logo
२०८१ बैशाख २४ सोमवार



समानताको आन्दोलनमा नेपाल

विचार/दृष्टिकोण |




खिमलाल देवकोटा
आठ मार्चलाई अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको रुपमा विश्वभर मनाउने गरिन्छ । त्यसैको सन्दर्भमा नेपालमा पनि उक्त दिन महिला कर्मचारीका लागि कार्यालयमा विदा दिएर, महिला अधिकार र समानताका लागि प्रतिवद्धता व्यक्त गरेर दिवस मनाइयो ।
महिला अधिकारकानिम्ति समर्पित दिवस, महिलाका लागि समानता, समान सहभागिता र महिलाविरुद्ध हुने सबैखाले भेदभावको अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेर मनाइने यो दिवस संसारभर मनाईने सम्भवतः सबैभन्दा पुरानो र साझा दिवस हो । यति महत्वको दिवस १८९४ को क्लारा जेटिकनको वहुचर्चित आलेख र सन् १९०८ मा अमेरिकाको न्युयोर्क शहरमा मताधिकारका लागि गरेको प्रदर्शनबाट थालनी भएको अर्थमा हेरिन्छ । समान कामका लागि समान ज्याला, आठ घण्टा काम, आठ घण्टा मनोरन्जन र आठ घण्टा आरामको मान्यता स्थापित गर्ने आन्दोलन अभियानकै रुपमा थालनी भयो । यो कार्यक्रमको प्रभावका कारणले अर्को वर्ष फेबु्रअरी २८ का दिन अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवसका रुपमा घोषणा ग¥यो । यसैक्रममा संयुक्त राष्ट्रसंघीय दिवसका रुपमा मनाउन थालेपछि विश्वव्यापी बन्यो ।
दिवसको मर्म
लैङ्गिक समानाताका लागि यो दिवसको महत्व छ । महिला सहभागिताको प्रश्न, स्वास्थ्य शिक्षा र राजनीतिमा महिलाको पहुँच समानताका दृष्टिले आजसम्म पनि कायम हुन सकेको छैन । यही अवस्था रहने हो भने अर्को एक शताव्दीसम्म पनि महिला र पुरुषवीचको असमानता कायमै रहने तथ्य विश्व आर्थिक मञ्चको प्रतिवेदनले प्रष्ट पारेको छ । महिलाकै संघर्षका कारण सामाजिक आर्थिक सांस्कृतिक र राजनीतिक क्षेत्रमा प्राप्त उपलव्धीप्रति गर्व गर्न र थप उपलव्धी हासिल गर्दै महिला–पुरुषवीचको समानता स्थापित गरिछाड्ने प्रतिवद्धताकासाथ यो दिवस मनाइन्छ । आफ्ना भिन्न संस्कृति, भिन्न पृष्ठभूमि र मतान्तरलाई थाँती राखेर सामुहिक रुपमा समानताका लागि साझा दिवसको रुपमा लिंदै समानताका लागि एकजुट हुने दिनका रुपमा पनि संसारभरका महिलाले लिने गरेको पाईन्छ ।
जर्मनीमा महिलाले मतदानको अधिकार माग गर्दै गरेको आन्दोलनले सफलता प्राप्त गरेसँगै अन्तर्राष्ट्रिय महिला दिवसलाई एक लडाकु दिवसको रुपमा वा दोहोरो क्रान्तिकारी महत्वको दिवसका रुपमा ग्रहण गरियो । जारशाहीका विरुद्ध कसैले प्रतिरोध गर्न नसकेका वखत महिला आन्दोलनको शंखघोष वास्तवमा रुसी क्रान्तिकै एक अंश थियो । फेब्रुअरी क्रान्ति र अक्टोबर क्रान्तिसँगै सम्वद्धता राख्दै विश्वयुद्धको अन्तसहित शान्ति र रोटीको माग राख्दै महिलाले गरेको आन्दोलन भएका कारणले रुसी राजनीतिमा अन्तर्राष्ट्रिय नारी दिवसले क्रान्तिकारी महत्व स्थापित गरिदियो । १९१७ को क्रान्तिपश्चात् रुसमा आठ मार्चलाई महिला अधिकार प्राप्तीको कोशेढुङ्गाका रुपमा ग्रहण गर्दै सरकारी विदा दिने प्रचलन बस्यो । चीनमा १९२२ र १९२७ मा कम्युनिष्ट पार्टीको प्रभाव रहेका वखतदेखि नै मनाउँदै आएकोमा १९४९ को क्रान्ति सम्पन्न पश्चात् महिलाका लागि विदा दिने प्रचलन बसेको हो ।
राष्ट्रसङ्घीय नारा
संयुक्त राष्ट्रसंघले हरेक वर्ष भिन्न नाराकासाथ यो दिवस मनाउन आह्वान गर्दै आएको छ । २०१५ मा महिला सशक्तिकरण, मानवतालाई सशक्त पार्दै अघि बढौं भन्ने नारा बनाएको थियो । सन् २०१६ मा महिला पुरुष बरावरीको नारा अघि सा¥यो । २०१७ मा काममा समानता नारा तय ग¥यो । सन् २०१८ मा भने शहरी र ग्रामीण जीवनमा महिलाको अवस्थाको चित्रण गर्दै महिलाको जीवनको रुपान्तरणको समयका रुपमा अघि बढेको पाईन्छ । यस वर्ष यो युग समानताको युग हो, महिला अधिकारको अनुभूति गर्ने युग हो भन्ने भावको नारा तय गरेको पाइन्छ । विगत केही वर्षदेखिका नाराको विश्लेषण गर्दा महिला समानताकै वरपर नाराहरु तय भएका छन् । एक्काईसौ शताव्दीको तेस्रो दशक प्रवेशको यो अवधिमा पनि महिला–पुरुषवीचको विभेद अन्त हुन नसकेको तथ्य आजको वास्तविकता हो ।
राष्ट्रसङ्घीय सन्देश
अन्तर्राष्ट्रिय नारी दिवसका सन्दर्भमा संयुक्त राष्ट्र सङ्घीय महासभाका अध्यक्ष तिजानी महम्मद वन्डेले सन्देशमा भने कि आज कसैले पनि महिला समानताको दावा गर्ने अवस्था छैन । खासगरी राजनीतिक नेतृत्व र आयका सवालमा । दिगो विकास लक्ष्यमा अन्तरनिहित लैङ्गिक समानता सबै क्षेत्रमा ग्यारेण्टी गर्ने कुरा निकै चुनौतिपूर्ण छ । महासचिव अन्टोनियो गुटेरसले भने, लैङ्गिक समानता शक्ति रुपान्तरणको पुनःपरिभाषाको माध्यम हो । यो समय असमानताको अन्त गर्ने समय हो ।
नेपालको सन्दर्भ
नेपालको सन्दर्भमा अन्तर्राष्ट्रिय महिला दिवस कि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भन्ने दुई अवधारणा प्रचलनमा छन् । क्लारा जेटिकनले आरम्भ गरेको सर्वहारा वर्गीय महिला आन्दोलनकै जगमा आरम्भ भएको, संयुक्त राष्ट्रसंघले हरेक वर्ष मनाउने गरेको भए तापनि पञ्चायत कालभरी नारी दिवसका रुपमा महिला कर्मचारीलाई विदा दिएर मनाउने गरियो । बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि भने अन्तर्राष्ट्रिय महिला दिवसका रुपमा मनाउने गरियो । तर वामपन्थी वृत्तले मात्रै श्रमिक महिला दिवसका रुपमा मनाउने गरेको पाईन्छ ।
जे होस्, महिला समानताका दृष्टिले आरम्भ भएको अभियानको राष्ट्रिय अंशका रुपमा नेपालले गरेका प्रगतिको समुचित चर्चा गर्न जरुरी छ । बाँकी कामका बारेमा थप संघर्षको कार्यक्रम बनाउन पर्नेछ । यसो गर्दा नेपालको सन्दर्भमा महिला अधिकारका क्षेत्रमा पर्याप्त प्रगति भएको छ । केही पनि भएको छैन भन्ने सोच वा महिला आन्दोलन पुरुष विरोधी आन्दोलन हो वा महिला आन्दोलन सामान्य सामाजिक मान्यता र सभ्यताभन्दा फरक हो भन्ने एकाङ्गी सोच र मान्यताको अतिवादबाट भने बच्न जरुरी छ । नेपाली महिलाले प्राप्त गरेको मताधिकार कतिपय विकसित मुलुकभन्दा अगाडि नै हामीले पुरुष–महिलाले एकसाथ प्राप्त गरेको तथ्य गर्व गर्न लायक छ । यसका अलावा सम्पत्तिमा समानता, ज्यालामा समानता, राजनीतिक सामाजिक आर्थिक क्षेत्रमा पहँुच र समानताको प्रश्न आज पनि त्यतिकै गर्व गर्ने विषय हो । खासगरी राजनीतिक क्षेत्रमा प्रतिनिधित्वको सवालमा प्राप्त भएको हैसियत संसारका उन्नत प्रजातन्त्रभन्दा कम छैन । संसद्मा ३३ प्रतिशत उपस्थिति र स्थानीय तहमा ४० प्रतिशतभन्दा वढीको सहभागिता छ । संविधान र कानुनले नै वाध्य गरेको प्रतिनिधित्व, राष्ट्रपति र उपराष्ट्रपतिमा एक महिला, सभामुख र उपसभामुखमा एक महिला । मेयर र उपमेयरमा एक महिला अनिवार्य गर्ने सवैधानिक र कानुनी वन्दोवस्त अन्तर्राष्ट्रिय रुपमा नै समान हैसियत कायम गर्न गरिएको उदाहरणीय योगदानका रुपमा लिन सकिन्छ ।
मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने देवानी संहिताको माध्यमबाट अंशवण्डाको सट्टा ईच्छापत्र कायम गर्नमा असफल भएको बाहेक महिला–पुरुष बराबरीको मान्यतालाई आत्मसात गर्ने संवैधानिक र कानुनी प्रावधानहरुले समानताको आन्दोलनमा नेपाल हाराहारीमा छ । यसको श्रेय अन्तर्राष्ट्रि«य श्रमिक महिला दिवसलाई जान्छ भन्नु अन्यथा हुनेछैन ।
अन्तमा
शारीरिक र जैविकरुपमा महिला–पुरुषवीचमा भएको भिन्नतावाहेक अरु हिसावमा महिला–पुरुष समान छन्, समान अधिकारका हकदार हुन् भन्ने मान्यतालाई व्यवहारमा नै रुपान्तरण गर्न जरुरी छ । ‘माई वडी माई राईट माई च्वाईस’ भन्ने नारासँगै पुरुषले छाती खुला गर्न हुने महिलाले किन नहुने भन्ने कुरा र प्याण्टीमात्रै लगाएर हिंड्ने किशोरीको युरोपीय आन्दोलनले विद्यमान असमानताप्रतिको विद्रोहलाई संकेत गर्ने भए पनि समाजमा छाउन सक्ने विकृतिका बारेमा सचेत हुन त्यतिकै जरुरी छ । केही सचेतताका बीचबाटै समानताको आन्दोलन अघि बढाउँदा नै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस समानताको दिवस बन्नेछ ।
(लेखक वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?