सोही वर्ष रेडियो नेपालको सुधारका लागि “रेडियो नेपालको सुधार र सुदृढीकरण योजना” तर्जुमा गरी काम अघि बढाइएको थियो । समितिमा रूपान्तरण भएपछि रेडियो नेपालले केही राम्रो कमाइ गर्न थालेको थियो । कार्यक्रमहरू पनि विगतमा भन्दा केही पृथक् र समावेशी प्रकारका बन्न थालेका थिए । यो क्रम स्थायी हुन सकेन । समितिमा रूपान्तरण भएपछि पनि रेडियोमा सरकारी हस्तक्षेप भने जारी रह्यो ।
२०४६ सालमा मुलुकमा प्रजातन्त्र पुनःस्थापना भयो । त्यसपछि पनि राजनीतिक दलहरूले रेडियो नेपाललाई हस्तक्षेपमुक्त बनाउन सकेनन् । २०४६ सालको परिवर्तनसँगै रेडियो नेपालमा कार्यक्रम घटना र विचार प्रसारण गर्न थालियो । विगतमा राजनीतिक आलोचना, प्रत्यालोचना रेडियोबाट सुन्न नपाएको सन्दर्भमा राजनीतिक घटनाक्रम र विश्लेषणप्रधान ‘घटना र विचार’ ले रेडियो नेपालका श्रोताको सङ्ख्या निकै बढाएको त्यसपछिका श्रोता सर्वेक्षणले देखाएका छन् । तथापि यस्तो कार्यक्रम स्वतन्त्र पत्रकारले नभई तत्कालीन सत्तारुढ पार्टीका र सञ्चारमन्त्रीका नजिकका मान्छेले चलाउने परम्परा बस्यो ।
रेडियो नेपालको प्रसारणको इतिहासमा २०५० साल महत्वपूर्ण भयो । यो वर्ष पाँचवटै विकास क्षेत्रमा क्षेत्रीय प्रसारण केन्द्रको स्थापना भयो । क्षेत्रीय प्रसारण केन्द्रहरूबाट राष्ट्रिय प्रसारणका अतिरिक्त त्यस क्षेत्रका प्रमुख भाषामा समाचार तथा कार्यक्रम प्रसारण सुरु भयो । यसअघि २०४७ सालमा रेडियो नेपालले नेवारी तथा हिन्दी भाषामा समाचार प्रसारण गर्न थालेको थियो ।
रेडियो नेपाल नेपालमा एएम एमप्लिच्युड मेडुलेसन तरङ्गमार्फत रेडियो प्रसारणको सुरुवातकर्ता मात्र नभई रेडियो प्रसारणको दोस्रो प्रसारण प्रविधिमा आधारित प्रसारण एफ.एम. (फ्रिक्वेन्सी मेडुलेसन) प्रसारण सुरु गर्ने पहिलो प्रसारण माध्यम पनि हो । रेडियो नेपालको पहलमा १०० मेघाहर्जमा एफ.एम. प्रसारण गरेर अनुभव प्राप्त गरेपछि मात्र नेपाल सरकारले वि.सं २०५४ मा निजी क्षेत्रलाई एफ.एम. प्रसारण अनुमति दिन सुरु गरेको थियो । रेडियो नेपालकै प्रयास र सहयोगमा नेपालमा एफ.एम. प्रसारणको रूपमा वातावरण पत्रकार समूहमार्फत सगरमाथा एफ.एम.को प्रसारण सुरु भएको थियो । रेडियो प्रसारण सरकारले मात्र गर्न सक्छ भन्ने बुझाइ यसबाट परिवर्तन भयो र विश्वका कैयौँ देशले यसबाट
शिक्षा लिए ।
हाल रेडियो नेपालबाहेक निजी, व्यावसायिक र सामुदायिक गरी सात सयभन्दा बढी एफ.एम. प्रसारण केन्द्र स्थापना भएका छन् । रेडियो तथा फोर जी वा फाइभ जी दूरसञ्चार सेवाको विस्तारले गर्दा ग्रामीण क्षेत्रमा रेडियोको पहुँच विस्तारमा थप सहयोग भएको छ । त्यसमा पनि इन्टरनेट तथा अप्टिकल फाइबरको सहायताले रेडियो र टेलिभिजनको प्रसारणमा रूपान्तरणकारी परिवर्तन आएको छ । यिनै प्रसारण माध्यममार्फत जनताले दैनिक सूचना, शिक्षा र मनोरञ्जनका कार्यक्रम सुनेर आफूलाई आधुनिक समाजमा प्रतिस्पर्धी र सबल बनाउन सकेका छन् ।
नेपालमा रेडियो नेपाललाई सार्वजनिक सेवा प्रसारणमा रूपान्तरण गर्ने गरी सरकारले आवश्यक तयारीसमेत अघि बढाएको छ । हाल नेपाल सरकारको पूर्ण स्वामित्वमा सञ्चालित रेडियो नेपाललाई सार्वजनिक सेवा प्रसारणको रूपमा विकास गर्ने सम्बन्धमा विभिन्न अध्ययन तथा अनुसन्धान पनि भएका छन् । नेपाल सरकारबाट रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रसारणको रूपमा विकास गर्न के कस्ता नीतिगत तथा संरचनागत परिवर्तन आवश्यक छ भनी गठित कार्यदलले नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सार्वजनिक सेवा प्रसारणसम्बन्धी प्रतिवेदन बुझाइसकेको छ । सार्वजनिक सेवा प्रसारण प्रयोजनका लागि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले सङ्गठन संरचनाको तयारीसमेत अघि बढाएको छ । सरकारले कानुनी र आर्थिक रूपमा सार्वजनिक सेवा प्रसारणको कुन मोडेलमा रेडियो नेपाललाई लैजाने हो भन्ने विषयमा निर्णय हुन बाँकी छ । सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयकको मस्यौदा सरोकारवाला निकायहरूबाट पारित भई संसद्बाट पारित भएपछि मात्र यो विषय अघि बढ्न सक्ने देखिएको छ ।
यस बीचमा रेडियो नेपालले पनि आफूलाई सार्वजनिक सेवा प्रसारण अनुकूलन हुने गरी समयानुकूल सुधार गर्न विभिन्न प्रयास अघि बढाएको जनाएको छ । समाचार र कार्यक्रममा विविधता, राष्ट्रिय भावनाको प्रतिनिधित्व, विभिन्न समुदायका कला र संस्कृतिको संरक्षण र विकासमा पनि रेडियो नेपालले आफ्नो भूमिकालाई अझ विस्तार गर्दै अघि बढेको छ । रेडियो नेपालले ७० वर्षे अवधिमा धेरै प्रसारण सम्बन्धी रेकर्डहरू बनाएको छ । यस अवधिमा रेडियो नेपालले नयाँ अभ्यासका रूपमा “जनतासँग प्रधानमन्त्री” कार्यक्रम प्रसारण गरी नेपाली प्रसारणमा नयाँपन दिएको थियो । रेडियो रिपोर्ट प्रसारण गर्ने, समाचारको बीचमा ‘न्युज क्लिप’ (समाचार अंश) राख्ने र नयाँ प्रविधिमा आधारित ‘कुल एडिट प्रोग्राम’ सञ्चालन गरेर रेडियो प्रसारणमा नयाँ रेकर्ड राख्न सफल भएको छ ।
रेडियो नेपालको साङ्गठनिक ढाँचालाई संविधानबमोजिम प्रदेश संरचनामा लागेर प्रादेशिक प्रसारणको अवधारणा तथा सङ्घीयताको भावनाअनुसार रेडियो नेपालले समावेशी समाचार र कार्यक्रम प्रसारण गर्दै आएको छ । हाल २४ घन्टा केन्द्रीय प्रसारण गरिरहेको रेडियो नेपालले १८ घन्टा प्रदेश प्रसारणको तयारी गरेको छ । रेडियो नेपालले हाल २१ भाषामा समाचार र १८ भाषामा कार्यक्रम प्रसारण गर्दै आएको छ । नेपाली धर्मसंस्कार, विश्व घटना, शिक्षा–विज्ञानका कायक्रममार्फत जनतामा चेतना र जागरणको स्रोत बनेको रेडियो नेपालले नियमितरूपमा जागरण गीत तथा फूलबारी गीत सम्मेलनहरू आयोजना गरी मुलुकमा कला र संस्कृतिको जगेर्नामा अग्रणी भूमिका खेल्दै आएको छ । सत्य तथ्यपूर्ण समाचारका लागि रेडियो नेपालको आधिकारिकता शङ्कारिहत नै मानिन्छ । विगतमा कैयौँ समय यो सरकारी ‘माइक’का रूपमा नदेखिएको होइन तर अहिले यो राज्यको सञ्चारमाध्यमका रूपमा छ, रहनेछ ।
(लेखक पत्रकार हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?