logo
२०८१ बैशाख १५ शनिवार



बलिप्रथालाई नै बलि दिने कि !

विचार/दृष्टिकोण |




शिरीषबल्लभ प्रधान

अहिंसा परमोधर्मकोे सिद्धान्तलाई अँगाल्ने हिन्दु धर्मले प्राणी हिंसा वा पशु बलिलाई कदापि सहज रूपमा स्वीकार्न सक्दैन । कतिपय मानिसले बलिप्रथालाई हिन्दु धर्मसँग जोडेर हेर्ने गरेका छन्, जसलाई हिन्दु धर्मका कुनै पनि प्रामाणिक शास्त्रले अनुमति दिएको देखिँदैन । वेदमा कतै पनि देवतालाई रगत चढाएर खानु अथवा बलिद्वारा देवता खुसी हुन्छन् भनिएको भेटिँदैन ।
बलि भनेको व्यक्तिगत स्वार्थको त्याग वा खुराक प्रवृत्तिको बलिदान हो । अनावश्यक कामनाको त्याग गर्नु र सबै कुरा ईश्वरप्रति समर्पण गर्नु नै बलि हो । आफ्नो स्वार्थलाई तिलाञ्जली दिनु नै बलि हो । पशुपन्छीलाई मन्दिरमा लगेर घाँटी रेटेर हिंसा गर्नु त्याग होइन न त बलि नै हो । वृहदारण्यकोपनिषद्का अनुसार अग्निमा अन्न हवन गर्नुलाई हुत भनिन्छ भने अन्न हवन गरी देवताहरूको भाग छुट्याउनुलाई बलिहरण अथवा प्रहुत भनिन्छ । शास्त्रमा देवताहरूद्वारा प्राप्त हुने हुनाले अन्न देवतालाई भाग नछुट्याई नखानु भनिएको छ ।
उपनिषद्मा मानिसलाई देवताहरूको पशु भनिएको छ । सामान्य मानिसमा पाशविक प्रवृत्ति हुनाले त्यसो भनिएको हुनुपर्छ । मानिस सामान्यतया केवल, खाने, सम्पत्ति थुपार्र्ने, सुत्ने, मनोरञ्जन गर्नेजस्ता सांसारिक काम, बासनामै लिप्त हुन्छन्, त्यसैले उनीहरू देवताका नजरमा पशु हुन् । तसर्थ, उनले आफ्ना काम, बासना, क्रोध आदि नकारात्मक विचारहरू त्याग्न सकेमा अथवा तिनको बलि दिन सकेमा मात्र उँभो लाग्न सक्छ, कल्याणकारीमार्गमा हिँड्न सक्छ । तसर्थ, बलि भन्नाले हाम्रो मन, मस्तिष्कका नकारात्मक विचारलाई त्याग्नु हो, खराब आचरणको बलि चढाउनु हो, त्यसको अर्थ पशुको काटमार गर्नु कदापि हुन सक्दैन ।
हिन्दु धर्म शान्तिवादी धर्म हो । जुन धर्मले वसुधैव कुटुम्बकम् अर्थात् विश्वका सम्पूर्ण प्राणीहरू एकै परिवारसरह हुन् भन्ने सन्देश दिन्छ, त्यसले हिंसा, हत्यालाई प्रश्रय कसरी देला ? यजुर्वेदको एक मन्त्रमा भनिएको छ, द्यौः शान्तिरन्तरिक्ष शान्तिः पृथिवी शान्तिरापः शान्तिरोषधयः शान्तिः । वनस्पतयः शान्तिर्विश्वे देवाः शान्ति व्रह्मशान्तिः सर्व शान्तिः शान्तिरेव शान्तिः सामाशान्तिरेधि । जसको अर्थ हो, द्यूलोकमा शान्ति छाओस्, अन्तरीक्ष, पृथ्वी, जल, औषधि, वनस्पतिहरूमा शान्ति छाओस्, समस्त देवताहरूमा शान्ति छाओस्, ब्रह्म शान्तिमय होस्, सर्वत्र शान्ति कायम होस् र स्वयम् शान्ति पनि शान्तमय होस् र मेरो यो शान्ति निरन्तर कायम रहिरहोस् ।
हिजोआजका आधुनिक भनाउँदा मानिस युद्ध र द्वन्द्वका निम्ति हातहतियार थुपार्छन् तर हजारौँ वर्षअघि वैदिककालका आर्यहरू पृथ्वीमा मात्र नभई, मध्यआकाश वा अन्तरीक्षमा, उच्च आकाशमा वा द्युलोकमा शान्ति छाओस्, जलमा शान्ति छाओस्, वनस्पतिमा र सर्वत्र शान्ति छाओस् भनी कामना गर्थे । अहिले मानिस स्टार वार अर्थात् अन्तरीक्ष युद्धको होडबाजीमा लागेका छन्, जल, जङ्गल, मरुभूमि सर्वत्र हिंसाद्वारा आफ्नो अधिनमा पार्ने होडमा मानिस लागेकाबखत पृथ्वी, अन्तरीक्ष, जल सर्वत्र शान्ति छाओस् भनी कामना गर्ने वेदका वाक्यबाट प्रेरणा लिन सक्नुपरेको छ । हरेक वैदिकमन्त्रको अन्त्यमा शान्ति, शान्ति, शान्ति भनी तीनपल्ट शान्तिको कामना गरिन्छ, जसको अर्थ हुन्छ, तीनै लोकमा शान्ति होस्, पृथ्वी, अन्तरीक्ष र द्युलोक । त्यसको अर्को अर्थ के पनि हुन्छ भने हाम्रो आत्मामा शान्ति होस्, वातावरणमा शान्ति होस् र विश्वमा शान्ति कायम होस् । यसरी शान्तिको निम्ति हरपलमा जोड दिने धर्मले कसरी हिंसा गर्न उत्प्रेरित गर्ला ?
अन्धविश्वासको प्रभावमा परेका केही मानिस मन्दिरमा गई पञ्चबलि दिएर शक्ति आर्जन गर्ने दुस्प्रयास गर्छन् । हिन्दु र वौद्ध धर्मका केही तान्त्रिक पद्धतिमा विश्वास गर्ने एकथरी समूहले बलिप्रथा अपनाएको देखिन्छ । वास्तवमा पञ्चबलि भनेको कुखुरा, हाँस, परेवा, बोका, राँगाको बलि दिनु भनेको कदापि होइन । हामीभित्र रहेका पाशविक वा आसुरी प्रवृत्तिलाई त्याग्नु भन्ने त्यसको अर्थ हो । पाँचप्रकारका नकारात्मक प्रवृत्तिहरू काम, क्रोध, लोभ, मोह, मात्सर्यलाई त्याग्नु नै पञ्चबलिको वास्तविक अर्थ हो । वेद, उपनिषद्हरूमा कतिपय कुराहरू साङ्केतिक अर्थ लाग्नेगरी दिइएको हुन्छ । तैत्तेरीयोपनिषद्अनुसार बलि भन्नाले देवतालाई दिइने उपहार बुझिन्छ । यसरी बलिको गलत अर्थ लगाउने कार्य इतिहासको कुनै कालखण्डमा केही धुर्त पण्डितहरूले आफ्नो स्वार्थसिद्ध गर्न गरेको हुन सक्छ । वैदिकशास्त्रमा धेरैजसो ठाँउमा प्राणी हिंसा र मांशाहारलाई वर्जित गरिएको पाइन्छ । त्यसैले केही व्यक्तिले आफ्नो मासु खाने इच्छापूर्ति गर्न देवतालाई चढाएमा दोष नलाग्ने अर्थ लगाई बलिप्रथा चलाएको हुन सक्छ ।
अहिंसाको अर्थ वैदिकशास्त्रमा केवल शारीरिक मारकाटमा सीमित नभई, व्यापक अर्थमा त्यसलाई लिइएको छ । अहिंसा भन्नाले मन, वचन र कर्मले अरूको अहित नगर्नु भन्ने बुझिन्छ । यसरी मनले समेत हिंसा नगर्नु भन्ने वेदले पशुको मारकाट गर्न आदेश दिने कुरा कदापि सोच्न सकिन्न । हिन्दुहरूले मान्ने वेदपछिको अर्को महŒवपूर्ण ग्रन्थ श्रीमद्भागवतमा प्राणी हिंसालाई वर्जित गरिएको छ । भागवतमा भनिएको छ, हिंसा, स्त्री, धन, क्रोध र मद्य (रक्सी आदि) कलि बस्ने पाँच ठाउँहरू हुन् । तसर्थ, भागवतले सम्पूर्ण चराचर जगत् भगवान्को शरीर भएकाले सबै प्राणीहरूको सेवा गर्नुलाई नै वास्तविक अर्थमा धर्म भन्ने संज्ञा दिएको छ ।
अहिले बारास्थित गढीमाईको मेलामा पशुबलिका निम्ति नेपालका विभिन्न जिल्ला एवम् भारतलगायतका ठाउँबाट मानिस ओइरिरहेका छन् । हरेक पाँच÷पाँच वर्षमा हुने सो मेलामा यसअघि चार÷पाँच लाख पशुपन्छीहरूको बलि दिइएको समाचार सुनिएको थियो । यसपालि सरकारले बलिको विरोधमा केही कदम चालेको देखिएको छ । जस्तै परेवाको बलिलाई निषेध गरिएको छ । त्यसैगरी पशु अधिकारकर्मी तथा शाकाहारीहरूको एउटा समूहले पनि बलिप्रथाको विरोधमा अभियान चलाउँदै छन् । त्यहाँ पशुहरूको स्थिति ज्यादै दर्दनाक हुने गरेको पाइन्छ । जतासुकै रगत छरिएका हुन्छन् भने पूरा काटिएका वा आधा काटिएका, कान, पुच्छरमा घाउ गरिएका पशुपन्छीहरू यत्रतत्र फालिएका वा छट्पटाइरहेका देखिन्छन् ।
सुनिन्छ, त्यहाँ बलिका निम्ति ल्याइने अधिकांश पशुपन्छीहरू सिमानापारिबाट ल्याइने गरेको छ । दक्षिणतर्फको छिमेकी देश, जहाँ ८० करोड हिन्दुहरू बस्छन्, त्यहाँ अधिकांश ठाउँमा बलिप्रथालाई निषेध गरिएको अवस्था छ । त्यसो हुनाले कतिपय अन्धविश्वासी मानिस आफूले विभिन्न नाममा गरेका भाकल पूरा गर्ने निहुँमा त्यहाँ पशुबलि दिन आउँछन् । यदि बलिप्रथा हिन्दु धर्मको अभिन्न अङ्ग थियो भने ८० करोड हिन्दु भएको देश भारतमा किन आम रूपमा पशुबलिलाई छुट दिइएन ? भन्ने प्रश्न उठ्नु स्वाभाविक छ । भारतमा कतै, कतै थाहा नपाउनेगरीबाहेक आम रूपमा पशुबलि चढाइएको हामीले कुनै खबर सुनेका छैनौँ । तसर्थ, हिन्दु धर्मबाट बलिप्रथा मेटाउन सकेमा यस प्राचीन धर्मको महŒव र गरिमा अरू उजागर हुने थियो कि भन्नेतर्फ आमहिन्दुप्रेमीहरूको ध्यानाकृष्ट हुनु जरुरी छ ।

(लेखक पत्रकार हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?