logo
२०८१ बैशाख १५ शनिवार



सुरक्षाका लागि हातेमालो (सम्पादकीय)

विचार/दृष्टिकोण |






नेपालले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा थप सतर्कता अपनाउन विशेष पहल गर्ने भएको छ । यसअघि गरिँदै आएका पहललाई थप परिणाममुखी बनाउने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै नागरिकको स्वास्थ्यलाई उच्च प्रथमिकता दिन विभिन्न घोषणा गर्नुभएको छ । नेपालमा हालसम्म यस्तो सङ्क्रमण नदेखिए पनि सरकारले पूर्व तयारीलाई तीव्र बनाएको छ । प्रधानमन्त्रीको सम्बोधनमार्फत सबै अन्तर्राष्ट्रिय उडान चैत ९ गतेबाट १८ गतेसम्म बन्द गरिनुका साथै लामो दूरीका आन्तरिक सवारी यातायातमा रोक लगाइएको छ । यसबाट जनसम्पर्कलाई सीमित गर्दै कोरोनाको फैलावटलाई काट्न सकिने विश्वास गरिएको छ । कोभिड–१९ को उत्पत्ति भएको चीनको अनुभवले पनि पहिलो चरणमा भाइरसको फैलावट काट्नु नै यसको प्राथमिक र आधारभूत उपचार हुने देखिएको छ । प्रधानमन्त्रीले भन्नुभए जस्तै यतिखेर कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अवस्थाले सिङ्गो विश्व इतिहासकै सर्वाधिक कठिन मोडबाट गुज्रिरहेकाले नेपाल सरकारले संवेदनशील भएर महामारीविरुद्ध विशेष पहल थालेको हो । विश्वका अधिकांश मुलुक यस महामारीबाट सङ्क्रमित भए पनि नेपालमा सङ्क्रमणको प्रत्यक्ष प्रभाव छैन भनेर बस्नु कदापि बुद्धिमत्ता हुने थिएन तसर्थ प्रधानमन्त्रीले जुन निर्देशन र सदिच्छा प्रकट गर्नुभएको छ यसको पालनमा सिङ्गो राष्ट्र जुट्न आवश्यक छ ।
विपद् समयसारिणी मिलाएर आउँदैनन् । यसको व्यवस्थापन पनि तिथिमिति मिलाएर गर्न सम्भव हुँदैन । विपद् अनुसार यसको व्यवस्थापन गर्न त्यसै अनुरूपका कार्ययोजना तथा पूर्वतयारी गर्दा कतिपय अवस्थामा केही समस्या उत्पन्न हुन सक्छन् । प्रधानमन्त्रीले बडो संवेदनशील भएर भन्नुभएको छ – नेपाल आउन चाहेका नेपाली यहाँ आउन सक्नुभएको छैन । यो समस्यालाई नेपाल सरकारका विदेशस्थित नियोग, सम्बन्धित व्यक्ति तथा त्यहाँको सरकारद्वारा साझा रूपमा समाधान गर्न सकिनेछ । कुनै एक व्यक्ति नेपाल आउनुसँगै नेपालस्थित उनीहरूका सबै परिवार सदस्यलाई सुरक्षित राख्नुपर्ने दायित्वमा सरकारको पहललाई नागरिकको उच्च सुरक्षाका लागि गरिएको कठोर र अप्रिय निर्णय हो तर यस्तै बेला राष्ट्रले सुखद परिणामका लागि कठोर निर्णय लिनेगर्छ । प्रधानमन्त्रीले सम्बोधनमा देशभरका अस्पतालहरूबाट सेवा प्रदान गर्ने, पर्याप्त औषधि र उपकरणको प्रबन्ध गर्ने, आवश्यक जनशक्तिको व्यवस्था गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिएको घोषणा गर्दै यस कार्यमा प्रत्यक्ष रूपमा संलग्न रहने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायलगायतका जनशक्तिलाई उचित प्रोत्साहनसहित उच्च मनोबलका साथ परिचालन गर्ने व्यवस्था मिलाइएको बताउनुभएको छ । सङ्क्रमणले मुलुकको समग्र अर्थतन्त्रलाई प्रभाव पार्न सक्ने भएकाले यसलाई अर्थ मन्त्रालयले सूक्ष्म अध्ययन गरिरहेको र उपयुक्त कार्यक्रम ल्याइने बताउनुभएको छ । प्रधानमन्त्रीले एकातिर स्वास्थ्य उपचारमा जनशक्तिको परिचालनलाई प्रेरित गर्नुभएको छ भने अर्कोतिर निजीक्षेत्रसम्म पर्न सक्ने अर्थतन्त्रको प्रभावबारे राहतको सङ्केत गर्नुभएको छ । यस्तो अवस्थामा कुनै पनि क्षेत्रले आवश्यकीय वस्तु तथा सेवाको उत्पादन, वितरण, भण्डारणमा अनियमितता गर्ने तथा नागरिकहरू हल्लामा बहकिने र अव्यावहारिक हुनुहुँदैन ।
सङ्कटका बेला प्रत्येक नागरिक जिम्मेबार हुनुपर्छ । सरकारले २५ जनाभन्दा बढीको भीडभाड नगर भन्ने तर नागरिकहरू ठूलै सङ्ख्यामा भोजभतेर गर्ने प्रवृत्तिले समस्या समाधानमा सहयोग गर्दैन । ‘बाँच्न पाए नाच्न पाइन्छ’ भन्ने नेपाली उखानलाई प्रत्येक व्यक्तिले आत्मसात् गर्नुपर्छ । प्रधानमन्त्रीले विद्युतीय माध्यमबाट हुने काम घरबाटै गर्न प्राथमिकता दिइने र अत्यावश्यक सेवाका कर्मचारीले कार्यालयमै उपस्थित भएर काम गर्ने व्यवस्था मिलाइने बताउनुभएको छ । यसबाट भीडभाड कम गर्न सहयोग पुग्ने छ । समस्या समाधानमा सबै पक्षको जिम्मेबारीलाई प्रधानमन्त्रीले उच्च महìव दिनुभएकाले जिम्मेबारी निर्वाहमा हातेमालो गर्नु अबको कार्यभार हो । सरकारले गर्नुपर्ने प्रयास गरिरहेकै छ, आफ्नो र सिङ्गो समाजको सुरक्षा गर्ने पालो सम्पूर्ण नागरिकमा आएको छ । केही समयका लागि नागरिकले आफ्ना व्यवहार र दैनिकीमा परिवर्तन गर्न जरुरी छ । यसले जनजीवनमा केही असहजता ल्याउन सक्छ, हाम्रा आनीबानी र दैनिक व्यवहारलाई असर पार्न सक्छ तर मानिस मात्र होइन पृथ्वीमा आएका यस्ता उचारचढावसँग सङ्घर्ष गरेर बाँच्न सफल भएका प्राणी नै अहिले अस्तित्वमा रहेकोमा वैज्ञानिकहरू सहमत छन्–‘बाँच्नका लागि सङ्घर्ष’ अर्थात् स्ट्रगल फर एक्जिस्टेन्स् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?