logo
२०८१ बैशाख १४ शुक्रवार



प्रोस्टेट शल्यक्रिया

विचार/दृष्टिकोण |




प्रो. डा. अर्जुनदेव भट्ट

संसारभरिका मूत्ररोग विशेषज्ञहरूले सबैभन्दा बढी शल्यक्रिया प्रोस्टेट ग्रन्थीमा गर्दछन् । यो ग्रन्थी पुरुषहरूमा मात्र हुन्छ । प्रायः ४० वर्षपछिको उमेरमा प्रोस्टेट ग्रन्थीका कोशिकाहरूको अति वृद्धि हाइपरप्लेजिआ प्रक्रिया देखापर्ने भएकाले धेरै पुरुष आफ्नो जीवनमा मूत्र निष्कासन समस्या अनुभव गर्छन् ।
प्रोस्टेट ग्रन्थी मूत्राशयको फेदमा रहेको करिब २० ग्राम जतिको झण्डै ओखरजत्रो र त्यस्तै आकारको पुरुष प्रजनन प्रणालीको एउटा अति महìवपूर्ण अङ्ग हो । यसले मूत्रनलीको सुरुको भागलाई चारैतिरबाट घेरेर राखेको हुन्छ । ओखरको बाहिरको कडा बोक्राजस्तै यसको पनि नतन्कने खोल हुन्छ । त्यसैले यो अङ्गको कोशिकाहरूको अति वृद्धि सुरु भएपछि यसले मूत्रनलीको बीचको प्वाललाई साँगुरो पार्दै जान्छ । मूत्रनलीको तलतिर रहेका ग्रन्थीहरूको वृद्धि हुँदा छेउतिर फैलिन नसक्ने भएकाले मूत्रनलीकै प्वाललाई ढाक्दै ल्याउने हुन्छ । यद्यपि सधैँ प्रोस्टेट ग्रन्थीको तौल र मूत्र अवरोधको सोझो सम्बन्ध हुँदैन तर पनि ठूलो ग्रन्थीले पिसाबमा बाधा पार्ने सम्भावना प्रशस्त हुन्छ ।
पिसाब निस्कन परेको बाधाले मूत्रको वेगमा कमी ल्याउने, पिसाबको धारा मसिनो पार्ने, पूरा पिसाब एकैपल्टमा निख्रन नदिने, छिटोछिटो फेरि राख्नुपर्ने, सुतेपछि पिसाब फेर्न उठ्नुपर्ने जस्ता लक्षण हुने गर्दछ । यस्ता लक्षण देखिएपछि मूत्राशय तथा मूत्रनलीका नसाहरूमा असर परेर पिसाब लागेपछि रोक्नै नसकिने, कहिलेकाहीँ पिसाब चुहिने, छिटोछिटो पिसाब हुने, पिसाबनली पोलेको अनुभूति हुने इत्यादि उत्तेजनात्मक लक्षण पनि देखा पर्छन् । पिसाबमा देखापरेका यस्ता लक्षणबाट मुक्ति पाउन अपनाइएका उपाय तथा औषधि उपचारबाट आशा गरेअनुरूप परिणाम नपाए पुरुषलाई प्रोस्टेट ग्रन्थीको शल्यक्रिया गराउनुपर्ने हुन्छ ।
शल्य उपचारको अवस्था ः
– पूर्ण रुपमा पिसाब रोकिए ।
– पिसाब भएको बेलामा पनि थैलीमा थुप्रै बाँकी रहेर सुतेको बेलामा चुहिने भए ।
– मूत्राशय, मूत्रवाहिनी नली र मिर्गौला फुलेर पिसाबबाट विषालु पदार्थ पूरा निस्कन नसके ।
– बारम्बार मूत्र सङ्क्रमण भइरहे ।
– मूत्र रक्तस्राव भए ।
– मूत्राशयमा पत्थरी जमे ।
– औषधि उपचारबाट सन्तोष हुने गरी मूत्र सञ्चारमा फाइदा नभए ।
शल्यक्रियाको तयारी ः
शल्यक्रिया सुरक्षित राख्न चाहिने सबै परीक्षण गर्नु अनिवार्य हुन्छ । मुख्यतया फोक्सो, मुटु, मिर्गाैला, स्नायु तथा पाचनप्रणालीको परीक्षण गरिन्छ । पिसाब र रगत जाँच, छातीको एक्सरे, ईसीजी, युएसजी जस्ता परीक्षण अनिवार्य प्रायः हुन्छन् । बिरामीका अन्य रोग के के छन् र कुन उपचारका लागि के औषधि खाइरहेको छ त्यसको निरन्तर सोधपुछ गरिन्छ । पछिल्ला वर्षमा रगत पातलो पार्ने औषधिको प्रयोग थुप्रै बिरामीबाट हुने भएकाले त्यसको विवरण लिनुपर्दछ । मुटु विशेषज्ञको निगरानीमा यस्ता औषधि केही समय बन्द गर्नुपर्ने हुनसक्छ । बिरामीले शल्यक्रियाको छ घण्टा अगाडिदेखि खान र पिउन पनि बन्द गर्नुपर्छ । उच्च रक्तचाप तथा थाइराइडको औषधि भने एक चम्चा पानीसँग निल्न मिल्छ ।
शल्य उपचार ः
यो उपचार विधि परम्परागत तरिकाले चिरेर वा आधुनिक औजारको सहयोगले कुनै बाहिरी घाउ नबनाई गर्न मिल्छ । जुनसुकै तरिका अपनाए पनि मुख्य उद्देश्य मूत्रनलीको अवरोध हटाउनु हो । हाल परम्परागत तरिकाबाट शल्यक्रिया गरिँदैन । आधुनिक औजार मूत्रनलीबाट मूत्राशयमा पठाएर विभिन्न ऊर्जाको सहयोगले प्रोस्टेट ग्रन्थीको बढेको भागलाई सानो सानो टुक्रा गरेर बाहिर निकालिन्छ । यसरी निकालिएका तन्तुको सूक्ष्म जाँच गरेर प्रोस्टेट क्यान्सर भए, नभएको टुङ्गो लगाइन्छ ।
शल्यक्रिया समाप्त भएपछि मूत्राशयमा प्रायः ४८ घण्टाको निम्ति क्याथेटर (रबरको नली) लगाइन्छ । पिसाब सफा भएपछि नली निकालेर बिरामीलाई घर पठाइन्छ । दिसा कडा नराख्न, गरुङ्गो वस्तु नउठाउन, तरल पदार्थको सेवन उचित मात्रामा गर्न र छ हप्तासम्म यौन सम्बन्ध नराख्न सल्लाह दिइन्छ ।
सम्भावित जटिलता ः
१५ प्रतिशत बिरामी शल्यक्रियाको केही महिनासम्म पिसाब रोक्न गाह्रो अनुभव गर्ने र छिनछिनमा पिसाब फेर्ने गर्छन् । छ प्रतिशत बिरामीमा मूत्र रक्तस्राव हुने गर्छ । त्यस्तो भए आराम गर्ने र तरल पदार्थको मात्रा बढाउनुपर्छ । त्यति गर्दा पनि रातो पिसाब भइरहे चिकित्सकको सल्लाह लिनुपर्छ ।
करिब सात प्रतिशत बिरामीको मूत्रनली वा मूत्राशयको घाँटी साँघुरिएर त्यसको उपचार गराउनुपर्ने हुन्छ । ६५ प्रतिशत बिरामीमा यौनसम्बन्धपछि वीर्य स्खलन उल्टो हुन्छ । वीर्य बाहिर नभएर मूत्राशयभित्र हुन्छ । धेरै बिरामीको चिन्ता प्रोस्टेट ग्रन्थीको शल्य उपचार पटकपटक गरिराख्नुपर्ने हुन्छ कि भन्ने हुन्छ । ८५ प्रतिशत बिरामीलाई शल्यक्रिया दोहो¥याउनुपर्दैन । १० प्रतिशत बिरामीमा १५ वर्षभित्र फेरि शल्यक्रिया गर्नुपर्ने हुनसक्छ । पाँच प्रतिशत बिरामीलाई मात्र पाँच वर्षभित्रै फेरि शल्य उपचार गर्नुपर्छ ।
प्रोस्टेट शल्य उपचारको एउटा अर्को फाइदा छ । कुनै बिरामीमा प्रोस्टेट क्यान्सर लुकेर रहेको अवस्थामा थियो भने त्यो पनि समयमै थाहा हुन्छ । प्रोस्टेट शल्यक्रियाले ग्रन्थीको क्यान्सर गराउने वा त्यसबाट कसैलाई विमुक्ति प्रदान गर्न भने सक्दैन । प्रोस्टेट शल्यक्रिया मूत्र सञ्चालन सुचारु राख्ने एउटा उत्तम विधि हो ।

(लेखक वरिष्ठ कन्सल्टेन्ट युरोलोजिष्ट हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?