logo
२०८१ बैशाख ३० आईतवार



पशु आहार सुरक्षा

विचार/दृष्टिकोण |




रामेश्वरसिंह पाण्डे

नेपालमा बहुसङ्ख्यक परिवारको जीविकोपार्जनको आधार नै कृषि भएकाले, अधिकांश कृषक खेतिपातीसँगै पशुपालन गर्दै आएका छन् । पशुपालन व्यवसायले देशको अर्थतन्त्रमा पनि महŒवपूर्ण स्थान ओगटेको छ । पशुपन्छी मन्त्रालयको तथ्याङ्कअनुसार पशुपालनले कुल गार्हस्थ उत्पादनको करिब ११ प्रतिशत स्थान ओगटेको छ ।
हाल नेपालमा गाई (७३ लाख दुई हजार), भैँसी (५१ लाख, ६८ हजार), भेडा (आठ लाख), बाख्रा (एक करोड, नौ लाख), बङ्गुर (१२ लाख, ९१ हजार) छन् । जसबाट दूध (१८ लाख, ५४ हजार मेट्रिक टन), मासु (तीन लाख, २२ हजार मेट्रिक टन), ऊन (पाँच लाख, ८८ हजार किलो) उत्पादन हुन्छ ।
नेपालमा करिब २५ लाख दुधालु गाई–भैँसीहरू छन्, जसबाट बर्सेनि १९ लाख टन दूध उत्पादन हुने गर्दछ । दुधालु पशुहरूमा भैँसीको सङ्ख्या र दूध उत्पादन केही बढी छ । कुल उत्पादित दूधको करिब १५ प्रतिशतमात्र बजारीकरणका लागि विभिन्न प्रशोधन कारखानामा पुग्छ, बाँकी गाउँघरमै खपत हुने अनुमान छ । दूध मूल्य शृङ्खलामा प्रत्यक्ष रूपमा करिब पाँच लाख परिवार आवद्ध रहेको अनुमान गरिन्छ ।
हाल व्यावसायिक पशुपन्छीपालन पनि फस्टाउँदै गएको छ । हाल नेपालमा करिब तीन हजार मध्यम तथा ठूला स्तरका व्यावसायिक गाई–भैँसी फर्महरू दर्ता छन् । जसमा १० देखि ३०० सम्म उन्नत जातका करिब ४५ हजार दुधालु गाई–भैँसी पालिएका छन् । यस्ता व्यावसायिक फर्महरूमा ९० प्रतिशत जर्सी तथा होल्सटन र बाँकीमा मुर्रा जातका भैँसी छन् । तर, पशु आहारका रूपमा प्रयोग हुने घाँस, स्याउला, दाना तथा अन्य पोषण पदार्थको उचित व्यवस्था तथा आवश्यकताअनुसार आपूर्ति हुन नसकिएकाले पशुपक्षीपालन व्यवयायबाट आशातीत लाभ लिन सकिएको छैन ।
गाउँघरतिर पशुलाई चराएर तथा मानव भोजनमा प्रयोग नहुने कृषिजन्य उपपदार्थ जस्तै पराल, ढुटो, चोकर, पिना आदि खान दिएर पालिन्छ । यस्तो अवस्थामा पशुहरूले आवश्यक पोषण पाइरहेका हुँदैनन् । जसले गर्दा नेपालमा पालिने अधिकांश पशुपन्छी अर्धभोकमरीको अवस्थामा छन् । त्यसबाट क्षमताअनुसारको उत्पादन लिन सकिएको छैन । उदाहरणका लागि हामीले पालेका गाईहरूको औसत दूध उत्पादन प्रतिवर्ष प्रतिगाई ६४६ लिटरभन्दा कम रहेको छ । विकसित देशमा एउटा औसत गाईले वर्षमा तीन हजार लिटर दूध दिन्छन् । नेपालमा औसत दूध उत्पादन कम हुनुका मुख्य कारणमा असल, पोषणयुक्त आहारको कमी तथा कम दूध उत्पादन क्षमता भएका पशुले गर्दा हो ।
नेपालमा हाल मागको तुलनामा सुखा पशु आहारको आपूर्ति करिब १३ प्रतिशतले कम रहेको अनुमान गरिएको छ । तर, पोषणका आधारमा पशु आहारको कमी ५० प्रतिशतभन्दा बढीको अनुमान छ । पशु आहारको माग तथा आपूर्तिको अनुमान गर्दा परालजन्य आहारलाई पनि समावेश गरिएकाले सुख्खा आहारको कमीको तुलनात्मक रूपमा कम देखिएको हो । मागको तुलनामा परालजन्य आहारको उत्पादन ४७ प्रतिशतले बढी देखिन्छ । तर, दाना र हरियो घाँसको उत्पादन मागको तुलनामा क्रमशः १९ प्रतिशत र २२५ प्रतिशतले कम रहेको छ । यसरी पशु आहारका रूपमा पोषणविहीन पराल आदिको आपूर्ति बढी र हरियो घाँस र दानाको उत्पादन कम भएकाले धेरैजसो पशुहरू कुपोषणग्रस्त तथा अर्धभोकमरीको अवस्थामा छन् । यसरी पशु पोषणको स्थिति निकै भयावह रहेको पाइन्छ ।
मानिसले जस्तै पशुपन्छीको पनि उचित पोषण तथा आहारमा सरल पहुँच तथा उपलब्धताको प्रत्याभूत हुनुपर्दछ । यसरी पशुपन्छी आहार सुरक्षा भन्नाले “सबै पशुपन्छीको उत्पादन र उत्पादकत्व कायम राख्नका लागि हरबखत पोषणयुक्त उचित पशु आहारको उपलब्धता र पहुँच हुने अवस्थालाई पशु आहार सुरक्षा” भनिन्छ ।
पशु आहार सुरक्षा नेपालका लागि नयाँ अवधारणा हो । “अजिङ्गरको आहार दैव” ले पु¥याउँछ भन्ने मान्यता रहेको हाम्रो परिवेशमा बस्तुभाउ चरिचरन तथा पराल आदिको भरमा बाँच्छन् । उत्पादन दिन्छन् भन्ने सोचाइ पाइन्छ । तर, हालै पशुपन्छीपालनले व्यावसायिक रूप लिएपछि बस्तुभाउलाई पनि पोषिलो तथा उचित आहार पानीको आवश्यकता पर्छ भन्ने मान्यताको विकास हुँदै गएको छ ।
नेपालको पारिवारिक आयस्रोत र रहनसहनमा विकास भएसँगै पशुजन्य पदार्थको माग पनि बढिरहेको छ । यसका लागि विदेशी जातका बढी उत्पादनशील पशुपन्छीको पालन पनि लोकप्रिय बन्दै गएको छ । यी बढी उत्पादन क्षमताका पशुपन्छीलाई उचित तथा सन्तुलित आहारको व्यवस्थापन गर्नुपर्छ, नत्र यसले आफ्नो पैतृक क्षमताअनुसार उत्पादन दिन सक्दैन ।
हाल नेपालमा पोषिलो उन्नत जातका घाँसखेती तथा सन्तुलित दानाको विकास तथा विस्तार प्रारम्भिक अवस्थामा रहेकाले सबै पशुपन्छीले उचित पोषणयुक्त आहार उपलब्ध हुन सकिरहेको छैन । मानिसको खाद्य सुरक्षाको प्रत्याभूति सरकारबाट भएझैँ, पशुपन्छीका लागि पनि पशु आहार सुरक्षाको सुनिश्चितता हुनु आवश्यक छ । नेपालमा पशुपन्छीको क्षेत्रमा विभिन्न नीति, नियम तथा कार्यक्रम बनेका छन् तर पशु आहार सुरक्षाका लागि कुनै खास नीति तथा कार्यक्रम बन्न सकेको छैन ।
पशुपन्छीपालनको विकास, प्रवद्र्धन तथा उत्पादन र उत्पादकत्वको दिगोपनका लागि पशु आहार सुरक्षा अति आवश्यक पक्ष हो । विशेषतः पशु आहार तथा दानाको बढ्दो मूल्यले गर्दा पशुपन्छीजन्य उत्पादनको लागत बढिरहेको छ । जसले गर्दा बजार प्रतिस्पर्धी पशुपन्छीजन्य उत्पादन कायम राख्नु नेपाली व्यवसायीका लागि ठूलो चुनौती बनेको छ । यही अवस्था केही वर्षसम्म कायम भएमा पशुपन्छी पालन व्यवसाय केही वर्षमै धराशयी हुन बेर लाग्दैन ।
पशु आहार सुरक्षाको मुख्य उद्देश्य पशुपन्छीबाट अधिकतम लाभ लिन पशुपन्छी आहारको उत्पादन तथा उपलब्धताको सुनिश्चितता गरी कम लागतमा पशुपन्छीको उत्पादकत्वलाई कायम राख्नु रहेको छ । पशुपन्छीको उत्पादकत्व वृद्धि र बढ्दो पशुपन्छीजन्य पदार्थको माग पूरा गर्न सर्वप्रथम सबै पशुपन्छीका लागि पोषिलो आहारको सुनिश्चितता हुनुपर्छ । यसका लागि पशु आहारका हालका उपलब्ध स्रोत–साधनको उत्पादकत्व वृद्धि गर्नु, हाल प्रयोगमा नआएका स्रोतको दोहन, उपयोग, घाँसखेतीको विस्तार वा आयातीत आहारबाट पोषणयुक्त आहारको माग पूरा गर्नुपर्ने हुन्छ ।
नेपालका प्रमुख आहारका मुख्य स्रोतमा बालीजन्य उपपदार्थ (पराल, ढोँड, नल), अन्नजन्य उपपदार्थ (ढुटो, चोकर, पिना), प्राकृतिक घाँसपात स्याउला, चरिचरन, खेती गरिने घाँसबाली तथा प्राणीजन्य पदार्थ हुन् । पराल, नल, ढोँडमा पोषक तŒव नगन्य मात्रामा हुने भएकाले यसले पशुको पेट भर्ने काममात्र गर्दछ । प्राकृतिक घाँस, स्याउला पशु आहारका राम्रा स्रोत हुन् । तर, धेरैजसो यस्ता घाँस अकोशे भएकाले आवश्यक मात्रामा प्रोटिन तथा अन्य पोषक तŒव केही कम हुन्छ । सबैभन्दा उत्तम पशुपन्छी आहार उग्य्राउने पशुका लागि हरियो, पोषिलो कोसे र अकोसे घाँसको मिश्रण हो । यो साधारण पेट हुनेहरूका लागि सन्तुलित आहार हो । तर, हरियो पोषिलो घाँसको उत्पादन न्यून मात्रामा हुने र सन्तुलित दाना तथा अन्नजन्य उपपदार्थ तुलनात्मक रूपमा महँगो हुने भएकाले आर्थिक रूपमा त्यति किफायती मानिन्न । त्यसैले नेपालको सन्दर्भमा पशु आहारको कमी पूरा गर्न तथा पशु आहार सुरक्षाका लागि निम्नबुँदामा सुधार ल्याउनुपर्छ ः
(क) घाँसेबाली खेतीको विस्तार, (ख) चरन क्षेत्रको उत्पादकत्वमा सुधार, (ग) सामुदायिक वन तथा एलानी पर्ती जग्गामा घाँस तथा कृषि वन प्रणालीको विस्तार, (घ) कृषिजन्य उपपदार्थको पौष्टिकतामा सुधार गरी समुचित उपभोग, (ङ) घाँस संरक्षण, (च) घाँसेबाली तथा दानाको उत्पादन र वितरण छ । उन्नत बढी उत्पादन दिने पशुको पालनपोषण आदिमा विशेष ध्यान दिनुपर्छ । नेपालको विद्यमान भौगोलिक विविधताका कारण विभिन्न पशुपन्छीपालन व्यवसाय गरी पशुजन्य पदार्थको उत्पादनमा देशलाई आत्मनिर्भर बनाई, निकासीजन्य पदार्थको विकास गर्ने प्रचुर सम्भावना छ ।
(लेखक पशु तथा आहार विज्ञ हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?