logo
२०८१ बैशाख १५ शनिवार



आदिवासी ज्ञानमा आर्थिक समृद्धि

विचार/दृष्टिकोण |




लक्की चौधरी

धनगढी–१६ धुर्जन्ना (कैलाली) बस्ने गम्वा थारू (७६) सँग थारू परम्परागत सीप र ज्ञानको भण्डार छ । त्यही सीप र ज्ञानको प्रयोगबाटै उहाँको घरव्यवहार चल्ने गर्छ । समयअनुसारका उपभोग्य सामान घरमै उत्पादन गरी नजिकको धनगढीबजारमा बिक्री गर्ने थारूको दिनचर्या हो । आफ्नै सीपले घरमै उत्पादन गरिएका सरसामान बिक्रीबाट आउने आम्दानी नै थारूको परिवार पाल्ने प्रमुख आयस्रोत हो । त्यही आम्दानीले घरजहान राम्रोसँग चलेको छ ।
थारूले परम्परागत ज्ञान सीपको माध्यमले बाँसका चोयाबाट रङ्गीविरङ्गी सुपो, नाङ्लो, बस्ने मुडा, थुन्चे, बेना (हातेपङ्खा) उत्पादन गर्छन् । त्यस्तै, स्थानीय तलाउबाट उत्पादित गुन (पानीमा पाइने एककिसिमको झार) बाट चटाइ, गुन्द्री, सुकुल उत्पादन गरी बिक्री गर्नुहुन्छ । खेतबारीमा काम गर्दा प्रयोग हुने छत्री (स्थानीय छाता), माछा समात्ने ढडिया, डिलियालगायतका सामान उत्पादन गरी स्थानीय रूपमै बिक्री वितरण गर्छन् । बाजे सेन्ध्वा थारू र बुवा दुःख्वा थारूबाट परम्परागत ज्ञान र सीप सिकेका गम्बा थारूको जीवन जिउने प्रमुख आधार त्यही परम्परागत ज्ञान र सीप बनेको छ ।
माछापुच्छ«े गाउँपालिका–१ घाचोक (कास्की) का श्याम गुरुङ (६१) सँग राडीपाखी र बख्खु बनाउने दक्षता छ । भेडाबाख्राको ऊनबाट तयार पारिने ती सामान उत्पादन गर्न समय र सीप दुवै लाग्छ । उहिले उहाँका पुर्खाहरूले त्यही पेसा अपनाएर घरजहान चलाउँथे । तर, अहिले ती सामान उत्पादनको लागत बढी लाग्ने र बजारमा सस्ता आधुनिक न्यानो कम्बल र बाक्ला कपडा सजिलै पाउने भएपछि स्थानीयस्तरबाटै उत्पादन हुने राडीपाखी र बख्खुको बजार तुलनात्मक रूपमा घटेको छ । परम्परागत ज्ञान सीपबाट उत्पादित सामान बिक्री गरेर गुरुङको घरजहान नचल्ने भएपछि अहिले उहाँ आफ्नै घरमा होमस्टे सञ्चालन गर्नुभएको छ । गाउँमा करिब ४० घरमा होमस्टे सञ्चालन सुरु भएपछि अर्गानिक खानेकुरा बिक्री र छिटपुट राडीपाखी र बख्खु बिक्रीबाट हुने आम्दानीले उहाँको घरजहान चलेको छ । आफूसँग भएको पुख्र्यौली सीप र ज्ञानको प्रयोग हुन छाडेपछि पुख्र्यौली सीप बिर्सने पो हो कि चिन्ता गुरुङको छ । महिनामा करिब चार–पाँचवटा राडी घरमै उत्पादन हुने गरे पनि बजार नपाउँदा अहिले उत्पादन घट्दै गएको उहाँको भनाइ छ ।
कैलाली भजनीबजारमा सिलाई सेन्टर खोलेर थारू लेहङ्गा–चोली उत्पादन गर्ने सुशीला चौधरी (४५) को आम्दानीको राम्रो स्रोत त्यही हो । उहिले गाउँघरमा प्रायः सबै थारू महिला सदस्यले हातैले लेहङ्गा चोली सिलाउँथे । तर, अहिले ती सीप र ज्ञान युवापुस्तामा हस्तान्तरण हुन नसक्दा ती सीप केही महिलामा सीमित हुन पुगेको छ । उसो त थारू गाउँघरमा पाका महिलाले मात्र दैनिक लेहङ्गा फरिया लगाउँछन् । युवती महिलाले प्रायः सलवार कुर्ता र गोनियाँ–चोली लगाउन मन पराउँछन् । तर सामाजिक कार्यक्रम, चाडपर्व, नाचगान तथा स्टेज कार्यक्रममा आफ्नै परम्परागत ड्रेसमा सजिन रुचाउँछन् । परम्परागत थारू पोसाक लेहङ्गा–चोली लगाउन छाडेपछि सिलाउने ज्ञान र सीप पनि बिस्तारै लोप हुँदै गएको छ । तर, जोसँग सिलाउने सीप छ, उसको आम्दानीको स्रोत भने बनेको छ । गाउँघरमा थारू पोसाक सिलाउने सीप ज्ञान धेरैसँग लोप भएपछि सुशीला चौधरीको सिलाइ सेन्टरमा त्यसको माग बढेको हो । उहाँले जिल्लाभरि थारू लेहङ्गा र चोली सिलाएर पु¥याउने गरेको र काठमाडौँमा समेत त्यसको माग बढेको बताउनुहुन्छ । थारू समुदायको प्रमुख पर्व माघी, ढुरहेरी (होली), दसैँको सखियानाचमा परम्परागत थारू पोसाकको माग बढेसँगै चौधरीको सिलाइ सेन्टर चम्केको छ ।
माथिका यी सीपजन्य पेसा र त्यसबाट हुने जीविकोपार्जनका केही उदाहरणमात्र हुन् । आदिवासी समुदायमा यस्ता सीप र ज्ञानको भण्डार छ । तर, त्यसको समुचित प्रयोग र संरक्षण हुन नसक्दा गाउँघरका सदस्यहरू पनि परनिर्भर हुन थालेका छन् । उहिले गाउँघरका आदिवासी समुदाय आफ्नै सीप, कला र ज्ञानको प्रयोगले आत्मनिर्भर थिए । अहिले बजारिया सामानमा लहसिएपछि बिस्तारै परनिर्भरतातर्फ उन्मुख भइरहेका छन् । त्यस्तो परनिर्भरताले आदिवासी ज्ञान, सीप र कलालाई पनि सङ्कटमा पारेको चिन्ता आदिवासी अगुवाहरूको छ । गम्बा थारूसँग भएको सीप उहाँका छोराछोरीमा हस्तान्तरण हुन नसके त्यो थारू ज्ञान र सीप मर्छ । त्यस्तै, सुशीला चौधरीसँग भएको थारू पोसाक बनाउने सीप र ज्ञान पुस्तान्तरण हुन नसके त्यो सीप पनि चौधरीसँगै विलीन हुन्छ । त्यस्तै, श्याम गुरुङसँग भएको परम्परागत ज्ञान र सीपको त प्रयोग अहिले नै धेरै कम भइसकेको छ । आम्दानीको अन्य स्रोततिर लहसिएपछि राडीपाखी बख्खु उत्पादनको सीप प्रयोगमा कमी आउने नै भयो । थारू, मगर, गुरुङ, नेवार तथा अन्य लोपोन्मुख आदिवासी जनजातिसँग आफ्नै किसिमका परम्परागत ज्ञान र सीप छन् । हिजो त्यही सीप र ज्ञानकै माध्यमले ती समुदायको गुजारा चल्ने गरेको थियो । तर, अवस्था अहिले फेरिएको छ ।
नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ आदिवासी ज्ञान र सीप पुस्तान्तरण हुन नसक्नु नै आदिवासीको आयआर्जनको माध्यम मासिँदै जानु हो भन्नुहन्छ । आदिवासी ज्ञान र सीप ती समुदायको आम्दानीको स्रोतसँगै जातीय पहिचानसमेत हो । गुरुङ भन्नुहन्छ, “युवापुस्तामा आदिवासी परम्परागत ज्ञान र सीप हस्तान्तरण गर्ने अभियान चलाउनुपर्छ ।” देश सङ्घीयतामा गएकाले स्थानीय सरकारको माध्यमबाट त्यस्ता ज्ञान र सीपबारे तालिम प्रशिक्षण, कार्यशाला, गोष्ठी गरेर युवालाई सो ज्ञानबारे जागरुक बनाउनुपर्ने खाँचो उहाँ देख्नुहुन्छ । देशलाई परनिर्भरताबाट जोगएर आत्मनिर्भर बनाउन पनि परम्परागत ज्ञान, सीप र कलाको संरक्षण तथा सदुपयोग अनिवार्य छ । राज्यले त्यसमा लगानी बढाए गाउँघरका सदस्यहरू फेरि आत्मनिर्भर हुने र त्यसबाट राष्ट्रिय आम्दानी पनि बढ्ने उपकुलपति गुरुङको सुझाव छ ।
उसो त आदिवासी समुदायका सदस्यले परम्परागत ज्ञान र सीपबाटै दुःख बिमार पर्दा हिजोसम्म उपचार गर्ने गर्थे । गाउँका धामीझाँक्री, गुरुवा वैद्यले दिने जडीबुटीको औषधिले नै ज्यान जोगाउँथे । कृषि पेसामा लागेका अधिकांश आदिवासी जनजातिको आयस्रोतका लागि दिनचर्या प्रकृतिसँगै बित्ने गथ्र्यो । तर, अहिले स्थानीय वनजङ्गल, पोखरी, तलाउ सबैबाट आफ्नो पकड गुमेपछि आदिवासी जनजाति सदस्यहरू पीडामा परेको अनुभूति गरिरहेका छन् । वन–जङ्गल सामुदायिक वनमा रूपान्तरण भएका छन् । स्थानीय तलाउ, पोखरी ठेक्कामा गएका छन् । त्यसो भएपछि त्यसको उपभोग स्थानीय आदिवासीले गर्न नपाउँदा उनीहरूको परम्परागत ज्ञान, सीप र कलाको परीक्षण हुन पाइरहेको छैन । भएको सीप ज्ञान र कला बिस्तारै उपयोगविहीन हुन थालेपछि युवाले ती ज्ञान र सीप सिक्ने जाँगर पनि देखाइरहेका छैनन् ।
थारू संस्कृतिविद् अशोक थारूले थारू समुदायमा मुख्य ३६ वटा स्थानीय ज्ञान, कला र सीप भए पनि त्यसको समुचित प्रयोग हुन नपाउँदा सङ्कटमा परेको बताउनुहुन्छ । मुख्य ज्ञानसँगै सहायक ज्ञान र कलाको पनि प्रयोग हुन नपाएको उहाँ बताउनुहुन्छ । थारूसँग मुख्यतः मौखिक परम्परागत ज्ञान (मन्त्र, गीत, मौखिक साहित्य आदि), सामाजिक अभ्यास, प्रदर्शनजन्य कला ज्ञान (नाच र नाचजन्य अन्य प्रदर्शनी), परम्परागत कला कौशल तथा ज्ञान (हलो, जुवा, मादल, भकारी, धनुषवाण, भाला, खराउ, गाग्रासहित घरायसी अन्य सामग्री बनाउने ज्ञान) विद्यमान रहे पनि संरक्षण गर्न कठिन भइरहेको उहाँको बुझाइ छ । यी ज्ञान र सीपको पुस्तान्तरण भएमात्र त्यसको समुचित संरक्षण हुने संस्कृतिविद् थारू ठान्नुहुन्छ ।
उसो त नेपाल अन्तर्राष्ट्रिय श्रम सङ्गठनको आदिवासी जनजातिसँग सम्बन्धित महासन्धि १६९ को पक्ष राष्ट्र पनि हो । सो महासन्धिको धारा २३.१ मा भनिएको छ, “सम्बन्धित समूहहरूको हस्तकला, ग्रामीण तथा समुदायमा आधारित उद्योगहरू र सिकार खेल्ने, माछा मार्ने, जाल हान्ने, तथा वस्तुहरू सङ्कलन गर्नेजस्ता जीवन निर्वाहका लागि गरिने अर्थतन्त्र एवम् परपम्परागत गतिविधिलाई उनीहरूको संस्कृति तथा आर्थिक स्वावलम्बन र विकासको निरन्तरताका लागि महŒव दिइनेछ ।” महासन्धिको उद्देश्य आदिवासी जनजातिहरू आफैँले सबै सीपजन्य तालिम कार्यक्रम कार्यान्वयन तथा सञ्चालन गरून् भन्ने हो, तथापि जबसम्म उनीहरू आफू यसका लागि तयार हुँदैनन्, तबसम्म सरकारले नै व्यावसायिक तालिम दिने व्यवस्था गरिनुपर्छ भन्ने छ । महासन्धिमा त्यस्तो व्यवस्था भए पनि सरकारी तवरबाट सोअनुसारको व्यवस्थापन हुन सकेको भने छैन ।
नेपालको संविधान २०७२ को धारा २५ सम्पत्तिको हक (१) ले प्रत्येक नागरिकलाई कानुनको अधिनमा रही सम्पत्ति आर्जन गर्ने, उपभोग गर्ने, बेचविखन गर्ने, व्यावसायिक लाभ आर्जन गर्ने र सम्पत्तिका लागि अन्य आयआर्जन गर्ने हक हुनेछ व्यवस्था छ । तर, राज्यले आदिवासी समुदायको परम्परागत ज्ञान, सीप र कलाको संरक्षण तथा प्रवद्र्धनमा ठोस काम गरेको देखिँदैन । सरकारले समृद्ध नेपाल र सुखी नेपालीको नारासहित समृद्ध नेपाल निर्माणको परिकल्पनामा अभियान चलाइरहेको छ । तर आदिवासी ज्ञान, सीप र कलाको संरक्षण गरी ती समुदायलाई आत्मनिर्भर बनाउनमा ध्यान नदिने हो भने यो अभियान अधुरो पो हुने हो कि ! यसतर्फ ध्यान जान जरुरी छ ।
नेपालमा जातीय विविधता छ । सबै जाति समुदायसँग आफ्नै परम्परागत ज्ञान र सीपहरू विद्यमान छन् । मुलुक परनिर्भरताले ग्रसित भइरहेका बेला आदिवासी जनजातिसहित समुदायका ती परम्परागत ज्ञान, सीप र कलाको समुचित संरक्षण, प्रवद्र्धन तथा सदुपयोग हुन सके एकातर्फ ती समुदायको ज्ञान, सीप र कलाको संरक्षण हुन्छ, अर्कोतर्फ मुलुकलाई आर्थिक समृद्धितर्फ उन्मुख गर्नमा राज्यलाई सघाउ पुग्छ ।
(लेखक गोरखापत्रका उप–सम्पादक हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?