logo
२०७८ कार्तिक ३ बुधवार



भाषिक गणनाका तीन प्रश्न

विचार/दृष्टिकोण |




प्रा.डा. दानराज रेग्मी

संविधानको धारा (६) ले मातृभाषाको रूपमा नेपालमा बोलिने सबै भाषालाई राष्ट्रभाषा मानेको छ । यसले नेपालमा भाषिक असमानताको अन्त्य गरेको छ । त्यसैगरी धारा (७) को उपधारा (२) ले प्रदेशमा नेपाली भाषाको अतिरिक्त बहुसङ्ख्यकले मातृभाषाको रूपमा बोल्ने एक वा एकभन्दा बढी भाषालाई प्रदेश कानून बमोजिम सरकारी कामकाजको भाषा बनाउन सकिने प्रावधान तोकेको छ । यसै संविधानको धारा (३१) को उपधारा (५) ले मातृभाषामा शिक्षा पाउन सक्ने अधिकार दिएको छ । यसै संविधानको धारा (३२) को उपधारा (१)ले हरेक व्यक्ति र समुदायलाई आफ्ना भाषाको उपयोग गर्न पाउने र उपधारा (३) ले आफ्नो भाषा र लिपि संरक्षण र प्रवद्र्धन गर्न पाउने अधिकार प्रदान गरेको छ । संविधानले निर्दिष्ट गरेका यी हक अधिकारको कार्यान्वयन केही निश्चित आधार तयार गर्नु पर्दछ । सबैभन्दा महत्वपूर्ण आधार भनेको विश्वसनीय भाषिक तथ्याङ्क नै हो ।
सङ्घीय गणतन्त्र पछि पहिलोचोटी २०७८ सालमा राष्ट्रिय जनगणना हुँदै छ । यस गणनाले पहिलेका जनगणनाले जस्तै पारिवारिक र व्यक्तिगत विवारण गरी दुईवटा मुख्य विषयमा तथ्याङ्क सङ्कलन गर्दै छ । पारिवारिक विवरणमा घरको संरचना, घरायसी सुविधा तथा घरपरिवार सम्बन्धी विवरण, परिवारले चलाएको साना घरेलु व्यावसाय र स्वदेश तथा विदेशमा रहेका व्यक्तिको विवरण जस्ता कुराहरू रहने छन् भने व्यक्तिगत विवरणमा शैक्षिक अवस्था, प्रजनन, भाषा, धर्म, अपाङ्गता, नागरिकता, वैवाहिक अवस्था, जातजाति, बसाइसराइ, रोजगारी जस्ता कुराहरू रहेका छन् । भाषिक गणना व्यक्तिगत विवरण अन्तर्गत पर्दछ । त्यसमा पनि व्यक्तिको जाति, भाषा, धर्म, नागरिकता र वैवाहिक स्थितिलाई जनसाङ्खिक विवरण अन्तर्गत राखिएको छ ।
वि.सं २००९–११ को जनगणनाले नेपालमा पहिलोपल्ट भाषाको पनि गणना गरेको थियो । यसपछिका हरेक जनगणनामा भाषाको पनि गणना हुँदै आएको छ । सुरूमा नेपालमा भाषाको सङ्ख्या ४४ देखाइएको थियो । पछिका जनगणनामा भाषाको सङ्ख्या थपघट हुँदै २०६८ को जनगणनामा आएर १२३ पुगेको छ । २०५८ सालको जनगणनादेखि व्यक्तिको मातृभाषा र दोस्रो भाषालाई जनसाङ्ख्यिक विवरण अन्तर्गत लिने गरिएको छ । तर त्यसले सही मातृभाषीको सङ्ख्या दिन सकेन । आफूले नबोले पनि पुर्खाले बोल्ने गरेको भाषालाई मातृभाषाको रूपमा बुझ्ने वा बुझाउने प्रयास गरियो । यसैको परिणाम स्वरूप वक्ता नै नभएका भाषामा पनि वक्ता देखिए, ज्यादै कम वक्ता भएका भाषामा पनि निकै वक्ता देखिन आए । लोपोन्मुख भाषा पनि सवल भाषाको रूपमा देखिन आए । तथ्याङ्कले नेपालको भाषिक चित्रलाई उतार्न सकेन । यस्ता तथ्याङ्कका आधारमा गरिने भाषिक योजनाको प्रतिफल आशा गरे अनुसार हुने भएन । त्यसैले २०६८ सालको जनगणना पूर्व भाषाविज्ञ तथा मातृभाषी अभियन्ताहरूले नेपालको जातिभाषिक जटिलतालाई हेरी व्यक्तिको मातृभाषा के हो ? व्यक्तिको दोस्रो भाषा के हो ? भन्ने दुईवटा प्रश्नमा व्यक्तिको पहिचान वा पुर्खाको भाषा के हो भन्ने थप प्रश्न राख्न तथ्याङ्क विभागलाई सुझाव दिएका थिए । विभागका तत्कालीन पदाधिकारीहरूले सुझावलाई सकारात्मक रूपमा ग्रहण गरे पनि विविध प्राविधिक कठिनाइका कारणले त्यति बेला थप प्रश्न राख्न सकिएन । आउँदो जनगणनामा भने विचार गर्न सकिने मौखिक प्रतिवद्धता पदाधिकारीहरूले दिएका थिए । दुई प्रश्नका आधारमा जनगणनामा भाषाको जनसाङ्खिक विवरण लिइयो ।
२०६८ को जनगणनाले ५९ प्रतिशत मानिसहरू एकभाषी देखाएको छ ।४१ प्रतिशत द्विभाषी रहेको, ३२.७ प्रतिशतले नेपाली भाषालाई दोस्रो भाषाका रूपमा उपयोग गरेको र नेपालका ९१ वटा मातृभाषाहरू दोस्रो भाषाका रूपमा प्रयोग भएको तथ्याङ्क दिएको छ । यस जनगणनाको समयमा अक्सर बसोबास गरेको स्थानबाट गणना गर्ने विधि अपनाइएकाले थुप्रै विदेशी भाषाहरू पनि गणनामा परेका छन् । दुई प्रश्नका आधारमा जनगणनामा लिइएको भाषाको जनसाङ्खिक विवरणले त नेपालको भाषिक स्थिति वास्तविकताभन्दा ज्यादै फरक र अविश्वसनीय देखायो । पुर्खाको भाषालाई मातृभाषाको रूपमा गणना गर्न पुगियो । नेपालमा नेपाली भाषा सरकारी कामकाज र पठन–पाठनको माध्यम भाषा भएकाले नेपालका थुप्रै अन्य मातृभाषी समुदायका बालबालिका र युवायुवतीले पहिलो भाषाको रूपमा नेपाली नै प्रयोग गरेको पाइन्छ । यो स्थलगत अध्ययनबाट प्राप्त यथार्थ हो । २०६८ सालको जनगणनामा भाषिक पहिचानलाई मातृभाषी अभियन्ताले चर्को रूपमा उठाएकाले केही जनजाति समुदायका सूचकले आफूले नबोल्ने तर पुर्खाले बोल्ने गरेको भाषालाई नै मातृभाषाको रूपमा लेखाएको पाइन्छ । यसको एउटा ज्वलन्त उदाहरण भुजेल भाषा हो । मोरङ जिल्लामा बसोबास गर्ने भुजेल जातिका मानिसहरू कसैले पनि भुजेल भाषा बोल्दैनन् । तर जनगणनाले भने मोरङमा मात्रै हजारौं सङ्ख्याले यस भाषालाई मातृभाषाको रूपमा प्रयोग गरिएको जानकारी दिएको छ । योभन्दा ठुलो नकारात्मक परिणति के हुन सक्छ र ?
नेपालका भाषा विज्ञले यस परिणतिलाई विभिन्न माध्यमले नेपाली समाजमा प्रष्ट पार्दै गए । भाषा आयोगको गठन भएपछि यस कुरालाई सरकारी निकायमा लान अलि सजिलो भयो । भाषाविज्ञ र मातृभाषी समुदायको राय बमोजिम भाषा आयोगले तथ्याङ्क विभागसँग समन्वय गर्ने काम ग¥यो । भदौ २६ गते राष्ट्रिय जनगणना तयारी सन्दर्भमा भाषा र जातजाति सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । भाषा सम्बन्धी कार्यपत्र प्रस्तोता र टिप्पणीकर्ताबाट थप प्रश्न राख्नु पर्ने सुझाव आयो । यसैको आधारमा भाषा आयोगमा विज्ञहरूले छलफल गरी पुनः तथ्याङ्क विभागमा विज्ञसहित छलफल भएपछि पुर्खाको भाषा कुन हो ? भन्ने प्रश्न थप्ने र परीक्षण जनगणनामा लैजाने कुरामा विभागले निर्णय गरी आवश्यक प्रक्रियामा लागेको छ । यो ज्यादै सह्रानीय कदम हो ।
परीक्षण जनगणनामा नेपालमा बोलिने भाषाहरूका सङ्ख्या निक्र्योल गर्नका लागि (क) ...(नाम)... ले बोल्न सिकेको पहिलो भाषा (मातृभाषा) कुन हो ? (ख) ...(नाम)... को दोस्रो भाषा कुन हो ? र (ग) ...(नाम)... को पुर्खाको भाषा कुन हो ? तीनवटा प्रश्नहरू राखिएका छन् । पहिलो भाषा (मातृभाषा), दोस्रो भाषा र पुर्खाको भाषाका परिभाषा सबैले बुझ्ने गरी उदाहरणसहित दिन भने सजिलो छैन ।
बालक जन्मेपछि बोल्न सिकेको पहिलो भाषालाई सामान्य रूपमा मातृभाषा भनिँदै आइएको छ । पहिलो भाषा भनेको घरमा बोलिने र बालककाल (शैशवावस्था) मा स्याहारसुसार गर्ने व्यक्ति (आमा वा अन्य) बाट बालकले सिकेको भाषा हो । यस्तो भाषाले विचार र सञ्चारको नैसर्गिक माध्यम बनेको हुन्छ । अर्को शब्दमा भन्ने हो भने बालकले सबैभन्दा पहिला बोल्न सिकेको भाषा पहिलो भाषा हो । यसलाई सबैभन्दा पहिले आर्जन गरेको भाषा पनि भनिन्छ । हाम्रो जस्तो बहुभाषिक देशमा विद्यालयमा प्रयोग गरिने भाषाको प्रभाव वा अन्य कारणले बालकले सुरूमा सिकेकोभन्दा फरक भाषा प्रयोग गर्दै जान सक्छ । जस्तो नुवाकोटको बुङ्ताङ गाउँमा तामाङ भाषिक समुदायका जन्मेको बालकले पहिले तामाङ भाषा सिक्दछ । विद्यालयमा गएपछि उसले नेपाली सिक्छ र पछि नेपाली भाषा नै बढी प्रयोग गर्दछ । यस्तो अवस्थामा उसको पहिलो भाषा कुन हो भन्ने निक्र्योल गर्न गाह्रो पर्न सक्छ । यस्तो अवस्थामा, बालकले भाषा प्रयोग गर्दा सबैभन्दा सजिलो महसुस गर्ने भाषालाई पहिलो भाषा भन्ने चलन छ । पहिलो भाषा भनेको सहज चाहिँ हुनै पर्दछ । यस्तो भाषालाई मानिसले जन्मदेखि जीवनको अन्तसम्म प्रयोग गरिरहन्छ । नेवार समुदायमा जन्मेको बालकले नेवार भाषा बोल्न जान्दैन र नेपाली भाषा बोल्दछ भने नेपाली पहिलो भाषा र नेवार उसको पुर्खाको भाषा हुन जान्छ ।
पहिलो भाषा (मातृभाषा) आर्जन गरिसके पछि शिक्षा आर्जन वा अन्य उद्देश्य मानिसले अर्को भाषा सिक्दछ । यसरी सिकिने र सिकाइने भाषालाई दोस्रो भाषा भनिन्छ । जस्तो धादिङको उत्तरी भेगमा रहेको तिप्लिङ गाउँका तामाङ समुदायका बालबालिकाले जन्मेपछि तामाङ भाषा बोल्न सिक्दछन् । तामाङ उनीहरूको पहिलो भाषा हो । पछि विद्यालयमा पढ्न जानेले नेपाली भाषा सिक्दछन् र नेपाली भाषा सिकाइन्छ । विद्यालय नजाले पनि विभिन्न सामाजिक परिवेशमा नेपाली बोल्न सिक्दछन् । यसरी सिकेको नेपाली भाषा उनीहरूको लागि दोस्रो भाषा हुन जान्छ । विदेशमा काम गर्न जानका लागि सिकेको भाषा दोस्रो भाषा हुन सक्दैन । सामान्यतया केन्द्र र प्रदेश सरकारको कामकाजी भाषा नै दोस्रो भाषा हुने गर्दछ । ब्यापक जनसम्पर्कको भाषालाई पनि सैद्धान्तिक रूपमा व्यक्तिको दोस्रो भाषा मान्ने चलन छ । यस्तो परिभाषालाई राष्ट्रिय अखण्डतामा आँच नआउने अवस्थामा मात्र सावधानीपूर्वक उपयोग गर्नु पर्ने हुन्छ । दोस्रो भाषा विशेषतः बालकले विद्यालयमा सिक्दछ । यस्तो भाषा छरछिमेक, साथी र सामाजिक परिवेशबाट पनि सिक्न सकिन्छ । विचारणीय कुरा के छ भने निजी विद्यालयमा बालकले अङ्ग्रेजी भाषा पनि सिक्दछ । अङ्ग्रेजी दोस्रो भाषा होइन । किनकि यस्ता विद्यालयमा पनि मूलतः नेपाली नै प्रयोग हुन्छ ।
पुर्खाको भाषा भनेको जातिभाषिक समुदायको परम्परागत वा ऐतिहासिक भाषा हो । यस्ता भाषालाई उक्त समुदायका वा सम्बन्धित पृष्ठभूमिका व्यक्तिहरूले वर्तमान अवस्थामा सम्बन्धित भाषाको प्रयोग गर्ने गरेको हुन पनि सक्छ, नहुन पनि सक्छ । परिभाषा अनुसार नबोले पनि दुरा र कुसुन्डाका लागि दुरा र कुसुन्डा भाषाहरू पुर्खाको भाषा हुन जान्छन् ।
एउटै व्यक्तिको पनि पहिलो, दोस्रो र पुर्खाको भाषा हुन सक्दछ । चाम्लिङ राईको आफ्नै भाषा छ । बसाइ सराइका कारणले वहाँ बान्तवा भाषी समुदायमा जन्मन पुगेको चाम्लिङ राईका नानीले सबभन्दा पहिले बान्तवा भाषा बोल्न सिकेको पाइन्छ । यस अवस्थामा बान्तवा पहिलो भाषा ( मातृभाषा) हो । नबोले पनि चाम्लिङ पुर्खाको भाषा हो । त्यस्ता नानीले विभिन्न सामाजिक परिवेश र विद्यालयमा सिकेको नेपाली भाषा दोस्रो भाषा हो । यो नेपालको भाषा प्रयोगको वास्तविक अवस्था हो ।
पूर्खाको भाषा के हा े? भन्ने प्रश्न अझै परीक्षणको क्रममा नै छ । भाषाविज्ञ र भाषिक समुदायले यसको उपादयता बुझेका छन् । यो प्रश्न समावेश हुने वित्तिकै नबोल्ने तर नाम छुटाउँदा मन खिन्न बनाउने मानिसले ढुक्कसँग जातीय पहिचानको पुर्खाको भाषा लेख्न पाए । यसले जातिगत एकतामा ठुलो वल पनि दिन्छ । आफ्नो पहिचानको भाषाको नाम लेखाएपछि बोल्ने तर नाम लेखाउन नचाहने मानिसले पनि पहिलो वा मातृभाषाको रूपमा लेखाउन पाए । त्यसपछि सिकेको भाषालाई दोस्रो भाषाको रूपमा लेखाउन पाए । यसो हुँदा पहिचानको भाषा पनि छुटेन । पहिलो भाषा बोल्नेको विश्वसनीय तथ्याङ्क पनि आउने भयो । यस्ता तथ्याङ्कका आधारमा पुर्खाको भाषा पुनर्जीवीकरण गर्न पनि योजना बनाउन सकियो । सरकारी सेवा र सुविधा प्रदान गर्दा कहाँ कुन भाषामा गर्ने भन्ने कुरामा अलमल पनि नहुने भयो । मातृभाषामा शिक्षा दिनु पर्ने समुदायको पनि सही पहिचान हुन जान्छ ।
तीनवटा प्रश्न राखिएमा भाषाको सही तथ्याङ्क आउने र भाषिक अधिकारलाई सुनिश्चित गर्ने आधार तयार हुनेछ । तर २०६८ सालकै सङ्ख्याका आधारमा ठूलो वा सानो भाषा भन्ने खेलमा लागेकालाई भने पक्कै ठेस लाग्नेछ । पहिलो भाषाको रूपमा नेपाली भाषाको वक्ता सङ्ख्या बढ्न सक्ने संभावना छ । पुर्खाको भाषाको रूपमा मातृभाषाको सङ्ख्या निकै बढ्ने छ । दोस्रो भाषाको रूपमा नेपालीको सङ्ख्या भने केही घट्छ । केहीक्षण आफ्ना भाषाका मातृभाषी वक्ता सङ्ख्या घटेको पाउँदा नराम्रो महसुस भने पक्कै नै हुन्छ । यसले समाजमनोवैज्ञानिक असर भने पार्ने छ । एकचोटी मुटुलाई अलि ठूलो पारी तथ्यपरक र विश्वसनीय तथ्याङ्क आएमा कुन प्रदेशमा, कुन स्थानीय निकायमा र त्यसभन्दा पनि साना सरकारी निकायमा कुन भाषा नेपाली भाषाको अतिरिक्त सरकारी कामकाजको भाषा बनाउने भन्ने प्रश्नको सहज समाधान निस्कने छ । भाषाविकासका योजनाले गति लिन सक्ने छन् ।
अनुमान र भावुकताका आधारमा सञ्चालन गरिएका मातृभाषाका कार्यक्रमले गति लिन सकेका छैनन् । मिथ्याङ्कमा राजनीति गर्नु हुँदैन । यसले भाषा उपयोगमा नकारात्मक भावना पैदा गर्दछ । नेपालमा मातृभाषा सही अर्थमा बचाउने हो भने सही तथ्याङ्कको आवश्यकता छ । तसर्थ भावी जनगणना मौका हो । यसमा भाषा सम्बन्धी व्यक्तिगत विवरण सही प्रकारले दिएर आफ्नो अहम् कर्तव्य निर्वाह गर्नु पर्दछ ।


(लेखक त्रिवि भाषाविज्ञान केन्द्रीय विभागका प्राध्यापक हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?