logo
२०८१ बैशाख २६ बुधवार



नयाँ उचाइमा नेपाल–चीन सम्बन्ध

विचार/दृष्टिकोण |




 

सगरमाथाजस्तै उच्च सम्बन्ध

राष्ट्रपति विद्यादेवी भण्डारी

यो एउटा सुखद संयोग नै हो, महामहिम राष्ट्रपति (सी चिनफिङ)ज्यूको राजकीय भ्रमण जनवादी गणतन्त्र चीन स्थापनाको ७०औँ वर्षगाँठको शुभ अवसरमा भइरहेको छ । यस अवसरमा म महामहिम राष्ट्रपतिज्यू र चिनियाँ प्रतिनिधिमण्डलका सम्पूर्ण सदस्यहरू एवं सबै चिनियाँ मित्रहरूलाई हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्न चाहन्छु । साथै, शताब्दीका दुई महान् लक्ष्य प्राप्त गर्न मित्रराष्ट्र चीनलाई पूर्ण सफलता मिलोस् भन्ने हाम्रो शुभकामना छ ।
महामहिमको सक्षम नेतृत्वमा चीनले युगान्तकारी पहलहरू अघि सारेको छ । प्रगतिशील सुधार योजना, भ्रष्टाचार विरोधी अभियान तथा सुशासनको प्रभावकारी कार्यान्वयन महामहिमको राष्ट्रिय पुनर्जागरणसहितको चिनियाँ सपनाको महìवपूर्ण आयामहरू हुन् ।
विश्वका १५० भन्दा बढी राष्ट्रहरू तथा दर्जनौँ सङ्घसंस्थाहरू बेल्ट एन्ड रोड ईनीसीएटीभको पक्ष बनेका छन् । नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादमा सी चिनफिङ विचारधारा जनता केन्द्रित विकासको एक महìवपूर्ण दर्शन बनेको छ । चीनको विकासमा चिनियाँ नेताको सक्षम र दूरदर्शी नेतृत्व एवं परिश्रमी चिनियाँ जनताको साथ महìवपूर्ण रहेको छ भन्ने मलाई लागेको छ ।
गत अप्रिलमा मैले गरेको चीनको राजकीय भ्रमणको सम्झना मलाई ताजै छ । महामहिमको सुन्दर गृहनगर तथा रेशम मार्गको उद्गमस्थल सियान सहरबाट सुरु भएको मेरो भ्रमण अवधिभर मप्रति दर्शाइएको न्यानो स्वागत र आतिथ्यका लागि म कृतज्ञ छु ।
उक्त भ्रमणका अवसरमा महामहिमसँग भएको भेटवार्ताबाट नेपाल–चीन सम्बन्धलाई थप ऊर्जा प्रदान गर्न मद्दत पुगेको मैले विश्वास लिएको छु । भ्रमणका अवसरमा हस्ताक्षर भएका महìवपूर्ण दस्तावेजमध्ये पारवहन तथा यातायात सम्झौताको प्रोटोकलले चीनका तीनवटा भू–बन्दरगाह तथा चारवटा सामुद्रिक बन्दरगाहसम्म नेपालको पहुँच स्थापित गरेको छ ।
अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो बेल्ट एन्ड रोड फोरममा मेरो सहभागिता तथा सम्बोधनले नेपालको विकासको आकाङ्क्षालाई मुखरित गर्न मद्दत पुगेको मैले ठानेको छु । उक्त फोरमको लिडर्स राउन्ड टेबलको समापनमा जारी भएको संयुक्त विज्ञप्तिमा नेपाल–चीन हिमालय वारपार बहुपक्षीय कनेक्टिभिटी सञ्जाल तथा नेपाल–चीन सीमापार रेलमार्ग समावेश भएका छन् । यसबाट भूपरिवेष्ठित नेपालका लागि चीनसँगको कनेक्टिभिटी सञ्जाल विस्तारमा ठूलो मद्दत पुग्ने छ ।
यस सन्दर्भमा म सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा सन् २०१६ र २०१८ मा सम्पन्न चीनको भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ दिशा दिन पु¥याएको योगदानको स्मरण गर्न चाहन्छु ।
नेपाल र जनवादी गणतन्त्र चीन हिमाल तथा नदीहरूद्वारा जोडिएका छन् । हामीबीच सदियौँदेखि सामाजिक–सांस्कृतिक सम्पर्क रहिआएको छ । चिनियाँ भिक्षु फा सियान र हु यान साङ तथा नेपाली भिक्षु बुद्धभद्र, राजकुमारी भृकुटी र कलाकार अरनिकोले जनस्तरको सम्बन्ध एवं दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई समृद्ध बनाउन ठूलो योगदान दिएका छन् । पारस्परिक विश्वास, सम्मान र हितमा आधारित हाम्रो सम्बन्ध घनिष्ठ, मजबुत तथा समस्यारहित छ । हाम्रो सम्बन्ध सागरजस्तै गहिरो र सगरमाथाजस्तै उच्च छ । पञ्चशीलमा आधारित हामीबीचको न्यानो सम्बन्धलाई थप उचाइमा लैजाने प्रशस्त सम्भावना छन् ।
नेपालको लुम्बिनी गौतमबुद्धको जन्मस्थल मात्र नभएर बौद्ध दर्शनको उद्गमस्थल पनि हो । बुद्धका शाश्वत उपदेशहरूले मानव जातिलाई शान्ति, सहिष्णुता र सहअस्तित्वको मार्गदर्शन गरेका छन् । तसर्थ, लुम्बिनीलाई विश्व शान्तिको केन्द्र बनाउने हाम्रो प्रयासमा मित्रराष्ट्र चीनको महìवपूर्ण सहयोगको अपेक्षा गरेका छौँ ।
चीनले सदैव नेपालको सार्वभौमसत्ता र राजनीतिक स्वतन्त्रताको सम्मान गर्नुका साथै नेपाली जनताले छनोट गरेको विकासको पथलाई समर्थन गर्दै आएको छ ।
नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध छ । नेपाली भूमि चीनको हितविरुद्ध हुने कुनै पनि प्रकारका गतिविधिका लागि प्रयोग हुन नदिने हाम्रो प्रतिबद्धतालाई व्यवहारमा उतार्न हामीले सबै प्रकारका ठोस उपायहरू अवलम्बन गर्दै आएका छौँ ।
सीमा वारपार कनेक्टिभिटीका लागि पूर्वाधारमा सुधार गर्नुपर्ने कुरामा हामीले जोड दिँदै आएका छौँ । नेपाली जनताले केरुङदेखि काठमाडौँ हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्न चाहेका छन् । रेलवेको क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोत र साधनको परिप्रेक्ष्यमा नेपालीहरूको यो चाहना छिटै पूरा हुनेछ भन्ने हाम्रो विश्वास छ ।
महामहिमसँग यसअघि भएको छलफलबाट अभिप्रेरित हुँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्नका लागि मित्रराष्ट्र चीनसँगको सहकार्यलाई हामीले उच्च प्राथमिकतामा राखेका छौँ । हामीले जतिसक्दो चाँडो अति कम विकसित मुलुकबाट स्तरोन्नत हुँदै सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकका रूपमा परिणत हुने उद्देश्य राखेका छौँ । यस उद्देश्य प्राप्तिका लागि हाम्रो आन्तरिक स्रोतसाधन पर्याप्त नहुने हुँदा हामीलाई वैदेशिक लगानीको खाँचो छ । हामी चिनियाँ लगानीकर्तालाई उत्पादनशील क्षेत्र, पूर्वाधार तथा जलस्रोत विकासलगायत सामाजिक क्षेत्रमा लगानी गर्न आह्वान गर्दछौँ । सरकारले लगानीको पूर्ण सुरक्षा गर्नेछ ।भूकम्पपश्चात्को पुनर्निर्माणमा चीनले पु¥याएको उदार सहयोगको हामी उच्च प्रशंसा गर्दछौँ । यसैगरी नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न चीन सरकारको सहयोगको अपेक्षा गरेका छौँ ।
जलवायु परिवर्तनका कारण हाम्रो पर्वतीय पर्यावरण र अर्थतन्त्र संवेदनशील बनेको छ । तसर्थ, पर्वतीय पर्यावरण संरक्षण गर्दै अर्थतन्त्रलाई बलियो बनाउन अन्तर्राष्ट्रिय प्रयास केन्द्रीकृत गर्ने उद्देश्यले आगामी वर्ष अप्रिल महिनामा काठमाडौँमा सगरमाथा संवादको आयोजना गर्ने तयारी गरिरहेका छौँ । सो कार्यक्रममा चीन सरकारको उच्च तहबाट प्रतिनिधित्व हुने अपेक्षा गरेका छौँ ।
शान्ति, स्थायित्व र विकासका लागि बहुपक्षीय एवं अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र चीनसँगै उभिदै आएका छन् । साझा चासोका क्षेत्रीय सवालहरूमा हाम्रो सहकार्य जारी छ । विधिमा आधारित विश्व व्यवस्थाले चुनौती व्यहोर्नु परेको वर्तमान अवस्थामा विकासोन्मुख राष्ट्रहरूबीचको ऐक्यबद्धता र सहकार्य अपरिहार्य छ । शान्तिपूर्ण, न्यायोचित तथा समावेशी विश्व व्यवस्था निर्माणका लागि चीनले खेल्दै आएको सकारात्मक भूमिकाको हामी प्रशंसा गर्दछौँ ।
भूगोलले नेपाल र चीनलाई निकट छिमेकी बनाएको छ । इतिहास, संस्कृति र जनस्तरको सम्बन्धले हामीलाई घनिष्ठ मित्र बनाएको छ । व्यापार, लगानी तथा आर्थिक अन्तरनिर्भरताले हामीलाई साझा भविष्यका लागि सहकार्य गर्ने बलियो साझेदार बनाएको छ । दुवै देश र जनताको हितमा हुनेगरी मित्रराष्ट्र चीनसँगको समग्र सम्बन्धलाई नयाँ उचाइमा लैजान र थप गति दिन हामी प्रतिबद्ध छौँ ।
नेपाल र चीनबीच बलियो मित्रताका लागि नेपाल तथा जनवादी गणतन्त्र चीनका जनताको अनन्त शान्ति र समृद्धिका लागि प्रस्ताव गर्न चाहन्छु । नेपाल–चीन मित्रता अमर रहोस् ।

(राष्ट्रपति विद्यादेवी भण्डारीबाट छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङ तथा चिनियाँ प्रतिनिधिमण्डलका विशिष्ट सदस्यहरूका लागि असोज २५ गते आयोजित राजकीय भोजमा गरिएको सम्बोधनको
सम्पादित स्वरूप ।)

मित्रतासँगै बहुपक्षीय सहकार्य

राष्ट्रपति सी चिनफिङ

भर्खरै मैले चिनियाँ भाषामा लेखिएको नमस्ते भनेको छु, त्यति राम्रो छैन होला ! शरद ऋतुमा नेपालमा सयौँ फूल फुलेका छन् । सम्मानीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको हार्दिक निमन्त्रणामा म नेपालमा आएको छु । यो मेरो कान्तिपुर÷काठमाडौँको पहिलो भ्रमण हो । यहाँ मैले पुराना र नयाँ साथीहरूसँग भेटेँ । नेपालको राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र जनताको सुखी जीवन देख्दा म अत्यन्तै हर्षित भएको छु । भविष्यप्रति मेरा आशाहरू जागेका छन् । मलाई आशा छ, दुई देशले अझ घनिष्ठ राजनीतिक सम्बन्ध राख्नेछन् ।
चीन र नेपालबीच दौत्य सम्बन्ध स्थापना भएको आधा शताब्दीभन्दा बढी भएको अवधिमा दुई देशले छिमेकी मुलुकहरूबीचको मैत्रीपूर्ण सम्बन्धको विश्वमै नमुना पेस गरेका छन् । मैले राष्ट्रपतिज्यूलाई के भन्न खोजेको हुँ भने चीन र नेपालको सम्बन्धको बीचमा केही समस्या छैन । मित्रता मात्र छ ।
सम्माननीय राष्ट्रपति विद्यादवी भण्डारी र मैले द्विपक्षीय चुनौती र कठिनाइ सामना गर्दै साझा हित हुने सहकार्य गरेर विकास र समृद्धितर्फ उन्मुख हुने पुस्तौँपुस्ताको मैत्रीपूर्ण रणनीतिक सहकार्यको साझेदार सम्बन्ध स्थापना गर्ने निर्णय गरेका छौँ ।
मलाई आशा छ, दुई देशबीच अझ सुविधाजनक कनेक्टिभिटी सञ्जाल निर्माण हुनेछ । हामीले चीन–नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गर्नेछांँ । अरनिको राजमार्गको सञ्चालनलाई सुनिश्चित बनाई त्यसलाई विभिन्न चरणमा स्तरोन्नति गर्नेछौँ । केरुङदेखि काठमाडौँसम्म सुरुङमार्गको परियोजनालाई अगाडि बढाउन हामी सक्रिय हुनेछौँ । बढीभन्दा बढी नाकाहरू खोली हिमालय सीमा वारपार बहुआयामिक कनेक्टिभिटी सञ्जालको निर्माण गर्नेछौँ । र, नेपालको भूपरिवेष्ठित देशबाट भूजडित देश बन्ने सपना साकार पार्न मद्दत गर्नेछौँ ।
मलाई आशा छ, दुई देशका जनताको समझदारी बढ्नेछ । भूकम्पपश्चात्को पुनर्निर्माण परियोजनाहरूलाई हामीले सक्रियताका साथ अगाडि बढाउँदैछौँ । सन् २०२० नेपाल भ्रमण वर्षको अवधिमा हामी बढीभन्दा बढी चिनियाँ पर्यटकलाई नेपाल आउन उत्प्रेरित गर्नेछौँ । हामी शैक्षिक तथा सांस्कृतिक क्षेत्रका सहकार्यहरूमा लगानी पठाएर जनताबीचको समझदारी बढाउनेछौँ । दुई देशका बढीभन्दा बढी सहरहरूलाई भगिनी सहरका रूपमा प्रस्ताव गर्न पनि उत्प्रेरित गर्नेछौँ, जसबाट दुई देशबीचको मित्रताको बीज अझ अङ्कुरण होस् भन्ने चाहन्छौँ ।
भर्खरै सम्माननीय राष्ट्रपतिज्यूले उल्लेख गर्नुभयो, लुम्बिनी बुद्धको जन्मस्थल हो । अहिले चीन बुद्धधर्म मान्ने मान्छेको सङ्ख्या संसारमा सबैभन्दा बढी भएको मुलुक हो । बुद्ध धर्म भारत र नेपालमा पनि धेरै लोकप्रिय छ । र, चीनमा पनि स्थानीयको धर्म बनेको छ । मेरो विचारमा आगामी दिनमा बुद्ध धर्म मान्ने बढीभन्दा बढी चिनियाँ मान्छे नेपालमा पर्यटकीय भ्रमण गर्नेछन् । र, धर्मको आदानप्रदानका लागि आउनेछन् । मलाई आशा छ, दुई देशले अझ बढी बहुपक्षीय सहकार्य गर्नेछन् । वर्तमान अवस्थामा आत्मरक्षावाद, एकत्ववाद र प्रभुत्ववाद धेरै व्याप्त छ । हामीले बहुलवाद र आर्थिक भूमण्डलीयकरणलाई समर्थन गर्नुपर्छ ।
जलवायु परिवर्तनप्रति नेपाली पक्षको विशेष चासोलाई चिनियाँ पक्षले राम्ररी बुझेको छ । जलवायु परिवर्तनसम्बन्धी वार्ताहरूमा नेपाली पक्षको उपयुक्त मागलाई हामी पनि समर्थन गर्दछौँ । नेपाली पक्षका साथ हामी जलवायु परिवर्तनको सम्बोधन प्रक्रियालाई धेरै पक्षबाट अगाडि बढाइ हाम्रो साझा ग्रीन हाउस र विशेष गरी सगरमाथा, हिमाली क्षेत्रको रक्षा गर्न सदा तत्पर रहनेछौँ ।
मलाई धेरै खुसी लागेको छ, सबै नेपाली नेताहरूसँग हामीले मतैक्य हासिल गरेका छौँ । यसपटकको भ्रमणका क्रममा मैले नेपाली नेताहरूसँग मिलेर चीन र नेपालबीचको सम्बन्धका नयाँ खाका र योजनाहरू बनाउन सकेकोमा म अत्यन्तै खुसी छु । म प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि दुईपक्षीय सम्बन्ध र हाम्रो साझा चासोका बारेमा विचारको आदानप्रदान गर्नेछु ।
म प्रायः भन्ने गर्दछु, हामीले बनाएका योजनाहरूलाई पूरा गरेरै छोडौँ । हामीले चीनमा पनि यस्तै गरेका छौँ । भर्खर हामीले जनवादी गणतन्त्र चीनको स्थापना भएको ७० वर्ष मनाएका छौँ । हाम्रो उद्देश्य छ, दुई शतवार्षिकीका दुई लक्ष्य । यसको पहिलो लक्ष्य हामी आगामी वर्षमा साकार तुल्याउने छौँ । दोस्रो लक्ष्यचाहिँ ३० वर्षपछि । तर, हाम्रो काम गर्ने मार्ग स्पष्ट छ, त्यसलाई कार्यान्वयन गर्नुपर्छ ।
हामी संयुक्त प्रयासद्वारा द्विपक्षीय सम्बन्धको नयाँ भविष्य पनि निर्माण गरौँ । अब म उपस्थित सबैका सामु प्रस्ताव गर्न चाहन्छु । नेपालको समृद्धि सुखी जीवनका लागि, चीन र नेपालबीचको पुस्तौँपुस्ताको मित्रताका लागि, राष्ट्रपति विद्यादेवी भण्डारीलगायत यहाँ उपस्थित सबैको सुस्वास्थ्यका लागि चियर्स ।

(छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीबाट राष्ट्रपति विद्यादेवी भण्डारीबाट असोज २५ गते आयोजित राजकीय भोजमा गरिएकोे सम्बोधनको सम्पादित स्वरूप ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?