logo
२०८१ बैशाख २६ बुधवार



एसियाली शताब्दीको युग

विचार/दृष्टिकोण |





जुनारबाबु बस्नेत

अहिलेको युगलाई एसियाली शताब्दीका रूपमा चित्रण गर्न थालिएको छ । विगत दुई शताब्दीमा एसियाको भूमिका अति न्यून रह्यो । एसियालाई निरीह पारियो । बीसाँै शताब्दीमा त एसिया तेस्रो विश्वका रूपमा चित्रित भयो । गरिबी, भोकमरी र अभाव अशिक्षामा पिल्सियो । विगत चार दशकमा चीनको आर्थिक समृद्धिको दिशा चामत्कारिक छ । यो एसिया शताब्दीको नेतृत्व आधार हो । केही वर्षअघि जापानलाई उछिन्दै विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन बनेपछि एसिया शताब्दीको चर्चाले अरू प्रखरता पाएको छ ।
विशाल जनसङ्ख्या भएको चीनले अब चाँडै विश्व अर्थतन्त्रको नेतृत्व गर्न सक्ने विश्लेषण छ । अर्को त्यस्तै विशाल जनसङ्ख्या भएको भारतको अर्थतन्त्र विगत दुई दशकमा उच्च आर्थिक वृद्धिमा केन्द्रित भयो । आर्थिक सम्बन्धका हिसाबले चीन र भारत नजिक हुँदै छन् र त्यसले पनि एसियाली शताब्दीको मार्गचित्र स्पष्ट बनाउन सक्ने आँकलन गरिँदै छ । विगतका दुई शताब्दी एसियाभन्दा बाहिर रह्यो । उन्नाइसौँ शताब्दी युरोपकेन्द्रित रह्यो भने बीसौँ शताब्दी अमेरिकामा केन्द्रित । उन्नाइसौँ शताब्दी युरोपेली शताब्दीका रूपमा रहनुको मूल कारण औद्योगिक क्रान्ति थियो । मध्ययुगबाट बाहिर आएपछि युरोपले नागरिक अधिकारलाई बढोत्तरी थियो । विज्ञान र प्रविधिको विकास भयो । खासगरी वाष्प इञ्जिनको विकास युरोपको औद्योगिक जग थियो र त्यसैका आधारमा युरोपमा उद्योग धन्दाको विकास भयो । संयुक्त अधिराज्य बेलायतले त्यसको नेतृत्व लियो । बेलायतमा कहिल्यै घाम अस्ताउँदैन भन्ने उक्ति बन्यो त्यतिबेला ।
शक्तिस्वरूप नै चलायमान हुन्छ । दुईवटा महायुद्धले युरोपको शक्ति क्षय गरायो । अमेरिकाले बेलायती उपनिवेशबाट मुक्त भएपछि उसले गरेको स्वतन्त्रता र नागरिक अधिकारको अभ्यासले क्षमता अभिवृद्धिमा अग्रसर हुँदै गयो । दुईवटै महायुद्धमा अमेरिका लगभग निरपेक्षजस्तै बन्यो । तर, युद्ध सामग्रीको बेचविखनले अमेरिकामा धन जम्मा भयो । दोस्रो विश्वयुद्धमा जर्मनीमा एडोल्फ हिटलरको उदयले धन र विद्या दुवै त्यहाँ अट्न सकेनन् ।
द्वितीय विश्वयुद्धले अमेरिकालाई विश्व नेतृत्व गर्ने अवसर सिर्जना ग¥यो । अमेरिकाले विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषजस्ता संस्थाको रचना गर्न सफल भयो । अमेरिकी अवधारणाका ती वित्तीय संस्था विश्व नेतृत्व गर्न सहयोगी थिए । युद्धले तहसनहस भएको युरोपमा द्वितीय विश्वयुद्धपछि मार्सल योजना लागू भयो । संयुक्त राष्ट्रसङ्घको अवधारणा संस्थागत हुँदा विश्व व्यवस्थामा अमेरिकी नेतृत्व सफल रह्यो । त्यसैले पनि बीसौँ शताब्दी अमेरिकी शताब्दीका रूपमा चिनिन थाल्यो ।
एसिया विगत दुई÷तीन शताब्दीमात्र पछाडि परेको हो । एसियाली सभ्यता त्यसअघि पछाडि थिएन । अझ चीनको कुरा गर्ने हो भने दुई हजार वर्षदेखि नै सभ्यताको केन्द्रमा थियो । चीनको रहस्य विश्वलाई नै अचम्म पार्नेखालको थियो । मध्ययुगमा मार्कोपोलोले चीनको यात्रा गर्दा त्यहाँको प्रगतिको विस्तार युरोपमा पु¥याएका थिए । छाप्ने मेसिन चीनले आविष्कार गरे पनि त्यसको आधिकारिकता प्रसार हुन सकेको थिएन । १४४० मा जर्मनीका जोहन गुटनवर्गको छाप्ने मेसिनले व्यापकता पायो । खासगरी ज्ञानमा आधारित उद्योगलाई विस्तार ग¥यो । ज्ञान उद्योग सङ्ग्रह हुन थाल्यो र त्यसका आधारमा युरोपमा ज्ञानविज्ञानको विकास भयो । बेलायती साम्राज्यको उदयसँगै उपनिवेशको दखलबाट चीन पनि अछुतो रहेन ।
चीनका लागि अफिम युद्ध सबैभन्दा प्रतिकूल बन्यो । धन बाहिरियो भने युवा जनशक्तिलाई अफिमको नशाले शिथिल बनायो । शासकहरू युद्धको विलासी बने । अर्को विशाल जनसङ्ख्या भारत दुई शताब्दी बेलायती साम्राज्यको नियन्त्रणमा रह्यो । त्यो भारत सन् १९४७ मा बेलायती साम्राज्यबाट मुक्त हुँदा धर्मका आधारमा दुुई देश बनिसकेको थियो– हिन्दुस्तान र पाकिस्तान । पछि भाषाका कारण पाकिस्तान पनि एक रहेन । त्यसले बङ्गलादेशको जन्म दियो । पाकिस्तान र
बङ्गलादेशसँगै भए भारत जनसङ्ख्यामा पहिलो देश हुने थियो । चीन दोस्रो हुन्थ्यो । भारत विभाजनको पीडा भारत र पाकिस्तानले त बेहोरिरहेका छन्, सिङ्गो दक्षिण एसियाको प्रगतिमा बाधक बन्दै छ । शिक्षामा लगाउनुपर्ने खर्च बन्दुकमा लागेको छ । तैपनि भारतीय अर्थतन्त्रले विगत दुई दशकमा उच्च आर्थिक वृद्धि दिएको छ । चीनसँगसँगै अगाडि बढ्दै छ ।
गणतन्त्र चीनका राष्ट्र सी चिनफिङले नेपालको राजकीय भ्रमण (असोज २५÷२६, २०७६) गर्नुअघि भारतमा पूर्वी–दक्षिण सहर ममल्लापुरमा प्रधानमन्त्री नरेन्द्र मोदीसित दुईदेशीय सम्मेलनमा एसिया शताब्दीको चर्चा भयो । एसिया शताब्दीका लागि चीन र भारतले मिलेर काम गर्नुपर्नेमा दुवै देशका नेताको जोड छ । एसियाले नेतृत्व गर्ने आगामी शताब्दीको खाका चीनले अगाडि सारेको एक क्षेत्र एक सडकको अवधारणा नै हो । एसिया, युरोप र अफ्रिकालाई समेट्ने यो महŒवाकाङ्क्षी महापरियोजना राष्ट्र सीको अवधारणा हो । यसैका आधारमा सी विचारधारा अहिले प्राज्ञिक बहसको विषय बनेको छ । खासगरी एसिया, युरोप र अफ्रिकामा पूर्वाधारको विकास गरी उत्पादन र व्यापारलाई बढोत्तरी दिनु यो महापरियोजनाको लक्ष्य हो । नेपाल यसको सदस्य भइसकेको छ तर विशाल अर्थतन्त्र भएको भारत यो महापरियोजनाको सदस्य बनेको छैन ।
चीनसित भारतको ठूलो व्यापार घाटा रहेको छ । अमेरिकासित चीनको व्यापार उच्च तहका पुगेपछि राष्ट्रपति डोनाल्ड ट्रमको उदय चीनसितको व्यापार घाटा न्यून गर्ने बिन्दुमा केन्द्रित भयो । चीन र अमेरिकाको सम्बन्ध अहिले व्यापार युद्धमा पुगेको छ । अमेरिकाले चिनियाँ मालवस्तुमा उच्च कर लगाएपछिको त्यो अवस्था तत्कालै टुङ्गिने अवस्थामा छैन, वार्ता भने जारी छ । चीनले अमेरिकी बन्ड बजारमा तीन खर्ब ३२ अर्ब अमेरिकी डलर लगानी गरेको वर्षौं भइसक्यो ।
अमेरिका र युरोपमा न्यून भएको चीनको बजार भारत, सिङ्गो एसिया र अफ्रिकामा अब नयाँ युगका रूपमा जान सक्छ । अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले सन् १९७० को दशकमा चीनसित बनाएको सम्बन्धले व्यापारको त्यो उचाइ लियो । अहिले तनावमा छ । यथार्थ, यो अवरोध एसिया शताब्दीको उदयको स्पष्ट सङ्केत पनि हो । लेखक किशोर माबुनीले एसिया शताब्दीका लागि सातवटा विकास स्तम्भका चर्चा गर्नुभएको छ– खुला र बजार अर्थतन्त्र, विज्ञान र प्रविधिको विकास, गुणवेत्ताका आधारमा जनशक्तिको व्यवस्थापन, विज्ञानमा आधारित व्यवहारवाद, शान्तिको संस्कार, कानुनको शासन र शिक्षा । यी सात विषयले संस्थागत रूप लिँदा एसिया शताब्दी सम्भव हुन्छ भने त्यसमा चीन र भारतको असल सम्बन्धले धेरै कुरा निर्धारण गर्छ । नेपाल यी विशाल दुई देशको बीचमा छ र अद्यापि कम विकसित राष्ट्रका रूपमा छ । नेपालको आर्थिक समृद्धि एसिया युगमा प्रवेश गर्दै रहेका विशाल अर्थतन्त्रबाट लाभ लिन सक्नेगरी अगाडि बढ्ने कौशलमा निर्धारित हुने पनि पक्का छ ।

(लेखक गोरखापत्रका कार्यकारी सम्पादक हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?