logo
२०८१ बैशाख १४ शुक्रवार



सिरियामाथि टर्कीको आँखा

विचार/दृष्टिकोण |





रामप्रसाद आचार्य

टर्कीले उत्तरी सिरियामा स्थल र हवाई सैन्य कारबाही सुरु गरेको छ । त्यहाँबाट अमेरिकी सेना फिर्ता भएलगत्तै टर्कीले सुरु गरेको सैन्य कारबाहीसँगै ज्यान जोगाउन चार लाखभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् । त्यहाँको कुर्दिस नेतृत्वको सेना टर्कीको सेनासँग प्रतिकारमा उत्रिएपछि सिधा सङ्घर्षले हिंसाको रूप लिएको छ । टर्कीले गरेको आक्रमणको प्रतिकार गर्न सिरियाली राष्ट्रपति बसर अल असदको सरकारी सेना परिचालन गर्न सहमत भएको सिरियाली कुर्दहरूले बताएका छन् । त्यसको केही अघि सिरियाको सरकारी सञ्चारमाध्यमले सरकारी फौज देशको उत्तरी सीमामा पठाइएको बताएको थियो ।
कुर्द नेतृत्वको प्रशासनका अनुसार सिरियासँग भएको सहमतिअनुरूप उत्तरी सिरियाको पूरै सीमामा सिरियाली सैनिकहरू परिचालित हुनेछन् । सिरियाली सेनाले सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ) लाई टर्कीको आक्रमणको प्रतिकार गर्न तथा टर्कीको सेना तथा उसले खटाएका अन्य लडाकुलाई हटाउन सघाउने उसको अपेक्षा छ । कुर्द प्रशासनले यो कदमले ‘टर्कीले कब्जा गरेका सिरियाली सहरहरूलाई मुक्त गर्न सघाउने’ बताएको छ ।
अमेरिकाको संरक्षण गुमाएपछि कुर्दहरूले सिरियासँग गरेको यो गठबन्धनलाई महŒवपूर्ण मानिएको छ । तर, सिरिया सरकारले उनीहरूसँग कस्तो सहमति गरेको छ भन्ने स्पष्ट भइसकेको छैन ।
टर्कीका राष्ट्रपति रिसिप तैयप एर्दोगानले गत बुधबार सिरियाविरुद्ध सैन्य कारबाही सुरु गरिएको घोषणा गरेसँग टर्कीको सेना उत्तरी सिरियामा प्रवेश गरेको हो । टर्कीले उत्तरी सिरियालाई कुर्दिस लडाकुरहित सुरक्षित क्षेत्र बनाउन चाहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त क्षेत्रबाट आफ्नो सेना फिर्ता गर्ने निर्णय गरेसँगै त्यहाँ टर्कीको आँखा परेको हो । ट्रम्पको उक्त कदमप्रति कुर्दिस नेतृत्वले दुःख व्यक्त गरेको छ भने अमेरिकामै आलोचना भएको छ । एसडीएफले अमेरिकी सेनासँग मिलेर आईएसविरुद्ध अभियान चलाउँदै आएको थियो । एसडीएफलाई टर्कीले आतङ्कवादी समूह मान्ने गरेको छ ।
त्यहाँ कुर्दिस नेतृत्वको एसडीएफले टर्कीका युद्धक विमानहरूले सर्वसाधारणको बसोबास क्षेत्रमा आक्रमण गरेको जनाएको छ । टर्कीका राष्ट्रपति एर्दोगानले सिरियाको राष्ट्रिय सेनाको साथमा टर्कीको सेनाले ‘अपरेसन पिस स्प्रिङ’ नामक सैन्य कारबाही सुरु गरेको घोषणा गरे पनि सिरियाको राष्ट्रिय सेना सहमत भएन । टर्कीको सेना युफ्रेटिज नदीको पूर्वी क्षेत्रबाट सिरिया प्रवेश गरी आक्रमण जारी राखेको छ । राष्ट्रपति एर्दोगानले सैन्य कारबाहीको उद्देश्य त्यहाँबाट कुर्द लडाकुहरूलाई हटाएर सिरियाली शरणार्थीका निम्ति सुरक्षित क्षेत्र निर्माण गर्नु रहेको दाबी गर्नुभएको छ । तर, अमेरिकी राष्ट्रपति ट्रम्पले टर्कीले गरेको हमलालाई बेठिक भन्दै आलोचना गर्नुभएको छ ।
टर्कीका सेनाले आक्रमण गरेपछि रस अल–ऐन र तल अव्याद नगरका बासिन्दा ज्यान जोगाउन त्यहाँबाट भागिरहेका छन् । सो नगर कुर्द समूह वाईपीजीको नियन्त्रणमा थियो । टर्कीले त्यहाँ सैन्य निशानामा मात्र आक्रमण गरेको दाबी गरे पनि सयौँ सर्वसाधारण मारिएका छन् ।
टर्कीको आक्रमणप्रति पश्चिमा मुलुकहरूले निन्दा गरेका छन् । फ्रान्स, जर्मनी तथा बेलायतले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठक आह्वान गरेका छन् । बेलायतको विदेश मन्त्रालयले सो हमलाप्रति गम्भीर चिन्ता प्रकट गरेको छ । हमलाले सो क्षेत्रमा अस्थिरता हुने, मानवीय सङ्कट गहिरिने तथा इस्लामिक स्टेट आईएसविरुद्ध मिलेको सफलता उल्टने जोखिम भएको बताएको छ ।
अमेरिकाको साथ मिलेर त्यहाँ सिरिया सरकार एवम् इस्लामिक स्टेट आईएसविरुद्ध लडेको एसडीएफको मुख्य हिस्सा कुर्द फौजले टर्कीको आक्रमणको प्रतिकार गरिरहेको छ । कुर्दहरूको नियन्त्रणमा रहेका क्षेत्रमा बन्दीगृहहरूमा हजारौँ आईएस लडाकु एवम् तिनका परिवार कैद छन् । टर्कीको यो स्थल आक्रमणसँगै कुर्द फौजले ती बन्दीलाई सुरक्षित कैदमा राखिरहनेछन् वा छाडेर जानेछन् भन्ने प्रस्ट छैन ।
टर्कीले सिरियाको क्षेत्रीय अखण्डता र राजनीतिक एकताको सम्मान गर्ने र आफूहरूको सिरियाको कुनै पनि भू–भाग कब्जा गर्ने उद्देश्य नरहेको दाबी गरे पनि यो सप्ताहान्तमा सिरियाका सीमावर्ती मुख्य दुई सहरमा टर्कीले नियन्त्रण कायम गरेको छ । सङ्घर्षका क्रममा दुवैतिर सर्वसाधारण र सेना मारिएका छन् । सङ्घर्ष चर्किएकै बेला गत आइतबार इस्लामिक स्टेट आईएस सदस्यका आठ सय नातेदार ऐन इस्सास्थित एउटा शिविरबाट भागेका छन् ।
सन् २०११ मा सिरियामा गृहयुद्ध सुरु भएपछि उत्तरी सिरियाको अधिकांश भाग सिरियाली सरकारको नियन्त्रणमा छैन । सन् २०१५ देखि त्यहाँ एसडीएफको नियन्त्रण छ । इस्लामिक स्टेट समूहविरुद्ध अमेरिकाले गरेको सङ्घर्षमा एसडीएफले सघाएको थियो । तर, टर्कीले एसडीएफलाई टर्कीविरुद्ध विद्रोहको समर्थन गर्ने आतङ्कवादी मान्दै आएको छ । आफूले गरेको आक्रमण कुर्द लडाकुहरूलाई धपाएर ‘सुरक्षित क्षेत्र’ निर्माण गर्ने प्रयास भएको भन्दै टर्कीले सैन्य कारबाहीको प्रतिरक्षा गरेको छ । हाल टर्कीमा रहेका ३० लाखभन्दा बढी सिरियाली शरणार्थीलाई उत्तरी सिरियालाई सुरक्षित क्षेत्र बनाएर पुनःस्थापित गराउन चाहन्छ । तीमध्ये धेरैजसो गैरकुर्द छन् ।
टर्कीको यो कदमबाट स्थानीय कुर्द जनसङ्ख्याको जातीय नरसंहार हुनसक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । टर्कीले सिरियासँगको सिमानामा ४८० किलोमिटर लामो तथा ३० किलोमिटरभित्रसम्म फैलिएको ‘सुरक्षित क्षेत्र’ बनाउन चाहेको बताएको छ । टर्कीका राष्ट्रपति एर्दोगानले अहिलेसम्म २१ गाउँसमेत १०९ वर्ग किलोमिटर क्षेत्र आफ्नो नियन्त्रणमा लिइसकिएको बताउनुभएको छ ।
यसअघि सिरिया सरकारविरुद्ध अमेरिका, बेलायत र फ्रान्सले गत वर्ष एक दिन संयुक्त रूपमा सैन्य कारबाही गरेका थिए । सिरिया सरकारले नागरिकलाई रासायनिक ग्यास आक्रमण गरी हत्या गरेकोमा त्यसविरुद्ध सैन्य कारबाही गरिएको दाबी गरिएको थियो । आक्रमणका क्रममा एक सयभन्दा बढी क्षेप्यास्त्र प्रहार गरिएका थिए । यो आक्रमणको रूस र चीनले कडा विरोध गरे । सिरियाको रक्षाकवच भएर रूसी सेना उभिएपछि सैन्य कारबाही रोक्न तीन मुलुक बाध्य भए ।
गृहयुद्ध लम्बिँदा सिरियामा चरम मानवीय सङ्कट उत्पन्न भएको छ । त्यहाँका राष्ट्रपति असदलाई हटाउन विपक्षी राजनीतिक दलहरूको नेतृत्वमा गरिएको सशस्त्र आन्दोलन विफल बन्दै गएपछि सरकार र विपक्षी दुवैतर्फबाट हिंसात्मक घटना गराउँदा चरम मानवीय सङ्कट उत्पन्न भएको हो । विपक्षी आन्दोलनकारीहरूको कब्जा जमाई आन्दोलन सञ्चालनको प्रमुख केन्द्र बनाएको सिरियाको प्रमुख सहर अलेप्पोलाई सरकारी सेनाले नियन्त्रणमा लिएपछि असदविरुद्धको आन्दोलन नै पराजयको डिलमा पुगेको छ । यो सहर नियन्त्रण लिनेक्रममा भएको डरलाग्दो सङ्घर्षमा हजारौँ मानिसको ज्यान गयो ।
सङ्गठित सशस्त्र विद्रोेहले अलेप्पोमा पराजय भोगेसँगसँगै आन्दोलन नै छिन्नभिन्न अवस्थामा पुगेको छ । यस्तो अवस्थामा थप जनधनको क्षति हुन नदिन विपक्षी नेताहरूले सरकारसँग सम्झौता गरी आन्दोलन स्थगित गर्नु नै उत्तम विकल्प हो । पश्चिमी मुलुकहरू आन्दोलन रोकाउने पक्षमा छैनन्, जसले गर्दा त्यहाँ अझै ठूलो रक्तपातको अवस्था देखापर्दै छ ।
राष्ट्रपति असदलाई हटाउन विपक्षीहरूले सुरु गरेको सिरियाली विद्रोह आठ वर्षमा पुग्दा करिब पाँच लाख मानिसको ज्यान गइसकेको छ । करिब १० लाख घाइते भएका छन् भने एक करोड २० लाख मानिस घरवारविहीन भएका छन् । यो विद्रोहमा अर्बौं डलरको भौतिक संरचना ध्वस्त भए । तर, विद्रोह सफल हुन सकेन । सिरियामा राजनीतिक परिवर्तन चाहनेहरूका लागि यो प्रत्युत्पादक बन्दै छ । हाल सिरियामा ५३ लाख बालबालिका युद्धको मारमा परेका छन् । अधिकांश बालबालिका पढ्नबाट वञ्चित भएका छन् । खान, सुत्न पाएका छैनन् । विस्थापित लाखौँ बालबालिकाको भविष्य अन्धकार बनेको छ । शरणार्थी बनेर छिमेकी मुुलुकमा जानेक्रम बढ्दो छ ।
सिरिया बहुभाषिक तथा बहुधार्मिक मुलुक हो । एक लाख ८५ हजार १८० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यहाँको जनसङ्ख्या दुई करोड १५ लाख छ । मुख्य भाषा अरबी, मुख्य धर्म इस्लाम र इसाई हो । सन् १९४६ मा फ्रान्सबाट सिरिया स्वतन्त्र भएको हो । चरम गृहयुद्धमा फसेको यो मुलुक अब कसरी शान्त हुने हो भन्न सक्ने अवस्था छैन ।

(लेखक गोरखापत्रका नायव कार्यकारी सम्पादक हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?