logo
२०७७ माघ १४ बुधवार

भीडभित्र हुर्किरहेको अराजकता

विचार/दृष्टिकोण |




रामकुमार एलन

अमेरिकी अभिनेत्री पेट्रिसिया नीलले भनेकी छिन्, ‘एउटा बलियो सकारात्मक मानसपटलले औषधिले दिने चमत्कारभन्दा थुप्रै मृगतृष्णा उमार्न सक्छ ।’ हामी लतमा होइन, कुलतमा फसिरहेका छौँ । आवारापन हाम्रो लत बनेको छ । कसैका पछि लाग्नु लत बनेको छ । आफूलाई कामकाजी बनाउनेभन्दा कुनै विकल्प नै नखोजेर कसैको पछाडि लाग्ने हाम्रो आदत, लत विस्तारै कुलतमा बदलिएको हो । यसैले हामी स्वस्थानीमा हात्तीले राजा खोजेजस्तै सजिलै पाइनसक्ने वस्तु खोजिरहेका छौँ । त्यही स्वस्थानीमा नवराजका लागि कसैले कति मेहनत, तपस्या गरेको थियो भन्ने भुलेका छौँ ।
स्वस्थानीमा कथा सिध्याउनुअघि कुनै सकारात्मक बिन्दुमा पुग्नु थियो । तर जिन्दगी भावनामा तरङ्गिएर मात्र सकिँदैन । उही प्रहर–प्रहार–प्रभाव–दबाब–रात अनि दिन दोहोरिरहन्छ महाप्रस्थान अघिसम्म । तर दिमागलाई हामी स्वस्थानीमा गजराजले नवराज खोजेभन्दा माथि तन्काउन सकिरहेका छैनौँ । फलतः कैयौँ शताब्दी पुरानो अस्तित्व भएको हाम्रो देश अहिले प्रेमिकालाई चन्द्रमासँग दाँजेर गीतगजल लेखिरहेछ । ब्रिटिस साम्राज्यबाट फुत्केको एक शताब्दी नपुग्दै भारत चन्द्रयान उडाउने, बनाउने र प्रक्षेपण गर्ने बनिसक्यो । उसको दिमागी सकारात्मक कम्पन प्रयोगशालामा पस्यो र मृगतृष्णाहरू उम्रिए । हामी खुलाचौर, चोक, सडकमा उफ्रिइरहेका छौँ फगत अरूले उठाएको मुद्दामा साक्षी बनेर, अर्को व्यवस्था कस्तो हुने हो, खाका छैन तर यो व्यवस्था चाहिँ सोह्रै आना गलत भनेर ।
तत्काल नतिजा जरुरी छ ?
दुईतिहाइ बहुमतको कम्युनिष्ट सरकारले सत्तामा पुग्नुअघि देखाएका केही सपना घनीभूत रूपमा साकार हुने क्रममा छन् । सरकारले ल्याएका कार्यक्रम तत्काल नतिजा दिने प्रकृतिका नभएकाले नेकपाकै सांसद, नेताहरू यस्ता कार्यक्रमले फल दिएन, फोस्रो फल भयो पनि भनिरहेका छन् । जनतालाई पनि तत्काल नतिजा देखिने कार्यक्रम जरुरी छ । सरकारले यस्ता कार्यक्रमलाई चुनावी कार्यक्रम ठानेर तत्काल भने जनतालाई दीर्घकालसम्म राहत पुग्ने कार्यक्रम ल्याउने प्रयास गरेको हो तर यसलाई सरकारले बुझाउन सकेन या जनताले बुझेनन् ।
सत्तारुढ सांसद, नेताहरूबाटै पनि लोकप्रिय कार्यक्रम नभएर बजेट सक्ने काम भन्दै आलोचना हुँदा हरेक कोणबाट निराश जनताले आक्रोश पोख्ने नै भए । यो हुन्छ कि, त्यो हुन्छ कि भन्ने आशामा रहेका जनतामा निराशाको बादल त मडारियो, यसलाई सकारात्मक निरुपण गर्नुपर्नेमा सत्ताविरुद्ध जनता उचाल्ने काममा पूर्व शासक, प्रशासक, पूर्व सरकारका विभिन्न अङ्ग परिचालित भए । समीक्षित हुने अभ्यासबाट चुक्दै ‘बाह्रै टक्का’ का मानसिकतामा दौडिरहेकाहरूले पनि जनतालाई एकोहोरो बनाइरहेका छन् ।
तीन दशकदेखि बन्न नसकेका मेलम्ची, राष्ट्रिय गौरवका आयोजनाहरू, हुलाकी राजमार्गलगायतका विकास निर्माणका योजना सरकार बनेको १७–१८ महिनामा खोज्नु जनताको विकासको भोक त थियो तर यसलाई गलत ढङ्गले प्रवाह गरियो । सामाजिक सञ्जाललाई व्यवस्थित गर्न खोजिँदा शासकहरू तोप, गोलीले होइन सामाजिक सञ्जालबाटै तर्सिएर, भावना पोख्नसमेत बन्देज हुन लाग्यो भन्दै सत्तालाई बदनाम गराउने काममा लागे । तत्काल नतिजा आउने कार्यक्रम जरुरी थिएन, त्यसैलाई प्रतिपक्षले मुद्दा बनाए । मिडियाले सरकारलाई लखेट्ने उपाय पाए । चुनावका बेला जनतालाई लोकप्रिय कार्यक्रम दिएर तान्न सकिन्छ, यस्तोबेला दीर्घकालीन हितका योजनामै सरकारको ध्यान जानु किमार्थ गलत थिएन । तर प्रसारण गलत भयो ।
विधेयकहरू जरुरी थिएन ?
सरकारले ल्याएको नागरिकता विधेयक संशोधन १३ महिनादेखि अल्झिरहेको छ । सत्तारुढ दलकै नेताहरूको यसमा विमति छ । गुठी विधेयक फिर्ता नै लिनुप¥यो । राष्ट्रिय परिचयपत्र विधेयक पारित नहुँदै परिचयपत्र छपाइको टेण्डर भइसकेको छ । मिडिया काउन्सिल विधेयकमा लामो समय सरोकारवालाकै विरोध भएपछि मौखिक सहमतिमा आन्दोलन रोकियो । यतिखेर विधेयक राष्ट्रिय सभामा छ ।
पत्रकारलाई दण्ड, जरिवानाका विषयमा ल्याइएको नियमको विरोध भएको छ । अदालती कारबाही आयोगबाट हुन सक्दैन भन्ने पनि छन् । अर्को न्यूनतम पारिश्रमिक दिन नसक्ने सञ्चारगृहमा कार्यरत १५ हजार पत्रकारलाई सबैले किन निशाना बनाए ? जब कि पत्रकारलाई त्यस्तो काममा लगाउने सञ्चारगृहलाई कारबाही हुनुपर्नेमा तोकेरै पत्रकारको हुर्मत लिने, विस्थापन हुने गरी जरिवाना गराउने क्रान्तिकारी सरकारको नियत थियो या बीचमा केही बुँदा ‘इफ बट’ गर्दै कर्मचारीले थपिदिए ?
बोल्नुपर्नेले बुझाउन नसक्ने, बाँकीले बुझे पनि नबुझेको अभिनय बढी गर्ने लोकतान्त्रिक ‘मात’ले सबै फेरि ‘बाह्रै टक्का’मा अडिँदा उल्झन आयो । जब कि दशक अघिदेखि भनेका हौँ, विधेयक परिमार्जन चाहियो । पत्रिका मात्र भए, रेडियो, टिभी हेर्ने निकाय चाहियो भनियो । अहिले त युट्युब र अनलाइन पनि थपिए । विधेयक चाहिएको हो तर हुलमुलमा पारेर सबैलाई ठेगान लगाउने नियतलाई राम्रो भनेर समर्थन गर्न सकिन्न । त्यसैको परिणाम हो कि, सरकारले ल्याएका विधेयक राम्रो बनाउन खोज्दा केही कमजोरी भए । अधिकार प्रत्यायोजन समितिका सभापति रामनारायण विडारी भन्नुहुन्छ, ‘केही हतारमा भयो, केहीलाई बुझाउन सकिएन, नतिजा उल्टो देखियो ।’
गलतको प्रचार बढी
यतिखेर सामाजिक सञ्जालमा एउटा खबर सञ्चार भइरहेको छ । एकजना पूर्व सचिवले लेखेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गापुरमा गराइरहेको उपचार पद्धति प्लाज्मा फेरिसस त काठमाडौँको सिभिल अस्पतालमै उपलब्ध छ रे त !’ अरूले थपेका छन्, ‘थुप्रै अस्पतालमा छन् ।’
प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा पढेलेखेका, बुझेका र देशले आशा गरेका समूहबाटै प्रहार जारी छ । यतिखेर प्रधानमन्त्रीको उपचारलाई मजाक बनाइएको छ । यसमा शिक्षित वर्गकै बहुमत ठूलो छ । यसले समाजमा भित्रिइरहेको अराजकता, असन्तुष्टिको स्केल बढ्दो छ । राजनीतिप्रति निराश जनताले ‘होमा हो’ लगाएर बल गरिदिँदा भीड ठूलो बनेको छ । भीडसँगै अराजकता हुर्किइरहेको छ । यो अराजकता यस्तो बढ्दो छ कि, अभियन्ताले समेत यो गलत भन्न सक्ने अवस्था छैन । अझ शासक प्रशासकको नाम नै सुन्न नचाहने अभ्यास भइरहेको छ र त्यही मानसिकता विकास भइरहेको छ ।
भीडको शासन कहिलेसम्म ?
पछिल्लो समय भीडले शासनसत्तामा धावा बोलेको भान हुँदैछ । विधिको शासनलाई जनमुखी बनाउन सकिएन होला । पटकपटक फेरिएका सरकारले यसलाई नियन्त्रण गर्न पनि सकेन होला । तर अहिले बनेको स्थिर सरकार काम अघि बढाउँदैछ तर सरकार खराब बनाएर स्वार्थ पूरा गर्ने अदृश्य समूह, शक्तिहरूको चलखेल नै मान्नुपर्छ कि, यतिखेर स्थिर सरकार खराब देखाउने अभ्यास हुँदैछ । यस्तो भीड जम्मा पार्ने, त्यसको आडबलमा लोकतन्त्र, राजतन्त्र जे भने पनि अदृश्य समूहको निर्देशमा चलिरहोस् ।
भीडमा तीनवटा समूह छ ।
क. निर्देशक समूह
ख. मुद्दा निर्माता समूह
ग. जमात निर्माण समूह
सिङ्गो राज्यसत्तालाई आफ्नो काबुमा पारेर स्वार्थ अनुकूल चल्न बाध्य पार्ने एउटा समूह छ । जो अदृश्य छ र निर्देशन तहमा हुन्छ । यसका लागि भीड जम्मा पार्न आवश्यक खर्चबर्च पनि दिन तयार हुन्छ । अर्को समूह छ ः कस्तो भीडलाई कस्तो मुद्दा दिएर उत्तेजित बनाउने ? उनीहरू संयमित हुनै सक्दैनन् । यस्तो मुद्दा बनाउँछन् कि, अर्को रङ, जातलाई यो मुद्दा सुनाउन होइन, सुन्न पनि दिँदैन तर त्यसमा विमति राखे ज्यान तलमाथि हुनसक्छ भीडमा भेटिए । त्यसैले बलियो मुद्दा निर्माण गर्छ निर्देशक समूहको आडबलमा । र, अन्तिम छ, भनेको चोक, सहरमा भीडमा जम्मा हुन पुग्ने । यसको चाँजोपाँजो निर्देशक समूहको निर्देशन, मुद्दा निर्माताहरूले गरेको प्रायोजनमा सर्वसाधारण, अकल्पनीय, मुद्दा के हो थाहा नहुने तर समर्थन गर्ने जमात निर्माण यो समूहको काम हो ।
यही तीनवटा समूह अहिले देखिन्छ सामाजिक सञ्जालमा । कर्मक्षेत्रमा । उनीहरूले उठाउने मुद्दा अनेक हुनसक्छन् ः जस्तो गौहत्या । तर समग्रमा यो भीडमा हुर्किरहेको अराजकताको अन्तिम स्वार्थ हो ः विना कुनै घोषित, उल्लेखित, लिखित एजेण्डा ः राज्यसत्ता कमजोर पार्ने, शासकहरूलाई आफ्ना मुठ्ठीमा पारेर स्वार्थ पूरा गर्ने । देखाउने भीड तर पूरा गर्ने आफ्नो निहित स्वार्थ । बेलैमा यसको निराकरण खोजौँ । नभनौँ भीडमा सीमाका ‘पहलमान’हरू पनि आए । हामीले नै लगाम लगाउन सकेनौँ भने भीडमा जो पनि हुन्छ, घटना शान्त भइसक्दा थाहा हुन्छ कि, क्षतिको पीडा । भीडभित्र हुकिइरहेको अराजकता लोकतन्त्र मास्न त सक्छ तर अर्को उन्नत व्यवस्था किमार्थ उत्पादन गर्न सक्दैन ।
जस्तो अहिले एउटा टिभी प्रस्तोताका पक्षधरले कैयौँ पत्रकारलाई सामाजिक सञ्जालमा समवेदना, श्रद्धाञ्जलि दिइरहेको देखिन्छ, त्यो टिभी प्रस्तोता आफ्ना समर्थकलाई यो गलत हो भन्नै सक्दैन । यसैबाट थाहा हुन्छ, भीडमा देखिएका पात्र र देखाइएका पात्रहरू एकअर्काका नियन्त्रणमा छैनन् र लोकतन्त्र कमजोर यस्तै समूहको अराजकताबाट हुनेछ । बहुमत र अल्पमत राजनीतिक प्रक्रिया हो । यो दुईतिहाइको सरकार पनि पल्टाउने सामथ्र्य निर्वाचनबाट अर्को भीडले गरे पनि यो अराजकता हुर्कन दिइरहने हो भने अर्को सरकार अरू कति निरीह हुनेछ, केही वर्षपछि हामी अनुभूत गर्न पाउनेमा शङ्का छ र ? यतिखेर हामीले नकारात्मक होइन, समाज बदल्ने सकारात्मक मृगतृष्णा उमार्न जरुरी छ ।

(लेखक जनता टेलिभिजनका प्रमुख समाचार सम्पादक हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?