logo
२०८१ बैशाख १४ शुक्रवार



नेपालमा निकुञ्ज पर्यटन

विचार/दृष्टिकोण |




निनाम कुलुङ ‘मंगले’
विश्वमा समयको गतिसंँगै विभिन्न सेवामुलक क्षेत्रमा विविधिकरणले व्यापक रुप लिएको छ । त्यस्तै नेपालमा पनि पर्यटन क्षेत्रमा विविधिकरण हुँदै गएको छ । पर्यटनमा विविधिकरणको प्रसंगमा हेर्दा मरुभूमिको देश युनाइटेड अरब इमिरेटस् (युएई) जस्तो देशमा समेत कृत्रिम हिऊँको ढिस्को निर्माण गरेर स्की पर्यटनको प्रवद्र्धन गरिएको छ । स्मरणीय छ, युएई सरकारले स्की पर्यटनलाई विश्वकै पर्यटकीय ‘हब’मध्ये एक दुबई शहर लगायत अन्य शहरमा प्रवद्र्धन गरेको छ । कृत्रिम हिऊँको ढिस्को नै सही , त्यहाँ स्की गर्न÷खेल्न युरोपीयन देशका स्की खेल्नमा सौखिन पर्यटकहरुको भीड लाग्ने गरेको देखिन्छ । त्यसरी हेर्दा हाम«ोजस्तो भूपरिवेष्ठित देश नेपालमा पनि कृत्रिम समुद« बनाएर नांगा–भुतुङ्गा पर्यटकहरुको भीड लगाउन पाए कस्तो हँुदो हो ? तर नेपालमा हालसम्म त्यस्तो सम्भावनाका बारेमा कसैले अध्ययन–अनुसन्धान गरेको देखिएको छैन । यो विषयमा भविष्यमा कदम चालिएमा राम्रै हुने छ ।
जे होस्, नेपाल पनि पर्यटनका लागि अनेकौं सम्भावना भएका विश्वका केही देशमध्येमा पर्छ । चाहे त्यो भौगौलिक विविधताले होस्, चाहे त्यो जातीय विविधताले होस्, चाहे त्यो भाषिक विविधताले होस्, चाहे त्यो सांस्कृतिक विविधिताले होस्, चाहे त्यो विश्व सम्पदाकै होस्, चाहे त्यो जैविक विविधताले होस्, चाहे त्यो खेल पर्यटन लगायतका हिसाबले नै किन नहोस् । विश्वका एक से एक पर्यटकीय देशहरुसँंग दाँज्न सकिने सम्पदा र सम्भावनाहरु हाम्रो देशमा छन् ।
यसरी पर्यटन क्षेत्रमा आएको विविधिकरण सँंगसँगै आएको पर्यटकहरुलाई नयाँपन दिने लहरले गर्दा हाल विश्वका सौखिन पर्यटकहरु रोजी छानी आफ्नो गन्तव्य फेर्न थालेका छन् । त्यसैले त विश्वका अनेकौं देशहरुले पर्यटकहरुलाई अनेकौं खालका सेवा सुविधाहरु दिइरहेका छन्, पर्यटन व्यवसाय गरिहेका छन् । र, विविधखाले पर्यटनले फस्टाउने अवसर पाएको छ । त्यस्तै नेपाल आउने पर्यटकका लागि पर्वतारोहण, बन्जी जम्पिङ, प्याराग्लाइडिङ, जलयात्रा, पदयात्रा, चट्टान आरोहण, शिकार पर्यटन, माउन्टेन फ्लाइट, माउन्टेन बाइकिङ, हाईकिङ, मेडिटेसन, हेल्थ टुरिज्म, साहसिक पर्यटन, सांस्कतिक पर्यटन, अध्ययन पर्यटन, स्वस्थ्य उपचार पर्यटन (उपचार गर्न नेपाल आउने विदेशी), सिटी टुर, सामाजिक अध्ययन, जातजाति विशेषको धर्म र संस्कृति अवलोकन, भाषा आदिको सम्बन्धमा अध्ययन गर्न आउने पर्यटन, शिकार पर्यटन, चरा पर्यटन, वन्यजन्तु अवलोकन पर्यटन, जंगल सफारी पर्यटन, वन्यजन्तु अध्ययन–अनुसन्धान पर्यटन आदि इत्यादिको सम्भावना धेरै नै छ । तर, यहाँ छोटो चर्चा गर्न खोजिएको विषय चाहिँ निकुञ्ज पर्यटनको बारेमा हो ।
हो, मान्छेहरुले स्वीकारे पनि नस्वीकारे पनि वास्तवमा निकुन्ज पर्यटन हामी नेपालीका लागि अझ खासगरी ग्रामीण भेगका लागि आर्थिक आधार स्तम्भको रुपमा देखिन्छ । किनभने अधिकांश निकुञ्जहरु गाऊँ–घरका आसपासमा छन् । जे होस्, हालसम्म नेपालमा सगरमाथा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, शिवपुरी राष्ट्रिय निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज, खप्तड राष्ट्रिय निकुञ्ज, शे फोक्शुन्डो राष्ट्रिय निकुञ्ज, मकालु वरुण राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज लगायत लगभग दर्जनको हाराहारीमा राष्ट्रिय निकुञ्जहरु भए तापनि आम्दानी र पर्यटकहरुले भ«मण गर्ने गरेको संख्याको हिसाबले हेर्दा सगरमाथा, लाङटाङ र चितवन राष्ट्रिय निकुञ्जलाई नै निकुञ्ज पर्यटनको आधारस्तम्भ मान्नु पर्ने हुन्छ ।
नेपालमा पर्यटनको कुरा गर्दा हरेक क्षेत्रमा विदेशीको सुरुवाती योगदान रहेको देखिन्छ । चाहे त्यो आधुनिक होटल व्यवसाय होस् वा पदयात्रा पर्यटन होस् अथवा हिमाल आरोहण नै किन नहोस् । जस्तै होटलकै सन्दर्भमा पनि तत्कालीन सोभियत संघका नागरिक बोरिस लिसानोभिचले काठमाडाँैमा अहिले निर्वाचन आयोग भएको भवनमा पहिलोपटक ‘रोयल होटल’ नामक होटल खोलेपछि नेपाल आउने विदेशी पर्यटकले आधुनिक होटलको सेवा लिने आधारस्तम्भ खडा भयो । वास्तवमा बोरिसलाई नेपालको पर्यटन क्षेत्रको पनि होटल व्यवसायमा कखरा सिकाउने पहिलो व्यक्ति भन्दा फरक नपर्ला ।
नेपालमा निकुन्ज पर्यटनको आधारस्तम्भ खडा हुनुमा पनि विदेशी नागरिकको भूमिका छ । सन् १९६० को दशकमा बेलायती नागरिक जिम एडवर्डस्ले पहिलोपटक चितवनमा ‘टाईगर टप्स’ नामक होटल खोलेर निकुञ्ज पर्यटनको थालनी गर्नुभएको थियो । हाल आएर चितवन जिल्लाको सौराहा देशकै एउटा उदाहरणीय निकुञ्ज पर्यटनस्थल हुनुमा एडवर्डस्को महत्वपूर्ण योगदान छ । भलै वातावरणको नाममा डलर खान पल्केका कथित् वातावरणविद्हरुले बिना विकल्प त्यहाँ रहेका होटलहरु बन्द गर्नुपर्ने भनी केही वर्षअघि रडाको मच्चाएका थिए । हुन पनि हाल आएर केवल विदेशी पर्यटकहरु मात्रै नभएर उच्चमध्यम स्तरका आय भएका नेपालीहरु पनि त्यहाँ आन्तरिक पर्यटकका रुपमा जान थालेका छन् । जान थालेका मात्रै होइन, आन्तरिक पर्यटककै कारण चितवनका होटल व्यवसायीहरुले दरिलो आम्दानी गर्न थालेका छन् । त्यहाँ होटल, लज, गेस्ट हाउस, कटेज, मचान, होम स्टे आदि खुल्ने क्रम बढ्दो छ ।
नेपाल सरकारको तर्फबाट निकुञ्ज पर्यटनका लागि चाहे जत्ति सरसहयोग छैन, राष्ट्रले दिन सक्ने योगदान दिन सकेको छैन । एक किसिमले भन्ने हो भने नेपाल सरकार व्यवसायीहरुबाट मनग्गे कर लिन तयार छ । तर, राज्यको तर्फबाट व्यवसायीलाई दिनुपर्ने न्युनतम सेवा सुविधा दिन कन्जुस्याइँ गरेको पाइन्छ । सरकार भन्नु नै नेपालका कर्मचारी अर्थात् निजामती कर्मचारी हुन् । उनीहरु स्थायी सरकार पनि हुन् । त्यसैले ऐन, कानुन, नीति, नियम, विनियम, कार्यविधि आदि बनाउनमा मुख्यतया कर्मचारीतन्त्रको ठूलो हात हुन्छ । सरकार आज एउटा राजनीतिक पार्टीको आउँछ, भोलि अर्कोको आउँछ । त्यसैले नेपाली कर्मचारीले आत्मा साक्षी राखेर र राजनीतिकरणमा नपरी आप्mनो देश र जनताको हितलाई सर्वोपरि हित ठानेर काम गरेमा निकुञ्ज पर्यटनले मात्रै होइन, समग्र देशको पर्यटन र देशले नै उन्नति र प्रगति गर्न खासै समय लाग्ने थिएन !
(लेखक पर्यटन गतिविधिमा संलग्न हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?