logo
२०८१ बैशाख १४ शुक्रवार



फुटबलमा मछिन्द्रको उदय

शनिवार |




प्रजित शाक्य

मछिन्द्र क्लब नेपाली फुटबलमा नयाँ शक्तिका रूपमा उदाएको छ । नेपालको शीर्ष फुटबल लिग सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन भएपछि मछिन्द्रले यो उचाइ लिएको हो । यतिखेर मछिन्द्रको यत्रतत्र चर्चा भइरहेको छ । लिग फुटबल लामो समय चल्छ । सबैले सबै टिमविरुद्ध प्रतिस्पर्धा गर्नुपर्छ । यसका लागि सबैभन्दा पहिले त स्तरीय खेलाडी नै चाहिन्छ । बेन्च पनि त्यत्तिकै बलियो बनाउनुपर्छ । यसपालि लिग उपाधि जित्ने अभियानमा मछिन्द्रले यी सबै कुरामा ध्यान दिएको देखियो । लिग च्याम्पियन बन्ने लक्ष्यसहित ठूलो धनराशि खर्च गरेर मछिन्द्रले स्टार खेलाडी जुटायो । क्लबका अध्यक्ष प्रबोधवीर कंसाकारका अनुसार मछिन्द्रले यसपालि लिग खेल्न डेढदेखि पौने दुई करोड रुपियाँ बजेट बनाएको थियो । अन्य क्लबको औसत लगानी करिब एक करोड रुपियाँ थियो । उसले एक लाखको हाराहारीमा खेलाडीलाई मासिक तलब नै दिएको थियो । लिग हुँदा खेलाडीहरूलाई उच्चस्तरको वातावरण दिइएको थियो । लिग जित्न ठूलो लगानी गरेको उसले आज त्यसको प्रतिफल पाएको छ । नतिजा निकाल्न लगानी गर्नुपर्छ भन्ने पाठ पनि उसले अन्य क्लबलाई सिकाएको छ ।
मछिन्द्र परम्परागत फुटबल शक्ति भने होइन । तर, यसपालि मछिन्द्रले लिएको उद्देश्य ठूलो थियो । उसले लिग खेल्न राष्ट्रिय टिममा सामेल नौजना खेलाडीलाई आफ्नो क्लबमा भिœयाएर नेपाली फुटबलमा ठूलो खैलाबैला मच्चायो । पूर्वविजेता मनाङ–मस्र्याङ्दी र थ्री स्टारबाट थुप्रै खेलाडी उसले आफ्नो टिममा ल्यायो । यसले सधैँ उपाधि दाबेदारका रूपमा रहने नेपाली फुटबलका यी दुई हेभिवेट क्लबको टिम संरचनालाई नै कमजोर तुल्यायो । मछिन्द्रको यस चलाखीले लिग पूर्व नै नेपालका परम्परागत फुटबल महाशक्ति मनाङ–मस्र्याङ्दी र थ्री स्टार कमजोर भइसकेका थिए । अझ मछिन्द्रका आयातीत खेलाडी पनि तुलनात्मक रूपमा अन्य क्लबका भन्दा उत्कृष्ट थिए । नेपाली लिगमा दबदबा जमाएका नाइजेरियाका दुई र क्यामरुनका एक खेलाडीलाई पनि अनुबन्ध गरेर मछिन्द्रले आफूलाई उपाधिको प्रमुख दाबेदारका रूपमा प्रस्तुत गरेको थियो । यसरी मछिन्द्रले यस लिगका लागि गहन अध्ययन गरेर सर्वश्रेष्ठ टिम बनाएको थियो ।
स्टार खेलाडीलाई जमघट गरेरमात्र खेल जितिन्छ भन्ने होइन । स्टार खेलाडीलाई एकजुट भएर खेलाउने प्रशिक्षक पनि चाहिन्छ । मछिन्द्रले यस कार्यमा प्रवेश कटुवाललाई विश्वास ग¥यो । प्रशिक्षकका रूपमा प्रवेशको ए डिभिजन लिगमै पदार्पण भएको हो । मछिन्द्रको यो निर्णय पनि सही साबित भयो ।
मछिन्द्रले लिगभर च्याम्पियन टिमकै रूपमा खेल्यो । एक, दुई खेललाई छाड्ने हो भने उसले लिग अवधिभर स्थिर प्रदर्शन ग¥यो । मछिन्द्रले खेलेको १२ खेलमा दस जित, दुई बराबरी र एक हार भयो । सातौँ चरणमा हिमालयन शेर्पा क्लबसँग उसले अप्रत्यासित हार बेहोरेको थियो । त्यसबाहेक मनाङ–मस्र्याङ्दी र च्यासल क्लबलाई मात्र उसले हराउन सकेन ।
मछिन्द्रलाई उपाधि प्राप्त गर्न भने कडा प्रतिस्पर्धा गर्नुप¥यो । दुई महिनाभन्दा लामो सहिद स्मारक ए डिभिजन फुटबल लिगको फाइनल खेलमा मछिन्द्र र आर्मी भिड्नुअघिसम्म पनि लिग विजेताको तस्बिर सफा भइसकेको थिएन । यद्यपि, फाइनलमा घरेलु फुटबलको रोमाञ्च भने चरमसीमामा पुग्यो । उपाधिको होडमा मछिन्द्रको त्रिभुवन आर्मी क्लबसँग कडा प्रतिस्पर्धा चल्यो । अझ भन्नुपर्दा अन्तिम खेलसम्म अङ्कका आधारमा आर्मी नै आगाडि थियो । अन्तिम खेलअघि दुवै टिमको १२ खेलमा नौ जित, दुई बराबरी र एक हारमा थिए । गोल अन्तर हेर्ने हो भने मछिन्द्र एक गोलले अगाडि थियो । यद्यपि, गत लिगमा पुछारबाट दोस्रो स्थानमा रहेर एक ऋण अङ्क बोकेकाले मछिन्द्रको २८ अङ्कमात्र थियो भने आर्मी २९ अङ्कसहित लिगको शीर्षस्थानमा थियो । त्यसैले मछिन्द्रका लागि सो ऋण अङ्क घातक हुन सक्ने अनुमान थियो । यही ऋण अङ्कका कारण आर्मीलाई फाइनल खेलको बराबरीले पनि उपाधि दिलाउने तर मछिन्द्रलाई च्याम्पियन बन्न आर्मीलाई हराउनैपर्ने बाध्यता थियो । अन्तिम खेलमा मछिन्द्रले बाजी मा¥यो । आर्मी क्लबलाई १–० ले हिस्स पार्दै मछिन्द्र च्याम्पियन बन्यो । नेपालको घरेलु लिगले नयाँ विजेता पायो ।
लिग इतिहास हेर्ने हो भने मछिन्द्र ठूलो नाम होइन । तर, मच्छिन्द्र क्लब र फुटबलको नाता धेरै पुरानो छ । २०३० सालमा सुमनलाल बानियाँ, नारायणप्रसाद श्रेष्ठलगायत अन्य फुटबलप्रेमीले एउटा चिया पसलमा आफ्नै फुटबल क्लब खोल्ने योजना बनाउनुभयो । यो योजनालाई पूर्णता दिन उहाँहरूजस्ता उत्साहित युवाले धेरै समय लगाएनन् । उहाँहरूले यस क्लबको नाम आफ्नै टोलमा रहेको भगवान् सेतो मच्छिन्द्रनाथ मन्दिरबाट राख्नुभयो । २०३० सालमा स्थापना भएकै वर्ष मछिन्द्रले डी डिभिजन लिग खेल्यो । त्यही वर्ष नै मछिन्द्र सी डिभिजनमा उक्लन सफल भयो । उसले सी डिभिजन पार गर्न एक वर्षभन्दा बढी समय लगाएन । सीबाट पनि बीमा जान मच्छिन्द्र क्बललाई मात्र एक सत्र लाग्यो । बी डिभिजन खेलेको पहिलो वर्ष नै मच्छिन्द्रले दोस्रो स्थान हासिल ग¥यो । तर, त्यो बेला बी डिभिजनबाट एउटा मात्रै टिमले ए डिभजिनमा प्रवेश पाउने नियमले मछिन्द्रलाई दोस्रो डिभिजनको लिगमै रहन बाध्य तुल्यायो ।
त्यसपछि भने मच्छिन्दले बी डिभिजनबाट माथि उक्लन २९ वर्ष सङ्घर्ष गर्नुप¥यो । २०६० सालमा मच्छिन्द्र नेपालको शीर्षस्थ लिगको निकै नजिक थियो । तर, अन्तिम खेलमा पराजित भएपछि मच्छिन्द्र ए डिभिजनबाट प्रवेश पाउनबाट रोकियो । २०६२ सालमा अन्ततः बी डिभिजनको उपाधि विजेता बनेर उसले लामो समयदेखि साँचेर राखेको सपना साकार पा¥यो । ए डिभिजनमा पहिलो वर्ष मुस्किलले रेलिगेसन पार गरे पनि दोस्रो सत्रमा मच्छिन्द्रले छैटौँ स्थान हासिल ग¥यो । यो सत्रमा मच्छिन्द्रले ‘फेयर प्ले’को उपाधि जित्न सफल भयो । त्यसपछि च्याम्पियन बन्नुअघि मछिन्द्रको ए डिभिजन लिगमा ठूलो उपलब्धि भनेको उपविजेता हो । यो उपलब्धि २०७० सालमा प्राप्त भएको थियो । यसपालि मछिन्द्रले च्याम्पियन बनेर नेपाली फुटबलको इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले लेखाउन सफल भएको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?