logo
२०८१ बैशाख १४ शुक्रवार



दूरगामी उपलब्धि (सम्पादकीय)

विचार/दृष्टिकोण |





नेपाल र चीनबीच पूर्वाधार, आर्थिक, शिक्षा, स्वास्थ्य, कृषि, सुरक्षा सामाजिक÷सांस्कृतिक लगायतका विषयमा समझदारी तथा पत्र आदानप्रदान भएका छन् । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणका क्रममा राष्ट्रपति सी र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार काठमाडौँमा दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएका हुन् । यसअघि नेपाल र चीनबीच पारवहन सन्धि र त्यसको प्रोटोकलमा हस्ताक्षर भइसकेकाले समुद्री तटसम्मको नेपालको पहुँच विस्तार भएको छ । यसैगरी चीनले अघि सारेको बेल्ट एन्ड रोड परियोजनाको सहभागी राष्ट्र नेपालको आगामी दिनमा भूआबद्धता बढ्ने छ जसबाट राष्ट्रपति सी चिनफिङले भन्नुभएजस्तै नेपाल भूपरिवेष्ठितबाट भूजडित देश बन्ने छ । समझदारी भएकामध्ये नेपाल–चीन अन्तरदेशीय रेलमार्गको सम्भाव्यता अध्ययन नेपालका लागि अद्भूत उपलब्धि हुनेछ जसबाट दुई देशबीचको व्यापार र जनस्तरको सम्पर्क प्रगाढ हुनेछ । नेपालले उत्तरी छिमेकीसँग सहज यातायात आबद्धताका लागि यो परियोजनालाई उच्च महìव दिएको सन्दर्भमा रेलमार्गसम्बन्धी सम्भाव्यता अध्ययन समझदारीलाई चीनले नेपाली आकाङ्क्षाको उच्च सम्मान गरेको प्रतीकका रूपमा व्याख्या गर्न सकिने छ । रेलमार्ग निर्माणपछि उत्तरी नाकाको यातायात नियमित गर्न सकिनेछ जसबाट नेपालको आर्थिक मुहार फेरिनेछ ।
भ्रमणका अवसरमा नेपाल र चीनबीच सीमा व्यवस्थापन, सुशासन अभिवृद्धि, आपराधिक गतिविधि नियन्त्रणमा आपसी कानुनी सहयोग, सगरमाथाको संरक्षण, दुई देशका योजना आयोगका क्षमता अभिवृद्धि, चीनको छेन्दुमा नेपालको महावाणिज्य दूत स्थापना, नेपाल–चीन सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन, काठमाडौँ महानगरपालिका र चीनको नान्जी तथा बुटवल नगरपालिका र चीनको सियान सहरबीच भगिनी सम्बन्ध स्थापना, परम्परागत औषधिमा आपसी सहयोग, प्रकोप तथा विपद् व्यवस्थापन, दुई देशका महान्यायाधिवक्ताका कार्यालयसम्बन्धी आपसी सहयोग, त्रिभुवन विश्वविद्यालय र चीनको कन्फ्युसियस विश्वविद्यालयबीच सहकार्य, नेपालका अम्लीय फलफूल (सुन्तला कागतीलगायत)को चीन निर्यात, व्यापार व्यवसायसम्बन्धी संयुक्त कार्यदल, भूकम्पपछिको चिनियाँ सहयोग, दुई देशका अर्थ मन्त्रालयबीच संयुक्त कार्यदल तथा सहकार्य, सीमा सुरक्षा सामग्रीसम्बन्धी र काठमाडौँमा खानेपानी व्यवस्थापनसम्बन्धी समझदारी पत्र आदानप्रदान भएको छ ।
आइतबार राष्ट्रपति सीको बिदाइपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सी चिनफिङको दुई दिवसीय नेपाल भ्रमण ऐतिहासिक भएको र भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाइ र गति प्राप्त गरेको बताउनुभएको छ । आगामी दिनमा यी सहमति र पत्राचारले दीर्घकालीन परिणाम दिने छन् । समझदारीपछि त्यसको कार्यान्वयन पक्ष महìवपूर्ण हुने भएकाले दुवै देशबीच थप आवश्यक गृहकार्य र प्रशासनिक प्रक्रिया पूरा गरी यी समझदारी छिटै कार्यान्वयनमा जाने विश्वास गरिएको छ । समझदारीपछि निर्माण प्रक्रिया, लागत सहभागिता र निर्माण सुरु तथा सम्पन्न गरिने समयावधिका बारेमा बाँकी सहमति हुँदै जानेछन् । वर्तमान नेपालले तीव्र विकासको अभिलासा राखेकाले पनि चीन सरकारबाट तत्काल यी कामको थालनी हुनेछन् । यसैगरी नेपालीले अपेक्षा गरेका अरनिको राजमार्गको स्तरोन्नति, प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो चीन भ्रमणका अवसरमा दुई देशबीचको संयुक्त वक्तव्यमा परेका चीनको नाका हुँदै नेपालको उत्तर–दक्षिण जोड्ने कोसी, गण्डकी र कर्णाली करिडोरको निर्माणमा नेपाल–चीनको सहकार्यले नेपाललाई समुन्नत बनाउने भएकाले आगामी दिनमा यी योजनाले मूर्त रूप लिने विश्वास गर्न सकिन्छ । नेपालले निकै अपेक्षा गरेको र चर्चामा रहेको टोखा–केरुङ सुरुङ मार्गका बारेमा सहमति पत्रमा उल्लेख नभए पनि सीमापार रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययनको सन्दर्भले विशेष महìव राखेको छ ।
यो भ्रमणले नेपाल र चीनबीच विशेष सद्भाव स्थापना गरेको छ । सन् १९९६ मा तत्कालीन राष्ट्रपति जियाङ जेमिनले नेपालको भ्रमण गर्नुभएपछिको यो भ्रमणमा नेपालले आफ्ना आकाङ्क्षा र विश्वास व्यक्त गरेको छ जसलाई चीनले हार्दिकतापूर्वक ग्रहण गरेको छ । खासगरी समृद्ध नेपाल अभियानमा चिनियाँ पक्षको सहयोग लिनु र एक चीन नीतिप्रति चीनलाई थप आश्वस्त पार्न सक्नु नेपालको उच्च कूटनीतिक सफलता हो । यसैगरी, नेपालको सम्बन्धलाई उच्च प्राथमिकता दिएर उदाउँदो विश्व शक्ति चीनले यस क्षेत्रमा भाइचारा, आपसी हित, शान्ति र समृद्धिको सन्देश दिएको छ । यसलाई भ्रमणको दूरगामी उपलब्धि भन्नुपर्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?